एउटा सांस्कृतिक क्रान्ति चाहिएको छ / सत्यमोहन जोशी
महाभूकम्पले हामीलाई देश निर्माणमा एकजुट भएर लाग्ने भावना प्रदान गरेको छ । प्राकृतिक संकटले निम्त्याएको राष्ट्रिय एकताको भावना महत्त्वपूर्ण छ । भूकम्पबाट भएको क्षतिलाई कसरी शक्तिमा परिवर्तन गर्ने भन्ने प्रश्न अब मुख्य हो । आज हुर्किंदै गरेको नयाँ पुस्ताका लागि पनि यस्तो भावना जरुरी भइसक्यो ।
भर्खरै संसद्मा पारित संकल्प प्रस्तावको भावना महत्त्वपूर्ण छ । त्यसलाई चरितार्थ गर्ने–नगर्ने हामी नेपालीमा निर्भर छ । यस सन्दर्भमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संसद्मा दिएको अभिव्यक्तिले मलाई छोयो । ‘हामीले आआफ्ना दलीय स्वार्थ र संकुचनभन्दा बाहिर आएर राष्ट्रिय दृष्टिकोण राखेर उठाऔं, त्यसले नयाँ संविधान र राष्ट्रिय पुनर्निर्माणको भावना निर्माण हुन्छ,’ भनी उहाँले भन्नुभएको छ । हाम्रा नेताहरूको घैंटोमा घाम लागेको संकेत हो यो । उहाँहरूलाई आ–आफ्नै डम्फु बजाएर देश बन्दैन भन्ने चेतना भएजस्तो छ ।