जिन्दगीको हरेक क्षण प्रेमोत्सव बाँचिदिन्छु/ सरुभक्त
जिन्दगीको हरेक क्षण प्रेमोत्सव बाँचिदिन्छु
अरुले होइन मायाले नै जिन्दगी यो जाँचिदिन्छु
म मरे पनि मेरो माया कहिल्लै मर्ने छैन
माटो अनि खरानीमै तिम्रो याद साँचिदिन्छु ।
Nepali Muktak मुक्तक
जिन्दगीको हरेक क्षण प्रेमोत्सव बाँचिदिन्छु
अरुले होइन मायाले नै जिन्दगी यो जाँचिदिन्छु
म मरे पनि मेरो माया कहिल्लै मर्ने छैन
माटो अनि खरानीमै तिम्रो याद साँचिदिन्छु ।
घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ
कठोर छ यो दुनियाँ धेरै कोमलता केही पसाइरहूँ
ढुकढुकीको अर्थ आफ्नै ढुकढुकीलाई सोधे हुन्छ
प्रेमोत्सव मानी जिन्दगीलाई सिर्जनामा रसाइरहूँ ।
बोलीले के याद गरुँ, धड्कनले याद गर्छु हुन्न र ?
नसानसामा तातो रगतले मायाको घर बुन्न र ?
प्रेमका लागि भनी धर्तीमा अब नबगाऊ रगतका धाराहरू
साँचेर युगौंदेखिका अहङ्ककार अनि विश्वविजयी पाराहरू
बन्दुक, तोप र तरवारहरूको मन जित्न नसकिने भए
थोरैले साँचो माया गर्छन् धेरैले माया गरेझैँ गर्छन्
नपाएसम्म एक अर्कालाई हुरुक्क भै मरेझैँ गर्छन्
राम्रैसित चिन्न सकिन्छ नक्कली माया लाउनेहरू
बसन्त पूरै हराए फतक्क भै झरेझै गर्छन् ।
अजम्मरी पीडा भए, अजम्मरी मनले पिइदिनु
खिइनुको हद कहाँ हुन्छ, त्यसलाई नाघी खिइदिनु
प्रेम गर्दा जीवनमा जति निर्दयी प्रहार परे पनि
तिमी हरेक प्रहारमा आँशुको फूल भैदिनु ।
ताजमहल नै चाहन्छौं भने हरेक क्षण ताजमहल बनाइरहन्छु
हृदयभरि सिङगमरमर होइन मायैमाया खन्याइरहन्छु
के दुनियाँका आश्चर्यहरूमा आश्चर्य मानिरहन्छौं तिमी
कहिलेकाहीं प्रेममा हृदय ठनक्क भाँचिन्छ
दुर्भाग्यको चोट परी अधमरो भइ बाँचिन्छ
समयको चक्र यहाँ जति उल्टो घुमे पनि
आस्थाभरिको जीवनमा पवित्रता मात्रै साँचिन्छ ।
प्रेमको युद्ध अन्त होइन, आफैंभित्र लडिन्छन्
हृदयको कुरुक्षेत्रमा विजयझन्डा ठडिन्छन्
इतिहासमा जति भए पनि कथित प्रेमका युद्धहरू
महान् प्रेम त यहाँ महान् छातिहरूमै अडिन्छन् ।
प्रेम सिर्जना हो, विध्वंसको बाटो लाग्ने नगर