पहिलो गीत रेकर्डिङ हुँदा... / दिनेश अधिकारी
क्याम्पस जीवनको रौनक नै बेग्लै। लिजर पिरियडको त कुरै छाडौं। बेन्च बजाउँदै गीत गाउँथ्यौं। २०३७ तिर काठमाडौंको नेपाल ल क्याम्पस पढ्दा ताकाको कुरा हो यो। तिनताका ल क्याम्पसमा विद्यार्थीहरूको निकै भीड लाग्थ्यो। हाम्रो ब्याचमा मात्रै ३ सय ५० जनाभन्दा बढी थिए। चार समूह बनाइएको थियो, हाम्रो समूहमा विरोध खतिवडा, सञ्जीव मिश्र, सुरेन्द्र राना लगायत थियौं। त्यति बेला म रक्षा मन्त्रालय अन्तर्गत सैनिक विमान सेवामा नायव सुब्बा थिएँ।
अहिले नेताको छवि बनाएका विरोध त्यति बेला प्यारोडी खुब गाउँथे खाली समय। जोक्स पनि निकै सुनाउँथे उनी। सुरेन्द्रका केही गीत रेडियो नेपालमा रेकर्ड भइसकेका थिए राम थापाको स्वरमा, लिजर पिरियडमा बेन्च बजाउनु पर्यो भने उनको भागमा गीत परिहाल्थ्यो, मचाहिँ कविता सुनाउँथें। गायक/संगीतकार राम थापाको नाम निकै चल्तीमा थियो त्यो समय। हुन त उहाँको नाम सधैं चम्की नै रह्यो। उहाँ ल क्याम्पसको क्यान्टिनमा चिया पिउन बरोबर आइरहनुहुन्थ्यो। हामीसँग पनि 'हाई हेलो' चल्थ्यो।