गइन् वर्षा नानी खुलुखुलु पखालेर धरती
शरत् हाँस्तै आयो सबसित लगाएर पिरती
सफा चिल्ला राम्रा तरु बनहरू पात हरिया
फलेका छन् नाना फलफुलहरू टम्म रसिला ।
सकी खेती पाती कृषकजनले फुर्सत लिए
घट्यो चर्को गर्मी न त छ सरदी ठिक्क समय
यही मौका पारी घर घर दसैं आगमन भो
खुशीको वेलामा जुरुजुरु यसै नाच्न मन भो ।
जगन्माता सृष्टि स्थिति प्रलय गर्ने भगवती
उनै काली वाणी सहित धनलक्ष्मी शुभ गति
गरी पूजा आजा जगमग उमारेर जमरा
यही माग्छौं आमा छर करुणता प्रेम छहरा ।
विदेशै लागेका जन पनि बिदा ली घर फिरे
अनेकौं कोसेली सहित धनलक्ष्मी घर भरे
टिका थाप्छन् ठूला जनसित शुभाशीर्वचन ली
शुभेच्छा है भन्छन् परिचितहरूसाथ निहुरी ।
मिठो खाने राम्रो पहिरन लिने यो समय हो
घृणा ईर्ष्या बिर्सी मिलजुल हुने यो समय हो
सबैमा फैलाई विनय समता प्रेम करुणा
दसैं राम्रो पारौं अझ सुख थपौं जीव जगमा ।
(यो कविता शिखरिणी छन्दमा छ यसको लक्षण य,म,न,स,भ गण अनि एक ह्रस्व र एक दीर्घ हो ।१७ अक्षरको पंक्तिमा ६मा अड्नु पर्छ । नेपालीमा अति चल्तीको छन्द हो।)
- 4 views