जगदीश दाइ, कहाँ हराएको ? / नयनराज पाण्डे
म जीवनको बारेमा लेख्नुपर्छ भन्ने सोच राख्छु । जीवनबोध नै त हो हामीलाई बाँच्न उत्प्रेरित गरिरहने । यही एउटा माध्यम हो, जसले हाम्रा किताबका चरित्रहरूलाई जीवनमुखी बनाएर सिर्जनाको राजमार्गमा लड्दैपड्दै भए पनि निरन्तर हिँडिरहन बाध्य बनाउँछौं हामी । हामी कलमजीवीले यसो गर्यौं भने हाम्रो लेखनी पलायनवादी हुँदैन रे । यसो भन्छन्, किताबका जानकार र समालोचकहरू । तर मैले मेरा आख्यानहरूमा चरित्रहरूलाई निकै मारेको छु । म मेरा चरित्रहरूको हत्यारा हुँ । क्रूर हत्यारा । 'लू' र 'घामकिरी'ले यस मानेमा मलाई कुख्यात बनाएको छ ।