Loading

युगनायिका

Bhanu Bokhimउसले धेरै युगहरू बाँचिसकेकी थिई। सृष्टिभर कति युग आउँछ, ती युगभरि उसको आयु पक्का थियो। हरेक समयमा बाँच्थी तर उसको नाम कुनै खास समयसँग मात्र तादात्म्यता राख्दैन थियो। समयको अवधिलाई आफूभित्र कैद गर्ने युगसँग सापेक्ष थियो उसको नाम अर्थात् युगनायिका।

उसका सामु उभिएको छ कौतूहल। युगनायिकाले नियाल्ने हरेक युगहरूमा बाँच्ने मान्छेको उपज थियो कौतूहल। अर्का भाषामा समग्र मानव मस्तिष्कको प्रतिनिधि-पात्र। ऊ निराकार थियो। कुनै खास रूप वा बान्की थिएन उसको। तर, विविध खाले सौन्दर्यशास्त्रको परभिषा ऊभित्र समाहित थियो। जो आफूले बाँचेको संसारदेखि वाक्क भएर युगनायिकासामु उभिएको छ। उसको सानो मस्तिष्कभित्र आफू बाँचेको ग्रहभन्दा ठूला जिज्ञासाहरू अटेसमटेस छन्, भूगर्भमा उम्लिएका ज्वालामुखीका आभाहरूजस्तै। हावाको तरंगित खुला अन्तरिक्षबाट यस ग्रहलाई नियालिरहेका छन्। उनीहरू विभिन्न ग्रहहरूलाई नियालिरहेका छन्। तर, मानवग्रहको जस्तो अस्तव्यस्तता उनीहरूको आँखामा परेको छैन।

युगनायिका र कौतूहल आमुन्ने-सामुन्ने छन्, लडाइँका लागि तयार भएका दुई भिन्न समूहका सिपाहीझैँ। जो आफ्नो जीवनलाई हत्केलामा राखेर तोकिएको समय र कमान्डरको इसाराको पर्खाइमा हुन्छन्।

"किन आउनुभो?" निकैबेर कौतूहललाई नियालेपछि युगनायिका बोली।

"जिज्ञासा मेटाउन।"

"थाहा थियो," युगनायिका मानिसहरूको बढ्दो संख्याले अस्तव्यस्त हुँदै गएको मानवग्रहलाई नियालेर बोली, "तपाईं जिज्ञासा मेटाउनकै लागि आउनुहुन्छ।"

"हाम्रो आयु नै जिज्ञासाका निम्ति हुन्, तपाईंको जस्तो सृष्टि नियालिरहनका लागि होइन।"

"त्यो थाहा छ, के कुरा हो भन्नूस्।"

कौतूहल आदेशको फर्काइमा थियो। उसले पहिलो प्रश्न उठायो। जो पछिल्लो समयमा जीवित मस्तिष्कमा सबभन्दा बढी सल्बलाइरहेका प्रश्नहरू थिए।

"यो मानव संसार कतातिर डोरिंदैछ?"

"माफ गर्नूस् कौतूहल महाशय, म युगनायिका हुँ, भविष्यवक्ता होइन।"

"त्यो त थाहा छ तर तपाईंले धेरै युगहरू बाँचिसक्नुभएको छ। धेरै मानव मस्तिष्कलाई नियालिसक्नुभएको छ, अब इतिहास भएका मानव विचार हेरेर, यी स्वप्नद्रष्टाहरूको भविष्य बताइदिनूस्।"

"सक्दिनँ, मेरो क्षमता मानवग्रहको रंगमञ्चमा घटित दृश्यहरू नियाल्ने मात्र हो, कस्तो घटना घटाउने भन्ने क्षमता त मस्तिष्ककै जिम्मामा छ, त्यसैले केही भन्न सक्दिनँ।"

आफ्नो मुख्य जिज्ञासाको उत्तर नपाउँदा कौतूहल मौन भयो। ऊ निरास भने भएन। निरास हुनुपर्ने कारण पनि देखेन। केवल जिज्ञासा थियो, उसलाई। तर, आफूले नियालिरहेको ग्रहमा बस्ने पराजित मस्तिष्कझैँ निकै बेर मौन रहिरह्यो। जो हरदम प्रतिस्पर्धामा छन्। कहिले आफैँसँग, कहिले अरूसँग, यसरी प्रतिस्पर्धा गरिरहेका छन्। मानौँ, उनीहरू युगनायिकाजस्तै कहिल्यै मर्दैनन्। मर्ने बेलामा भने पश्चात्तापमा जलिरहन्छन्। अनि, सोच्छन्, "हामीले जीवन पाएर पनि कहिले बाच्यौँ र?" होडबाजीमा जीवन बाँच्न भुलेको भन्दै उनीहरू उदासीमा जम्छन्। जसरी मानवग्रहको उत्तरी गोलार्द्धमा चिसो हिउँ जम्छ।

"यो मूर्खहरूको दुनियाँ हो वा विद्वान्हरूको?" कौतूहल आफैंसँग प्रश्न गर्छ।

"यो थोरै विद्वान् अनि थोरै मूर्खहरूको दुनियाँ हो," ऊ आफ्नो जिज्ञासाको निष्कर्ष आफैं निकाल्छ, "म मूर्खहरूको प्रवक्ता हुँ वा विद्वान्हरूको प्रतिनिधि?" ऊ फेरि अर्को जिज्ञासामा अल्झिन्छ।

आफ्नै जिज्ञासाको अल्झाइमा ऊ फस्दै जान्छ। युगनायिका मानवग्रहमा अनवरत रूपमा घट्ने दृश्यहरू नियालिरहेकी छ। केही सयमको दृष्टिपातपछि युगनायिकाले मानवग्रहलाई नियाल्न छोड्छे र कौतूहलसामु नजर फ्याँक्छे।

"तिमीलाई मानव संसारको किन चिन्ता, तिमी उनीहरूको आदेश मान्दै जाऊ, म त्यो आदेशले सिर्जित घटनाक्रमलाई नियाल्दै जान्छु।"

"यथार्थ त यही हो, यसभन्दा धेरै हामीले गर्न सक्ने पनि केही छैन तर कहाँ जाला भन्ने चासो छ।"

"चासो किन?"

"यो झगडा, यो मनमुटाव अनि यो युद्ध...।"

"यो समानाकार मस्तिष्कबाट निक्लने विविध विचारको परिणाम हो, मान्छे कालो, खैरो वा गोरो होस्। मान्छे अग्लो होस् वा होचो। मान्छेको मस्तिष्कको रंग र आकार एउटै छ। मात्र यसबाट उत्पादित विचारहरू फरक छन्।"

"तर, यो युद्ध? म वाक्क भइसकेँ, कहिलेसम्म युद्ध भइरहन्छ?"

युगनायिकाले कौतूहलको वाक्यांश पूरा हुन दिइनँ, "मानव अस्तित्व रहुन्जेल युद्ध चलिरहन्छ। तपाईं आफैं पनि मानवयुग नियाल्नूस् न ! युद्ध कुन युगमा भएन? हरेक युगमा युद्ध हुन्छ, सत्य, त्रेता, द्वापर, कली सबै युगमा युद्ध भएको छ।"

"के नयाँ युगमा पनि युद्ध हुन्छ?"

"मैले अघि नै भनेँ कौतूहल महाशय ! म युगनायिका हो, भविष्यवेत्ता होइन।"

"माफ पाऊँ युगनायिका, म कुरा सोध्दै जाँदा बहकिएँ, तपाईंले भर्खरै भनेको कुरा भुलें।"

"तर, युद्ध हुन सक्छ, किनभने युद्ध हरेक युगलाई अनिवार्य तत्त्व हुँदै आएको छ।"

युद्ध अनिवार्य तत्त्व? कौतूहलले एकनास युगनायिकाको आँखामा नियाल्यो। उसले आफ्ना जिज्ञासाको त्यस्तो उत्तर पायो, जसले ऊ अझ धेरै कारुणिक हुन्थ्यो। मानव बस्तीमा लडाइँ हुँदा, मरेका आफन्त सम्झेर बाँचेका दुःखी मान्छेझँै भयो ऊ। अर्को कुनै आशावादी उत्तर आउँछ कि भनेर युगनायिकालाई नियालिरह्यो। तर, युगनायिका खडेरीको पानीमुहानझैँ सुक्खा भई।

"म यी मस्तिष्कहरूको प्रतिनिधि पात्र भएर दुःखी छु। यी फरक विचारहरूको काँध थापेर हिँड्न मलाई गाह्रो भइस्क्यो, म सोच्छु, किन यिनीहरू मिल्दैनन्?"

"सायद, यी मस्तिष्कहरू कहिल्यै मिल्दैनन्," युगनायिकाले धेरै युगबाट सँगालेको अनुभवका आधारमा आफ्नो विचार सुनाई, "यी लडाइँको दृश्यसँग मेरा आँखा अति अभ्यस्त भइसके। अब त लडाइँ-झगडाबिनाको समाज, रगत नबगेको समय, बमले छिद्राछिद्रा बनेको सहर नियाल्न नपाउँदा खल्लो लाग्छ।"

"सायद तपाईं पनि मर्नेको रगत, बाँच्नेको आँसुले भिजेको उदास संसार नियाल्नमा रमाउनु हुन्छ।"

"तपाईंलाई भ्रम भो, म त दृष्टिगोचर न हुँ, जस्तो घटनाहरू परिदृश्यमा देखिन्छन्, त्यसलाई नियाल्छु मात्र, लामो समयदेखि लडाइँ नियाल्दा अभ्यस्त भएँ भनेको मात्र, सायद सबैले शान्त वातावरण सिर्जना गरे म त्यही नियाल्छु।"

कौतूहल केही क्षण मौन रह्यो। उसले आफ्नो मस्तिष्क नियाल्यो। युगनायिकाले वर्तमान र पूर्वयुगका घटित वृत्तान्तहरू सुनायो। युद्ध हरेक युगमा थियो। मात्र युद्ध गर्ने शैलीहरू परविर्तित थिए। सत्य, त्रेता, द्वापरमा धनु वाणले युद्ध लडिन्थ्यो। अहिले अत्याधुनिक हतियारबाट लडिन्छ। क्षणभरमै असंख्य मानिसहरूको जीवनलीला खत्तम पारन्िछ। मानव बस्तीहरू खरानी हुन्छन्। मान्छेहरू मर्न र मार्न तयार हुन्छन्। जसले जित्छ, उसले इतिहास आफ्नो नाममा लेखाउँछ। हार्नेहरूको आँखामा तातो आँसु छोडेर जान्छन्। आजसम्म बाँचेका वर्षहरूमा यस्तै सम्झनाहरू सँगालेकी थिई युगनायिकाले।

"युगनायिका, म चाहन्छु- समयले सबैलाई विद्वान् हुने चेतना देओस्।"

"किन?" बढो उत्सुकतापूर्वक प्रश्न गरी। यसभन्दा अगाडि युगनायिकाका प्रश्न त्यति प्रभावकारी थिएनन्।

"विद्वान् भए तिनीहरू सभ्य हुन्थे, युद्ध गरेर मर्ने र मार्ने खेल खेल्दैन थिए।"

कौतूहलको कुरामा युगनायिका तत्काल केही बोलिनँ। मुसुक्क हाँसी। सायद विद्वान्प्रति कटाक्ष थियो उसको मुस्कान। मान्छे बस्ती बसेको ग्रहलाई चासोका साथ नियाली। जो कुनै अक्षमा अल्झिएर युग-युगदेखि घुमिरहेको थियो। घामले नियालिरहेका पाटामा मानिसहरू जिन्दगीको नारा रट्दै होडबाजीमा थिए। घाम ओझेल परेको पाटोमा मान्छेहरू होडबाजीको थकान मेटाउँदै थिए।

युगनायिकाले आफ्ना आँखा कौतूहलतिर फिर्ता ल्याई, "विद्वान्हरूले गर्दा त लडाइँ हुन्छ।"

"म यो कुराको विश्वास गर्दिनँ। हरेक लडाइँ लड्नेहरू मूर्ख हुन्, जो मर्नु र मार्नुलाई धर्म ठान्छन्।"

"मर्ने र मार्ने त मूर्ख नै हुन् तर यिनीहरूलाई हिंसामा धर्म देखाउनेहरू त विद्वान् नै छन्। जसको मस्तिष्कले अरूको सोचाइलाई निस्तेज पारेर आफ्नो विचारलाई सत्य देखाउँछ।"

कौतूहल आफूले टेेकेर उभिएको मस्तिष्क नियाल्यो। कुन विचारलाई समेटूँ, कुन विचारलाई पर सारुँ, ऊ आफैँ अन्योलमा पर्यो। ऊ धेरै विचारको प्रतिनिधि भएर अन्योलमा भएको महसुस गर्दै थियो। उसलाई एउटा मात्र विचारको प्रतिनिधि हुने छुट पनि थिएन। एकनास सोचिरह्यो। महान् तर मरसिकेका मस्तिष्कबाट उत्पादित विचारहरूलाई सम्झ्यो, जसको परिणामस्वरूप धेरै धर्म, दर्शन र सिद्धान्तहरू अझै जीवित थिए। ती धेरै धर्म, दर्शन र सिद्धान्तका पछि मान्छेहरू उत्तिकै दौडिरहेका थिए। आफूजस्तै मन र मस्तिष्क बोकेर हिँडेका मान्छेहरूलाई मार्दै मार्दै।

"सायद युग फेरिनु पनि मस्तिष्ककै उपज हो," कौतूहल बोल्यो। यसबेलासम्म उसले मरेका, बाँचेका सबै मस्तिष्कका चर्चित विचारलाई विश्लेषणको तराजुमा जोखिसकेको थियो।

"अबचाहिँ यथार्थको नजिक आउँदै हुनुहुन्छ," युगनायिका सुस्तरी सल्बलाउँदै बोली। यो सल्बलाहटले मान्छेहरूको असन्तुष्टिप्रति वितृष्णा पोख्थ्यो, "विद्वान्हरू जहिले पनि आफू अगाडि हुन खोज्छन्। चाहे ती धर्मका नाममा हुन् वा राजनीति, चाहे त्यो प्रेम वा जीवनदर्शन, मान्छे जहिले पनि अरूलाई भ्रममा पारेर आफू विद्वान् हुन खोज्छ।"

"तपाईंको कुरा बुझ्दैछु युगनायिका," कौतूहल अझ सक्रिय र फराकिलो हुँदै थियो। "यो मानवग्रहमा एउटै विषयमा अरूलाई भ्रम पार्नेहरू धेरै छन्। यी भ्रमका खेती गर्नेहरू, भ्रममा पर्नेहरूलाई युद्धमा होमिदिन्छन् तर आफैँमा कोही पनि सत्य र साँचो हुँदैन।"

"सत्य त कोही हुँदैन। किनभने, विचार आफैंमा अमूर्त चीज हो। तर, जसले युद्ध जित्छ, उसले आफू मात्र सत्य भएको दाबी गर्छ।"

"हो युगनायिका, जे भन्नुभयो यो मानवग्रहको यथार्थ हो।"

युगनायिका केही बोलिनँ। सायद उनीहरू संवाद क्रमको अन्तिम विन्दुमा थिए। दुवै जनाले एकसाथ मानव ग्रहलाई नियाले। ग्रहको धेरै स्थानमा युद्ध चलिरहेकै थियो। कहीँ राजनीतिका नाममा, कहीँ धर्मका नाममा मान्छे मरिरहेकै थिए। कतै अधिकार माग्ने नाममा, कतै आफू ठूलो हुने नाममा, सृष्टिका फूलजस्तै सुन्दर जीवनहरू धूवाँ र खरानीमा विलीन हुँदै थिए। जो रंगमञ्चीय शैलीमा युगनायिकाका आँखासामुन्ने नाचिरहेको थियो।

युगनायिका अझै पनि भविष्यको आकलन गर्न नसक्ने तर्क गरिरहेकी थिई। उसको मस्तिष्कमा मानव इतिहास दोहोरी खेल्दै थिए। त्यो मेटिने सम्भावना थिएन। समयक्रमसँगै थपिँदै जाने भने निश्चित थियो।

मानव प्रतिनिधि युगनायिकासामुबाट अलप हुने क्रममा थियो। युगनायिकाले आफूलाई अप्राप्त अधिकारको क्षमता प्रदर्शन गर्दै कौतूहललाई बिदाइ गरी।

"कौतूहल महाशय ! युद्धहरू अझै बढ्दै जान्छन्।"

"किन?" कौतूहल प्रश्न गर्छ।

"किनभने, हिजोभन्दा धेरै आज विद्वान्हरू जन्मँदै छन्।"

यहाँ नेर संवादको अन्त्य हुन्छ। कौतूहल मस्तिष्क चलिरहन्छ। युगनायिका यी दृश्य अवलोकन गरिरहन्छे। निरन्तर...! निरन्तर...!

(नेपाल साप्ताहिकमा प्रथम पटक प्रकाशित)

Segments: 
Author: 

Comments