Loading

यो जिन्दगी खै के जिन्दगी/ देवव्रत घिमिरे

यो जिन्दगी खै के जिन्दगी कवि हरिभक्त कटुवालको रोमान्टिक भावधारामा रचित एउटा युद्धविरोधी कविता हो। यो कविताको भावभूमि दोस्रो विश्वयुद्धले  मानव जीवनमा पारेको त्राशपूर्ण वातावरण हो। अर्थात्, दोस्रो विश्वयुद्ध तथा एटम बमले विश्व मानव समाजमा ल्याएको त्रास तथा जीवनको अनित्यता औ निस्सार बचाइँ बारे कविले यस कवितामा कलात्मक अभिव्यक्ति दिएका छन्। यस कविताले तत्कालीन विश्वसन्दर्भलाई अँगाल्न पुगेको देखिन्छ।

 

दोस्रो विश्वयुद्धमा अमेरिकाले हिरोसिमामा एटम बम खसालेर त्यहँका लाखौं कडोरौ जन-धन तथा भौतिक-प्राकृतिक सम्पदा क्षणभरमा नै भष्म गरेको घटना विश्वको इतिहासबाट कहिल्यै मेटिएर जाँदैन। यो घटनाले तत्कालीन विश्व समाजमा निराशाको बादल छाएको थियो, सबैलाई स्तव्ध तुल्याएको थियो । साथै अहिले मरिन्छ कि भरे, जीवनको कुनै निश्चितता थिएन। युद्धको यो विकराल परिणामले कविको कोमल तथा मानतावादी हृदयलाई च्वास्स स्पर्ष गरेको देखिन्छ । कवि मानिसहरूलाई भित्रभित्रै खोक्रिएर बाहिर बाहिर बाँचेको देख्छन्। सबैलाई त्यो नरसंहारी एटमको त्रासले चुसिरहेको छ। समस्या, भूत वा प्रेतआत्माजस्तो भएर मानिसहरूलाई निरन्तर सताइरहेछ। कविले यस्तो जीवनलाई धिक्कार्दै यो जिन्दगी पनि खै के जिन्दगी हो! भन्दै आफ्ना कविताद्वारा निराशवादी अभिव्यक्तिका साथ तत्काली व्यवस्थाप्रति विरोध प्रदर्शण गर्न पुगेका छन्।

बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्ने, कुनै समय सुतिरहेको बेलामा त्यही बन्दुक पढ्केर पनि जीवनलीला समाप्त हुनसक्छ। खुकुरीको धारमा टेकेर जिउनु पर्ने अर्थात्, संधै ने खतराको सामना गर्न पर्ने। आँखा चिम्लन पनि जगजगी अर्थात्, राती सुत्दा पनि डरमर्दो। सुतेकै बेलामा मरिरे हो कि!आँखा उघार्न पनि जग्‌जगी अर्थात्, दिनमा कतै हिँडडुल गर्न पनि डरसरी। विहान घरबाट निस्किएको मान्छे बेलुकी घर फर्कन्छ कि फर्किँदैन।त्यसको कुनै निश्चितता छैन। यस्तो अनिश्चिततापूर्ण जीवन पनि के जीवन हो भनी कविले जीवनलाई नै धिक्कार्न पुगेका छन्। 

यस्तै युद्ध कालका विविध समस्याहरूले पिरोलिएको जीवनलाई कविले पसलमा सेकेशमा सजाइराखेको काँचको चूरोसँग तुलना गर्दै भनेका छन्। जसरी यो काँचको चूको कुनै युवतीको हातमा चढ्दा चढ्दै प्याट्ट फुट्न सक्छ त्यसरी नै मानिसहरूको जीवनको पनि कुन घडीमा अन्त्य हुन्छ त्यसको कुनै ठेकाना छैन।कविले अझ यो क्षणभंगूर मानव जीवनलाई बाटामा हिँडदा हिँड्दै च्यट्ट चुडिन सक्ने रबरका सस्ता चप्पलसँग पनि तुलना गरेको छन्। वास्तवमा कुनै पनि युद्धले मानव समाजलाई नोक्सान नै पुर्‍याएको छ। त्यमाथि पनि दोस्रो विश्वयुद्ध त एउटा विश्वव्यापी युद्द थियो। जसले विश्वका हरेक देशवासीहरूलाई त्राही त्राही तुल्याएको थियो। यस्तो अवस्थामा मानिसले विभिन्न समस्यले भरिएको जीवन निसास्सिएर विताउनु परिरहेरो थियो। त्यसै कारण कविले यस कविताद्वारा युद्धको वीभिषिकाले ल्याएको मानिसका त्रासपूण, मृतप्राय, निस्सार तथा अनिश्चित जीवन बारे करूण अभिव्यक्ति दिएका छन्।

यस कविताको भाषा शैली प्रसाद गुणसम्पन्न सरल, सरस, सहज तथा बोधगम्य रहेको पाइन्छ। “बन्दुकको नालमा टाउको राखेर निदाउनु”, “खुकुरीको धारमा पाइला टेरेक जिउनु”, “काँचको चूरो”,”रबरका सस्ता चप्पल” जस्ता बोधगम्य प्रतीक तथा पदावलीहरूको प्रयोगले कटुवालको कविप्रतिभालाई सौष्ठव प्रदान गरेको पाइन्छ। यही सरलता तथा सुबोध शब्दगुम्फनका साथ गम्भीर भावाभिव्यक्तिका कारण नै “यो जिन्दगी खै के जिन्दगी” का कविले विशिष्टता प्राप्त गरी नेपाली साहित्यमा यो कविता पुस्ता दर पुस्तासम्म शाश्वत बन्न पुगेको छ भन्ने कुरामा कुनै दुइ मत हुने छैन।

“यो जिन्दगी खै  के जिन्दगी !” कवि हरिभक्त कटुवालको कविता-यात्राको उत्तरार्द्धको रचना हो । यसमा कविले नँया-नँया बिम्ब-प्रतीक अलङ्कारहरुको सहज संवेद्य प्रयोग गरेका छन् र शैलीको सहज-सौन्दर्य पनि यस कविताले प्राप्त गरेको छ। समसामयिक समाज र जीवनका साथै चेतनालाई सहजतापूर्वक अभिव्यक्ति दिइएको प्रस्तुत कविता हो।यस कविताको भाषा शैली प्रसाद गुणसम्पन्न सरल, सरस, सहज तथा बोधगम्य रहेको पाइन्छ। “बन्दुकको नालमा टाउको राखेर निदाउनु”, “खुकुरीको धारमा पाइला टेरेक जिउनु”, “काँचको चूरो”,”रबरका सस्ता चप्पल” जस्ता बोधगम्य प्रतीक तथा पदावलीहरूको प्रयोगले कटुवालको कविप्रतिभालाई सौष्ठव प्रदान गरेको पाइन्छ। यही सरलता तथा सुबोध शब्दगुम्फनका साथ गम्भीर भावाभिव्यक्तिका कारण नै “यो जिन्दगी खै के जिन्दगी” का कविले विशिष्टता प्राप्त गरी नेपाली साहित्यमा यो कविता पुस्ता दर पुस्तासम्म शाश्वत बन्न पुगेको छ भन्ने कुरामा कुनै दुइ मत हुने छैन।

Segments: 

Comments