Loading

यस्तो कविता/ झमक घिमिरे

केही समय पहिले एउटा कविताको हत्या गरें
जो जिन्दगीको त्रासदी बोकेर
मान्छेका स्वास रोकेर
स्वतन्त्रताको गला रेटेर जन्मिएको थियो
त्यो कुरूप कविता
मेरो जिन्दगीलाई चाहिंदैन
मेरो स्वासलाई चाहिंदैन
मेरो स्वतन्त्रतालाई चाहिंदैन
जसको बीभत्स स्वरूप देखेर
मान्छेको मन आतङ्कले काँप्थ्यो
निश्चल आँखाहरूमा त्रासको छायाँ नाच्थ्यो
रगतको झोलमा डुबेर
उ आतङ्कको दुन्दुभि बजाउँथ्यो
यही बीभत्स कविता
जो संगीन र बारूदका धुवाँहरूसँग रमाउँथ्यो
रक्त कुण्डबाट उठेका मानव मशाल
आमाको आँसु हेर्दै गिज्याइरहेका थिए
मैले भर्खर उसको हत्या गरें ।
जे शरीरभरि कङ्काल बोकेर
जिब्राभरि रगत लिएर
नवयुगलाई गिज्याइरहेछ भने
उसलाई मानव कङ्कालले टेक्यो
स्वतन्त्रताले टेक्यो
जिन्दगीले टेक्यो
स्वयं मैले टेकें
अर्थात् उसको एउटा हत्या भयो ।
अव मेरो कोखबाट जन्मिदैन
यस्तो विरूप कविता
यस्तो सन्त्रस्त कविता
र यस्तो आतङ्कित कविता
किनभने युगलाई चाहिंदैन
अव यस्तो कविता .

धनकुटा, कचिडे, फोनः ०२६–५२०३४१

Segments: 

Comments