Loading

मुनामदन किन यति लोकप्रिय ?/ कुमारबहादुर जोशी

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन पहिलोपटक मैले आजभन्दा ५२ वर्षअघि अर्थात् २०१६ सालमा एसएलसी जाँच दिन तयारी गर्नेताका पढेको हुँ। त्यतिखेर पनि मैले मुनामदनभन्दा पहिले नै देवकोटाका 'यात्री' र 'मार्ग' नामक दुई कविता पढिसकेको थिएँ। त्यतिबेला देवकोटाका यी दुई कविता एसएलसीको पाठ्यक्रममा समाविष्ट थिए। खासमा यी दुई कविता पढेपछि नै म महाकवि देवकोटाप्रति आकषिर्त भएको हुँ। त्यसरी नै जसरी एसएलसी पाठ्यक्रमकै कविता 'कालमहिमा' पढेपछि कविशिरोमणि लेखनाथ पौड्यालप्रति आकषिर्त हुन पुगेको थिएँ। यसरी मलाई महाकवि देवकोटाप्रति प्रथमपटक आकषिर्त तुल्याउने र उनको मुनामदन खोजेर पढ्न लगाउने काम कविका उक्त 'यात्री' र 'मार्ग' कविताले नै गरेका थिए।

देवकोटाका यी दुई कवितामध्ये 'यात्री' यथार्थमा मुनामदनजस्तै कविको एउटा उत्कृष्ट र कालजयी कृति हो । तर, 'यात्री' एउटा फुटकर कविताका रूपमा उत्कृष्ट र कालजयी भयो भने मुनामदनचाहिँ खण्डकाव्यका रूपमा।

मैले त्यसबेला पढेको मुनामदन पछि महाविद्यालयमा देवकोटाका कृति पढाउने सिलसिलामा पटक-पटक पढेँ अनि खासगरी महाकवि देवकोटा विषयक विद्यावारििध गर्ने सिलसिलामा भने मुनामदनलाई मैले अत्यन्त मनोयोगपूर्वक दोहोर्‍याई-तेहेर्‍याई पनि पढेँ र पढेर हृदयंगम गर्ने, आत्मसात् गर्ने सक्दो प्रयास पनि गरेँ। मेरो विद्यावारििध शोधप्रबन्ध महाकवि देवकोटाका कवितायात्रा र त्यसको मोड, उपमोडहरूको विवेचना -०४२) मा समाविष्ट मुनामदनको विवेचना शीर्षक समीक्षा यसै प्रयासको प्रतिफल हो, जुन पछि ०४८ सालमा प्रकाशित मेरो देवकोटाका प्रमुख कविता कृतिको कालक्रमिक विवेचना ग्रन्थमा -पृ ५५ देखि ८१ सम्म) फैलिएर रहेको छ।

जेहोस्, महाकवि देवकोटाको मुनामदन मैले एवंप्रकार विभिन्न समय, परििस्थति र मनस्थितिमा पटक-पटक गरी धेरैपटक पढेको छु र जतिपटक पढेँ, त्यति नै पटक रोएको पनि छु। साँच्चै भन्ने हो भने औधी नै मार्मिक छ यो काव्य मुनामदन।

महाकवि देवकोटा विषयक विविध ग्रन्थ लेखेको र अझ खासगरी देवकोटाकै समग्र काव्यकृतिमा केन्दि्रत भई विद्यावारििध गरेको नाताले नै होला, हिजोआज स्वदेश र विदेश -खासगरी भारत)का जोकोहीले पनि देवकोटा र उनका कृतिबारे केही सोध्नुपरे मसँग टेलिफोन सम्पर्क गरहिाल्छन्। केही दिनअघि मात्रै पनि हाम्रो राष्ट्रिय दैनिक गोरखापत्रका संवाददाता भउचप्रसाद यादवले मसँग टेलिफोन सम्पर्क गरी देवकोटाको मुनामदन औधी लोकपि्रय हुनाको कारण सोधेका थिए र मैले उनलाई तत्काल जवाफ दिनुपरेको थियो। जवाफमा त्यतिखेर मैले भनेका कुरालाई यादवले आफ्नो शैलीमा निम्नप्रकार समाचार बनाई यही ४ असार ०६८ को गोरखापत्रको मुखपृष्ठमा प्रकाशित गरे, "महाकवि देवकोटाकै जीवनीमा -जीवनीमा होइन, समग्र काव्यकृतिमा- कुबजो) विद्यावारििध गर्नुभएका कुमारबहादुर जोशीको मुनामदनलाई नेपाली समाजको निम्नवर्गीय जीवनको यथार्थमा आधारति लोकजीवनमा भिजेको कारुणिक कथाका कारण लोकपि्रय भएको ठम्याइ छ। उहाँ मुनामदनलाई काव्य र नाटकका रूपमा पठनीय र मञ्चनीयसमेत भएको बताउनुहुन्छ। सबै तहका पाठकका निम्ति पठनीय सरल भाषाका कारणले पनि मुनामदन आमनेपालीमाझ लोकपि्रय भएको जोशीको तर्क छ।"

'मुनामदन बिक्रीमा सधैँ अगाडि' शीर्षकको यस समाचारमा मेरो मात्र होइन, राष्ट्रकवि माधवप्रसाद घिमिरे, वरष्िठ साहित्यकार मदनमणि दीक्षित तथा वरष्िठ समालोचक प्रा मोहनराज शर्माका विचार पनि सँगसँगै छन्। साँच्चै भन्ने हो भने यो समाचार पढेपछि नै मलाई प्रस्तुत लेख लेखेर उक्त प्रसंगमा अरू बढी प्रकाश पार्ने इच्छा पैदा भयो र यो लेख लेखेँ। त्यसैले यादवजीलाई धन्यवाद दिन चाहन्छु यस सन्दर्भमा। उपर्युल्लिखित समाचार अनुसार पनि हालसम्म मुनामदनको बिक्री संख्या पाँच लाख प्रति नाघिसकेको र नेपालको पुस्तक बिक्रीका क्षेत्रमा मुनामदनले नयाँ कीर्तिमान कायम गरेको बुझिन्छ। मुनामदनको आजसम्मको यो प्रकाशन र बिक्रीवितरणको तथ्यांकबाट यो सर्वाधिक लोकपि्रय साहित्यिक कृति सावित भएको छ -यसअघिको सर्वाधिक लोकपि्रय कृतिचाहिँ भानुभक्तको रामायण हो) त्यसैले स्वभावत: प्रश्न उठ्छ : मुनामदन किन यति लोकपि्रय?

उक्त प्रश्नको उत्तर खोज्ने क्रममा सर्वप्रथम म महाकवि देवकोटाकै उक्ति उल्लेखनीय सम्झन्छु : एकदिन एक जना पण्डितजी धर्मसम्बन्धी आफ्नो एउटा लेखको पाण्डुलिपि बोकी महाकविकहाँ पुगेछन्। पण्डितजीको त्यो पाण्डुलिपि हेरेपछि महाकविले भनेछन्, "पण्डितजी अब देवताका कुरा होइन, मान्छेका कुरा लेख्नूस्। हेर्नूस्, मैले यतिधेरै लेखिसकँे, तीमध्ये मुनामदनझैँ अरू कुनै कृति पनि लोकपि्रय भएनन् किनभने तिनमा भन्दा मुनामदनमा मान्छेका कुरा बढी छन्। देउता र सेठ-सामन्तहरूको होइन, अब हामीले मान्छेका बारेमा लेख्नुपर्छ।"

महाकवि देवकोटाद्वारा सम्बोधित यी पण्डितजी अरू कोही होइन, स्वयं महाकविकै मित्र सोमनाथ घिमिरे 'ब्यास' थिए भन्ने कुरा 'ब्यास'ज्यूकै संस्मरण-लेख 'साहिँलाबाजे मेरा सम्झनामा'बाट स्पष्ट हुन्छ। -हेर्नूस्- महाकवि देवकोटाका आनीबानी २०५५ पृ २६६-२७२, सम्पा घटराज भट्टराई)।

अब कुरा गरौँ, मुनामदनको जन्मबारे। यस सन्दर्भमा महाकवि देवकोटा स्वयंले धर्मराज थापाको पहाडी संगीत -०२२) मा भूमिका लेख्ने क्रममा यस्तो लेखेको पाइन्छ : "झ्याउरे कविताको साहित्यिक सम्भावनाउपर कसैको नजर गएको थिएन त्यस समयसम्म। भए पनि फोहोरी तवरका साहिँली नानी ढंगका नीचरुचिका कविता सिपाही र लाहुरेका पाकेट कुत्कुत्याउने किसिमका चीजहरू मात्र पैसा तनुवा साहित्यिक व्यापारीले चलाउन खोजेका थिए होलान्। म जब १५ असारको अथवा मौकामौकामा यी स्वदेशी गीतका मधुरभन्दा मधुर लयमा गाइरहेको सुन्थेँ, अक्सर साँझमा मलाई एक किसिमको खेद र उल्लास दुवै पैदा हुन्थे। अफसोस लाग्थ्यो कि ती गीतका धेरै टुक्रा यौनभावका फोहोरी टुक्राजस्ता सुनिन्थे। साथसाथै खुसी लाग्थ्यो कि नेपालका घाँसी, गोठाला, किसान बिनापढाइका यति मीठा गीत प्रकृतिकविका स्वरूपमा बीचबीचमा यति चहकिलो तवरले झल्केका देखिन्थे। मलाई मनमा यस्तो लाग्थ्यो कि झ्याउरेलाई नीचरुचि र फोहोरपनाबाट उठाएर शिव, सत्य र सुन्दरको अमर झल्का भएका स्वदेशी ग्राम्य छन्दका कविता स्वरूपमा उठाएर जनताका सामुन्ने पेस गरुँ। यस भावना अनुसार मेरो दृष्टि झ्याउरे भाकाको रचनातिर लाग्न गयो र फलस्वरूप मैले ट्युसनपछि चारैदिनभित्र रातका दुई-दुई घन्टा लगाएर मुनामदन नामक उक्त झ्याउरे काव्यको रचना गरेँ।"

उपर्युक्त हरफहरूमा भनेजस्तै महाकवि देवकोटाले नभन्दै नेपाली झ्याउरे गीतलाई परम्परागत नीचरुचि र यौनभावका फोहोरपनाबाट माथि उठाएर शिव, सत्य, सुन्दरका अमर झल्का भएको उत्कृष्ट गीतिकाव्यको उच्चासनमा आसीन गराए मुनामदनमा। नेपाली साहित्यको इतिहासमा यो एउटा अभूतपूर्व एवं युगान्तकारी घटना थियो। साँच्चै भन्ने हो भने संस्कृतको बोलबाला भएको समयमा भानुभक्त आचार्यले नेपाली भाषामा रामायण लेखेर जुन ऐतिहासिक काम गरेका थिए, लक्ष्मीप्रसाद देवकोटाले पनि संस्कृत शास्त्रीय छन्दमा कविता लेख्ने पण्डित कविहरूको बिगबिगी भएका बेलामा झ्याउरे ग्राम्य छन्दमा मुनामदन लेखेर त्यस्तै ऐतिहासिक काम गरे।

यथार्थमा मुनामदन बोलचालको सरल नेपाली भाषामा लोकलय, झ्याउरेलाई अँगाली लेखिएको नेपाली साहित्यको पहिलो सच्चा साहित्यिक काव्य हो र यो प्रकाशित भएपछि नै देवकोटा कवि कहलिन थालेका थिए। यस कुरामा देवकोटाको आफ्नै आत्मस्वीकृति पाइन्छ।

उनले लेखेका छन् : "मैले झ्याउरे कवि बनेर कविताजगत्मा पहिलोबाजी पदार्पण गरेँ। जब सूर्यविक्रम ज्ञवालीले 'नेपालका दुई लाल' -यसको खास शीर्षकचाहिँ 'नेपाली साहित्याकाशका दुई तारा' हो- कुबजो) नामक एक लेखमा दार्जीलिङमा मेरो मुनामदन तथा श्री सिद्धिचरणका कवितामाथि प्रकाश पार्नुभयो।" -भूमिका, पहाडी संगीत)

मुनामदन सच्चा र उत्कृष्ट साहित्य मात्र होइन, जनसाहित्य पनि हो किनभने यसमा जनताको अर्थात् निम्नवर्गीय नेपाली जनताको यथार्थ जीवन प्रतिविम्बित भएको छ। यस प्रकार जनताको बोली अर्थात् जनताले बुझ्ने सरल नेपाली भाषा, जनताको लय अर्थात् मीठो नेपाली गाना झ्याउरे लय र नेपाली गाउँसहरकै यथार्थ जीवनगाथा अँगाल्ने गीतिकाव्य मुनामदनलाई जनताले नरुचाउने कुरै भएन। त्यसैले त यस काव्यको अमर गीति पंक्तिहरू नेपाली लेखपढ मात्र गर्न जान्ने सर्वसाधारण जनताले पनि उखानसर िकण्ठै गरेका र गुनगुनाउँदै, गाउँदै हिँडेका देखिन्छन् :

हातका मैला सुनका थैला के गर्नु धनले?
साग र सिस्नु खाएको बेस आनन्दी मनले।

यसैगरी, पढेलेखेकाहरूले पनि बेलामौकामा मुनामदनका पंक्तिहरू कण्ठै सुनाउने गरेको पाइन्छ। पठितहरूले सुनाउने मुनामदनका पंक्तिहरूचाहिँ अलि गहिरा भावका हुन्छन्। जस्तै :

सिर्जनाभित्र रचना राम्रा नजरका जुहार !
ईश्वरको हाँसो पाएको फूल छोएर नमार !

मुनामदन यतिविधि लोकपि्रय हुनाको कारण के पनि हो भने यसले अँगालेको आधारभूत नेवारी लोककथा यसै पनि वियोगान्त र कारुणिक छ। त्यसमाथि कवि देवकोटाले त्यसलाई कलात्मक पुन:सिर्जन गरेर मुनामदनमा अझ कारुणिक र जीवन्त बनाएका छन्। त्यसो हुँदा मुनामदन सुरुदेखि अन्त्यसम्म नै करुण रसले ओतप्रोत बनेको छ। यो काव्य औधी हृदयस्पर्शी हुनाको रहस्य पनि यही हो। मैले माथि नै भनिसकेँ, मुनामदन औधी नै मार्मिक छ। र, यो जतिपटक पढेँ, म त्यति नै पटक रोएँ भनेर। मुनामदनको यो सर्वकालीन हृदयस्पर्शिता नै यथार्थमा यसको सच्चा साहित्यिक गुण हो र यही नै यसको सर्वाधिक लोकपि्रयताको पनि प्रमुख कारण हो। साथै, यसमा पाइने सुन्दर प्रकृतिचित्रण, मुना र मदनको आत्मिक प्रेम, धनको सुख र मनको सुख अर्थात् यथार्थ र आदर्शबीचको द्वन्द्व, च्याङ्वा (भोटे)को मानवतावादी भावनाजस्ता अन्यान्य प्रसंगहरू पनि कम्ती कारुणिक छैनन् र यी पनि लोकपि्रयताका आधार हुन् ।
[Source: Nepal Weekly]

Segments: 

Comments