उपयोगी 'वाह गजल'/ तुलसीहरि कोइराला

नेपाली साहित्यमा गजलको प्रवेश गराउने आदिसाहित्यकारका रूपमा युवककवि मोतीराम भट्टको नाम लिइन्छ । उनले बनारसमा लामो समयसम्म बसेर संस्कृत, हिन्दी, ऊर्दू, फारसीजस्ता भाषाको अध्ययन गरेर गजल विधामा कलम चलाएका थिए र गजलको मूलधर्म शृङ्गारिकतालाई उनले मलजल गरेका थिए । यति पुरानो गजललेखन परम्परालाई अगाडि बढाउने सैद्धान्तिक ज्ञान हासिल गरेका रथीहरूको कमीका कारण सुषुप्त अबस्थामा रहेको गजललाई पछिल्लो समयमा आएर स्रष्टाको ठूलो भीडले जुरुक्कै बोकेको अनुभव हुन्छ । सैद्धान्तिक ज्ञान लिएर सम्पूर्ण नियमहरू पालन गरी गजल सिर्जना गर्ने 'गजलविज्ञ' को कमीका कारण बढी टीका-टिप्पणी पनि गजलमाथि नै हुने गरेका छन् । लेख्न रहर गर्नेहरूलाई सैद्धान्तिक ज्ञानको अभावले असजिलो भएको अनुभव केही ज्ञाताले गरेर गजल सिद्धान्तका किताबहरू प्रकाशनमा पनि नल्याएका त होइनन् तर पूर्ण सैद्धान्तिक गुरु पुस्तकको भने अभाव नै अनुभव हुँदैआएको छ । यसै सन्दर्भमा, गजलकार सनतकुमारले भर्खरै प्रकाशित गरेका छन्- 'वाह ! गजल' अर्थात् गजलको किताव ।

वनारसमै बसेर संस्कृत, हिन्दी, ऊर्दू, फारसी आदि भाषामा लिखित साहित्यको गहिरो अध्ययन गरेका सनतकुमारले गजललेखनलाई आफ्नो मूलविधाकैरूपमा अँगाल्दै स्नातकोत्तर अध्ययनक्रममा गजल सिर्जनालाई नै शोध सन्दर्भ बनाएकाले पनि उनलाई प्रस्तुत गजलको किताब तयार पार्न थप प्रेरणा मिलेको अनुभव हुन्छ । उनलाई अर्का अन्वेषक कमलमणि दीक्षितले आफ्ना सङ्कलनका विभिन्न किताबहरू उपलब्ध गराएर सहयोग गर्नुको परिणाम यो कृति हो भन्ने कु्रा प्रकाशकीयले पनि स्पष्ट गरेको छ ।

सनतकुमारको गजलको किताबले धेरै विशेषताहरू बोकेको छ । यसमा गजललेखनका लागि आवश्यक सैद्धान्तिक कुराहरूको पूर्ण जानकारी ज्यादै सरल ढङ्गले दिइएको छ । अरबी बोलीका तीन वर्ण-गेन, जि र लाम् मिलेर बनेको 'गजल' को मूलमर्म भन्नु नै प्रीतिको स्वर हो । 'ग' भनेको वाणी, 'ज' भनेको नारी र 'अल' भनेको साथको अर्थमा हुन्छ- प्रेयसीसँग कुराकानी तर आजकलका गजलमा ज्यादै विविधतापरक शैली र भावहरू भित्रिएका छन् । माया, प्रेमभन्दा पनि आक्रोश, विद्रोह, राजनीति, असन्तुष्टि, कुन सन्दर्भ र विषयमा गजल लेखिएको छैन र Û अपशोचÙ धेरै गजलकारहरू नियमभन्दा बाहिर गएर लेखिरहेका छन् र यसै कारणले पनि एउटाले अर्काको गजलमाथि नियमको सुइरो रोपिरहेको पनि देखिन्छ । वाह ! गजलको यस कृतिले अबश्य पनि गुरुको काम गर्छ नै । रदीफ, काफिया, मतला, मकता, मिसरा-ए-उला, मिसरा-ए-सानी, तखल्लुस, जस्ता गजलका अत्यावश्यक तìवको ज्ञानले मात्र पनि सिकारु गजलकारलाई बाटो पहिल्याउन सहज हुन्छ । उनले गजलका तीन अक्षरलाई 'ग'-गम्भीरता, 'ज'-जीवन्तता र 'ल'- लयात्मकता भनेर आफ्नै शैलीमा पनि व्याख्या गरेका छन् भने अर्कोतिर विम्ब, अलङ्कार, प्रतीकको समेत विश्लेषण गरेका छन् । गजलका गुण-अबगुण, गायनको तरिका, सङ्गीतको सङ्गति र गजल श्रवणको तरिकासमेत सिकाएर आफ्नो गजलकृतिलाई पूर्ण बनाउने प्रयास गरेका छन् सनतले ।

यस कृतिभित्र सनतकुमारका जम्माजम्मी छत्तीस वटा गजल समाविष्ट छन् र अन्य उदाहरणहरूमा यिनै गजलका शेरहरूलाई तलमाथि गरेर प्रस्तुत गरेका छन् । गजलहस्ती गुलजार, गालिब, गुलाम अली, साहिर, बशीर बट्रलगायतका केहीका शेरहरूलाई पनि उनले उदाहरणका रूपमा प्रस्तुत गरेका भए पनि नेपाली गजलकारका गजलहरु भने कुनै उदाहरणमा पनि समाविष्ट छैनन् ।

वाह ! गजलको अर्को महत्त्वपूर्ण पाटो भनेको स्वयं लेखककै हस्ताक्षरमा सिङ्गो कृति प्रकाशित हुनु हो । केही लेखकहरूले यसभन्दा अघि पनि आफ्नै हस्ताक्षरमा कृति प्रकाशित त गरेका हुन् तर सनतकुमार वस्तीका हस्ताक्षर ज्यादै सुन्दर र आकर्षक छन् । पुस्तक पल्टाउने जो कोही पाठकका मुखबाट अबश्य पनि निस्किन्छ- 'वाह ! अक्षर ।' स्पष्ट शैली, मिहीन विश्लेषण र आफ्नै गजलका उदाहरणहरूले कृतिलाई स्वादिलो बनाएका छन् र पनि भन्नै पर्दा पाठकलाई अमिलो लाग्ने गरी एउटा शीर्षकको विश्लेषण सकेर अर्कोमा जाँदा-पाना पाल्टाउनुहोस्, कुरा गरौँ अर्को पानामा, जवाफ अर्को पानामा, पाना पल्टाउनुहोस्- जवाफ हाजिर छ, यो भयो प्रश्न, अब उत्तर पाउनुहोस् पाना पल्टाएर, अर्को पानामा भेटौँ, जस्ता वाक्यहरू ज्यादै हलुका लाग्छन् । यी वाक्यहरू वास्तवमा आवश्यक पनि थिएनन् र ओजिला पनि होइनन् ।

गजलकार सनतकुमारले पुराताìिवक विषयमा विद्यावारिधि गरेका भए पनि उनी गजलज्ञाताका हिसाबले पनि 'वाह' गजलबाट गजलमा पनि विद्यावारिधि गरेसरहको व्यक्तित्व ठहरिएका छन् । कृतिगत हिसाबले पनि उनको यो पहिलो कृति हो । उनी थोरै लेख्छन् तर राम्रो लेख्छन् । सिद्धान्तभित्र बाँधिएर लेख्दा धेरै लेख्न नसकिने पनि हुनसक्छ । थोरै लेखेर पनि चर्चाको केन्द्रविन्दुमा रहन सफल हुनुले उनको गजल अन्वेषण र लेखनको सफलता मान्नुपर्छ । उनी गजल गायनका क्षेत्रमा पनि अग्रणी मानिन्छन् र लेखन र गायनलाई तादात्म्य मिलाएर लेख्ने हुनाले सफल गजलकार ठहरिएका छन् ।

कृति ः वाह! गजल (गजलको किताब)
लेखक ः सनतकुमार
प्रकाशक ः कोक गोष्ठी, कमलपोखरी, काठमाडौँ
प्रकाशन ः २०६७ साउन
पृष्ठ ः १८७+१०
मूल्य ः रु. २००।-

[Source: Madhuparka]

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom