Loading

दुई ध्रुव / राजेन्द्र पराजुली

दुई ध्रुव अर्थात् डा. धु्रवचन्द्र गौतम र धु्रव सापकोटाबीच थुप्रै असमानता छन्, तर तिनको किनारा एउटै छ। दुवैजना साहित्यको गन्तव्य खोज्दै हिँडेका छन्। असमानता वैचारिक र उद्देश्यपरकताको अर्थमा होइन। गौतम वीरगञ्जको तातोमा जन्मिए, सापकोटा काभ्रेपलाञ्चोक, कुशादेवीको शीतल डाँडामा। तिनलाई भेट गरायो यो कचौरे राजधानी काठमाडौँले र अटुट मित्रताको जोडी बनाइदियो साहित्यले। र, केन्द्रमा रह्यो २० को दशकको कथाप्रधान साहित्यिक पत्रिका ‘प्रतीक'। त्यसका सम्पादक थिए सापकोटा र अर्का साहित्यकार हरि अधिकारी।

 

‘गुरु' दुवैको प्रिय सम्बोधन। दुवैले एकअर्कालाई गुरु भन्न थालेको साढे ३ दशक भयो। तर गुरु सम्बोधन फुर्न यिनलाई झन्डै एक दशक लाग्यो। त्यसबेलासम्म अन्य लेखकसमेत मिलेर २ वटा संयुक्त उपन्यास यिनले लेखिसकेका थिए। दुई ध्रुवसहित परशु प्रधान, केदार अमात्य, शैलेन्द्र साकार, पुष्कर लोहनी, शंकर कोइराला, मञ्जु काँचुली, दौलतविक्रम विष्ट तथा प्रेमा शाह मिलेर २०३१ सालमा ‘आकाश विभाजित छ' नामको उपन्यास लेखे। र, यसको श्रीगणेश गरे चर्चित आख्यानकार परशु प्रधानले। प्रधानले सुरुमा जम्माजम्मी ५ पृष्ठ लेखे र त्यो दिए सापकोटालाई। सबैले एकएक भाग लेख्ने सहमति भयो। त्यसको अन्त्य गरिन् प्रेमा शाहले। आफूलाई जे लेख्न मन लाग्छ, जति मन लाग्छ सोहीअनुरुप लेख्न पाइने स्वतन्त्रता थियो त्यो उपन्यासमा। संयोजनको जिम्मा भने सापकोटाले लिएका थिए। त्यसबेलाको चर्चित साहित्यिक पत्रिका रूपरेखामा त्यो पहिलो पटक छापियो। सापकोटाले रत्न पुस्तकसँग कुरा गरेर उक्त उपन्यास प्रकाशन पनि गराए। १० जनाबाट १२ लेखक पुर्याछउने कुरा पनि भएछ त्यस उपन्यासमा। प्रस्ताव राखिएछ पारिजात र शंकर लामिछानेलाई। ‘पारिजातले त एक पटक पढेर म अहिले नलेखौँ कि भनिन्,' सापकोटा सम्झन्छन्, ‘लामिछानेले भने २ महिनाजति राखिदिए, प्रशंसा पनि गरे र अन्त्यमा नलेख्ने बताए।' पारिजात र लामिछानेले पनि लेखेका भए कस्तो हुन्थ्यो होला हगि त्यो उपन्यास? प्रश्न झन्डै दुवैको मुखबाट यही निस्क्यो र दुवै उन्मुक्त ढंगमा हाँस्न थाले। 

 

साहित्यबजारमा ‘आकाश विभाजित छ' उपन्यासले एकखालको तरंग ल्याएपछि एक हुल लेखक मिलेर उपन्यास लेख्ने कर्ममा यी दुई हौसिए। र, अर्को संयुक्त उपन्यास लेखे २०३३ सालमा ‘अवतार विघटन' नामको। त्यसपछि भने यिनले संयुक्त उपन्यासमा लेखकको संख्या घटाउनतिर लागे र ३ जनामात्रै मिलेर २०४४ सालमा तयार पारे उपन्यास ‘देहमुक्त'। यसमा साथ दिइन् मञ्जु काँचुलीले। र, संयुक्त उपन्यास लेखनको पटाक्षेप भयो २०५० सालको ‘ज्यागा' बाट। भुटानी शरणार्थीलाई विषय बनाएर लेखिएको उक्त उपन्यासमा दुई ध्रुवमात्र संलग्न रहे। त्यसबेला नेपाली मूलका भुटानी नागरिक आफ्नो मुलुकबाट लखेटिएर शरणार्थीका रूपमा नेपाल आउने क्रम सुरुमात्रै भएको थियो। दुवैले २०४९ सालमा शरणार्थी शिविर झापा जाने सल्लाह गरे। यी दुई लेखक केही दिन शिविरतिरै बसे। ज्यागाको पहिलो भाग लेखेर सकेकामात्रै के थिए, सापकोटाको आमाको निधनको खबर आयो। उनी गौतमलाई पान्डुलिपि जिम्मा दिएर आफ्नी आमाको सद्गत गर्न काभ्रेतिर लागे। फर्केर आउँदा उपन्यास छापिएरै आइसकेको थियो। ‘डाक्टरको लेखनको रफ्तार गज्जबकै छ,' गौतमतिर हेर्दै सापकाटोले भने। भुटानी शरणार्थीको समस्या तातै थियो त्यसबेला। त्यसबखत नयाँ विषय थियो त्यो नेपाली साहित्यले समातेको। उपन्यास चर्चित पनि भयो। 

 

अब त्यसरी संयुक्त उपन्यास लेख्ने यी लेखकको कुनै योजना छैन। ‘सायद अब त्यसरी लेख्न सकिँदैन होला,' दुवै जना भन्छन्, ‘त्यसबेला एउटा प्रयोग गरेका हौँ।' सापकोटाका अनुसार कुनै एउटा कृति एकजनाभन्दा बढी लेखक मिलेर लेख्नु भनेको मित्रताको चरम रूप हो। ‘विचार र संवेदना मिल्न सहज कहाँ छ र,' उनी भन्छन्।

 

सापकोटा अलि अन्तर्मुखी छन्, गौतम तुलनात्मकरूपमा खुल्लाखालका। त्यसैले त गौतम आजका युवा लेखक–पत्रकारसँग पनि घुलमिल हुनसक्छन्। सापकोटा हत्तपत्त कसैसँग घुलमिल हुन सक्दैनन्। आजसम्म सापकोटाले डा. गौतमबाहेक कुनै साहित्यिक साथीलाई ‘तिमी' सम्बोधन गरेका छैनन्। उस्तै छ अवस्था गौतमको पनि। उनले तिमी भन्ने अर्का एक जनामात्र मित्र थिए, प्रसिद्ध कवि भूपि शेरचन। ‘मलाई त अहिलेका लेखक र उहिलेका लेखक निकै फरक पो लाग्छन्, त्यसबेलाका हाम्रा अग्रज गज्जबका हुन्थे, सम्मान गर्न लायक,' सापकोटा भन्छन्, ‘अग्रजको स्नेह र प्रोत्साहन पनि उत्तिकै मिल्थ्यो हामीलाई।' 

 

दुई जनाको भेटमा प्रस्फुटन हुने उन्मुक्त हाँसो देख्ने जोकोही पनि यिनका मित्रताबारे सोच्न बाध्य हुन्छ। दुई ध्रुवले राजधानीमा आख्यानका विषय खोज्दै हिँडेको झन्डै ५ दशक पुग्न लागिसक्यो। यो बाटोमा सापकोटाभन्दा गौतम अलि छिटो हिँडेका हुन् कि भन्ने पनि लाग्छ। ‘अलिखित', ‘कट्टेल सरको चोटपटक', ‘स्वर्गीय हीरादेवीको खोज', ‘अन्त्यपछि'जस्ता कृतिका लेखक गौतमका पुस्तक ५० पुग्न लागिसके भने विशेषगरी कथामै रमाएका र ‘अकल्पनीय' उपन्यासका साथै ‘अन्धकार' नामक चर्चित कथाका लेखक सापकोटा १० कृतिको सेरोफेरोमा छन्। ‘हामीबीच प्रतिष्पर्धा पनि छ, तर राम्रो लेख्ने प्रतिष्पर्धामात्रै,' सापकोटा भन्छन्, ‘संख्यामा त मैले कहाँ भेट्नु र तिमीलाई हैन गोतामे गुरु!' (लामो हाँसो)  अहिले गौतम बाल्यकालको संस्मरण लेख्न व्यस्त छन् भने सापकोटा उपन्यास लेखिरहेका छन्। एउटै बाटो हिँड्छन् यी दुईजना अंकमाल गर्दै र सुसेल्दै, तर गन्तव्य चुम्छन् बेग्लै शैलीमा। गौतमलाई अझै पनि बारा–पर्साको गर्मी, त्यहाँको भेषभुषा, बोलीचाली र भाषाले लखेटिरहेको छ भने सापकोटा पहाड, काँठ, सहरका सांस्कृतिक संक्रमण तथा विसंगतिको चिरफारमा रमाउँछन्। 

 

‘सायद अब हामी त ‘टे्रडिसनल राइटर' पो भइसक्यौँ कि!' कम्प्युटरमा नलेख्ने, घुँडा धसेर कापीमा लेख्ने यी दुवै लेखकलाई पुनर्लेखन र साफीमा उत्तिकै विश्वास छ। मदन पुरस्कार पाएको कृति अलिखितमा आफूले धेरै मेहनत गरेको बताउँछन् गौतम। ‘मैले आफूलाई एकदम चित्त बुझेपछि मात्रै प्रकाशनका लागि दिएको हुँ,' उनी भन्छन्, ‘आफूलाई नै पनि चित्त बुझाउन कहाँ सजिलो छ र!' तर एक लाख शब्द लेखेर १३.२ प्रतिशत छाँट्ने कुरामा रत्तिभर रुचि छैन। ‘लेख्दै जाँदा जति शब्द पुग्छ पुगोस्, एउटा बहावमा लेखेपछि रोक्न गाह्रो हुन्छ मलाई,' गौतम भन्छन्। सापकोटाले आजसम्म आफ्नो रचना छाप्नुअघि कसैलाई देखाएका छैनन्, केवल एक जनालाई बाहेक। ती हुन् पारिजात। पारिजातसँगको भेट बाक्लै थियो उनको। ‘जिन्दगी अर्थात् टाइम बम' शीर्षकको कथा यिनले छाप्न दिनुअघि पारिजातलाई देखाए। उक्त कथा पारिजातले असाध्यै मनपराएको र कतिपय कार्यक्रममा त्यसको चर्चा पनि गरेको सापकोटाले बिर्सेका छैनन्। गौतमले पनि पहिलो पटक आफ्नो पान्डुलिपि पढ्न उनै पारिजातलाई दिएका थिए, २०२३ सालमा। ‘अन्त्यपछि' शीर्षकको उपन्यास थियो त्यो। ‘अन्त्यपछि पढेर उहाँले एकदम बौद्धिक कोटीको उपन्यास रहेछ भन्नुभएको थियो,' झन्डै ५ दशकअघिको स्मरणमा रमाउँछन् गौतम। 

 

गौतमलाई एउटा फोटोले अहिले पनि पछ्याइरहेको छ। जब उनी लक्का जवान थिए। दाजु धच गोतामेको घरमा जमघट चलिरहेको थियो लेखकहरुको। शंकर लामिछाने पनि त्यहाँ थिए। धु्रवचन्द्रलाई लामिछानेसँग बसेर फोटो खिच्ने इच्छा जाग्यो। ‘लामिछाने मान्छे निकै ठट्टाप्रेमी पनि थिए,' उनी सम्झन्छन्, ‘हामीले एउटा रमाइलो पाराको फोटो खिच्यौँ, धुलाएर हेर्यौँ र बेस्सरी हाँस्यौँ पनि, तर त्यो फोटो अहिले मसँग छैन। दुःखी छु।'

सन् २०१३ मा नोबेल पुरस्कार जितेकी क्यानडियन आख्यानकार एलिस मुनरोले लेख्न छाडेको समाचार केही दिनअघिमात्रै सञ्चारमाध्यममा आएको छ। प्रसंग जोडिने नै भयो, ६० नाघेका सापकोटा र ७० कटेका गौतमका माझमा। यी दुई मित्रले लेख्न बन्द गर्लान् के? कति वर्षको उमेर भएपछि? दुवैको विचार उस्तै छ। भन्छन्, ‘लेख्नु भनेको अनुभूतिको बेगलाई पोख्नु हो। यो उमेरसँग जोडिने विषय नै होइन। फेरि हाम्रो उमेर कति नै भएको छ र! जब अनुभूति कमजोर हुन्छ, विस्मृति बलियो हुन्छ तबमात्रै लेख्न छाड्ने हो।' विषय, शैली वा सन्दर्भको पुनरुक्ति हुन थाल्यो भने पनि लेख्न रोक्नुपर्ने उनीहरूको भनाई छ। 

 

गौतमको व्यक्तित्वका अघिल्तिर सापकोटा छायामा परेको हो? भन्ने प्रश्नको उत्तरमा दुवैको स्वीकारोक्ति छैन। गौतम भन्छन्, ‘आआफ्नै प्रतिभा र क्षमताले लेख्ने हो। कोही कसैको छायामा पर्ने भन्ने कुरै हुँदैन। म छायामा पर्ने भए दाजु धचकै छायामा परिहाल्थेँ नि। धच दाइ त ‘मिस्टर पर्फेक्सनिस्ट' हुनुहुन्थ्यो। उहाँको आफ्नै व्यक्तित्व छ, मेरो आफ्नै दुनियाँ।' 

 

वर्तमान समयमा साहित्य अलि बहकिएको हो कि भन्ने चिन्ता दुवैलाई छ। साहित्यका नाममा अर्थोकले नै स्थान बलियो बनाउन थालेको हो कि भन्ने आशंका दुवै गर्छन्। ‘पल्प फिक्सनप्रतिको मोह पनि अलि बढेको हो कि भन्ने पनि लाग्छ मलाई,' गौतम भन्छन्, ‘तर त्यो पनि त समयको माग नै हो, हामीले त्यसलाई स्वीकार गर्नै पर्छ।' कसैले कसैलाई राम्रो नदेख्ने, सञ्चारमाध्यम र तिनमा मौलाएको ‘सिन्डिकेट'का भरमा ठूलो लेखक बन्ने संस्कारले दुवैलाई दुःखी बनाएको छ। सबैभन्दा बढी दुःखी त पुराना लेखकलाई गन्दै नगन्ने चलनले बनाएको छ। ‘हामीले हाम्रा अग्रज गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल, बीपी कोइराला, पारिजात, धच गोतामे, शंकर लामिछानेलगायतका लेखकलाई सधैँ श्रद्धा गर्यौँल। तिनलाई भेट्दा दुई हात जोडेर नमस्कार गर्यौं । एक प्रकारले अग्रजको पूजा नै गर्यौँ्,' सापकोटा भन्छन्। तर नयाँ पुस्ताप्रति दुवैको ठूलो विश्वास भने छ। 

 

साँझले बिदा माग्ने संकेत गरिसकेको थियो। ‘ओ हो! ५ घन्टा पो बसिसकिएछ त, गफ गर्दा समय कटेको पत्तै भएन,' सापकोटा भन्छन्। भित्तेघडीले साँझको ८ लाई स्पर्श गर्नै लागेको थियो। ‘अब छुट्टिने बेलामा तिम्रो एउटा गीत सुनाउ न गुरु,' सापकोटाले अनुरोध गरे आफ्ना प्रिय मित्रलाई, ‘वीरगञ्ज जेलमा परेका राजनीतिक बन्दीहरूले रुचाएको गीत गाइदेऊ न गुरु, खुब राम्रो छ तिम्रो त्यो गीत।'

 

थाकेर पाइला–पाइलामा

तर्सेरै बाँच्नु, बाँच्नु हो भने

ए जिन्दगी मलाई छाडिदे.....

हर क्षण सहारा खोज्दैमा

माया र साथी छुट्दैछन्

यहाँ मान्छेलाई मान्छेले

कति निर्ममताले लुट्दैछन्....

Comments