गुवाहटी (आसाम)-रेल स्टेसनबाट निस्केको एउटा नेपाली हुलप्रति गुवाहटीका सडकमा छक्क पर्ने थोरै देखिए, वास्तै नगर्ने बरु धेरै१ यो भरखरैको कुरा हो, जुन दिन २५ जना नेपाली स्टेसनबाट पल्टनबजारस्थित नेपाली मन्दिरतिर जाँदैथिए। शीरमा ढाका टोपी र दौरा सुरुवालमा सजिएका नेपाली देख्दा स्थानीय मानिस अचम्भित नहुने कारण हो– आसाममा नेपालीभाषीको पुस्तौंदेखिको बाक्लो उपस्थिति। अरुबेलै नेपालीभाषीलाई यस्तो पहिरनमा देख्ने बानीले खाँटी नेपालीप्रति स्थानीय परिचितझैं बनेका हुन्।
दूरी– झन्डै ११ सय किलोमिटर। भाषा– फरकफरक। भूगोल– भिन्नाभिन्नै। देश– अर्कोअर्कै। भारतको उत्तरपूर्वी राज्य आसाम र नेपाली राजधानी काठमाडौंबीचका अन्तर हुन् यी। मेची खोलाले राजनीतिक सीमा निर्क्यौल गर्दै दुई देशमा विभाजन गरे पनि आसाम र नेपालबीच थुप्रै कुरा मिल्दाजुल्दा छन्। भारत बस्ने नेपालीभाषीको संख्या झन्डै एक करोड हाराहारी मानिँदै आएका बेला आसाममै ४० लाख जति नेपालीभाषी छन्। आसाम सबैभन्दा धेरै नेपालीभाषी रहेको भारतीय राज्य हो।