पुतली / लक्ष्मीप्रसाद देवकोटा
म रङ्गीचङ्गी छु वसन्त छोरी ।
म जन्मिएँ कोकिलले कर्राई ।।
झुसिल्किराको सपना सिँगारी ।
दिए पखेटा प्रभुले मलाई ।।१।।
म हूँ पहीली बुझ पङ्खदार ।
वसन्तको फूल लिँदी सिँगार ।।
कता कताको सुकुमार सार ।
फुलेर उठ्दो क्षणको विचार ।।२।।
आकाश जस्तो सुनसान चित्त ।
हुँदा फुरी भाव नयाँ विचित्र ।।
इन्द्रनी जस्तो रंगरुप पाई ।
उचालिए झै म उडें रमाई ।।३।।
म बीउ झै ली सपना सुतेथें ।
झरी र छाया अनि घामभित्र ।।
क्यै कुत्कुतीले बुझ पङ्खदार ।
बनी उडें क्या कलिली विचित्र ।।४।।