Loading

तारा नउदाएको आकाश / सन्तोष शर्मा

Bhim Darshan Rokaआफ्नो जन्मदिनमा गायिका लोचन भट्टराईले रत्नपार्कमा एक साथीको हातमा एउटा पुस्तक देखिन्। 

सोधिन्, 'के हो?'

'भीमदर्शन रोकाको कविता।'

'खै, हेरूँ त!' 

भीमदर्शन लोचनले हेरिरहेको, खोजिरहेको मान्छे। शंकर लामिछानेको निबन्ध पनि पढेकी थिइन् उनले, 'भीमदर्शन रोका' शीर्षकमा। 

अनुहार माओत्सेतुङसँग मेल खाने...

लेखाइ क्लिष्ट थियो लामिछानेको। त्यसैले धेरै बुझिनन् तर त्यहीँ थियो चार लाइनको मुक्तक जसलाई लोचनले कहिल्यै भुल्न सकिनन् : 

रात केवल एक प्रहर बाँकी छ

तीन प्रहरको अन्तिम असर बाँकी छ

पश्चिममा पुगेकी एक्ली चाँदनीलाई 

केवल यौटा मेरै भर बाँकी छ

बीचबीचमा मुक्तक थिए निबन्धमा। ती पढ्दा यस्ता गज्जबका लेखक छन् नेपालमा भन्ने लाग्यो लोचनलाई। 

केही साथीसँग सोधिन्- उनी बाँचेका छन्?

उनका पुस्तक छन्?

तर उनका समकालीनलाई केही थाहा रहेनछ।

चारपाँच वर्ष त्यत्तिकै बिते। तर मनबाट प्रश्न हटेन- त्यो मुक्तकको बाँकी अंश कहाँ पाइएला? 

...

रत्नपार्कको एक रेस्टुरेन्टमा चिया मगाएर पुस्तक पल्टाउन थालिन्। जति पढ्दै जान्छिन्, झन्-झन् गजब लाग्दै गयो।

अनि तिनै पुस्तकधनी साथीलाई सोधिन्, 'उहाँ जीवित हुनुहुन्छ?'

'हुनुहुन्छ।'

'कस्तो अवस्थामा हुनुहुन्छ?'

'बिरामी।'

भोलिपल्ट टिचिङ हस्पिटल गइन्। 'भीमदर्शन बोल्न, खान, हिँड्न नसक्ने अवस्थामा हुनुहुँदो रहेछ। तैपनि मैले उहाँबारे जाने-सुने-पढेको सबै कुरा बताइदिएँ,' लोचनले सम्भि्कन्, 'उहाँको आँखा चम्किलो भएर आयो। अनुहारमा चमक आयो। टाउको हल्लाउनुभयो।'

भीमदर्शन वनस्थली स्कुलका इङ्लिस टिचर। कन्या मन्दिर विद्यालयको संस्थापक भएर २०१२ सालदेखि १८ वर्ष पढाए। बिमारले आठ वर्ष आराम गरे , अनि २०३८ मा सिद्धार्थ वनस्थलीमा पढाउन थाले, अठारै वर्ष पढाए। 

शंकर लामिछाने, भूपी, देवकोटा, सिद्धिचरण, माधव घिमिरे, नारायण गोपाल, गोपाल योञ्जनहरू उनका दौंतरी। २०११-१२ सालतिर दिल्लीमा भएको अफ्रो-एसियाली साहित्य सम्मेलनमा देवकोटासँग भीमदर्शन पनि गएका थिए। त्यतिखेर देवकोटा-रोकाले 'इन्द्रेनी' पत्रिका निकालेर अंग्रेजीमा पनि अनुवाद गरेका थिए।

आफ्ना कविता छाप्नै चाहन्थेनन् भीमदर्शन। जमघटहरूमा मुक्तक भन्ने, तर लेखिएको हुन्थेन। यसले यस्तै गरेर मुक्तक लेख्छ, छोड्छ अनि ती हराउँछन् भनेर शंकर, भूपीहरूले संग्रह गरिदिन्थे।

उनीहरूले नै छपाइदिन्थे। २०१० को दशकमा उनका कविता प्रगति, इन्द्रेनी पत्रिकामा छापिए। २०, ३० र ४० को दशकमा रूपरेखा, कविता र गरिमामा छापिए।

तिनै भूपी र शंकर लामिछानेहरू उनलाई उकास्थे- यति राम्रा मुक्तक छन्, संग्रह निकालौं।

तर उनी कहिल्यै लोभिएनन्। बरु भन्थे, 'कविता हुन सक्छ चानचुने चिज? मेरा कविता, मुक्तक त्यो लेभलका छैनन् कि छालिहालुँ। कवि/कविता भनेको सानो कुरा हो?'

तर जब २०५७ सालमा उनी बोल्न नसक्ने असक्त भए तब परिवार र साथीभाइको पहलमा एउटा संग्रह निकालियो- घाम डुबी तारा नउदाएको आकाश हुँ म। पछि त्यही पुस्तक साझा प्रकाशनले पनि निकाल्यो। 

...

भीमदर्शनका मुक्तक/कविता पढेपछि लोचनमा तिनलाई संगीतमा ढाल्ने लालसा पलाएको थियो। हुन पनि उनले पहिलोचोटि आफैंले संगीत भरेर निकालेको एल्बम उनैका शब्दमा हो।

भीमदर्शनलाई २०५९ असारमा टिचिङ हस्पिटलको बेडमा भेटेर उनले संगीत भर्नका लागि स्वीकृति लिएकी थिइन्। 'पाँच दिनमै भोकल, कम्पोज, मिक्सिङ स्टुडियोको सबै काम सकेको थिएँ। चार घन्टामा पाँच वटा गीत सकेको थिएँ,' लोचनले सुनाइन्। एल्बममा आठ गीत छन्।

त्यही साल मंसिर २८ मा एल्बल सार्वजनिक गरियो।

'समयमै कम्पोज गरेको भएर, जे होस्, उहाँलाई सुनाउन पाएँ।' भीमदर्शन आफ्ना कविताको गीति रूप आइसियुमा छँदा पनि सुनाइमाग्थे रे, हरेक दिनजसो। लोचनलाई यसैमा त गर्व छ।

तीन वर्षदेखि असक्त भएर पनि सुन्न सक्ने अवस्थाका भीमदर्शनलाई भेट्न पाउनुलाई अहोभाग्य ठान्छिन् लोचन। उच्च रक्तचाप र पक्षघातले स्वर हरेको थियो। 'सुन्न सक्ने शक्ति भएका कारण त मैले उहाँका कविता गाएर सुनाउन सकेँ,' लोचन गर्व गर्छिन्।

त्यही एल्बम विमोचन समारोह (२०५९ मंसिर २८) मा दाहाल यज्ञनिधिले स्टेजमा उक्लेर भीमदर्शनका खुट्टा ढोगेका थिए। त्यतिखेर दाहालले सुनाएका थिए, 'उहाँ कहिल्यै लालचमा बिक्नु भएन। प्रज्ञाप्रतिष्ठानको प्राज्ञमा नियुक्त गर्न अनुरोध गरिँदा उहाँले भन्नुभयो- देशका यतिका नागरिकले सिलाभरको थालमा भात खान पाएका छैनन्, म कसरी चाँदीको थालमा खानु?'

बेलाबेला पिसाब फेराइरहनुपर्ने अवस्थाका भीमदर्शन त्यो कार्यक्रममा दुई घन्टा मञ्चमा टिके। 

छोरा अजय गएर बेलाबेला सोध्थे- 'बा, गाह्रो भयो कि?'

'अहँ, ठिक छ' मात्र भनिरहे।

त्यो साँझ घर पुगेर उनले हातमा कलम राखिदिन भन्नेछन्। तर उनको हातमा कलम अडिए पो! सादय त्यो दिनको माहोलले उनमा ऊर्जा चढाएको थियो।

लोचनलाई त्यो पुस्तक दिने साथी थिए- जंगब चौहान।

त्यो पुस्तक अझै फर्काएकी छैनन् उनले। नफर्काउने नै रे।

...

मुक्तक/गीत छनोटको आधारबारे लोचनले सुनाइन्, 'कविता आफैंमा लय छ, मिठो छ, त्यही कारण अप्ठेरो परेन। अनुभूतिलाई प्रस्ट्याउने शब्द हुन्नन् कतिपय अवस्थामा। अभिव्यक्त गर्ने शैली स्वाद पर्‍यो मलाई। पुस्तक पढ्दै गएँ। कुन गाउँदा मजा हुन्छ, त्यही छानेँ। अनि मनपर्ने विषय। प्रतीक, विम्बयुक्त र प्रकृतिनिकट काव्य मनपर्छ। अरू पनि उत्तिकै राम्रा छन् यसमा। स्पष्ट बुझिनेभन्दा घुमाउरो मजा लाग्छ।'

माधव घिमिरे : थोरै शब्दभित्र सिंगो परिवेश खडा गर्न सक्ने प्रतिभा हुन्, भीमदर्शन। सटिक लाइनमा व्यापक र विशालता पोख्न सक्ने कवि।

श्यामदास वैष्णव : मुक्तक सुनाउँदा भावुक भएर आफैं रुन्थे। प्रभावकारी वाचनकला। सरर्र भन्थे। सबै मन्त्रमुग्ध हुन्थे। टुँडिखेल चौरमा बसेर बाचन गर्ने।

कालीप्रसाद रिजाल : त्यो बेला लेखनाथ, देवकोटा, सम, सिद्धिचरण, माधव घिमिरे, केदारमान व्यथित, अनि विजय मल्ल, श्यामदास वैष्णव, लिलाध्वज थापा, धर्मराज थापा, निरविक्रम प्यासीहरूको कविता सुन्न पाइन्थ्यो। त्यही गोष्ठीमा भूपी, भीमदर्शन, पोषण पाण्डे, मोहनहिमांशु, कृष्णभक्त, वासु शशीहरू गरेर दुईतीन पुस्ताको रचना सुन्न पाइन्थ्यो। 

भीमदर्शन छोटा कविता/मुक्तक सुनाउनुहुन्थ्यो। गजल, सायरी टाइपका साह्रै मार्मिक कविता सुनाउने। 

को आउँछ मेरो गीत खोस्न 

एक्लै सफरमा मेरो मीत खोस्न।

सीमा नै टपिसकेको छु मैले 

को आउँछ मेरो जीत खोस्न।

उहाँको कवितामा लय, रिदम हुन्थ्यो। कविहरूको भीडमा भीमदर्शनको बेग्लै स्थान थियो। कम लेखे पनि उहाँका रचना सशक्त र मार्मिक छन्। खासगरी नेपाली कवितामा उर्दु र अरबी भाषाको रुवाई शैली भिœयाउनुमा उनलाई श्रेय जान्छ।

बालकृष्ण सम : थोरै शब्दलाई पछारेर धेरै भावार्थ उपज्याउन सक्ने। भारी गहराइ भएका साहित्यिक खालिफा नै रहेछन्। भाषा पनि सरल। लालित्यपूर्ण भएको। कविता अनुपात मधुरो स्वरमा बोल्ने बानी मलाई भारी मनपर्‍यो। 

ईश्वर बराल : भीमदर्शन रोका उर्दुका खानीबाट जुहार लिएर नेपाली काव्याकाशमा झुल्किसक्नुभएको छ। उहाँका कवितामा अचारको चटक छ। उहाँका कवितामा एक झुल्का हुन्छ, एक उफ्राइ, त्यसैले उहाँका कविता छरिता र साना हुन्छन्।

एक्लै एक्लै उदास उदास छु म

एक्लै एक्लै उदास उदास छु म

घाम डुबी तारा नउदाएको आकाश हुँ म

हिजो जहाँ आई बसेथिन् तिनी

त्यही उजडिसकेको बास हुँ म

एक्लै एक्लै उदास छु म।

कोही नदी किनार हुँ म

सधैं पर्खिरहने प्यार हुँ म

कतैदेखि टाढा भए पनि

कतैदेखि बिल्कुल पास छु म

एक्लै एक्लै उदास उदास छु म।

भैरव तृत्य दलका संस्थापक भैरवबहादुर थापाले धनकुटा पुगेका बेला भर्खर एसएलसी पास गरेका तुलसी दिवसलाई भेटेछन् र सोधेछन्, 'दिवसजी, अब तपाईंको के गर्ने इच्छा छ?'

'सोधिहाल्नुभयो, खुसी लाग्यो। इच्छाको कुरा भन्नुहुन्छ भने काठमान्डुको त्रिचन्द्र कलेजमा पढ्ने र भीमदर्शन रोका, शंकर लामिछाने, भूपी शेरचनहरूसित परिचय गर्ने। तर यो इच्छा पूरा गर्न काठमान्डुमा आफ्ना मान्छे छैनन्।'

कुस्तीबाज भीमदर्शन : भैरवबहादुर थापा

भीमदर्शन रोकाले एकदिन उनकै डेरामा एकाएक हाँस्दै 'ए भैरव, भीमदर्शनसित कुस्ती खेल्छस्?' भने। म झसंग भएँ। उनको कुरा बुझ्न सकिनँ। हुनसक्छ, मेरो आगमनले निकै बाधा पुग्यो कि भन्ने सोचेँ अनि उनको मन बुझ्न हिन्दी सायरीमा मैले भनेँ : 

दोस्ति बर्ताव कि हद्से निकल गए हैं

या तुम बदल गए हो, या हम बदल गए हैं।

'हाहाहा...सायरी पनि आउँछ? न तुम बदल गए हो, न हम बदल गए हैं, यारोँ' भन्दै एकवेग मलाई झम्टिहाले।

'के गरेको, रोका? तिमी होसमा त छौ?'

'अरे यार! होसमा या बेहोसमा जे होस्, मलाई आज तिमीसित कुस्ती खेल्ने तीव्र इच्छा जाग्यो' भन्दै मलाई पछार्ने कोसिस गर्न थाले।

'तिम्रो यो ख्यालठट्टा हो कि साँच्चिकै हो?'

'कुस्ती भनेको कुस्ती नै हो। केको ख्यालठट्टा भनेर मलाई ढाल्नै खोजे। 

'तिम्रो यो सनक मलाई चित्त बुझेन' भन्दै म आफूलाई नपछारिने कोसिस गर्न थालेँ।

'तिमीलाई थाहा होला, मेरो नाम भीम हो। नाम अनुपात भीमले कुस्तीको परिचय दिनैपर्छ। भैरव भन्ने व्यक्तिबाट आज यो भम पछारिनै पर्छ या यो भीमबाट भैरव पछारिनुपर्छ। अब त कुरा बुझ्यौ?' भन्दै मलाई छिर्की लगाएको लगाई गर्न थाले।

मैले पनि भैरव नामअनुसार शक्ति जगाउन करै लाग्यो। भीमदर्शन देहरादुने दाउ लगाएर मलाई पछार्न खोज्थ्यो। म बनारसी दाउ लगाएर पछार्न खोज्थेँ। हामी दुवैको घम्साघम्सी चर्कंदै गयो। उहिलेको दलिन भएको घर थर्किएर घरमा बस्ने सबैले चाल पाए। हाम्रो झगडा भएको ठानेर घरबेटी बद्री माउ र बालचन्द्र शर्मा आएर हामीलाई छुट्याउन खोजे। कुस्तीसँगसँगै हाम्रो हाँसो पनि चलिरहेकाले ख्यालख्यालको रहेछ भन्ने लागेपछि रमाइलो मान्दै हेर्न थाले।

भीमदर्शन दुब्लो पातलो भए पनि चाम्रो र दह्रो खालका थिए। पछार्न मलाई निकै धौधौ नै पर्‍यो। उनलाई कुस्तीशास्त्रको पनि ज्ञान रहेछ। मैले पछार्न सकिनँ। उनले पनि मलाई पछार्न सकेनन्। दुवै बराबरी भयौं। हात मिलायौं। छाती मिलायौं। स्वाँस्वाँ गर्दै मैले भनेँ, 'तिमी सिन्के भीमदर्शन रहेछौ, मैले मानेँ।' 

(थापाको पुस्तक 'समर्पण'बाट)

Comments