Loading

तन र मनकी सुन्दर साहित्यकार/ तुलसीहरि कोइराला

"सुरकुमारी ! सिंह साहस
तनकी सुन्दर मनकी सुन्दर !
ताक तिम्रा फटिक निर्मल
मातृत्वको ए मृदुल मन्दिर !
वाल मानव पोषिणी छौ
अप्सराका भावद्वारा
लाखबत्ती बालिरहिछ्यौ!
झिल्मिलाऊन् अचल सारा
प्रेम, श्रद्धाका तरल जल
साथ पुज्छन् गहका धारा
भू उपरकी कोमलाङ्गिनी
दार्जीलिङकी मीठी तारा !"

प्रस्तुत कवितांश महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहाँको डायरीमा लेखिदिनुभएको सम्झना उहाँका आँखै अगाडि झलझली छ । त्यतिबेला उहाँ देवकुमारी सिंह नै हुनुहुन्थ्यो र मेजर बबरसिंह थापासँग विवाह बन्धनमा गाँसिएपछि मात्रै देवकुमारी थापाको परिचय बनेको हो उहाँको । सन् १९२८ अपि्रल १४ मा भारतको पश्चिम बङ्गाल प्रान्तको दार्जीलिङ जिल्लाअन्तर्गत, खर्साङको गिद्धे पहाडमा जन्मिनुभएकी देवकुमारीले आफ्ना पिताको मुख हेर्न नै पाउनुभएनथ्यो । पिता हस्तबहादुर कटुवालको निधन भएको दुई महिनापछि माता रमादेवीको गर्भबाट उहाँको जन्म भएको थियो । पितृस्नेह चाख्नै नपाए पनि मातृस्नेह र दाइदिदीहरूको प्यारले झपक्कै छोपिएर वितेथ्यो उहाँको बाल्यकाल । खर्साङकै स्थानीय विद्यालयमा अध्ययन गरेर उहाँले कलकत्ता बोर्डबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएको थियो ।

नेपाली साहित्यमा कवयित्री, समीक्षक, जीवनीकार, कथाकार, निबन्धकार वालसाहित्यकार सबै क्षेत्रमा देवकुमारी थापाको शिल्पकौशल झाङ्गिएको छ । स्कुले जीवनदेखि नै साहित्यलेखनमा प्रवेश गर्नुभएकी थापा आफ्नो लेखनका बारेमा भन्नुहुन्छ- म साहित्यमा लागौँ भनेर, योजना बनाएर, कसैलाई गुरु थापेर लागेकी होइन । साहित्यिक कृतिहरू पढ्दापढ्दै, देखेका-भोगेका घटनाहरूले छोएर लेख्न थालेँछु । म पहिलेदेखि नै अलिक अन्तरमुखी स्वभावकी हुँ । जे भेट्यो त्यही पढ्थेँ । जे पढ्थेँ, त्यो भन्दा धेरै कल्पना गर्थेँ । किशोर अवस्थाकी भइसक्दा पनि साहित्यकार हुने सपना देखेकी थिइनँ । स्वामी विवेकानन्दकी चेली सिस्टर निवेदिताको समाजसेवाप्रतिको समर्पणलाई कलकत्तामा देखेपछि बरु त्यतातिर चाहिँ मन ढल्किएको थियो । पहिले त केके कोरेथेँ कुन्नि तर वि.सं. २००३ सालदेखि कथा लेख्न थालेँ । धेरैतिर मेरो पहिलो रचना भनेर 'पतन' शीर्षकको कथालाई लेखिदिएका छन् तर त्यसभन्दा पनि अगाडि 'ट्रपेडो' -पनडुब्बी जहाज) शीर्षकको कथा अङ्ग्रेजी भाषामा लेखेर स्कुलको पत्रिकामा प्रकाशित भएको थियो । त्यो कथामा मैले प्रथम पुरस्कार पनि पाएथेँ । त्यतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो र युद्धपोतहरू डुबाउनलाई ट्रपेडो बनाइएको थियो । त्यसपछि निरन्तर लेखिरहेँ र यहाँसम्मको यात्रा तय गर्न सकेँ ।

हो, उहाँको साहित्यिक यात्रा निरन्तर अघि बढिरहृयो र डेढ दर्जनको हाराहारीमा कृतिहरू प्रकाशित छन् । अझै पनि चेतना-स्मरण सक्रिय छ तर हातले कलम समाउन चाहिँ छोडिसके अब । आफ्नो लेखनका सम्बन्धमा थापा भन्नुहुन्छ-भावहरू मरेका छैनन् तर हात चाहिँ थाकेछन् । लेखनका प्लटहरू दिमागमा आइरहन्छन्, कसैले लेखिदिए लेखाउन सक्छु । अहिले पनि छोरीहरूलाई लगाएर सकेको बेला लेखाइरहेकै छु । साईबाबाका कारण त्यतातिरका भावहरू मेरो हृदयमा आइरहेका छन् । अब त जीवनको उत्तरार्द्धतिर लागिसकियो । जति सकियो, त्यसैमा चित्त बुझाउनुपर्ला ।

उहाँको नेपाल प्रवेश वि.सं. २०२२ सालमा भएको हो । दार्जीलिङमा रहँदा कहिल्यै पनि त्यहाँको हुन नसकेको व्यावहारिक अनुभव उहाँ सुनाउनु हुन्छ र भन्नुहुन्छ-विराटनगर आएपछि उताको जस्तो शारीरिक र भौतिक सोख नभए पनि सुरक्षित अनुभव भइरहृयो । यहाँ आएपछि मैले धेरै कुरा सिकेँ ।

आफ्नो समयको लेखनका धेरै अनुभवहरू उहाँले सँगाल्नु भएको छ । लेखनमा नारी साहित्यकारको कमी छ र नारीले जीवनमा धेरै आरोह-अवरोहहरू भोग्नुपरेका कारण पुरुषले जस्तो निस्पिmक्री लाग्न नसक्नुको कारण पछिपर्नुपरेको गुनासाहरू धेरैका छन् । उहाँको भने बेग्लै अनुभव छ- मेरो समयमा साहित्यमा लाग्ने नारीस्रष्टाहरू खासै नभएका हुनाले मैले कोहीसँग प्रतिस्पर्धा गर्नु परेन । लेखेका रचनाहरू प्रकाशन गर्न कुनै किसिमको समस्या पनि भोग्नु परेन । नारीलाई साहित्यमा लाग्दा घरव्यवहारले बाधा पुर्‍याउँछ भन्छन् तर म त्यसमा सहमत छैन । आफूमा प्रतिभा छ भने आफ्नो जिम्मेवारीको काम सकेर पनि समय निकाल्न सकिन्छ । प्रतिभालाई व्यवहारले-बाधाले रोक्न सक्दैन-ढुङ्गाको काप फोरेर पनि उमि्रन्छ पीपल । हो, सङ्ख्यात्मक रूपमा धेरै लेख्न नसकिएला तर जति लेख्न सकिन्छ, त्यो त राम्रो लेख्न सकिन्छ नि । अहिले त नारी साहित्यकारहरू पनि पुरुषको बराबरीमा आइसकेका छन् । नारी भनेर हेपिने जमाना अब रहेनन् तर पुरुषसँग होड गर्नुलाई म नारी मुक्ति मान्दिन । आफू माझिएर विचारमा जब मुुक्त होइन्छ, हाम्रो जीवन स्वाभाविकरूपमै मुक्त हुन्छ । मुक्ति भनेको कसैले दिएर, कोटा छुट्याएर मिल्ने होइन । आफैँ सक्षम र आत्मबल भएको हुनुपर्छ । केही गर्छु भन्ने अठोट लिएर काम गर्‍यो भने कसैको दयाको पात्र हुनुपर्दैन ।

नेपाली वालसाहित्यमा आधुनिक लेखनको शुभारम्भ गर्नेमा उहाँको नाम पनि अग्रणी छ । अझ भनौँ भने उहाँको पुुस्ताको अर्को जोडा छैन भन्दा हुन्छ । उहाँका बालकथासङ्ग्रह वि.सं. २०१३ बाट प्रकाशित हुन थालेका हुन् । यसअघि पुण्यात्मा आमा -जीवनी २०१०), एकादशी -कथासङ्ग्रह २०११), छ तारा -जीवनी २०११), प्रकाशित भइसकेका थिए । झझल्को -कथासङ्ग्रह २०१५), सेतो विरालो -कथासङ्ग्रह २०२१), टपरी -कथासङ्ग्रह २०४१), प्रलय प्रतीक्षा -कथासङ्ग्रह २०४४), क्षण, विचार र स्मृतिहरू -निबन्धसङ्ग्रह २०४९), देवकुमारी थापाका प्रतिनिधि कथाहरू -२०५१) र आधा दर्जन बालकथाकृति प्रकाशित छन् । उहाँले स्वास्थ्य परिचारिकाको तालिम लिएर स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रियरूपमा लागेर त्यसैमा जीवन समर्पित गर्नुभयो । उहाँका आफ्नो कोखबाट जन्मिएका सन्तान छैनन् तर धर्मछोरीहरू बनाउनुभएको छ । उहाँका श्रीमान् मेजर बबरसिंह थापाको निधन भएको पनि धेरै भयो । श्रीमान्को नाममा प्रतिष्ठान नै बनाउनुभएको छ र उहाँको सम्झनामा बर्षेनी पुरस्कार प्रदान गर्छ प्रतिष्ठानले ।

नेपाली साहित्यमा लागेर निरन्तर लेखिरहँदा जति नै ओझेलमा परे पनि सानाठूला पुरस्कार-सम्मानहरू पाइँदारहेछन् । राजधानी धाउने वा डेराघर नै बनाउनेहरूले धेरै पाउलान्, पुरस्कार गुठीहरूमा धाउनेहरूले पाइरहलान् तर त्यस्तो केही नगर्दा पनि उहाँले पाइरहनुभएकै छ । सार्वजनिकरूपमा अभिनन्दन पनि गरिसकिएको छ । यस सम्बन्धमा उहाँको धारणा पनि बेग्लै छ-हामी साहित्यकारहरू सर्जक हौँ, चिन्तन गर्नु हाम्रो काम हो । साहित्य सुन हो र त्यसलाई परिश्रम गरेर खानीबाट निकाल्नु पर्छ । इन्द्रबहादुर राई भन्नुहुन्थ्यो-यता काठमाडौँ बोलाइरहन्छन् तर म हत्तपत्ती आउँदिन । काठमाडौँले समय खाइदिन्छ । हो, मैले पनि विराटनगर छोडिनँ । आफ्नो निष्ठा र नैतिकतामा रहेँ । साहित्यको निम्ति कता हो कता ठूलो महत्त्वाकाङ्क्षा राखिनँ । श्रद्धाले दिएका र मनले मानेका सम्मान-पुरस्कारहरू लिएकी छु । आफूले खोजेर-मागेर लिने होइन । यहाँ कोही माग्नेहरू पनि छन्, त्यसरी लिएको ठीक होइन । नारी भनेर भाग छुट्याएका पुरस्कार पनि मलाई उचित लाग्दैन । अहिलेको निक्कै चल्तीको एउटा पुरस्कार संस्थाका भाइवहिनीले फोन गरेर एक लाख रुपियाँको पुरस्कार दिन लागेका छौँ दिदीलाई, हाम्रो बधाई छ भने । मैले तपाईंहरूको त्यो पुरस्कार लिन्न भनिदिएँ । पछि त्यो पुरस्कार प्रेमा शाहलाई दिएछन् । मलाई धेरैले अप्ठ्यारी भन्छन्, भनिरहून् ।

उहाँका लेखनका विषयवस्तु भनेका समाजमा घटित यथार्थपरक घटनाहरू नै हुन् र देखेका, भोगेका, सुनेका त्यस्ता घटनालाई साहित्यिक लेखनमा उतार्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँको जीवनमा धेरै उकाली-ओरालीहरू आए । जीवनमा भोग्नैपर्ने गरी जोडिएका घटनाहरू धेरै भोगिए । राम्रा मान्छेको सङ्गत पनि भयो, नराम्राहरूसँग सङ्गतै नगर्ने भन्दा पनि चिन्न नसकेर भयो होला तर विराटनगरको कोइराला परिवारलाई उहाँ आदर्श परिवार मान्नुहुन्छ र श्रद्धा व्यक्त गर्नुहुन्छ । नोना कोइराला उहाँलाई भेट्न पटकपटक जानुहुन्थ्यो अरे । विरामी भएर अस्पताल भर्ना भएको बेलामा अस्पतालले सेक्नको लागि हटब्याग नदिएको र त्यो घटना थाहा पाएर नोनाले हटब्याग र टावेल ल्याएर दिएको र आफूलाई सङ्कोच लागेको घटना सम्भिmरहनुहुन्छ । उहाँ सुशीला कोइरालालाई उदाहरणीय महिला मान्नुहुन्छ । त्यस्तै, उषा नेपाल -प्रथम महिला प्रमुख जिल्ला अधिकारी) लाई पनि गौरवपूर्ण महिला भन्नुहुन्छ । आफू विरामी भएकै अवस्थामा पनि गिरिजाबाबु भेट गर्न आउनुभएको क्षण र उहाँले दर्शाएको सद्भाव अविस्मरणीय भएको बताउनुहुन्छ उहाँ ।

हाम्रा धेरै साहित्यकारहरूको बानी कस्तो छ भने, आफ्नो चाहिँ अरूले पढिदिऊन् भन्ने तर आफू भने कसैका पनि नपढ्ने । देवकुमारी दिदी यस्तो प्रवृत्तिलाई गलत मान्नुहुन्छ र आफू सक्रिय रहँदा भ्याएसम्म अरूका पनि पढेको बताउनुहुन्छ । उहाँलाई मनपर्ने साहित्यकारहरू कोको हुन् त ? "कसैको कुनै मनपर्छ त कसैको कुनै । लेखक मन पर्दैमा उसका सबै सिर्जना राम्रा हुन्छन् भन्ने होइन । म त बङ्गाली र अङ्ग्रेजी साहित्य पढेर त्यताबाट प्रभावित भएकी हुँ । स्पानिस प्रस्पर, उपन्यासकार मेरिनी र बङ्गाली शरदचन्द्र मन पर्छन् । मलाई हाम्रा साहित्यकारहरूमा पहिला पोषण पाण्डेका कथाहरू मन पथ्र्यो गुरूप्रसाद मैनाली, भवानी भिक्षुका पनि केही कथाहरू औधि राम्रो छन् । विपि कोइरालाको सबैभन्दा मन परेको कथा 'पवित्रा' हो । त्यो चाहिँ वास्तविक नेपाली कथा हो ।"

महाकवि देवकोटाले भनेझै उहाँ मनकी सुन्दर, तनकी सुन्दर भएकै कारण सबैकी दिदी हुनुभएको छ- उमेरले दिदी, सिर्जनाले दिदी, समाजसेवामा दिदी, अनाथ बालबालिकाहरूका लागि परमपि्रया माता नै ठहरिनु भयो । उहाँले जति मानसम्मान र पुरस्कारहरू पाउनुभयो, उहाँकै नाममा पनि अब धेरैले पुरस्कार र सम्मान राखिसकेका छन् । उहाँले ऐँसेलु, दियालो, हिमाल, किशोर, पारिजातजस्ता आधा दर्जन साहित्यिक पत्रपत्रिकाहरूको कुशलतापूर्वक सम्पादन पनि गरिसक्नुभएको छ । आˆना साथीभाइहरू ज्यादै थोरै भएका कारण पनि मेरो आफ्नै स्वभावले गर्दा हो भन्नुहुन्छ उहाँ । कलकत्तामा पढ्दाताकका बङ्गाली साथीहरू छन् बरु । यहाँ त बालकृष्ण पोखरेल, भानुभक्त पोखरेल, रमा शर्मा जस्ता केही छन् । बरु नयाँ पुस्तालाई साथ, सहयोग र प्रोत्साहन दिनुपर्छ भन्दै आफ्नो पुस्ताको लेखनका बारेमा उहाँ भन्नुहुन्छ- मेहेनतले बनेका धेरै छन्, प्रतिभा नै भएर आएका त ज्यादै थोरै छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा चाहिँ बेजोड प्रतिभा हुनुहुन्थ्यो ।

अब आँखाको भर छैन, शरीर धेरैबेर थिगि्रन मान्दैन । पढौँ लाग्दा पनि पढ्न सकिँदैन र पनि यताकै केही चाहिँ पढिरहेकै छु, अरू त अहँ सम्भव छैन भन्नुहुन्छ उहाँ । अग्रजका नाताले नयाँपुस्तालाई के भन्नुहुन्छ त ? "आफ्नो लेखनले राष्ट्रलाई दिशानिर्देश गर्न सकोस् भन्ने चाहना र सोच राखेर लेख्नुपर्छ । राष्ट्रियतामा आँच पुग्न दिनुहुँदैन । यसका लागि राष्ट्रलाई आँखा अगाडि राखेर लेख्नुपर्छ जहिल्यै पनि ।

उहाँलाई आफ्ना सिर्जनाहरूमा सबैभन्दा बढी 'रिट्ठेको प्रश्न' र 'भविष्य निर्माण' कथा मन पर्छन् । यिनै कथाले आफूलाई साहित्यकार देवकुमारी भनेर चिनाएका हुन् भन्नुहुन्छ उहाँ । उहाँ यतिबेला आफैँमा विराटनगरकी तीर्थधाम हुनुभएको छ । विराटनगर जाने साहित्यकारहरू हुन् वा समाजसेवी, उहाँलाई भेट्न लालायित हुन्छन् । त्यसरी भेट्न चाहनेहरूलाई भेट दिन त मन लाग्छ तर स्वास्थ्यका कारण समय दिन सक्दिन र खिन्न हुँदै फर्किन्छन् । कतिपयले समस्या नबुझेर ठूलीभएकी पनि भन्लान् तर समस्या बुझ्नेहरूले चाहिँ चित्त बुझाउँछन् भन्दै उहाँले भन्नुभयो-अस्ति काठमाडौँबाट आएका प्राज्ञलाई समेत भेट गर्न समय दिन सकिनँ । आज तपाईंलाई पनि विवश पोखरेल भाइले आग्रह गरेकाले मात्रै हार्न सकिनँ । दिदी अप्ठ्यारी छे भनेरै होला यहीँका भाइ, बहिनी -ज्योति जङ्गम) लाई लिएर आउनु भएछ । थोरै बोलेँ, धेरै चाहिए 'बनिता' लगायतका पत्रपत्रिकाले 'नाइँ' भन्दाभन्दै पनि विशेषाङ्क निकालेका छन् । तिनीहरुलाई नै पढेर लिनुस् ।

यहाँभन्दा बढी समय दिन सक्दिन भन्दै उहाँले धर्मछोरीलाई भित्र लान बोलाउनुभयो ।

[First published in Madhuparka Monthly]

Comments