स्वार्थी चाहाना/ आचार्य प्रभा

कान्छी छोरीको विवाह हुन नसकेकोमा उनी असाध्यै चिन्तित थिइन् । हुन पनि त हो, उमेर पुगिसक्दा समेत कुनै केटोले फर्केर नहेर्नु, माग्नसम्म न आउनु कुनै पनि आमाको लागि चिन्ताको बिषय नै बन्छ ।

एकदिन उनी दलानमा बसेर छोरीसँग कुरा गरिरहेकी थिइन् । छेउमा आफूले बच्चादेखी पालेको छाउरी कुकुर, जस्को नाम मिक्की थियो, खेलिरहेकी थिई । परबाट एउटा  कुकुर लुरुलुरु कुद्दै आइरहेको देखेर मिक्की पनि पुच्छर हल्लाउँदै  उक्त कुकुर भएतिर गई । आमा चाहीँले मिक्किलाई रोक्न  खोजिन् । तर, मिक्की उम्किएर उक्त कुकुर भएतिर पुगी । आफूले रोक्न खोज्दा पनि मिक्की फुत्किएर भागेकिमा उनलाई खपिनसक्नु रिस उठ्यो र रिसको आवेगमा उनले एउटा बलियो लट्ठिको झट्टिले मिक्कीलाई ताकेर हानिन् । मिक्की उक्त झट्टिको प्रहारले भुतुक्क भएर भुइमा लडी ।  यो दृष्य देखेर छोरी रुन थालिन् । मिक्की उनको प्रिय कुकुर थिई जस्लाई उनले बच्चामा नै साथीको घरबाट ल्याएर लालन पालन गरेर हुर्काएकी थिइन् । मिक्की  आँखा पल्टाएर छट्पटी रहेकी देख्दा उनको आँखाबाट अश्रुधारा बग्न थाल्यो । उन्ले रुदै भन्न थालिन् । ''आमा यो तपाईंले के गर्नु भएको ? एउटा  निरीह पशुलाई तपाईंले यसरी रिस पोख्नु हुन्छ ? यस्ले त्यस्तो के बिगारेकी  थिइ र तपाईंले यस्तो मरणासन्न अवस्थामा पुर्‍याउनु भयो ?''

आमाले छोरीलाई सम्झाइन्, पशुको केही अधिकार हुँदैन ऊ सधैं बन्देजमा नै रहनु पर्छ । उसका कुनै  प्राकृतिक नियम र चाहना नै हुँदैनन् । ''अनि किन त अर्को कुकुर देख्न साथ कुदेर जानु ? झन मैले त्यत्रो रोक्दैछु नटेरी कुदेर गइ फेरि बच्चा जन्माउँने भइ भने कस्ले त्यस्को बच्चाहरुलाई स्याहर्छ ? बन्धनमा राख्दा पो अरु कुकुरसँग ... ।'' यति भन्दै आमा चुप लागिन् ।

आमाको कुरा सुनेर छोरीले ब्यङ्ग्यात्मक हाँसो उडाउदै भनिन्, ''आमा तपाईंलाई आफ्नी छोरीको विवाह नहुँदा र कुनै केटोले नहेर्दा ठूलो पीर परेको छ । जस्लाई पनि त्यही पीडा पोख्नु हुन्छ । मेरी छोरीको अझसम्म विवाह हुन सकेन घरजम  बस्न सकेन भनेर । तपाईंलाई आफ्नी छोरीको भने त्यत्रो पीर छ भने मिक्की पनि त म जस्तै छोरी हो भगवानले उस्लाई कुकुरको जूनी दियो । ऊ पशुमा गनिइ तर ऊ पनि त प्रकृतिको देन हो । बोल्न ,भावना पोख्न पो सक्दिन त ! पशु नै भए  पनि उनिहरुका पनि जोडी हुन्छन् ,बच्चा जन्माउने अधिकार हुन्छ उनीहरुलाई पनि स्वतन्त्रता चाहिन्छ । तपाईं मान्छे भएर पनि यो कुरा किन बुझ्नु हुन्न ? हामी मान्छे भएर गर्व गर्छौ र अर्काको अधिकारमा हस्तक्षेप गर्छौ र आफ्नो मात्र हित र स्वार्थ हेर्छौ भने हामी मानव हुनुको औचित्य नै के भयो र ? बिचरी मिक्की आफू एक्ली भएकीले साथी पाउनुको खुशीमा आज मरणासन्न अवस्थामा पुगी । तपाईंलाई भने आफुले बहादुरी गरेको भान भयो । छाडिदिनोस्  अब मेरो विवाहको चिन्ता । मेरो आफ्नै केटो छ । जो भद्र र सुशील  छ । हामीलाई विवाह गर्न हत्तार छैन । हाम्रा लक्षहरु  धेरै छन् । विवाह हुनु नै सम्पूर्ण होइन । हामी पहिला आफ्ना लक्ष पूरा गर्छौ अनी पछि विवाह । मिक्कीमाथि अाक्रोस पोखेर अब त तपाईंलाई चित्त बुझ्यो होला तर ... । हामी कोही पनि आफ्नोमात्र स्वार्थमा नलागौँ । प्रकृतिले सबैलाई जन्म,मरण र जीवनसाथी रोज्ने अधिकार दिएकी हुन्छिन् त्यसैले कसैको पनि इच्छा र आकांक्षामा कुठाराघात नगरौँ । मान्छे सर्वश्रेष्ठ प्राणी त हो तर निरिहहरुलाई आफ्नो बसमा राखेर आफू अभिमानी बन्ने मात्र खुबी हामीमा छ ।" यति भन्दै छोरीले मिक्कीलाई मुसार्न थाली मिक्कीले छट्पटाएर टाउको लरक्क पारी ।

आमाको मनमा आत्माग्लानी छायो । उनी हत्केलाले मुख छोपेर रुदै पश्चाताप गर्न थालिन् । ''साँच्चै म पनि कति निष्ठुरी  र स्वार्थी भएँछु। मिक्कीले त्यस्तो के गल्ती गरेकी थिई र ? खाली आफ्नो साथीमात्र त खोजेर गएकी थिई नि ! यत्तिका बर्षसम्म घरको रखवारि गरेर बसी । आफ्नै बच्चा जस्तो लाग्थ्यो तर आज उस्को सानो खुशीमा म दैत्य बनेर उस्लाई मरण रोज्न लगाएँ  । मेरा सन्तानहरु मध्येमा आज एउटा  सन्तान गुमाएँ । म कति पापिनी र स्वार्थी भएँ । यत्तिकैबिचमा छोरीले मिक्कीलाई कपडामा लुटुपुटु पारेर आँखाबाट ओझेल बनाइसकेकी थिइन् ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom