सुस्मिता र रजनीको संयुक्त उपन्यास

No votes yet

काठमाडौ, अषाढ ८। स्याङ्जाको ग्रामीण भेगबाट भविष्यको खोजी गर्दै राजधानी छिरेकी रजनी ढकाल अध्ययनकै क्रममा ललितपुरकी सुस्मिता नेपालको संगतमा पुग्छिन् । विश्वविद्यालयमा प्रध्यापन गर्दै आएका यी दुई संगिनीले आफ्नो जीवनमा भोगेका तीता-मीठा अनुभवलाई साहित्यमार्फत साट्ने रहर गर्दै निकालेका छन्- उपन्यास 'पत्रैपत्र' । 

राजधानीमा बुधबार मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले कृति सार्वजनिक गरे । गुञ्जनले गरेको कार्यक्रममा समालोचक बालाकृष्ण अधिकारीले दुई लेखकले एकै साथ त्यो पनि चिठी शैलीमा उपन्यास प्रकाशन गरेको देखेर चकित परेका बताए । उनले देख्दा सामान्य पत्र भए पनि वास्तवमा उपन्यास काजगको पत्रमा सीमित नभएर मानव-समाजका हरेक पाटालाई केलाउने सुन्दर सिर्जनाको रूपमा रहेको टिप्पणी गरे । 

समीक्षक प्रा. राजेन्द्र सुवेदीले भने सोलीले छोप्नुपर्ने उपन्यासलाई डोकाले छोप्ने प्रयास गरिएको आलोचना गरे । राजेन्द्रको भनाइलाई काट्दै साहित्यकार जगदीश घिमिरेले जुन पद्धति अपनाए पनि कृतिले साहित्यमा नौलो स्वाद चखाउन सक्षम रहेको तर्क गरे ।

कविता, आख्यान र गैरआख्यान विधामा कलम चलाउँदै आएकी सुस्मिता र रजनीले आफूले बाल्यकालमा बिताएका गाउँले जीवनका सुख-दुःखका हरेक पाटालाई रोचक तरिकाले उपन्यासमा प्रस्तुत गरेका छन् । बंगाली युवतीहरूसँग मेल खाने दुई पात्रहरूको नाम -नीलाञ्जना र निवेदिता) राखेर उनीहरूले नेपाली परिवेशमा हुर्किएका दुई नारीको पत्रमार्फत नै आफूले भोगेका तीता-मीठा अनुभवलाई कृतिमा पोखेका छन् । 

छोरी हुँदाको पीडा, गाउँले जीवन, समाज, बाल्यकालको अवस्था, विवाह हुनुपूर्व र भइसकेपछिको नारीजीवन, वैवाहिक जीवनका उतारचढाव, स्त्रीप्रति समाजको व्यवहार, नारीले पाउनुपर्ने अधिकार र तत्कालीन राजनीतिक परिवेशसमेतलाई  अप्रत्यक्ष पाराले कृतिमा उतारिएको छ । 

'सूर्य आराम गर्न पश्चिमतिर झरिसक्यो' संवादबाट प्रवेश गरेकी उपन्याकी पात्र निवेदिताले जीवनको अँध्यारो पक्षलाई औंल्याएको संकेत गरे पनि नीलाञ्जनाले अन्तिम ६६ पृष्ठमा 'दिन सूर्यास्तको समयमा पुगेको छ' वाक्यबाट पुनः जीवनलाई उज्यालोतर्फ डोर्‍याएर सकारात्मक भावसँगै पत्रको बिट मारेकी छन् । 

काल्पनिक पात्रको चयन गरेका ४१ वषर्ीया सुस्मिता र ३९ वषिर्या रजनीले मित्रता बढाउँदै जाँदा दुई साथीको जीवन शैली मिल्दोजुल्दो लागेछ । र, यसलाई औपन्यासिक कृति दिने सोच बनाएको उनीहरूले बताए । दुई वर्षको मिहिनेतपछि उनीहरूले यो कृति प्रकाशन गरेका हुन् । उपन्यासको पात्रमा कुन चाहिँ सुस्मिता हो र कुन रजनी, छुट्टाउने जिम्मा उनीहरूले पाठकलाई सुम्पेका छन् । सुरभी प्रकाशनले उपन्यासलाई प्रकाशनमा ल्याएको हो ।

(स्रोत : कान्तिपुर दैनिक)

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.