Loading

सुदूरपश्चिमका चार श्रष्टा सम्मानित

कैलाली, १९ जेठ/ नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले सुदूरपश्चिमका चारजना श्रष्टालाई बिहीबार धनगढीमा सम्मानित गरेको छ । प्रतिष्ठानले सुदूरपश्चिमबाट गायन, वाद्यवादन, नाटक तथा संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने चार श्रष्टालाई सम्मानित गरेको हो । Sudur Paschim Shrasta Samman लोकगायन र संकलकतर्फ बझाङका ७३ बर्षीय लोक देउडा गायक परिमल स्नेही, नाट्यकर्मीतर्फ डोटीका धनबहादुर मल्ल, नृत्य र गायनतर्फ कञ्चनपुरकी डिकरादेवी गाईने र वाद्यवादनतर्फ कैलालीका देशराज चौधरीलाई सम्मानित गरिएको हो ।

प्रतिष्ठानले बिहीबारबाट धनगढीमा सुरु भएको दुईदिने ‘‘सुदूरपश्चिमाञ्चलमा लोकगीत, संगीत, नृत्य र नाटकको वर्तमान अवस्था र दीर्घकालिन समाधानका उपायहरू” बिषयक विचार गोष्ठीमा उनीहरुलाई सम्मानित गरेको हो ।

पहिलो पटक २०१५ सालमा रेडियो नेपालमा सुदूरपश्चिमको लोक देउडा गीत रेकर्ड गराएर पाँच दशकसम्म निरन्तर लोकगीतको संकलन गायन तथा मूर्तिकलामा बिशेष योगदान पुर्याएबाफत स्नेहीलाई, नाटक लेखनमा मञ्चनमा लामो समयसम्म योगदान पुर्याएका मल्ललाई, करिब देढ दर्जन बढी एल्बम प्रकाशित गरेर लामो समयदेखि देउडा गायन र नृत्यमा बिशेष योगदान पुर्याएवाफत गाईनेलाई सम्मानित गरिएको हो ।

यस्तै तबला, हार्मोनियम, मुजुरा र मादल जस्ता वाद्यवादनमा विगत २५ बर्षदेखि गीत गायन, नाच र विभिन्न सांस्कृतिक कार्यक्रममा वाद्यवादकका रुपमा योगदान पुर्याएवाफत चौधरीलाई सम्मानित गरिएको हो । उनीहरुलाई दोसल्लासहित १० हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरिएको थियो । प्राज्ञ परिषद् सदस्य तथा कलाकारद्वय मिथिला शर्मा र कविता आलेले संयुक्त रुपमा दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गरेका थिए ।

परिषद्का प्राज्ञ सदस्य तथा कार्यक्रमका संयोजक यज्ञराज उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार पदमराज जोशी ‘प्रभात’ले सुदूरपश्चिमको गीत, संगीत, नृत्य र नाटकमा देखा परेका समस्या र समाधानका उपायहरु बिषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमाथि विभिन्न व्यक्तिहरुले टिप्पणी गरेका थिए । वक्ताहरुले ढिलै भएपनि सुदूरपश्चिमका श्रष्टाहरुलाई सम्मान गर्ने र यस क्षेत्रबाट कार्यक्रमको सुरुवात गरेर यहाँका प्रतिभाहरुको हौसला बढाउने काम गरेको भन्दै प्रतिष्ठानको सह्राना गरेका थिए ।

Segments: 
Author: 

Comments