Loading

शङ्करः आत्मगाथाको प्रतिध्वनि / प्रकाश सायमी

http://www.onlinesahitya.com/magazine/images/ShankarLamichhane.jpgशङ्कर लामिछाने ताहाचलका रैथाने । उनको खास घर मेरो जन्मघरभन्दा दुई किलोमिटरको दूरीमा थियो, त्यहाँ पुग्ने सामथ्र्य मैले कहिले राखिनँ । किनकि मैले उनका कुनै रचना मनज्ञानले त्यतिबेलासम्म पढेकै थिइनँ र उनलाई कसरी चिन्ने । नचिनेका लेेखक मेरा निम्ति आकर्षण कहिले बनेन वा उनी भविष्यमा यति पि्रय लेखक होलान् भन्ने अन्तर्बोध मलाई कहिले कतै भएन । म सधैँ दृढ थिएँ, मान्छे मन परेपछि मात्र लेखक मनपर्छ भनेर । मलाई मान्छे मनपराउन साह्रै गाह्रो थियो र छ अझै पनि ।

उनी विस्तारै मलाई मनपर्न थाले जब मैले चार रुपियाँमा उनको 'बिम्ब-प्रतिबिम्ब' मरुटोलमा किनेर पढेँ, बुझेँ । उनको दोस्रो कृति पढेपछि मात्र उनको लेखनीय शक्तिप्रति धुम्म भएँ । लेखकको रूपमा उनको उपस्थितीकरण र उनको लेखनको प्रस्तुतीकरणप्रति म विस्तारै मोहित हुनथालेँ ।

अब मैले व्यक्ति शङ्करलाई होइन, लेखक शङ्करलाई छान्न थालेँ । नेवार र हिन्दी भाषामा पढेकाजस्ता निबन्धको तज्जन्य आकर्षण उनको कलममा पाउँदै गएँ, त्यसपछि मैले उनकाबाहेक अन्य नेपाली निबन्धकारका निबन्ध पनि पढ्न थालेँ तर मलाई बारम्बार शङ्करकै निबन्धको धुन र ध्वनिले छुन्थ्यो जुन अरूमा दुर्लभदुर्लभै थियो ।

म त्यसबेला वा मेरो बाल्यकालमा उनकै रचनाभूमितिर हिँड्डुल गर्थेँ, 'शिरीषको फूल' को भूमिकामा उल्लिखित वसन्तपुर हनुमानढोका, 'बिम्ब-प्रतिबिम्ब'मा उल्लिखित जनसेवा हल -जुन भत्काइएर अब विशालकायको बजार बन्दै थियो) म ती बाटाहरू खुब हिँड्थेँ । 'एकदिन जो बाँचियो' निबन्धमा उनले चर्चा गरेको सुरुङ र 'अर्द्धमुदित नयन र डुब्न लागेको घाम' मा प्रयुक्त लोकेशन चोभारका डाँडा म प्रायशः घुम्न गइरहन्थेँ ।

नेपाली साहित्यमा सिनेमाबारे लेख्ने पहिलो लेखक मैले उनैलाई मानेँ, जब मैले 'शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा' व्यक्ति बिम्बमा कट् र एक्सनका कुरा पढेपछि । आज कालान्तरमा म स्वयं सिनेमाको विद्यार्थी भएँ । सिनेमामा रुचि भएका साहित्यकारको दृश्यसत्ता मलाई पृथक् लाग्थ्यो तिनले टेक्निकलाई सादृश्य बुझ्न सकेको जस्तो मलाई लाग्थ्यो- समले प्रेमपिण्डमा त्यो अभिलाषा देखाए, इन्द्रबहादुर राईले उत्तरार्द्धतिरको लेखनमा त्यो कमाल गरेका छन् । शङ्करमा मैले त्यो पहिल्यै पाएँ, अङ्ग्रेजीमा भन्छन् नि, लभ एट फस्र्ट साइट । हो, त्यही भयो मेरो किशोरकालमा ।

मलाई शङ्करसित साक्षात्करण हुन मनलाग्यो ।

एकदिन मैले पिताजीलाई भनेँ, मलाई शङ्कर लामिछाने भेट्न मन छ ।

पिताजी लेखकलाई आदर गर्नुहुन्थ्यो, राम्राराम्रा लेखकलाई । उहाँ प्रायः सक्रिय लेखक सबैलाई चिन्नुुहुन्थ्यो । तीस बत्तीस सालको काठमाडौँमा मान्छेले मान्छेलाई भेट्न समय माग्नु पर्दैनथ्यो । बाटोमा हिँड्न आज जस्तो यातायातको डर वा त्रास देखिँदैनथ्यो । फोनमा मान्छे आज जस्तो मोबाइलमा ढाँट्दैन थिए । भनेको समय घरैमा भेट हुन्थ्यो । त्यस्तै भयो हामी शङ्करले बोलाएको समय शङ्करको घर पुग्यौँ ।

यो अचम्मै भो मेरो जीवनमा । शङ्करले मलाई पहिलो भेटमै भन्नु भो, "छोरा ज्ञानी रहेछ ।"

फेरि मेरा पिताजीलाई बल गर्दै भने, "रत्न । छोरालाई यही प्रेसमा जागिर खुवाऊ । "

पिताजीले इन्कार गर्नुभो "कि यो इञ्जिनियर बन्छ । कि केही बन्दैन, मजस्तै औसत व्यापारीण ।"

तर मैले मनमनै 'म केही बन्न नसके प्रकाश सायमी बन्छु' नै भनेर निश्चिान्त भइसकेको थिएँ तर प्रकाश सायमी बन्नु भनेको के हो मेरैलागि अन्योल थियो ।

शङ्करलाई भेटेर आएपछि मैले एउटा निबन्ध-कथा लेखेँ, त्यहीबेला । शङ्कर बाज्या शीर्षकमा । धेरैवर्षपछि त्यो छापँे । त्यो निबन्धकथा छापिएपछि धेरै विवाद र विमति आए । एक जना समालोचक महोदयले शङ्करजीले सराद्धे पनि गर्नुहुन्थ्यो ? भनेर मलाई तर्साए । मेरो अल्मल्याइ निक्कै वर्ष लम्बियो ।

मलाई थाहा थिएन उनै शङ्करका निम्ति म अभेग भएँ । मैले पछि थाहा पाएँ पिताजीले भेटाइदिनुभएका शङ्कर, लामिछाने नभएर शर्मा थिए, सम्पादक चन्द्रलाल शर्माका पिता । म नराम्ररी चुकेछु त्यो उमेरमा । एउटा मेरो रचनाले मेरो जीवनमा अर्कै रचना सुरु गर्‍यो ।

शङ्करलाई वास्तवमा मैले चिनेकै रहेनछु । जब मैले शङ्करलाई वास्तवमा चिने तिनी यस संसारबाट बिदा भइसकेका थिए । गुडबाई शङ्कर भनेर साराले बिर्सिसकेका थिए अनि बल्ल मैले चिनेँ ।

काठमाडौँ ः २०५७

नेपाली जगत्का प्रतिबद्ध सङ्गीतकार अम्बर गुरुङले रत्ना लामिछानेलाई एकलाख बीस हजार दिएको तस्बिर माघ ११ गते २०५७ को बुधबार एउटा राष्ट्रिय दैनिकमा छापिएको लगत्तै शङ्कर लामिछाने यो सहरमा फेरि एकपटक चर्चाको विषय बन्यो । यसभन्दा अघि यस किसिमका कार्यक्रममार्फत कुनै स्रष्टाको निम्ति रकम जुटाउने सत्कार्य भएकोे, सुनेको वा देखेको थिइनँ, मेरो जीवनको विगतमा । त्यो खबरकागजको निम्ति नयाँ सूचना थियो भने मेरा निम्ति नयाँ चेतनाको सन्देश थियो ।

समाचार यस्तो थियो,

"शङ्कर लामिछानेका नाममा कोष स्थापना

काठमाडौँ, १० माघ । मृत्युपछि २५ वर्षसम्म कुनै औपचारिक समारोहबीच सम्झनासम्म नगरिएका निबन्धकार शङ्कर लामिछानेको पच्चीसौँ स्मृति दिवसका अवसरमा उहाँका दुर्लभ कृति प्रकाशन र निबन्ध विधामा विविध सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने उद्देश्यले शङ्कर लामिछाने निबन्ध कोशको औपचारिक घोषणा गरिएको छ ।"

यो समाचारसँगै तस्बिर पनि छापिएको थियो, अम्बर गुरुङको हातबाट रकम शङ्कर पत्नी रत्नालाई दिँदै गरेको । तस्बिरको पछिल्तिर म पनि उभिएको थिएँ । यसरी पछिल्तिर बसेर मैले सुरु गरेको यो काममा मेरा पछाडि मेरा असङ्ख्य भावकको सक्रियता थियो जसको नामको सूची यहाँ बनाउनै सक्तिनँ । कति कति ?

त्यो खबरले साहित्यिक जगत्मा सनसनी ल्यायो ।

निबन्ध विधाका भरपर्दो संरक्षक लामिछानेका बारेमा त्यसदिन डा. तारानाथ शर्माले भन्नुभो, "भूपि शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे र मेरो घोत्ल्याइँहरू शङ्करदाइकै कारण जन्मेका हुन् ।"

त्यो कसरी शङ्करको ताहाचलको कुन कोठामा कसरी जन्मियो उनले प्रेमपूर्वक स्मरणमा ल्याएका थिए । शर्माले सो कार्यक्रममा रिमालको 'आमाको सपना' कसरी मदन पुरस्कारका लागि बुझाइयो त्यो पनि गर्वले सुनाएका थिए । डा. शर्माले भने, "शङ्करदाइले मलाई बाहिरी संसारमा खुलेर निक्लिन सिकाएका छन्, उनका निबन्धमा मौलिकता नभेट्नु भनेको संवेदनाको कमी मात्रै हो । मैले लैनसिंह बाङ्देलका चित्र, अम्बर गुरुङका सङ्गीत, भूपिका कविता र शङ्करका निबन्धमा कुनै अन्तर देखेको छैन ।"

शङ्कर लामिछानेका निबन्ध र उनका कृति प्रकाशन गर्न रेडियो सगरमाथाको अजम्बरी गीत-सङ्गीत कार्यक्रममार्फत चलाएको शङ्कर सातापछि यो कार्यक्रम आयोजना गरिएको थियो, यस कार्यक्रममा शङ्करका सबै शुभेच्छुक, स्वजन र अपरिचितलाई बोलाएका थियौँ । रेडियोमा चलेको कार्यक्रमको लोकपि्रयताले गर्दा आयोजनास्थल नेपाल पर्यटन बोर्ड एक स्वजनले निःशुल्कमा उपलब्ध गराएका थिए, पदीय दायित्वको कारणले गर्दा ती शुभेच्छुकको नाउँ यहाँ उल्लेख गर्न म असमर्थ भएँ ।

माघ १० गते पर्यटन बोर्डको प्रेक्षालयमा सम्पन्न भइरहेको कार्यक्रममा रेडियोका एक जना नियमित श्र्रोताभाइले आफूसँग तेह्र रुपियाँ मात्र भएको र उनीसित अरुण थापा बित्दा पनि तेह्र रुपियाँ मात्र भएको दुःखद इतिहास जोडिएको उपक्रमसहितको चिरेटो पठाएपछि मैले मञ्चबाट त्यही कुरा वाचन गरिदिएँ त्यसपछि रकमदाताको भीड लाग्यो, कोही पाठक, कोही आफन्तजन, कोही अपरिचित कुनै सङ्घसंस्था ।

सोही सभा भवनमा एक घन्टाभित्र बयालीस हजार सात सय पच्चीस रुपियाँ सङ्कलन भएको थियो भने भावक अभियानका साथीहरूले खटेर कमाएको एक लाख दुई सय ५१ रुपियाँसमेत टाइ र टुपिस शुट लाएका अम्बर गुरुङले रत्नालाई दिएको समय उनी बढी भावुक भएका थिए । अम्बरले भावुक भएर भनेका थिए, "मैले यो दिनको प्रतीक्षा गरेको तीन दशकभन्दा बढी भइसक्यो ।"

तीन दशकपछि घटेको यो घटनाले शङ्करको परिवारमा पनि ठूलो परिवर्तन ल्याएको थियो त्यो, शङ्करका दुवै पत्नी त्यहाँ सभाहलमा उपस्थित थिए, रत्ना र सुवर्ण । दुवै पत्नीका छोरा र छोरी त्यहाँ थिए, शिखा र प्रवास । शिखाले कोषका निम्ति दिएको १७ हजार ९ सय ९५ रुपियाँ पनि समाचारको सार बनेको दिन थियो त्यो ।

प्रमुख अतिथि गुरुङले अझै गम्भीर भएर भने, "एउटा कलाकार वा लेखकले यो देशका लागि दिने कुरा नै भावना हो । भावनका कुरामा हामी पछाडिबाट अगाडि लागेका छौँ, यो खुसीको कुरा हो ।" मैले अम्बर गुरुङलाई चिनेको शङ्कर लामिछाने पढ्न थालेको समयदेखि नै हो तर उनलाई यति भावुक भएको चैँ यो पहिलोपटक हो ।

शङ्कर लामिछानेका बारे बोल्दा अम्बरको गला अवरुद्ध भएको कुरा अखबारले समाचारमा कोट गरेको थियो भोलिपल्ट । समाचारमा यस्तो पनि लेखिएको थियो, सगरमाथा रेडियोमा अजम्बरी गीत सङ्गीत कार्यक्रम प्रस्तोता प्रकाश सायमीको अग्रसरतामा यो साताभर निबन्धकार शङ्कर लामिछानेको सिर्जनशिल्पीमाथि परिचर्चा भएको थियो । ...कोषका सचिव सायमीकाअनुसार शङ्कर लामिछानेको जन्मतिथि पारेर आगामी चैत ५ गते उहाँको एब्स्ट्रैयाक्ट चिन्तन प्याज, प्रकाशनमा आउनेछ भने युवास्रष्टालाई दिइने १० हजार रुपियाँको लामिछाने निबन्ध पुरस्कारको घोषणा गरिने छ ।...

यो समाचारले निबन्ध र युवा जगत्मा तहल्का ल्यायो तर रेडियोको कार्यक्रममार्फत रकम सङ्कलन गरिएको यो घटनाले गृह मन्त्रालयलाई तनावग्रस्त बनायो । मन्त्रालयका एक कर्मचारीले मलाई फोन गरेर भने, रेडियोलाई जुवाको खाल बनाउनुभएन प्रकाशजी ।

यसपछि म चूप लाग्नुपर्ने अवस्था आयो भने एफएमकै व्यवहार पनि मप्रति बद्लियो । केही शङ्करविरोधी चेतनाले मलाई लखेट्न पनि खोजेका थिए तर यस अभियानका पछाडि शङ्कर सेनाको अभेद्य भीड नै थियो, ती हारे सायद ।

चैत ५ गते । दुइटा पुस्तक निस्के, एब्स्ट्रैयाक्ट चिन्तन र कथा सङ्ग्रह गौँथलीको गुँड । प्याज भावक अभियान नेपालले निकाल्यो भने गुँड शङ्करकै सम्धि देवेन्द्र पाण्डेले । प्रज्ञाभवनको प्रवचन कक्षमा प्रमुख अतिथि प्रा. डा. डीपी भण्डारीले दुवै पुस्तक सःशुल्क किनेर विमोचन गरे ।

बजारमा पुस्तकको माग यथेष्टि हुन थाल्यो । भावक अभियान नेपालका साथीहरूले साइकलमा पुस्तक ग्राहकलाई पुर्‍याउने मेसो मिलाए, नेकोन एयरदेखि टिचिङ हस्पिटलसम्म ।

यसरी शङ्कर छत्तीस वर्षपछि पुनः सार्वजनीकरण भए । लेखप्रलेखहरू लेखिए, समर्थन आलोचना सबै भए । शेष इतिहास बन्दै गयो । म मूकदर्शक भएर समयको किनारमा बसेर हेर्न थालेँ, "यो के अचम्भ भो, सपना जस्तो ?"

रेडियोमा निबन्ध

रेडियोमा गजल पढिन्थ्यो, गीत कविता वाचन गरिन्थ्यो । कथा वा नाटक गरिन्थ्यो । मैले निबन्ध पढेँ त्यो पनि रात्रिकालीन समयमा ।

यो मेरो निम्ति वाचिक संस्कृतिमा नयाँ अनुभव थियो । पछि थाहा भो, यो मेरा निम्ति मात्र होइन मसँग काम गर्ने सहकर्मीका लागि पनि एउटा नूतन अनुभूति रहेछ । जब मैले यस विषयमा काम गरेँ मसँग पर्याप्त अनुभव थिएन वा मैले त्यस किसिमको जोहो पनि गर्न पाइँन ।

रेडियो सगरमाथाको विद्युतीय तरङ्गमा जब मैले शङ्कर लामिछानेको 'जीवन ः एक प्राध्यापक' वाचन गरेँ मेरा एक नियमित स्रोता दीपेश उपाध्यायले मलाई पत्र पठाएर गुनासो व्यक्त गरे, "दाइ, यो कस्तो अन्याय ? तपाइँले मात्र शङ्कर लामिछानेका निबन्ध पढ्न पाउने ? हामीले कहिले पढ्न पाउने ।"

उनको यो प्रश्नले म चकित मात्र भइनँ, क्षत्विक्षत् नै भएँ । किनकि वर्षौंवर्षदेखि म आफैँ पनि शङ्कर लामिछानेका पुस्तकको खोजीमा अनवरतरूपमा लागिरहेको बीस वर्ष भइसकेको थियो । मेरो बीस वर्षको अथक प्रयासमा मैले कैयन् पटक उनका पुस्तकका प्रकाशक, कैयन् पटक उनका साथी समीक्षकसित पुस्तक नमागेको होइन । उनका पुस्तकको पुनपर््रकाशनका निम्ति एकताका रत्नपुस्तकका चन्द्रप्रसाद श्रेष्ठसित कुरा गर्दा उहाँले स्पष्टतः इन्कार गर्नुभयो, "यो पुस्तक फेरि निकाल्न ठूलो झमेला छ । लेखकका छोराले असहमति जनाउँनेछन् । उनकी दोस्री श्रीमती पनि छन्, उनलाई पनि सोध्नुपर्ने हुन्छ । गाह्रो छ ।.." त्यसपछि मैले आँटै गरिनँ । र, त्यो मेरो क्षमताभन्दा बाहिरको कुरा भएर गयो ।

शङ्कर लामिछानेका किताब पढ्ने रहर मलाई त्यो बेला मात्र होइन, बचपनदेखि नै थियो । बचपनमै मैले एकपटक शङ्कर लामिछानेका टुक्राटुक्रा निबन्ध पत्रपत्रिकामा वा पाठ्यपुस्तकमा पढिसकेको भए पनि सग्लो पुस्तक नै हातमा लिएर पढ्न बसेको आनन्द मैले भोगेको थिइनँ । यसैबेला मैले बागबजारमा डेरा गरिबसेका मञ्जुल नेपालको आवासमा लामिछानेको निबन्ध सङ्ग्रह "एब्स्ट्रैयाक्ट चिन्तन ः प्याज" देखेँ, त्यो नै मैले पहिलोपटक प्याजको मुखावरण देखेको समय थियो, संवत् २०५६ । मैले कवि मञ्जुललाई सो पुस्तक पढ्नको निम्ति आग्रहपूर्वक मागेँ । उहाँले सपाटरूपमा उत्तर दिनुभयो "..यो मेरो सबभन्दा पि्रय पुस्तक हो भाइ । यो सधैँ मेरो सिरानीमा हुनैपर्छ भाइ । मलाई गाह्रो हुन्छ ।"

त्यो गाह्रो मैले बुझेँ र हुने गाह्रो देखेर मैले दोहोर्‍याएर पुस्तक मागिनँ । एकपटक यसैगरि कवि नाटककार रमेश के.सी.लाई उत्तम नेपालीको घर देखाउन र भेटाउन उनको घर जाँदा मैले लामिछानेको अर्को पुस्तक गोधूली संसार त्यहाँ देखेँ, माग्न सकिनँ । नदेलान् भनेर । मित्र रमेशले मागे र पाइ हालेँ । म चुकेँ ।

त्यसपछि मैले कवि मित्र राजेन्द्र पराजुलीसित गफगाफमा शङ्करको प्याजको कुरा गर्दा उनले मसित छ भने मैले यसपालि आँटै गरेर मागे । उनले नववर्ष २०५७ को पहिलो दिनको पहिलो नेपाल बन्दमा मलाई त्यो पुस्तक उपलब्ध गराइदिए । नेपाल बन्द थियो तर मेरा निम्ति सारा संसार खुलेसरि भयो ।

म हिँड्दै त्यो पुस्तक लिन गएँ ।

एब्स्ट्रयाक्ट चिन्तन प्याज मेरो घर छिर्‍यो । मैले यसपछि रेडियोमार्फत सबैको घरघर पुर्‍याएँ । जस-अपजस दुवैको भागी भएँ । डाहा ईष्र्याको पात्र पनि भएँ । साङ्गीतिक कार्यक्रममा निबन्ध मात्र पढ्यो भन्ने आरोप पनि आयो । रेडियोमा यस किसिमको कृति वाचन पहिलो भए पनि मलाई हौसला दिने रेडियो सगरमाथाका दुवै स्वजन हेमबहादुर विष्ट र किरण नेपाल रेडियो छोडेर गइसककेका थिए । कार्यक्रमको प्रसारणमा व्यापकता आएपछि कमल दीक्षितले आफूसित सङ्गृहित रेकर्डहरू उपलब्ध गराउनुभो, उहाँ सदैव आफूलाई मेरो फ्यान भन्न मनपराउनु हुन्थ्यो ।

एकदिन कवि भीष्म उप्रेतीको घरमा गोधूली संसार भेट्टाएँ, शङ्कर लामिछानेले केशवबहादुर शाहलाई उपहार दिएको त्यो पुस्तक पनि मैले वाचन सुरु गरेँ । त्यसपछि कवि मुरारि सिग्देलको अस्मिताजमा चार रुपियाँको बिम्ब प्रतिबिम्ब दस रुपियाँमा किनेँ र त्यो पनि वाचन सुरु गरेँ । कति शुभेच्छुकले रेडियोमा निबन्ध वाचन सुरु भएपछि आफूसँग भएका पुस्तक, पत्रिका सामग्री जुटाइदिए । यसरी विस्तारै शङ्करमय दिन सुरु भए । कार्यक्रम प्रसारण सुरुभएको एक सातापछि मात्र म शङ्करपत्नी रत्नासित परिचित हुन पुगेँ । त्यसपछि कार्यक्रम प्रशारणकै अवधिमा विष्णु नाम गरेका एक भावकबाट अर्की पत्नी सुवर्णको पनि जानकारी पाएँ । दुवै शङ्करपत्नीलाई एकदिन रात्रिकालीन कार्यक्रममा फोनमा अन द स्पट वार्ता गरेर पुस्तक प्रकाशनको निम्ति अनुमति मागे । दुवै भाउज्यूलाई रेडियोको लाइभ कार्यक्रममा कन्भिस गरियो तर पुस्तक निकाल्न हामीसित पैसा थिएन ।

भावक राजेश प्रधानले प्रेसको र मनोजकुमार शर्माले पैसाको कुरा मिलाउन थाल्नुभयो । यसबीच एक शुभेच्छुक नगेन्द्र शर्माले धेरैपटक पुस्तक निकालीदिने वाचा गर्नु भयो तर उहाँले नसक्ने भएपछि राजेश प्रधानले हामी आफैँ नै तयार हौँ भन्न थाले । करिब डेढ महिनाको अथक प्रयासपछि मनोज र राजेशजीले एउटा आकर्षक आवरणसहित चिन्तन प्याज नयाँ संस्करण ७५ रुपियाँमा तयार पारेर कोपुण्डोलको कार्यालयमा ल्याउनु भो । त्यसपछि बजारमा ठूलो खैलाबैला मच्चियो ।

शङ्करको पुनर्जन्म । युवाहरूमा शङ्कर । शङ्करमय वर्ष । विभिन्न शीर्षकले बजार थर्कियो ।

ती दुवै किताब छ महिनामा सकिए । फेरि भावक अभियानले गोधूलि संसारको पुनपर््रकाशन गर्‍यो । माधव घिमिरेले प्रज्ञा भवनमै यसको विमोचन गर्नुभो । त्यसपछि बिम्ब प्रतिबिम्ब निस्कियो लैनसिंह बाङ्देलले विमोचन गर्नुभो स्पाइनी बाब्लरमा ।

यसरी शङ्कर विस्तारै युवा पुस्तामा हस्तान्तरण हुँदै गयो, युवाहरूको सक्रियतामा शङ्कर लामिछाने कोश स्थापना भयो । विस्तारै शङ्कर लामिछानेको घोषणाको अनुगुञ्ज कानमा गुञ्जिन थाल्यो, मेरा कृति आजका लागि होइन, आजको पचास वर्षपछिका पाठकका लागि हो ।"

विस्तारै शङ्करका पाठकहरू प्रतिविम्बित हुन थाले मेरो आँखामा ।

विस्तारै उनका प्रकाशक विम्बित हुन थाले मेरो मनमा । उनका कृतिहरू हामीले अब साझा प्रकाशन जस्तो संस्थालाई सुम्पियौँ ।

शङ्कर मेरा निम्ति पारिवारिक नाम हुँदै गयो । मैले विस्तारै शङ्कर निबन्धकोश उनकै परिवारको संरक्षणमा सुम्पिदिएँ ।

मैले यो अभियान सुरु गर्दा म एक्लै थिएँ र आज उनका पछाडि जुलुस छ । उनले कहिले रिमाल, कहिले पारिजातलाई पुरस्कार दिलाए । आज उनकै नाममा दुईवटा पुरस्कार स्थापित छ ।

शङ्कर मेरा निम्ति एउटा अभियान थियो र अब एउटा इतिहास भइसकेको छ । म इतिहासको एक मूकपात्र हुँ मेरा अगाडि यी सारा घटनासत्ता आफसेआफ चलिरहेका छन् ।

अचम्म लाग्छ, गीतकार गोपाल योञ्जनले भनेझैँ त्यो एक दिनको घाम आज सयौँ दिनको पानी भएको छ ।

म त्यो घामपानीको साक्षी मात्र भएको हुँ ।

Comments