Loading

शहीदको आगमन/ पूर्ण मुनंकर्मी

हर्क बहादुरको घरमा आज धुमधामको खुसियाली छाएको छ । रातको सन्नाटालाई चिर्दै भित्र कोठामा पृथ्बीको नयाँ पाहुनाको आवाज आएको छ । 

बाहिर हर्क बहादुर हर्ष बढाइँ गरिरहेको छ । छिमेकीहरू जम्मा भएका छन् । तीन बिस कटेका देखिने बुढाबुढीहरूको ठूलै जमात छ । केहि भुराभुरि पनि हल्ला गरिरहेकाछन् । गाउँमा भएका करिब करिब सवै भेला भएका छन् -क्याप्टेन हर्क बहादुरको खुसियालीमा ।

खुसियाली बाँड्न आँगनमा आफ्नै खोरका बंगुरहरू शहीद भएका छन् । मटानका केही घ्याम्पा पनि रित्तिएका छन् । ओठहरू लर्बरिएका छन् । तोङ्बाको निरन्तर आवाजमा दबिएर गाउँ भरिका भ्यागुताहरू आज असारको मध्यमा पनि आफ्नो आवाजलाई प्रतिबन्ध गरेका छन् र सुनिरहेका छन्  तोङ्बाको आफ्नै जस्तो आवाज- ट्वारट्वार ट्वारट्वार । 

औंसीको रात भएतापनि शहीद भएका बंगुरको सदगत गर्नेहरू र तोङ्बाका प्रियतमहरूको वरिपरिको आकाश हर्क बहादुर जतिकै उज्यालो छ र छ रौनकता पनि । 

अफगानिस्तानमा भरखरै हर्क बहादुरले गरेको बहादुरीमा ड्याभिड जरसाहेबले गरेको प्रशंसाको किस्साले बिचबिचमा तोङ्बाको आवाज मन्द हुन्छ र एक छिमेकी सही थाप्छ- ‘हर्के भन्दा हर्केको यो छोरो झन बहादुर भएर निस्कनु पर्छ, यो त जन्मदै बिर्तिस् लाहुरे ।’ वातावरणमा हाँसो गुिञ्जन्छ, झकाएका दूधे बालकहरू आमाको काखमै तर्सन्छन् । 

‘हर्केले छोरो जन्माएन, लाहुरे जन्मायो । नेपाली जन्माएन, ब्रिटिस भाडाका सेना जन्मायो । नेपालको लागि मेधा जन्माएन, फिरंगीको लागि शहीद जन्मायो ।’ छेउमा बस्ने शिक्षकले अनायास शुष्क स्वरमा भनेको ती भावनाहरू त्यो हर्सोल्लास वातावरणलाई चिर्न सकेन तोङ्बाको आवाजमा दबियो । 

ठूलठूला खँड्कुलाहरू तताउन बालेको उज्यालोमा पनि शिक्षकले अँध्यारो नै देख्यो । उसले हेर्यो आफ्नै गाउँ, बारी र डाँडाहरू- उजाडउजाड, जीवन बिहीन र चारैतिर अन्धकार । निकै टाढाको, रातमा पनि हाँसिरहने उज्याली कंचनजंघा पनि अँध्यारो मै लुकिरहेकी छ, उसलाई यो हर्षोल्लास शायद पचेन क्यारे ।

हर्केको घरमा आँखा पनि खोलिनसकेको बच्चा आमाको छोरा हुनु भन्दा पहिले नै तोङ्बा तान्नेहरूले ‘बिर्तिस् लाहुरे’को न्वारण गरे  । बाबु हुने, जसले अहिलेसम्म बच्चाको रोएको आवाज मात्र सुनेको छ, देखेको छैन, दङ्ग छ र आफू लाहुरेको बाबु भएकोमा । हर्केको हर्षको सीमाना रहेन । उसले एउटा ठूलै युद्ध जितेर साम्राज्य नै पाएको महसूस गरेको छ । 

शिक्षक एक टकले नजिकैको खोर भित्रका बचेका बंगूरलाई हेर्छ, नयाँ लाहुरेको आगमनमा बलिदान भएका बाहिरका बंगूरलाई हेर्छ । हर्के र ब्रिटिस सामाज्यलाई पनि तुलना गर्छ । ब्रिटिसको लागि लडेर हर्के अझै जीवनमा खुसियाली मनाइरहेको दृष्य एकएक गर्दै हेर्छ र ती दृष्यहरू सिनेमामा जस्तै घुमिरहेको देख्छ । अनुहार नदेखेको नयाँ लाहुरे जवान हुँदै गरेको र त्यस सिनेमामा पर्दामा आएको अस्पष्ट दृष्य देख्छ र देख्छ भयंकर युद्ध । लड्ने दुबै अपरिचित विदेशी, ठाउँ विदेश, झण्डा विदेशी ।  सिनेमाको युद्ध, टेलिभिजनको पर्दामा देखेको अफगानिस्तान र इराकको युद्धलाई ओझेल पार्ने खालको । त्यस युद्धमा नयाँ लाहुरे ! 

बलिको बोका पर्से जस्तै शिक्षक आफ्नो जीउ अनायास हल्लाउँछ, भाउन्न हुन्छ उसलाई आफ्नै परिचितको कुनै बियोगान्त सिनेमा हेर्नु छैन, त्यसैले उ जुरुक्क उठ्छ र हिड्छ अंध्यारोमा- क्षितिज नउघ्रेसम्म निरन्तर । 

Segments: 

Comments