Loading

सपना / नारायण श्रेष्ठ

Narayan Shrestha
सपना नै सही
त्यो खोलाको पानीमा खुट्टा चोबल्दै
अंजुली भरेर मुखमा छ्याप्दै
नदी किनारमा बालुवाले नाम लेख्दै
फेरि मेट्दै
जंगलको सेपमा लुकामारी खेल्दै
झ्याउँकिरीले भंग गर्ने मौनता नियाल्दै
भदौरे किरा उडाउँदै
बुटा बुटा नियाल्दै हिंड्ने
बेढंगी मान्छे
आवारा, बेहोसी, बिद्रोही
झुसे दारी र
चायाले ढाकेको कपाल छोपेर हिँड्ने
त्यो एक्लो मान्छे – मै थिएँ ।

बरु त्यो सपनै होस
हिँड्दा बायाँ तिमी थियौ
बाटोमा उज्यालो जुन पोतिएको थियो
निस्फिक्री थियो समयको प्रवाह – पानी जस्तै निस्फिक्री
सफेद, निस्कलंक
रात्री बसले छोडेको यात्रीजस्तो एक्लो कहाँ थियो र?
त्यसरी अभर पारेर जाने
बेला कुबेला सताउने
स्वार्थी रहिन अब म !
तिमीले सोचेजस्तो
अत्यासै लाग्ने एकलकाँटे
बीच बाटैमा छोडेर हिंड्ने एकसुरो
कत्ति पनि रहिन म

सपनै सही
पुरानो जिन्समा हिलो छ्यापिएको जुत्ता भिरेर हिंड्ने
धेरै खाने
अवेर उठ्ने
अल्छी
मजाक गर्नै नआउने
गंभीर
बाक्लो, बोसो भरिएको भए पनि कमलो मुटुको जीउ बोकेर हिँड्ने
तिम्रो लागि
मनभरि
एउटा सपना बोकेर हिंड्ने
म बाहेक अरू
अब कोही हुन सक्दैन ।

Segments: 

Comments