Loading

एउटा सांस्कृतिक क्रान्ति चाहिएको छ / सत्यमोहन जोशी

Satya Mohan Joshiमहाभूकम्पले हामीलाई देश निर्माणमा एकजुट भएर लाग्ने भावना प्रदान गरेको छ । प्राकृतिक संकटले निम्त्याएको राष्ट्रिय एकताको भावना महत्त्वपूर्ण छ । भूकम्पबाट भएको क्षतिलाई कसरी शक्तिमा परिवर्तन गर्ने भन्ने प्रश्न अब मुख्य हो । आज हुर्किंदै गरेको नयाँ पुस्ताका लागि पनि यस्तो भावना जरुरी भइसक्यो ।

भर्खरै संसद्मा पारित संकल्प प्रस्तावको भावना महत्त्वपूर्ण छ । त्यसलाई चरितार्थ गर्ने–नगर्ने हामी नेपालीमा निर्भर छ । यस सन्दर्भमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संसद्मा दिएको अभिव्यक्तिले मलाई छोयो । ‘हामीले आआफ्ना दलीय स्वार्थ र संकुचनभन्दा बाहिर आएर राष्ट्रिय दृष्टिकोण राखेर उठाऔं, त्यसले नयाँ संविधान र राष्ट्रिय पुनर्निर्माणको भावना निर्माण हुन्छ,’ भनी उहाँले भन्नुभएको छ । हाम्रा नेताहरूको घैंटोमा घाम लागेको संकेत हो यो । उहाँहरूलाई आ–आफ्नै डम्फु बजाएर देश बन्दैन भन्ने चेतना भएजस्तो छ ।

भुइँचालो त औधि विकसित जापानमा पनि आइरहन्छ, हाम्रोजस्तो अल्पविकसित देशमा मात्रै होइन । भूकम्प आइहाले पनि खासै हानि नगर्ने भइसक्यो त्यहाँ । घर बनाउने, भूकम्पबाट बच्ने, नोक्सानी घटाउने प्रविधि विकास गरेका छन् । दोस्रो विश्वयुद्धमा पराजय एउटा संकट थियो जापानीका लागि । उनीहरूले त्यसलाई टारे । प्राकृतिक संकटहरू अरू थिए, टार्नै नमिल्ने । तर त्यसबाट हुने क्षतिलाई पनि घटाइसकेका छन् । जापान विश्वका अगाडि यति सामथ्र्यवान भएर आज आउन सकेको मूल कारण भनेको ‘हामी जापानी हौं’ भन्ने भावना हो ।

यति बेला हामी सबै नेपालीका लागि यस्तै भावना चाहिएको छ । हामीमा सांस्कृतिक विविधता छ । जात, धर्म, भाषा, संस्कृतिजस्ता विविधताबीच हामीले एकताको सूत्र पहिल्याउन जरुरी छ । राईले राईको, धिमालले धिमालको, यादवले यादवको, नेवारले नेवारको, क्षत्रीले क्षत्रीको मात्रै सोच विकास गर्‍यो भने देश बन्दैन । आआफ्ना जातीय गौरव, विशेषता र संस्कृतिलाई जोगाउँदै यस बेला सबै नेपालीले राष्ट्र बनाउने भावना सिर्जना गर्नु परेको छ । भुइँचालोको नोक्सानीले यो विचारलाई बीजारोपण गरेको छ ।

सारा मानिसको घर भत्किइरहेको छ । मानिसहरू खुला चउरमा पाल टाँगेर बसिरहेका छन् । सामूहिक भान्छा चलिरहेको छ । त्यहाँ कोही ठूलो–सानो छैन । सबै मिलेर खाइरहेका छन् । किनभने त्यो नगरी अब सुखै छैन । सबैको एउटै आवाज छ– अब कसो गर्ने ? हाम्रो व्यवस्थाभित्रका कमीकमजोरीहरू यही बेला देखापरिरहेका छन् । त्याग र बलिदानका उदाहरण पनि यही बेला रचना भइरहेका छन् ।

९० सालको भुइँचालोताका जस्तो नेपाल अब अन्तर्राष्ट्रिय मञ्चबाट अलग्गै छैन । राहत आइरहेका छन् । उद्धार भइरहेको छ । हाम्रो प्रशासकीय कमजोरीमात्रै मूल कारक होइन, भौगोलिक दृष्टिले पनि एक ठाउँबाट अर्को ठाउँ राहत पुर्‍याउन गाह्रो छ । जानै त कति गाह्रो छ, राहत लैजान झन् कति गाह्रो छ ? यस्तो बेला सुरक्षाकर्मीले मरिमेटेर काम गरेका छन् । गाउँगाउँबाट विद्यार्थी राहत बाँड्न पढाइ छाडेर आएका छन् । यो सानो कुरा होइन । यो मातृभूमिप्रतिको भावना हो ।

९० सालको भुइँचालोताका हामीसँग नमुनालायक सडक थिएन । असनबाट इन्द्रचोक जाने गल्ली, दायाँबायाँका घरहरू अहिलेकै छाँटका थिए । बस्ती यस्तै किसिमको थियो । ९० सालपछि भने शासकहरूमा सोच आयो । त्यसले प्रधानमन्त्री जुद्धशमशेरका नाममा जुद्ध सडक बन्यो । प्रवेशद्वार, दायाँबायाँ चौडा सडक र पक्की घरहरू बने । टुँडिखेल हुँदै दमकलस्थित जुद्धशमशेरको सालिकसम्म सडक गयो । त्यसको एक चोसो रणमुक्तेश्वर, अर्को चोसो इन्द्रचोक गयो । त्यो भूकम्प नजाँदासम्म काठमाडौं एउटा सहर हो भन्ने कुनै स्वरूप आइसकेको थिएन । आज गोरखापत्र संस्थान, नेपाल बैंकको अफिस रहेका ठाउँहरू सबै घोडा बाँध्ने तबेलाहरू थिए । कतै युद्धमा जानुपर्‍यो भने सामान बोकाउन घोडा नै चाहिन्थ्यो । त्यसैले पालेर राखिएको थियो । नेपाल–तिब्बत युद्धका बेला घोडा र खच्चडले नै ‘लजिस्टिक’ बोकेको हो । भूकम्पपछि तबेला र रिसल्लाहरू बालाजु पुर्‍याएर व्यवस्थित गरियो । सहरी योजनाले आकार लियो । हो, यसैगरी नयाँ सहरी योजना गर्ने मौका हो, ७२ सालको भूकम्प ।

त्यस बेलाको टुँडिखेल एसियाका ठूलामध्येको परेड मैदान थियो । त्यति राम्रो टुँडिखेलले ९० सालको भुइँचालोका पीडितलाई ओत दियो । त्रिपाल भन्ने शब्दै थिएन । घरमा जे छन्, त्यसैलाई पाल बनाएको हो । महिना दिनसम्म त्यसरी बसेको हो । त्यस्तो उपयोगी टुँडिखेललाई जिविस, नगरपालिकाजस्ता निकायले नै अतिक्रमण गरे । सरकारी निकायले खाँदाखाँद गरेर एकै ठाउँमा शान्तिवाटिका, रत्नपार्क, खुलामञ्च, सैनिक मञ्च, सहिद गेट, सैनिक मुख्यालय, आर्मी अफिसर्स क्लब, दशरथ रंगशाला बनाइदिए । त्यसको छेउछाउका सम्पदाहरूमा पनि अतिक्रमण भयो । सुन्धाराका पानी आउने धाराहरूलाई देखादेख बन्द गरियो । यस्तो किन गरियो ? कर्मचारी सञ्चयकोषको शिरमा काठमाडौं मल बसाइयो । यस्तो विचारै नगरी काम गर्ने हो ? साँघुरिँदै जाँदा अहिले टुँडिखेलको गति यस्तो भयो ।

भृकुटीमण्डप, पर्यटनबोर्ड, सभागृह, क्याम्पसहरूको हालत पनि त्यस्तै छ । पहिले त्यहाँ हरियाली थियो । टुकुचाको फाँटको कुरै नगरुँ । सुन्दैछु, दिसापिसाब गर्ने ठाउँ नपाएर यसपालि मानिसहरूले कष्ट सहनुपर्‍यो । त्यो बेला त तीन तलासम्म ‘फोर्स’ ले पानी जान्थ्यो । चोभारमा सिमेन्ट फ्याक्ट्री राखियो । त्यत्रो पर्यावरण भएको गोदावरीमा मार्बल उद्योग ल्याइयो । पाटनजस्तो सांस्कृतिक सहरलाई औद्योगिक क्षेत्र बनाइयो । बालाजु, भक्तपुरजस्ता ठाउँमा औद्योगिक क्षेत्र बनाइयो । मनमा जे आयो, त्यही गर्ने । बाटो बनाउँदा कसैसँग समन्वय नगरी बनाइयो, ढल बनाउनेले त्यसै गरे । आज बनायो, भोलि भत्कायो । सोच विचार गरेर योजना बनाएको भए त्यो सुन्दरता र खुलापन कायम राख्न सकिन्थ्यो । यो महाभूकम्पले नीति बनाउनेका लागि ठन्डा दिमागले सोच्ने मौका दिएको छ । यसबाट सिकिएन भने त्योभन्दा ठूलो दुर्गति भविष्यमा बेहोर्नुपर्नेछ ।

राजा महेन्द्रले तीन छोरीहरूलाई दाइजो दिने हुँदा कमलादीको फाँट र जंगल सबै सिध्याए । दिनै परे अन्त कतै दिएको भए हुन्थ्यो । यो त उर्वर खेतीयोग्य जमिन थियो । सबैलाई पुग्ने तरकारी, फलफूल यहीँ फल्थ्यो । श्रीमतीको नाममा रत्नपार्क बनाए । त्यो अन्त बनाएको भए हुँदैनथ्यो ? कसैले भन्लान्, यत्रो सहरलाई पार्क चाहिँदैन ? हो, चाहिन्छ । तर सहरकै बीचमा किन चाहियो ? त्यत्रो पर्यावरण नाश गरेर गुजुमुज्ज बस्तीका बीचमा पार्क किन ? अन्त मुलुकमा सैनिकको हेडक्वार्टर सहरभन्दा केही बाहिरै हुन्छ । सुरक्षाका दृष्टिले पनि त्यसो गरिन्छ । यहाँचाहिं सहरको बीचमा ल्याइयो । सारा टुँडिखेल आर्मीले ‘क्याप्चर’ गरिदियो । रंगशाला पनि सहरभन्दा थोरै बाहिरै हुन्छ । केही माइल गएर मनोरञ्जन गरेर फर्कन सकियोस् । यहाँ त जे पायो त्यही गरियो । रंगशालामा दुइटा कमलको फूल फुल्ने सुन्दर पोखरी थिए । त्यो पनि विनाश गरियो । त्यो भएको भए अहिले रानीपोखरीझैं शोभायमान हुन्थ्यो । त्यसैले योजना सबैभन्दा ठूलो कुरा हो । त्यो भविष्यको पुस्ताका लागि हो ।

अब अग्ला घर बनाउँदा पनि युनेस्कोको मान्यतालाई हेर्नुपर्छ । युनेस्कोले विश्व सम्पदा सूचीमा काठमाडौंका सातवटा ठाउँलाई समेटेको छ । पशुपतिनाथ, बौद्ध, स्वयम्भू, चाँगुनारायण, पाटन, काठमाडौं र भक्तपुरका दरबार स्क्वायर यसमा पर्छन् । पाटन कृष्णमन्दिर अरूले बनाएको होइन, स्थानीय नेवारले हो । कुनै बेला यो नेवारको मात्रै हो भन्ने भावना थियो । तर राष्ट्रियताको भावना विकास हुँदै गएपछि त्यो मेची–कालीकै सम्पदा भयो । युनेस्कोले विश्व सम्पदा घोषणा गरेपछि त्यो हाम्रोमात्रै भएन, विश्वकै भयो । तिनलाई छेक्ने गरी निर्माण भएका अग्ला भवनहरूले युनेस्कोको मापदण्ड पूरा गरेका छैनन् । नक्सा पास गर्ने नगरपालिका र बालुवा दिने जिविसले पनि यतातिर ध्यान दिएका छैनन् । यिनीहरूले गर्दा सहरको यस्तो हाल भयो । तीन तलाको अनुमति लिएर पाँच तलाका घर बने । कसलाई सोधेर, खुसी तुल्याएर यसरी बनाइयो ? यसो गर्दै गएमा युनेस्कोले एक दिन विश्वसम्पदा सूचीबाट झिकिदेला । त्यसो भयो भने सम्पदा संरक्षणका लागि आइरहेको सहयोग बन्द हुन्छ । त्यो मापदण्ड पूरा नगर्दा यसअगाडि उनीहरूले तीन वर्षसम्म ‘इन्डेन्जर जोन’ मा राखिदिए । नेपालबाट पटकपटक अनुनय–विनय गरेपछि फेरि सम्पदा सूचीमा पर्न सफल भएका छन्, यी ठाउँहरू । फेरि लापरबाही गरे हाम्रो पर्यटन विकास र सुन्दर सहर निर्माणको मौका गुम्छ ।

धरहरा नष्ट भएकामा जति दु:ख प्रकट गरियो, त्योभन्दा ठूलो सम्पदा त हाम्रा मन्दिरहरू हुन् । मन्दिर र धरहरामा फरक छ । मन्दिर मौलिकता र आफ्नो पहिचान भएको सम्पदा हो, धरहरा होइन । आफ्नै अर्थ, तत्त्व भएका मन्दिर बनाउन आफ्नै कच्चा पदार्थ प्रयोग भएको छ । धरहरालाई अहिले आएर हामीले आफ्नै सम्पदा मानिदिएको मात्रै हो । त्यसमा न कुनै कला छ, न कुनै मूर्ति छ, न छाना छ, न बुट्टा छ । मौलिकता केही छैन । त्यो त मुसलमानहरूले दिल्लीका कुतुब मिनार शैलीका मिनार बनाएझैं गरूँ न भन्दा आएको नक्कलमात्रै हो । त्यसलाई नेपालले

आफ्नो पुर्खाले बनाएको सम्पदा भनेर दाबी गरेको छैन । खालि हामीले सहरको बीचमा सबैको आँखामा परेको स्तम्भ भनेर मानिदिएको मात्रै हो । फागुन ७ गते प्रजातन्त्र दिवसको बिहान बिगुल फुक्न थालेपछि त्यसको महत्त्व झल्किन थाल्यो । देशमा कुनै ठूलो सूचना दिनुपर्‍यो भने धरहराको टुप्पाबाट बिगुल फुक्ने चलन थियो । सुर्खी र चुन मिसाएर वज्र बनाइएको हो, त्यसैबाट तला थप्दै धरहरा निर्माण गरिएको हो । त्यसलाई बनाउनै परे अब नयाँ ढंगले बनाए हुन्छ । पुरानै शैलीमा नदोहोर्‍याउँदा पनि हुन्छ । पिलर नै उठाएर बनाउँदा पनि केही हानि छैन ।

हाम्रो सबैभन्दा ठूलो कलाकृतिचाहिँ मन्दिरहरूमै देखिन्छ । एक नामी पर्यटकले भनेका छन्, ‘आधा विश्व घुमिसक्दा जति पैसा खर्च हुन्छ, भक्तपुरको दरबार स्क्वायर, ५५ झ्याले दरबार र स्वर्णद्वार पुगियो भने सोही बराबरको आनन्द र सन्तोष मिल्छ ।’ त्यो कला अहिले हरायो, मेटियो भने विदेशीहरू हेर्न आउँदैनन् । धर्मभन्दा पनि स्थानीय मानिसहरूको जीवनशैली, वास्तुकला, दर्शनसँग उनीहरू मोहित भएका छन् । पचपन्न झ्याले दरबारमा कुनै किलाकाँटा छैनन्, चुकुलैचुकुल लगाएर जोडिएको छ । धन्य, त्यो पनि जोगिएको छ ।

महाविपत्तिले आठ हजारभन्दा बढीको जीवन लियो । हजारौं घरबास उठायो । अझै घाइतेहरू छट्पटाइरहेका छन् । खति बेहोरेकाहरूमा अब केही गर्न नसकिने हो कि भन्ने भावना पलाएको छ । तर यी सबै निराशाहरूलाई आशामा बदल्ने राष्ट्रिय सामथ्र्य हाम्रो देशलाई आवश्यक परेको छ । यसका लागि एउटा ठूलो सांस्कृतिक क्रान्ति नगरी भएको छैन ।

लामो समयदेखि ‘कन्जरभेटिभ’ सोच बोकेर आएको पुस्तालाई अब ब्युँझाउनुपर्ने भएको छ । नाचगान गरेर, गीत सुनाएर, सहभोजन गरेर यस्ता काम गर्न सकिन्छ । हामीले जातपात छैन भनेको कति भयो ? तर व्यवहारमा अझै छ । महाभूकम्पले भने त्यो भावना घटाइदिएको छ । क्षतिका बीचमा यो भूकम्पले जनतालाई ‘रिभोल्युसनाइज’ गरिदियो । सामान्य अवस्थामा यस्ता भावनाहरू आउँदैनन् । यस्ता महाविपत्तिले सबैलाई मृत्युको नजिकसम्म पुर्‍याउँछन् । नयाँ जीवन पाएको अनुभूतिले जागरणको नयाँ संवेदना निर्माण गर्छ । यो महाभूकम्पले बाँचेकाहरूमा जीवनप्रति असीम आशा भरिदिएको छ । क्रान्तिकारी भावना पैदा गरेको छ । यस्तो भावना पैदा गर्ने चीज नै कल्चर हो । खालि मायाप्रीति गाँस्ने कुरामात्रै ‘कल्चर’ होइन ।

अहिले राष्ट्रिय सरकार बनाउनुपर्ने चर्चा चल्न थालेको छ । सबैलाई थाहा भएकै हो, एउटा बलियो सरकार र ‘स्टेट्सम्यान’ नहुँदा देशले यस्तो फितलोपन बेहोर्नुपर्‍यो । यो त सबैथोक देखाउनका लागि जस्तैमात्र भयो । यसो हेर्दा काम खुब भइरहेको छ, तर नतिजा खासै आइरहेको छैन । हुन त यो सरकारमा यत्रो पढे–लेखेका मानिस छन् । लेख्न बोल्न सक्छन् । तर नेतृत्व भन्ने चीज अर्कै हो । नेताको व्यक्तित्व, बोलीले नै व्यवहारमा प्रभाव पर्नुपर्छ ।

जनतालाई जुरुक जुरुक उठाउन सक्ने सामथ्र्य चाहिन्छ । अहिले हाम्रो देशमा यसको अभाव छ । त्यसैले संकटको यो बेलामा राष्ट्रिय सरकारको आवाज उठिरहेको छ ।

कुरा त उठ्यो, तर नेताहरू आफू–आफूमै हराइरहेका छन् । यो महाभूकम्पले विनाशबाट सिक्ने हो भने सबैलाई ‘पोलिटिकल्ली मोटिभेट’ गरेर अघि बढ्नुपर्छ । त्यति गर्न सकियो भने भविष्यका सन्ततिहरूका लागि बलियो जग बसालेर जान सकिन्छ । नत्र हामीले जति

दु:ख पायौं, त्योभन्दा नराम्रो क्षति नयाँ पुस्ताले बेहोर्नुपर्ने छ ।

स्वार्थ सबैको हुन्छ । तर राष्ट्रिय स्वार्थका अघिल्तिर अरू सबै साना हुन् भन्ने सत्य हाम्रो नेतृत्वले थाहा पाउनुपर्‍यो । नेताहरूको अहिलेको अभिव्यक्ति राम्रै छ । त्यही भावनाअनुसार संविधान पनि बनाउनुपर्छ । सबल नेतृत्वको पहलमा नयाँ नेपाल निर्माणको प्रतिबद्धता पनि कार्यान्वयन गर्नुपर्छ । त्यो जापान र सिंगापुर नेताकै बुद्धिले बनेको हो । सहअस्तित्व सकार्दै सहमतिको बाटोमा हिड्दा ती देशमा विकास भयो । हाम्रोमा भूकम्पले गर्दा हुने कुरा भइहाल्यो, बिग्रने बिग्रिइहाल्यो । सपार्न सकिने कुरा अब सपारौं ।

[कान्तिपुर दैनिकमा प्रथम पटक प्रकाशित, प्रस्तुति : बसन्त बस्नेत]

Segments: 

Comments