Loading

गजलमा भाषाको फ्युजन–‘समयलाई सलाम’/ माधव घिमिरे

Samay Lai Salamनेपाली साहित्यको इतिहासलाई फर्केर हेर्दा गजल विधा माध्यमिक कालको विशिष्ट प्राप्ति हो । यसको श्रेय मोतीराम भट्टलाई दिइन्छ । यो अत्यन्त सान्दर्भिक र स्वाभाविक घटना हो । ‘गजल’ मूल रूपमा उर्दू भाषा साहित्यको महत्वपूर्ण उपलब्धि हो । किनकि यसका नियमहरू सबै उर्दू भाषामा नै अङ्कित छन्; त्यसैगरी जसरी नेपाली भाषाका छन्दोबद्ध पद्य कविता संस्कृत भाषा साहित्यका ‘छन्द’ नियममा आधारित हुन्छन् । तथापि वर्तमान सन्दर्भमा उर्दू बाहेक धेरै भाषामा ‘गजल’ लेखिएका छन्, भविष्यमा पनि यो क्रममा निरन्तरता भइरहने छ ।

नेपाली भाषामा भेरै स्रष्टाहरूले ‘गजल’ लेखेका छन् । यो क्रम धेरै लामो हुनसक्छ । यसै श्रृङ्खलामा धीरेन्द्र प्रेमर्षी पनि आउँछन् । विवेच्य कृति ‘समयलाई सलाम’ एउटा गजल संग्रह हो । ‘प्रेमर्षीको मातृभाषा मैथिली हो । उनी मैथिलीमा गीत पनि लेख्छन् र मैथिलीमा सपना पनि देख्छन् । नेपाली भाषामा सपना देख्छन्–देख्दैनन्, उनै जानुन, तर गीत चाहिं नेपालीमा पनि लेख्छन्’ भनेझैं नेपालीमा व्यङ्ग्य कविता लेखन र वाचनबाट नेपाली पाठक सामु परिचित भएका धीरन्द्र राम्रो उद्घोष गर्ने व्यक्तित्व पनि हुन् । ‘सिस्नुपानी’ समूहबाट लोकप्रियताको शिखरमा पुग्न सफल धीरेन्द्रका कविता, गीत, गजलको मूल प्रवृत्ति व्यङ्ग्यात्मक ‘चेत’ नै हो । यसैको झल्को प्रस्तुत गजलहरूमा झल्किनु अस्वाभाविक होइन । ‘हिजै जस्तो फेरि’ मा–

‘‘हिजैजस्तो फेरि जालझेल चल्न थाल्यो
खुट्टा तान्ने पुरानै त्यो खेल चल्न थाल्यो

अचम्मको यात्रा रै’छ संविधान–सभा
इन्जिनको पत्तै छैन, रेल चल्न थाल्यो’’

व्यक्त भएका यी गजलहरूबाट उक्त कुराको पुष्टि हुन्छ । तरपनि यहाँ सङ्ग्रहित गजलहरूमा प्रेम, प्रणय, अभाव, असन्तोष, आशा, पीडा जस्ता भावहरू पनि अत्यन्त सहज, सरल र कलात्मक शैलीमा व्यक्त भएका छन् ।

गजल सङ्ग्र्रहको महत्वपूर्ण पक्ष हो–भाषिक संयोजन, नेपाली र मैथिली भाषाका ठेट शब्दहरूको संयोजन अति राम्रोसँग भएको छ; जुन महत्वपूर्ण पक्ष हो । केही नमूना हेरौं–

झुल टाँगी हुन्न अब, लामखुट्टे धपाउन
कसिङ्गर थुपारेर झट्टै घूर बाल्नु पर्यो

***

माटोमा नै मन्दिर देख्ने ‘चलित्तर’ ले पनि अब
बलि दिने ‘गहबर’ मा रे, साढेसाती कटेपछि

***

भावनाको चुनासँगै शब्द–सूर्ति माडी
कस्तो स्वाद आउँथ्यो, बुन्दा गजलको राडी

***

यसरी दुई भाषाको संयोजनमात्र नभएर संस्कृति र परम्पराको मेल भएका छन् यी गजलहरू । ‘ हिन्दी’ भाषाका गजलहरूमा उर्दु शब्दको प्रभाव र भावले गजलको विशिष्टता झल्किए झैं यहाँपनि मैथिली शब्दले उही काम गरेको छ भन्दा अत्युक्ति नहोला । नेपाली गजलका पारखीहरूले मैथिली संस्कृति र परम्परा बुझ्न अब ‘घूर’ ‘गहबर’ लाई बुझ्नै पर्ने हुन्छ, नत्र गजलको आस्वाद कसरी पाइन्छ ।

विभिन्न शीर्षकमा समेटिएका ६६ गजलहरू बेग्लाबेग्लै भावहरू अभिव्यक्त गर्न सक्षम छन् । एस.सी.सुमनको चित्राङ्कनले गजललाई अझ जीवन्त र सुन्दर बनाएको छ । प्रत्येक गजलमा अङ्कित चित्रले भावलाई मूर्त रूप दिएको छ । राष्ट्रकवि माधव प्रसाद घिमिरे, डा.कृष्णहरि बराल, देवी नेपाल, दीपक खड्का, एस.सी.सुमन र स्वयं गजलकार धीरेन्द्र प्रमेर्षीका अभिव्यक्तिहरूबाट सङ्ग्रह भित्रका गजलहरू वारे निकै महत्वपूर्ण जानकारी पाठकले पाउने हुनाले सान्दर्भिक र स्वाभाविक छ ।

आवरण पृष्ठ, छपाइ, आदि सबैकुरा उत्कृष्ट छन् । यस्तो महत्वपूर्ण कृति जनसमक्ष ल्याइदिने वाङ्मयसेवी प्रकाशक जीवा लामिछानेलाई जति धन्यवाद दिएपनि पुग्दैन ।

Segments: 

Comments