सम्झनामा गोपाल योञ्जन / किरण भण्डारी

Gopal Yonjanमेरो गीत मेरो प्रतिविम्व होइन 
जो फुटी जाने छैन, टुटी जाने छैन 
आकाशजस्तो अमर गीत मेरा 
म जस्तो दुई दिनको पाहुना होइन 

गोपाल योञ्जनले उन्नाइस बर्षकै उमेरमा उक्त गीत मार्फत् आफ्नो जीवन गाथा लेखेका रहेछन् । गीतमा भनिएजस्तै उनका सयौं गीत अमर भए । दुई दिनको पाहुना हुँदा गरेको बेजोड सिर्जनाले गोपाललाई पनि संसारभरका नेपालीको ढुकढुकी बनायो। रचना, संगीत र गायनका बेजोड प्रतिभा गोपाल ५३ वर्षको उमेरमै ‘जीवनबाट थाकेर’ विदा भएको १६ वर्ष नाघेको छ । रेडियो नेपाल मात्र हैन, बग्रेल्ती खुलेका एफएममा अहिले पनि उनकै गीत घन्किन्छन् । प्रवासमा जन्मिएका उनले नेपाली संगीतलाई लाख गुन लगाए । दार्जिलिङमा केटौले उमेरमै रचेर आफैले संगीत भरेको सुगम, आधुनिक, राष्ट्रिय, सामाजिक, लोकगीत र भजन पचास वर्ष पछि पनि उत्तिकै चर्चित छन् । 

‘देशले रगत मागे मलाई बली चढाउनु, बनेको छ पहराले यो छाती मेरोजस्ता गीत उसले टिनएजमै बनाएको हो,’ कवि एवं गीतकार नगेन्द्र थापाले भने, ‘चिया कमानमा मजदुरी गर्न आएका नेपालीलाई जगाउन यी गीत लेख्दा गोपालले नेपाल देखेकै थिएन ।’ २०१९ सालमा दार्जिलिङको सेन्ट जोसेफ कलेज (नर्थ प्वाइन्ट) मा प्रि-युनिभर्सिटी पढ्दा गोपाल र नगेन्द्रको भेट भयो । साहित्यक रुचिले केही दिनमै घनिष्ठ बनायो। ‘उनको प्रतिभाबारे जानेरै आमाले गोपाल नाम राखिदिए जस्तो छ,’ नगेन्द्र भन्छन्, ‘बाँसुरी, मुरली बेजोड बजाउँथ्यो ।’ महाभारतका वर्णन गरिएको बाँसुरी बजाउने भगवान कृष्णको अर्को नाम गोपाल पनि हो । २००० सालमा दार्जिलिङ जन्मेका उनी १२/१३ वर्षको उमेरमै बाँसुरीमा प्रख्यात थिए । 

‘अम्बर गुरुङको चेलो हुञ्जेल उसले रचना र संगीतकारको प्रतिभा लुकाएर राखेको रहेछ,’ गोपालका स्कुले जीवनदेखि काठमाडौंसम्मकै साथी पिटर जे कार्थकले भने । गोपालको बाँसुरीको दार्जिलिङ सहरमा वाहवाही थियो । बस्तीको चिया मजदुर त्यो धुन सुनेर थकाइ बिर्सन्थे । उनको ख्याति पहाडको रनबनमा मात्र सीमित भएन । पहाड नाघेर कलकलत्ता र मुम्बईसम्म पुग्यो । ओस्कार पुरस्कार विजेता भारतीय निर्देशक सत्यजित रे समेत गोपालको बाँसुरीबाट छक्क परे । कञ्चनजंघा भन्ने सिनेमामा बाँसुरीको धुन हाले । सत्यजितले गोपाललाई लैजान मन गरे । पटकपटक निम्तो दिँदा पनि उनी कलकत्ता गएनन् । आफ्नो भाषा, संस्कृतिप्रतिको प्रेमले हिन्दी वा बंगाली भाषामा भासिन नेपाली मनले मानेन । 

‘दार्जिलिङमा हुँदा मात्र हैन, नेपाल आइसकेपछि पनि गोपाललाई कलकत्ता र बम्बैबाट धेरै बुलावट आयो,’ पत्नी रिन्छेन सम्झिन्छिन्, ‘जति दुख पर्दा पनि उसले खुट्टा उचालेन ।’ भारत नगएर उनले ठूलो बजार गुमाए । नाम, दाम र काममा घाटा भयो । नेपाली संगीतमै रमाए । बरु छोराछोरी बढ्दै गएपछि किन बम्बई नगएको भनेर गुनसो सुन्नुप¥यो । ‘बजार ठूलो छ । पैसा कमाइन्छ । गोपाललाई यस्ता कुरामा वास्तै थिएन,’ रिन्छेन भन्छिन्, ‘नेपाली नेपालको माया छ कि छैन, गाएर बाहिर जाऊ भन्नेको मुख बन्द गरिदिन्थ्यो ।’ 

गोपाल संगीत क्षेत्रको सम्पूर्ण प्रतिभा थिए । ‘लेख्न, बजाउन, कम्पोज गर्न, संगीत दिन पोख्त एउटै मानिस संसारमा विरलै भेटिन्छ,’ थापा पारख गर्छन् । गोपालले जुन नया बाजा छोए पनि केही क्षणमै निपुण देखिन्थे । जन्मजात आशिर्वाद भनौं । गुरु थाप्नु वा धेरै रियाजको जरुरत पर्दैनथ्यो । त्यसो त नगेन्द्रसँग चिनजान नै बाजाले गरिदिएको हो । क्याम्पस बाहिरबाट बेसुरले एकतारे बाजा बजाएर ‘बंगाली’ हिँडिरहेको थियो । एउटा विद्यार्थीले बाजा माग्यो । बजाउने तरिका सोध्यो । बजाउन थाल्यो । चौरभरि विद्यार्थी जम्मा भए । ‘त्यो गोपाल थियो,’ ५० वर्षअघि बर्खाको त्यो दिन सम्झँदै नगेन्द्रले भने, ‘त्यहि दिनबाट हाम्रो दोस्ती भयो ।’ त्यो संगतपछि कर्म योञ्जनको नेतृत्वमा गोपाल, दिलमाया खातीहरुसँगै नगेन्द्र पनि संगीत सिर्जनामा होमिए । ‘कला मन्दिरको सानो कोठामा कहिले गीत लेखेर ट्यनु गर्ने, कहिले ट्युन गरेर गीत लेखिन्थ्यो ।’ गोपालले नगेन्द्रलाई ‘शब्द शिल्पी’को पगरी दिएका थिए । नगेन्द्रसँग भेटपछि आधुनिक गीत रचना भन्दा संगीतमा गोपाल बढी केन्द्रित भए । तर त्यसअघि नै गोपालले दर्जनौ ‘सुपर हिट’ गीत बनाइसकेका थिए । नगेन्द्रले कला मन्दिरमा त्यही बेला ए माझी दाई तारी न देऊ मलाई, बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, संहाल घुम्टोहरु जस्ता गीत बनाए । ‘म कवि थिएँ, गोपालले गीतकार बनाइदिए,’ नगेन्द्रले जस दिन्छन्। कला मन्दिर लोक, आधुनिक, भजन लगायत कार्यक्रम लिएर चिया बगान जान्थ्यो । ‘गिती नाटक प्रहसन पनि देखाइन्थ्यो,’ नगेन्द्र सम्झन्छन्, ‘गोपाल नाच्न पनि नामी।’ नर्थ प्वाइन्टनजिकै सिङ्माडीमा योञ्जन परिवारको बसोवास । गोपाल खातापिता परिवारकै । आमा र दिदी असाध्यै मायालु । नगेन्द्र मिलेसम्म होस्टल भन्दा गोपालको घरमा रमाउथे । गोपालको घरमा मीठो चोखो पाकेपनि नगेन्द्र पुग्नैपथ्र्यो । ‘नगए दिदी खानेकुरा बाकेर कलेजमै आइपुग्नुहुन्थ्यो,’ आँखा टिलपिल पार्दै उनले भने। ... गोपाल दार्जिलिङ्को ढुकढुकी बनिसकेका थिए । 

नेपालमा सुगम संगीतमा बेग मारिरहेका थिए नारायणगोपाल । सीमापारि उनका फ्यानको संख्या बढ्दो थियो । स्वर्गकी रानी, एक कान्छा ठट्टैमा बैस जान लाग्यो, मान्छेको माया यहाँ खोलाका पानी जस्ता गीत नेपालका राजनीतिक सीमाना नाघेर भारतमा हिट थियो । नारायणगोपालले यस्ता गीत गाएको शास्त्रीय संगीतका ओस्ताद वावु आशागोपाललाई चित्त बुझेको थिएन । छोरो बिग््रयो भनेर ज्यादै दुखी थिए । शास्त्रीय संगीत छाडेर प्रेम गीततिर लाग्नु आशागोपालको नजरमा ‘धर्म छाडा’ हुनु हो । वावुको इच्छा पनि पूरा गरिदिऊ भनेर नारायणगोपाल शास्त्रीय संगीत पढ्न बरोडा गए । शास्त्रीय गायनको अनुशासनमा बाँधिन उनलाई सकस भयो । उकुस-मुकुस छल्न दार्जिलिङतिर उकालो लागे । नारायणगोपाल आएर ईश्वरवल्लभसँग बसे । ईश्वरवल्लभ गोपाल र नागेन्द्र बिए पढ्ने गभर्मेन्ट कलेजमै पढाउँथे । ‘अव्वल स्वर र संगीतलाई भेटाइदिने सुर उहालाई चलेछ,’ नगेन्द्र सम्झन्छन् । कर्म, गोपाल, नगेन्द्रसग नारायणगोपालको भेट भयो । दार्जिलिङ्को चौरस्तमा भएको त्यो चिनाजानीले नेपाली संगीतलाई चम्किलो वनाउदैछ भन्ने हेक्का उनीहरुलाई थिएन । तर ईश्वरवल्लभ दुई गोपालबारे निकै घोत्लिएछन् । मीत लगाइदियो भने गीत, संगीत र स्वरको बेजोड संगम हुन्थ्यो भन्ने उनलाई लागेछ । ‘ल ल कर्म र मैले पनि हौस्यायौँ,’ दार्जिलिङ्को बुङ्गो केलाउँदै नगेन्द्रले भने, ‘महाङ्काल डाँडा उक्लियौँ, अँगेठीमा आँगो जोर्‍यौ र अग्नीलाई साक्षी राखेर विधिवत मीत लगाइदियौं ।’ गोपालले आफ्नो ठाउँमा आएका मीतलाई आठ वटा रचना र संगीत भेट दिए । ‘मेरो भन्दा राम्रो स्वर मीतज्यूको छ, उहाँकै स्वर भर्नुपर्छ’ भन्दै गोपालले गीत थमाइदिएको नगेन्द्रलाई हिजो जस्तो लाग्छ । तिम्रो जस्तै मुटु मेरो पनि, मेरो गीत मेरै प्रतिविम्व हैन, जीवनदेखि धेरै धेरै नै थाकेर, लौ सुन म भन्छु मेरो राम कहानी, गल्ती हजार हुन्छन् यहा होस हराएको बेला, मेरो गीतमा उभिएको धुलोले लगायत गीत नारायणगोपालले पाएका थिए । ती मध्ये केही कलकत्तामा रेकर्ड भए, केही रेडियो नेपालमा । मीतज्युको चिनो ती सबै गीत अहिले पनि उत्तिकै ताजा छन् । 

मीत लगाएर बरोडा फर्केका नारायाणगोपाल पढाइमा रम्न सकेनन् । दार्जिलिङकी फ्यान पेमलासग बाक्लो पत्राचार हुन थालिसकेको थियो । मीतज्यु र नगेन्द्रसग पनि चिठ्ठीमै गीत संगीतको वहस गर्थे । बरोडाबाट दार्जिलिङ गए पेमलालाई भेट्न । मितज्युकै घरमा बस्थे । नारायणगोपालले केही वर्षपछि पेमलालाई बिहे गर्ने निधो गरे । त्यसको साक्षी कर्म, गोपाल र नगेन्द्र बसे । त्यसैले नारायणगोपालको दार्जिलिङ आहोरदोहोर बढ्यो । नारायणगोपाल, गोपाल र नगेन्द्रले कालिम्पोङ, खर्साङ्मा कार्यक्रम गरे । उनीहरुको प्रस्तुति पपुलर भयो । मेरो जोवन लैजाऊ, मेरो पाउमा जस्ता युगल गीत त्यतिबेल बनेका हुन् । पछि गायिका फेरेर ती गीत रेकर्ड भयो । युगल गीत गोपाल र नगेन्द्रले संयुक्त रुपमा लेखेका छन् । कला मन्दिरमा पलेटी कसेर गीत सिर्जना गर्दा उनीहरु पुरुष वा महिलाको भाग लेखेर भाग लगाउथे । ‘गोपाल फिलिङमा जोड दिन्थ्यो,’ नगेन्द्र सम्झन्छन्, ‘कुनै गीतमा म केटी कुनैमा ऊ केटी भएर लेखेका छौ ।’ 

नारायणगोपाल शास्त्रीय संगीतको पढाइ पुरा गर्न सकेनन् । बरोडाबाट काठमाडौं फर्किए । संगीत सिर्जनामा तल्लिन भएपनि गोपाल र नगेन्द्रले पढाईलाई जेनतेन टिकाइराखेका थिए । २०२३ सालमा उनीहरु बिए पास भए । नगेन्द्र नेपाल फर्किए । विराटनगर आएर बसे । नया प्रेमी छुट्टिएजस्तो भयो । महिना, हप्ता मात्र हैन नगेन्द्रलाई दिन काट्न गाह्रो भयो । हुलाकी हैरान हुनेगरि गोपाल र नगेन्द्रको चिठ्ठी अहोरदोहोर हुन थाल्यो । २०२३-२४ सालताका गोपालले लेखेका केही चिठ्ठी नगेन्द्रले अहिलेसम्म जतनसाथ राखेका छन् । ती चिठ्ठीमा केहि हरफ साथिको अनुपस्थितीले निम्त्याएको एकान्त र शून्यताबारे उल्लेख छ । त्यसपछि संगीत साधनाका विषय । गोपालले गीतका शव्द, राग, संगीतबारे व्याख्या गरेर लेख्दा रहेछन् । साथीको न्यास्रो मेट्न नगेन्द्रले विराटनगरमै बसेर पुस्तक नै छापे– गोपालको बा“सुरी । रहँदा बस्दा नगेन्द्र काठमाडौंमा एमए अंग्रेजीमा भर्ना भए । ‘पढाइमा फिटिक्कै मन अडेन,’ नगेन्द्र भन्छन्, ‘गोपालबिनाको जिन्दगी के जिन्दगी भनेर म दार्जिलिङ हानिए ।’ 

गोपाललाई नेपाल ल्याउने सुर कसेर गएका थिए । तर गोपालको घरायसी परिवेशले मुख फोरिहाल्न सजिलो थिएन । गोपाल बालकै हुदा वावु परलोक भएका । आमाको एउटा मात्र साहरा । आमाले आफूलाई पनि छोरालाई जत्तिकै माया गर्नुहुन्छ भन्ने नगेन्द्रले बुझेका थिए । गोपालसँग दुई हप्ता बसेपछि एकदिन साहस बटुलेर नगेन्द्रले भने, ‘आमा म गोपाललाई नेपाल लान्छु, मेरो जिम्मा दिनुस् ।’ आमा केही बोलिनन् । थुचुक्क भुईमा बसिन् । अनुहार सोहरिएर निलो भयो । ओठ कापे । गहमा आसु टलपल । नगेन्द्रले अझ हिम्मत हारेनन् । काँपेको स्वरमा भने– ‘आमा गोपालको बेजोड सम्भावना उतै छ, नेपाल गयो भने फक्रने मौका मिल्छ ।’ अझै उत्तर छैन । नगेन्द्रलाई टुलुटुलु हेरिन् । त्यसपछि गोपालतिर हेरेर आँसुका धारा भुईमा पोखिदिइन् । ‘म छँदैछु आमा, पीर मान्नु पर्दैन,’ नगेन्द्रले अझ हरेस खाएका छैनन् । नगेन्द्रलाई एक टकले हेरिरहिन् । गोपाललाई पुलुक्क हेरिन् । छोरामा आ“खा अड्याइरहन सकिनन् । ‘हुन्छ, एउटा छोराको जिम्मा अर्कोलाई दिन्छु,’ लामो मौनता तोड्दै आमा बोलिन्, ‘जहाँ लादा राम्रो हुन्छ उतै लानू ।’ आमाको काखबाट छोरो चुडेर ल्याउनुपरेकोमा नरेन्द्रलाई थकथकी लागिरहेको थियो । ‘आमाले मलाई गोपाल भन्दा माया गर्नुहुन्थ्यो,’ नागेन्द्रले भने, ‘मेरै मायाले घर रित्ताएर छोरो पठाउनुभएको हो ।’ 

२०२४ सालमा नेपाल आउँदा गोपाले आफ्नो परिचय बनेका थरिथरिका मुरली र बाँसुरी बोकर आए । अब नेपालमा तीन जनाको जोडी जम्यो– गीतकार नगेन्द्र, संगीतकार गोपाल र गायक नारायणगोपाल । दुईजाना मीत ज्यू । मीत नलाएपनि नगेन्द्रलाई तेस्रो मीत भन्न थालियो । नेपाल आएको केहि महिनामै मीतज्यूहरुले संगीत फाँटमा तहल्का मच्चाए । २०२५ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा ‘गल्ती हजार हुन्छन् म मातिएको बेला’ गीतमा गोपलले उत्कृष्ट सङ्गितकारको पुरस्कार पाए । उनकै ‘तिम्रो जस्तो मुटु मेरो पनि’का लागि नारायणगोपालले उत्कृष्ट गायकको उपाधि थापे । यो समूहको लोकप्रियता शिखरतिर लम्किरहेको बेला २०२५ सालमा ‘मितज्यु नाइट’ आयोजना भयो । नेपाली कलाकारले टिकट बेचेर सांगितिक कार्यक्रम गरेको त्यो सायद पहिलोपटक थियो । टिकट दर न्यूनतम १० रुपैया । कार्यक्रमस्थल महेन्द्र पुलिस क्लव । दर्शक सोचेभन्दा धेरै । कार्यक्रमको प्रस्तुतीिनगेन्द्रले गरे । दुई दिन चलेको कार्यक्रमबाट १५ हजार रुपैया बच्यो । तीनै जाना त्यतिबेला अविवाहित । मितज्यूहरुको मस्त पिउने बानी । नगेन्द्रले मुठ्ठी कसेकाले यो रकम उनीहरुले फुर्मास गरेनन् । नारायणगोपालले पेमिलासग बिहेदेखि डेरा बाससम्ममा सदुपयोग गरियो । नगेन्द्रले मितज्यु नाइट सम्वन्धि एउटा पुस्तिका नै प्रकाशन गरे । त्यसमा उनले लेखेका छन्, ‘बाडुली लाग्छ भोली यो साझको सम्झनामा ।’ नभन्दै संगीत पारखीहरु त्यस्तो सांगितिक सन्ध्या अहिलेसम्म नभएको दावी गर्छन । 

‘मीतज्यू नाइटमा त्यतिबेला काठमाडौं नै उर्लेको थियो,’ उत्साहित हुँदै पिटर भन्छन् । तीन प्रतिभाको समूह एकढिक्का हुञ्जेल अरु हस्ती छायाँ परेको विश्लेषण गीत, संगीत क्षेत्रका पारखीहरुको छ । ‘नगेन्द्र, गोपाल योञ्जन र नारायण गोपालको मिलन नेपाली सुगम संगीतको स्वर्णकाल हो,’ गीतकार एवं निर्देशक चेतन कार्कीले भने । हिट भएपछि यो जोडीले ‘सिनियर’हरुको मानमर्दन गरेको आरोप छ । अर्कातिर सरकारी निकाय रेडियो नेपाल, प्रज्ञाप्रतिष्ठान, रत्न रेकर्डिङ्ले छिर्की हानिरहदा पनि उनीहरुको प्रतिभा दवाउन नसकेको जोडदार तर्क गर्नेहरुको पनि कमी छैन । 

‘नातिकाजी, शिवशंकरले रेडियोमा कब्जा जमाएका थिए, प्रज्ञा प्रतिष्ठानमा अम्बर गुरुङ्को हालिमुहाली थियो,’ गोपालको किताब निकाल्ने तयारी रहेकी रिन्छेन भन्छिन्, ‘सरकारबाट लगभग वहिष्कृत मितज्यूहरुको उत्कृष्ट सिर्जनामा ब्रेक लागेन ।’ नारायणगोपालले गाएका कतिपय कालजयी गीत गोपालले रिन्छेनको फर्मायसमा लेखे । प्रायजसो विरक्ति, विछोड, पिडा, वियोगका गीत लेख्ने गोपालले उनकै करबलमा ‘यति चोखो यति मीठो दिऊला तिमलाई माया, विर्सने छन् साराले पुरानो प्रेमका कथा’ रचे । गोपालले ‘टिन एज’ मै लेखेका ‘जिन्दगी देखि धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर’ रेडियोमा एकैदिन चारपल्टसम्म बज्थ्यो । रिन्छेन दिक्क भइन् । ‘एउटा आशावादी गीत पनि लेख्नुस् न,’ उनले कर गरिन । कागजको टुक्रा लिएर गोपालले कोरिदिए, ‘भूल हो तेरो जिन्दगी देखि भागि हिड्नु ।’ गोपालको यस्तै गीत गाउन पाएकैले किरण प्रधान राम्रो गायकमा दरिए ।

सुगम संगीतमा नारायणगोपालसगको सहकार्यले मात्र गोपाललाई भारी पुगेन । त्यहि कालखण्डमा गोपालले राष्ट्रिय, लोकगीत, बालगीत र भजनमा बाजी मारे । प्रवासमा जन्मे पनि उनले नेपालीको वीरता, इतिहास, इमान्दारीको गाथा गीतमा बेजोड ढंगले उतारेका छन् । लोकगीत र राष्ट्रिय बिधामा उनको सिर्जना कर्ममा महेन्द्र पुलिस क्लवको उल्लेख्य योगदान रह्यो । बालगीतमा सेन्टजेभियर्स र सेन्टमेरिजका विद्यार्थीको संगत । नेपाली नेपालको माया छ कि छैन, मेरो टोपी कैलाशको शिरजस्तो, स्वदेशका नौजवान हो, पश्चिम कोही पूर्व घर आँगन तर एउटै हो जस्ता प्रिय गीतहरु क्लबमा बनाए । शव्द, संगीत, स्वर आफ्नै । प्रवासी नेपाली भएकैले उनले देशभक्ति र नेपाली जातिको उत्कृष्ट गीत लेख्न सकेको विश्लेषण गोपालसग काम गरेका कलाकारको छ । पुलिस क्लवमा राष्ट्रिय र लोकगित गायनमा गोपालले पत्याएका गाएका छत्र गुरुङ भन्छन्, ‘दार्जिलिङ्मा नेपाली नेपालमा प्रवासी भनिने पीडाले पनि उहाँ गीत लेखिहाल्नुहुन्थ्यो ।’ 

२०२५–२७ सालमा किर्तिपुरमा एमए पढ्दापनि गोपालले प्रवासी हुनुको अपमान महशुस गर्नुपर्‍यो । यस्तो परिवेशले कवि चेतलाई मलजल गर्‍यो । त्यसपछि जन्म भयो, भनिदेऊ नेपाली दाजु मेरो देश कहाँ पर्‍यो मलाई पनि नेपाली गीत गाउन मन लाग्यो गोपाल रचना, संगीत, गायनका लागि हाँपजाप गर्नुपर्दैनथ्यो । एकाध घण्टाकै तयारीमा उत्कृष्ट गीत जन्माइदिन्थे । लक्ष्मीप्रसाद देवकोटा जस्तै अल्पायुमा परलोक भएका गोपालमा उनकै गुण थियो । सिंगापुर प्रहरीको कार्यक्रम भाग लिन गएको बेला सहजै दमदार गीत जन्माइदिए, घर त मेरो हिमाली पाखा बेसी हो रे कुन दिनको संयोगले बने लाहुरे । 

दार्जिलिङ्का चिया कमानलाई पसिनाले सिंचाइरहेका नेपालीलाई मनोरञ्जन गोपालले धेरै लोकगीत गाए । नेपाल आएपछि पनि त्यसलाई निरन्तरता दिइरहे । तामाङ् परिवारमा जन्मेपनि उनलाई तामाङ भाषा आउँदैनथ्यो । तामाङ शेलोको लयमा उनले गाएको ‘च्याङ्वा हो च्याङ्वा’ र ‘भोकमा लागे भात खाउला, तिर्खामा लागे म्वाई खाउला’ जस्ता गीत अहिलेपनि उत्तिकै प्रिय छन् । पुलिस क्लवमा उनले ‘छातीमा मेरो यो छोटो भोटो कम्मरामा खुर्पेटो सोध रामलाई’, ‘सोह्र बर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ जस्ता गीत गाए । केहि नेपाली सिनेमामा काम गर्दा पनि उनले उत्कृष्ट छाप नै छाडे । ठट्यौलीदेखि देउसी भैलेको गीत उनले नै छिराए । ‘ए नक्कली ए नक्कली’ गीतले ब्यापक चर्चा पायो । रचना मात्र हैन सिनेमाको गीत रेकर्ड गर्न बम्बै जाने परम्परा उनले नै तोडिदिएका हुन् । ‘नेपालमै सिनेमाको गीत रेकर्ड गर्न सकिन्छ भनेर गोपालले नै गरेर देखाइदिएका हुन्,’ गीतकार एवं निर्देशक नीर शाहले तारिफ गर्छन् । 

काठमाडौं आएपछि मितज्यूहरुको घनिष्ठता झन् गहिरो भयो । दुवै अविवाहित हुदा उदायचलदेखि अस्ताएचलसम्म उनीहरु सगै हुन्थे । मीतेरी साइनोको रित उनीहरुले कहिल्यै तोडेनन् । नारायणगोपालले पेमलालाई भित्र्याएपछि घर छाड्नुपर्‍यो । मीतलाई डेरा सार्दा बेडिङ, विस्तारा बोक्न गोपाल सबैभन्दा अघि पुगेका थिए । ‘नारायणगोपाल नर्सिङ्ग क्याम्पमा डेरा सर्दा समेत सिरक डस्ना र कुम्लो कुटुरो बोक्न गोपाल थियो,’ घनिष्ठताको वर्णन गर्दै पीटर भन्छन् । त्यहि कम्पाउण्डमा नगेन्द्रले दुवै मीतलाई मोटरसाइकल हाक्न सिकाइदिएका थिए । उनीहरु दुवै जाना जीवनभर मोटरसाइकल नै चढे । त्यसअघि नै गोपालले बिहे गरिसकेका थिए । त्यसपछि केटाकेटी भयो । घर व्यवहार थपियो । आऊ जाऊ पातलियो । त्यतिमात्र भएन मीतज्यूहरुको घनिष्ठतामा आँखा लाग्यो । क–कसले उचाले पछारे उनीहरुको सहकार्य टुट्यो । तीसको मध्येदेखि गोपालको संगीत र नारायणगोपालको गीत हराए । उनीहरुको फाटोबारे धेरै लख काटियो । तर नजिकका साथीले समेत यहि भनेर ठोकुवा गर्न सकेका छैनन् । ‘व्यवसायिक, परिवारिक वा अरु नै के कारणले हो, कुन्नी मीतहरुले संयुक्त सिर्जना गर्न छाडे,’ नगेन्द्र दुखी हुन्छन्, ‘मलाई पीडा हुन्छ भनेर होला बोलचाल चाँहि बन्द भएन ।’ दुवैले प्वाँख लागेको ठाने । आफै उड्न थाले । गोपालले गायन बढाए । नारायणगोपालले संगीत । ‘दुईजानको दुरी बढेपछि मैले गीत लेखिन,’ नगेन्द्र भन्छन्, ‘दुवै अकालमा मरेपछि गीत सुन्न पनि छाडिदिए ।’ 

गोपाल वुद्ध धर्मको सच्चा अनुयायी थिए । स्वभाव नौनी जस्तो । ‘साह्रो नबोल्ने, कसैको चित्त नदुखाउने, तर्क सम्म ठूलो स्वरले नगर्ने स्वभाव,’ नगेन्द्र भन्छन्, ‘रचनामा धम्मपदको गहिरो छाप भेटिन्थ्यो ।’ यति नम्र स्वभावकै कारण केटाकेटीले ज्यादै रुचाउथे । केटाकेटीसग रम्ने क्रममा उनले पचास भन्दा बढि वालगीत रचे । विद्यार्थि उनीसँग रत्तिन्थे । सुनिता सुब्बा, पवित्रा सुब्बा, योगेश्वर अमात्यले गायकीमा उनैलाई जस दिने गरेका छन् । संगीतका यी धरोहर भने सानै उमेरदेखि दार्शनिक जस्ता थिए । बैराग्य बढी थियो । जीवनमा धेरै हण्डर ठक्कर भोगेर झन् कमजोर भए । उनी रमाउन सकेनन । संगतीहरु उनको मृत्युलाई ‘क्रमिक मृत्युवरण’ मान्छन् । ‘नारायणगोपाल खानपानले गए, गोपालले जीवनदेखि थाकेर जानाजान धेरै रक्सी खाएर मृत्यु रोज्यो,’ पिटरले भने, ‘जीन्दगीमा रमाउन सकेन तर अमर भएर गयो ।’ २०५४ जेठमा शवयात्रामा दिनभर बजेको गोपालको गीत दौतरीहरु उनकै आत्मकथा ठान्छन्– जीवनदेखि धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर ।

(साभार: नागरिक दैनिक)

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom