Loading

३५ वर्षपछि भैरव सम्झँदा / हरि अधिकारी

Bhairav Aryal

श्रेष्ठतम् हास्य-व्यङ्ग्य लेखक भैरव अर्यालको चालीस वर्षको अल्पवयमै काठमाडौं गोकर्ण नजिक वागमती नदीको पत्थरिलो खोंचमा फाल हालेर आत्महत्या गरेको खबर साहित्यका आम पाठकहरूले मात्र होइन, आत्महन्ता व्यंग्यलेखकका घनिष्ट साथीभाइहरूले समेत केही समयपछि मात्र पाए । प्रतिक्रियात्मक मनस्तापका सिकार काठमाडौंको काँठ क्षेत्रमा उदाएका यी बहुप्रतिभाशाली स्रष्टाले एक न एक दिन त्यस्तै केही भीषण उपद्रो गर्नेछन् भन्ने अलच्छिना आशंका गरिरहेका उनका निकट मित्रहरूले उनको मृत्युको समाचारलाई टार्न नसकिने भवितव्यका रूपमा लिएको हुनुपर्दछ त्यतिबेला । घनिष्टहरूमध्ये पनि घनिष्टतम् भैरवमित्र रोचक घिमिरे पोखरामा थिए, दसैंको लगत्तैपछिको बिदाको समय बिताउन पुगेका । पोखरा भ्रमणको कार्यक्रम घिमिरे र अर्याल दुवैले मिलेर बनाएका थिए । तर, अन्तिम घडीमा भैरवले फेरेका थिए आफ्नो योजना ।

भैरव अर्यालको साहित्यिक व्यक्तित्वको विकास त्वरित् गति र कीर्तिमानी ढंगमा भएको थियो । उनको पारिवारिक वातावरण, लालन-पालन र शिक्षा-दीक्षा उत्साहजनक र सन्तुलित पटक्कै थिएन ।

आपनो वरिपरिको त्यस प्रतिकूल परिस्थितिलाई अर्यालले गहिरो लगन, ढाड दोब्राइदिने खालको परिश्रम र अध्यावसायका बलमा पूरै फेरिदिएका थिए । उनमा जीवन र जगत्मा व्याप्त असंगत कुराहरूको सूक्ष्म अवलोकन गर्नसक्ने र तिनका बारेमा पढ्नेको हृदयमा आनन्दको सञ्चार गर्नसक्ने गरी व्यंग्य वाण चलाउनसक्ने जन्मजात प्रतिभा त छँदै थियो । सुरुमा उनी छन्द, लय र भाव मिलेका सुन्दर कविता लेख्ने असल कविका रूपमा नेपाली साहित्यमा देखा परेका थिए तर उनको सर्वोपरी अवदान हास्य व्यंग्य विधामा रह्यो । दुई हातका औंलाको संख्या जति पनि नपुग्ने नेपाली व्यंग्य लेखहरूको पंक्तिको पहिलो नाम भैरव अर्यालकै छ अहिलेसम्म पनि । यो तथ्यले भैरवको महान् लेखकीय व्यक्तित्वका बारेमा त बोल्छ नै, नेपाली व्यंग्य विधाको विकासको सुस्त गति लाई पनि दर्साउँछ । भैरवले वागमतीको बालुवामा देह बिसाएको पैंतीस वर्ष बितिसकेको छ नि त ! यति लामो समयमा पनि उनको ठाउँ लिने लेखक कोही देखिएको छैन, नेपाली हास्य व्यंग्य साहित्यमा । 

राम्रा कवि, अनुभवी पत्रकार, साझा निबन्धका सम्पादक र उत्कृष्ट हास्य व्यंग्यकारको लोभलाग्दो परिचय बनाएका भैरव अर्याल नितान्त एक्लो मानिस थिए । परिवार थियो ६ जना लालाबालाका कारण केही बढी नै विस्तारित । जागिर थियो सरकारी मुखपत्रको सम्पादन विभागमा । सहकर्मीहरू थिए । गोप संस्थान परिसर बाहिर पनि भैरव र मित्रहरूको सुसंगठित एउटा संसार थियो, रोचक घिमिरे, रमेश विकल, वासुदेव लुइँटेल, नवराज चालिसे, बलराम अर्याल आदिको । बौद्ध चावहिल क्षेत्रमा अरू मन मिल्ने मित्रहरू पनि हुँदा हुन् । तर, भैरव भने सबैसँग साथसाथै हुँदाहँुदै पनि थिए चरम् एक्ला । उनले आपmनो मनोसंसारको रचना यस्तो किसिमले गरेका थिए, त्यहाँ उत्साहका ठाउँमा अन्योल, आत्मविश्वासका ठाउँमा डर र आँटका ठाउँमा हीनभाव मात्रै रुमलिल्इरहेका हुन्थे ।

भैरव स्वयंले जन्माएको र हुर्काउँदै लगेको मानसिक एकांकीपनको कारण त अवश्य पनि थियो होला । तर उनका मित्रहरू र सहकर्मीहरूका लागि त्यो एउटा प्रहेलिका भएको थियो । गोपको उनको जागिरमा राम्रै भइरहेको थियो । प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा स्वर्ण पदक जितिसकेका थिए । सबैभन्दा महत्त्वपूर्ण कुरो उनी नेपाली साहित्यकै उत्कृष्ट व्यंग्यलेखक बन्ने प्रक्रियामा सबैलाई उछिन्दै थिए । तैपनि अर्यालको शिर कहिल्यै उच्च देखिँदैनथ्यो । अड्डाको टेबुलमा काम गरिरहँदासमेत उनी दिन दुनियाबाट धेरै टाढा भएभै+m टाउको निहुराएर घोप्टिइरहेका हुन्थे । उनको हातमा प्रायः हुन्थ्यो रातो मसी भएको कलम । गोपको लेखरचना सम्पादकका वरिष्ठतम् सहायक उनी बिनाअनुरोध त्यहाँ आएका लेखरचनामाथि रातो धर्सा कोरिरहेका हुन्थे, चुपचाप अनुहारमा अस्वाभाविक गम्भीरताको लेप लगाएर । सडकमा निस्किएका बेलामा उनी कुनै पनि वस्तुमा नजर स्थिर नगरी आपै+mसँग गुनगुन गर्दै धीमा गतिमा हिँडिरहेका हुन्थे । उनको चालढालमा स्वाभाविकता पटक्कै देखिँदैनथ्यो । 

भैरवले काम गर्दाताका गोप संस्थानको कामकाजी वातावरण निरंकुश राज्य प्रणालीअन्तर्गतको सरकारी प्रकाशनगृहलाई सुहाउने खालको नै थियो । सहकर्मी पत्रकाहरूका बीच उछिनपाछिनको दौड, अर्कोभन्दा आफू बढी राजभक्त र व्यवस्थाभक्त देखाउने कसरत र हुल्याइपुल्याइ । यी विचरा व्यंग्यकार भने बिल्कुलै पृथक् धातुले बनेका थिए । त्यसमाथि स्वयंनिर्मित लघुताभास ग्रन्थिका कारण आत्मविश्वासको तल पिँधमा पुगेका कमजोर मानिस । त्यही कमजोरीले सुरुसुरुमा उनलाई आफू अत्यन्तै असुरक्षित रहेको ठान्ने मनोरोगले ग्रस्त पार्‍यो भने कालान्तरमा त्यो रोगको घातक लक्षण प्रतिक्रियात्मक मनस्तापमा परिणत भयो । अन्ततः त्यसैले उनको ज्यानसमेत लियो । उनको आत्मविश्वासमा आएको ह्रास घातक बन्नसक्छ भन्ने लख नारायणबहादुर सिंहले काटेका थिए । 

काम विशेषले दुई चार दिन बिदा बसेर अड्डामा हाजिर हुन गएका दिन भैरव अर्याल सोझै आपmनो कुर्सीमा नगई उनका वरिष्ठ नारायणबहादुर सिंहकहाँ जान्थे र मसिनो स्वरमा सोध्दथे, 'माड्साब ! मेरो जागिर र खुस्क्या छैन ?'

सिंह, जो भैरवको प्रतिभाको ठूलो सम्मान गर्दथे र उनको मानसिक अवस्थाप्रति निकै सहानुभूतिशील थिए, त्यस प्रश्नबाट विचलित बन्दथे । त्यसै पनि कम बोल्ने बानी भएका उनी भैरवको प्रश्नको उत्तर दिँदैनथे तर भन्दथे, 'उ, त्यो पेपरबक्समा घाँस-परालको डंगुर छ । यसो छान्नुहोस् र आउँदो शनिबार पठाउन सकिने केही भेटिन्छ कि हेर्नुहोस् ।'

भैरवको मानसिक अवस्था र त्यसबाट उत्पन्न समस्याका बारेमा यो लेखक र सिंहका बीच प्रायः कुराकानी हुने गर्दथ्यो । तर उनको समस्याको मूल जरो के हो, थाहा पाउन सजिलो थिएन । समस्याको खुट्पत्तो गर्ने र उनलाई मनस्तापबाट बाहिर निकाल्ने प्रयत्न भैरवलाई माया गर्नेहरूले गरेका पनि हुन् । त्यस्ता सहृदयीमध्ये एक जना थिए नारायणहिटीका तत्कालीन जनसम्पर्क अधिकारी पूर्णप्रसाद ढंुगेल । उनले अर्यालको स्वर दब्दै जाने घाँटीको रोगको भारत, नयाँ दिल्लीमा गएर उपचार गराउन राजा महेन्द्रबाट खर्च निकासा गराइदिएका थिए । दिल्लीमा भैरवको उपचार त खासै भएन तर कहिले जमुनामा त कहिले भागिरथीमा आत्मविसर्जन गर्ने धम्की दिएर व्यंग्यलेखकले रोचक घिमिरे, दिल्लीमा सहयोग गर्ने बाबुराम पौडेल र बनारसका बलराम उपाध्याय र शिवप्रसाद भट्टराईहरूको सातो चाहिँ बोलाएकै हुन् । 

प्रतिक्रियात्मक मतस्तापका कारण उत्पन्न चरम् विषदको वशीभूत विलक्षण व्यंग्यलेखक भैरव अर्यालले विसं २०३३ साल असोज १९ गते त्यस सालको विजया दशमीपछिको तेस्रो दिन आपmनो प्राण आपै+mले हरण गरे । निर्बाध सूचना प्रवाहका लागि आवश्यक संयन्त्र नभएको मात्र होइन, गाउँ र्फककालीन संकीर्ण राजनीतिक व्यवस्थाले बनाएको संकुचित वातावरणका कारण सरकारी मुखपत्रका यी मध्यमकोटीका कारिन्दा पत्रकारको आत्महत्या तातो समाचारको विषय पनि बन्न सकेन । दसैंपछिको गोपमा उनको दुःखद निधनको सानो समाचार तस्बिरसहित छापिएको र संस्थानका सहकर्मीहरूले एक दिन बिदा मनाएर र तस्बिरमा माल्यार्पण गरेर उनलाई श्रद्धाञ्जलि अपर्ण गरेका भने हुन् । 

हामी नेपाली साहित्यका गम्भीर विद्यार्थीहरूका लागि भने रम्यरचनाका ती महान् स्रष्टाको निधन स्तब्ध बनाउने खालको मात्र होइन, अपूरणीय क्षतिको विषय पनि थियो । सबै साहित्यमा उनले दिएको योगदानको तुलनामा उनको सम्झनामा गरिने कुनै पनि कार्यक्रम हुन नसकेकाले हामी साह्रै क्षुब्ध पनि भयौं । अनि यस लेखकको पहल, साथी धु्रव सापकोटाको साथ र नारायणबहादुर सिंहको प्रेरक सहयोगमा भैरवको मृत्यु भएको तेह्रौं दिन एउटा भव्य शोकसभाको आयोजना भयो । र, त्यही सभाका कारण भैरवलाई जिन्दगीभर सताइरहेको परिवारको आर्थिक सुरक्षण र ६ जना छोराछोरीको शिक्षा-दीक्षाको समस्याको निक्कै हदसम्म समाधान पनि भयो । 

शोकसभामा उपस्थित हुन अनुरोध गरिने निम्तालुहरूको सूचीमा हामीले केही त्यस्ता नाम पनि समावेश गर्‍यौं, जो कुनै न कुनै रूपमा भैरव अर्यालको परिवारलाई सहयोग गर्नसक्ने हैसियतमा थिए । त्यस्ता नाममध्ये मुख्य थिए सहिद स्मारक माध्यमिक विद्यालयका संस्थापक पि्रन्सिपल गौरी राणा जोशी र उनका पति यादव जोशी, सोही विद्यालयका अर्का कर्ताधर्ता प्रकाश देवकोटा, राष्ट्रिय वाणिज्य बैंकका महाप्रबन्धक नवराज चालिसे र उनका नायब पुण्यकेशरी उपाध्याय । 

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा भैरव अर्याललाई अन्तिम श्रद्धाअर्पण गर्न हामीले अनुमान गरेको भन्दा धेरै बढी मानिस आए । अर्यालले जनस्तरबाट पाएको त्यो सम्मान देखेर हामी कृत्यकृत्य बन्यौं । त्यस सभामा गौरी राणा जोशीले भैरवका सबै सन्तानलाई १० कक्षासम्म आपmनो विद्यालयमा निःशुल्क अध्ययन गर्ने अवसर दिने कबुल गरिन् भने राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट पुण्यकेशरी उपाध्यायले भैरवकी विधवालाई उनको योग्यताले भ्याउने जागिर दिएर अर्यालको योगदानको सम्मान गर्ने घोषणा गरे । बैंकले त्यो घोषणा तुरुन्त क्रियान्वित गर्‍यो । भैरवकी श्रीमतीले धेरै वर्ष बैंकको सेवामा बिताइन् । पोखरामा भएका कारण त्यस सभामा भेला हुन नसकेका अर्यालका अन्यतम् मित्र रोचक घिमिरेले पनि भैरव स्मृति साहित्य पुरस्कारको स्थापना गरेर आपmना मित्रको सम्झनालाई चिरस्थायी बनाइरहेका छन् ।

[Source: Kantipur Koseli]

Comments