Loading

पहिलो गीत रेकर्डिङ हुँदा... / दिनेश अधिकारी

Nepali Poet Dinesh Adhikariक्याम्पस जीवनको रौनक नै बेग्लै। लिजर पिरियडको त कुरै छाडौं। बेन्च बजाउँदै गीत गाउँथ्यौं। २०३७ तिर काठमाडौंको नेपाल ल क्याम्पस पढ्दा ताकाको कुरा हो यो। तिनताका ल क्याम्पसमा विद्यार्थीहरूको निकै भीड लाग्थ्यो। हाम्रो ब्याचमा मात्रै ३ सय ५० जनाभन्दा बढी थिए। चार समूह बनाइएको थियो, हाम्रो समूहमा विरोध खतिवडा, सञ्जीव मिश्र, सुरेन्द्र राना लगायत थियौं। त्यति बेला म रक्षा मन्त्रालय अन्तर्गत सैनिक विमान सेवामा नायव सुब्बा थिएँ।

अहिले नेताको छवि बनाएका विरोध त्यति बेला प्यारोडी खुब गाउँथे खाली समय। जोक्स पनि निकै सुनाउँथे उनी। सुरेन्द्रका केही गीत रेडियो नेपालमा रेकर्ड भइसकेका थिए राम थापाको स्वरमा, लिजर पिरियडमा बेन्च बजाउनु पर्‍यो भने उनको भागमा गीत परिहाल्थ्यो, मचाहिँ कविता सुनाउँथें। गायक/संगीतकार राम थापाको नाम निकै चल्तीमा थियो त्यो समय। हुन त उहाँको नाम सधैं चम्की नै रह्यो। उहाँ ल क्याम्पसको क्यान्टिनमा चिया पिउन बरोबर आइरहनुहुन्थ्यो। हामीसँग पनि 'हाई हेलो' चल्थ्यो।

पछि सुरेन्द्रबाट थाहा पाएँ, ल क्याम्पसकै पछिल्तिर अद्वेतमार्गको एउटा घरको भुइँतलामा उहाँको डेरा रहेछ। तीसको सुरुआती दशकतिरै मैले केही गीत छपाइसकेको थिएँ, पत्रपत्रिकामा। तर, कलेजमा भने मेरो छवि कविकै रूपमा थियो। यस्तैमा एक दिन डायरी पल्टाएको थिएँ, काठमाडौंबाट घर -सर्लाहीको हरिवन) जाँदा २०३४ मा लेखेको 'निःश्वास ए चाँडै थाकी नजा...' गीत फेला पारें। योसँगै 'तिमी त्यसै लजायौं, म त्यसै धकाएँ...' गरी दुई गीत सुरेन्द्रको हातमा थमाइदिँदै भनें, 'बुझ्यौ, म पनि गीत लेख्छु नि।'

सुरेन्द्र केही बोलेनन्। उनी आईएल पढ्दादेखि नै साथी थिए।

केही दिन बितेर गए।

त्यसको दुई महिनापछि सुरेन्द्रले एक दिन क्यान्टिनमा चिया पिउँदै गर्दा भने, 'यार तिम्रो गीत रेकर्डिङको टाइम फिक्स्ड भएको छ (यही साउन ३० गते) मैले देखाउन मात्रै दिएको गीत त उनले सीधै राम थापालाई दिएछन् र संगीतसमेत भरिसकेर मीरा राणाले गाउने भइसकेको रहेछ। अनि २०३९ को साउन मसान्तको दिन म ठाँटिएर सिंहदरबारस्थित रेडियो नेपाल पुगें। तिनताक सिंहदरबार पस्न अहिलेको जस्तो कठिनाइ थिएन। काहींकतै पनि रोकावट हुँदैन थियो। अहिले भृकुटीमण्डप पस्न जत्तिकै सहज। रेडियो नेपालमा पनि स्टुडियोबाहेक भित्र कम्पाउन्ड खुल्लै थियो सबैलाई।

गीतहरू थुप्रै सुनिएको भए पनि मीरा राणासँग मैले त्यही पहिलोपटक भेट गरें। गीत रेकर्डिङको तामझामका साथ तयारी भइरहेको रहेछ। त्यति बेला मैले रेकर्डिङबारेका थुप्रै किस्सा सुनिसकेको थिएँ। अहिलेको जस्तो डिजिटल ट्रयाक सिस्टम नभएको हुनाले वाद्यवादकमध्ये कसैले अन्तिमतिर पुगेर थोरै मिस्टेक गरे भने पनि गीत दोहोर्‍याएर टेक लिनुपथ्र्यो। रेकर्डिङको त्यो पहिलो दिन मेरो अनुहारमा यति हतासा नाचिरहेको थियो कि म श्वासै नफेरीकन अन्तिम समय पर्खिरहेको थिएँ। कतै अन्तिम तिर पुगेर बाँसुरीबाधकले बिगार्ने त हैन? तर, मीरा दिदीको स्वर कुनै पनि रोकावटबिना गुन्जियो, 'निश्वास ए चाँडै थाकी नजा मेरो आफ्नो भन्नु तँ एउटै न होस्...।'

सन्तुष्टिको लामो श्वास फेर्दै रेडियो नेपालबाट फर्कें। त्यति बेला नयाँ गीतलाई हप्तामा एकपटक स्थान दिने कार्यक्रम थियो रेडियो नेपालमा। म एक हप्तासम्म निकै अधीरताका साथ पर्खिबसें, आफ्नै गीत सुन्न। यो गीतसित मीरा राणाको पनि कस्तो कथा जोडिएको छ भने, त्यति बेला उहाँ एक वर्षदेखि स्वर सुकेका कारण आराममा हुनुहुँदो रहेछ। पछि 'अब स्वर ठीक भयो, गाउँछु' भन्नुभएपछि राम थापाले मेरो गीत दिनुभएको रहेछ। त्यति बेला मलाई यो कथा थाहा थिएन। स्वर सुकेकोसँग भन्दा पनि गीत रेकर्ड भएको प्रति मात्रै मेरो ध्यान गएको थियो, त्यसको झन्डै दस वर्षपछि मीरा दिदी आफैंले यो गीत रि-रेकर्डिङ गर्नुभयो।

यो गीतबाट राम थापासित बनेको साइनो उहाँ बाँचुन्जेल रह्यो। दर्जनभन्दा बढी मेरो गीतमा उहाँले संगीत पनि भरिदिनुभयो। दोस्रो गीत 'तिमी त्यसै लजायौ...' ले त मलाई र गायक रविन शर्मा दुवैलाई रातारात स्टार नै बनाइदियो। रेडियो नेपालमा दिनको कम्तीमा पनि १०/१२ पटक बज्थ्यो यो गीत। हुन त 'यो सम्भिmने मन छ...' बोलको गीतले पनि रेडियो नेपालमा राम्रै रेकर्ड बनायो तर मलाई यो गीतको विशेष माया लागेर आउँछ।

राम थापासँग ल क्याम्पसको क्यान्टिन या चौरमा घाम ताप्दै अरू पनि थुप्रै पटक चिया पियौं। स्वभावका हिसाबले उहाँलाई सबैले 'ठटयाउलो गायक/संगीतकार'को उपमा दिन्थे, तर उहाँ बाहिर रसिक र ठटयाउलो देखिनुभए पनि भित्र निकै गम्भीर लाग्थ्यो मलाई। क्याम्पस छाडेपछि म सरकारी वकिलको रूपमा बीस वर्षसम्म मुलुकका विभिन्न जिल्लातिर दौडिरहें, उहाँसँगको संगीत सहकार्य पनि जारी नै रह्यो।

२०६५ कात्तिक १० गते साँझ उहाँले मलाई 'सचिवमा बढुवा हुनुभएकोमा बधाई' दिनुभएको थियो। त्यसयता भने उहाँसित बातचितको अवसर जुटेन। त्यसको २५ दिनपछि

मंसिर ५ गते आर्यघाटमा पार्थिव शरीरमाथि फूल चढाइरहँदा एकाएक उहाँसँगको पहिलो गीत सम्झें, 'निःश्वास ए चाँडै थाकी नजा... ।'

तर उहाँ जानुभयो।

(कान्तिपुर दैनिकका सम्वददाताद्वारा लेखिएर सोही प्रकाशनमा प्रथमपटक प्रकाशित)

Comments