Loading

रामराज्यका बाँदरहरू / शर्मिला खड्का दाहाल

एकादेशमा एउटा रामराज्य थियो । रामराज्यमा सेनापति, पदाधिकारीहरू सबै बाँदर
थिए । एकपल्ट उनीहरूले अचम्मको कुनै वस्तु भेट्टाए । त्यो वस्तु उज्यालो, टल्कने कुनै
हिरा जस्तै थियो । त्यसको प्रकाशले कतिपय बाँदर अन्धा भए, कतिपयले घर छोडेर
सन्यासी भए । त्यो बहुमूल्य वस्तु चिताएको कुरा पुग्ने अलौकिक शक्तिले परिपूर्ण भएको
थियो । यसले सम्पूर्ण रामराज्यमा शान्ति, सुख, समृद्धि प्राप्त हुनसक्थ्यो । तर ती बाँदरहरूले
त्यसवस्तुको महत्व बुझेनन् । उनीहरूले त्यसलाई ओल्टाइपल्टाइ गरे । हातहातमा
नचाउन थाले । बाठाहरू तछाडमछाड गरे । कसैले खानलाई दारे, चिथोरे । तर त्यो कडा
भएकोले खान सकेनन् । फेरि यसलाई पकाएर खानुपर्ने कुरा गरे । छ सय एक बाँदर मिलेर
पकाउन थाले । दुई वर्ष पकाए पाकेन । फेरि दुईवर्ष पकाए । अझै पनि पाकेन । निकाले,
हेरे । अन्त्यमा केही सीप नलागेपछि नौ अर्व पर्ने कुनै धातु ल्याई जनतालाई बोक्न लगाए
अनि फोडे । यो चकानाचुर भयो । त्यो बहुमूल्य वस्तुको सबै शक्ति खतम भयो । त्यो
वस्तुबाट अनौठोको आवाज आयो । त्यो आवाजले उनीहरू तर्से । त्यो वस्तुको प्रकाश अझ
चम्किलो गरी फैलियो । ती सबै बाँदर अन्धा भए । ती घर जाने बाटो नचिनेर जंगलतिर
लागे । किनभने तिनीहरू सत्ययुगका बाँदर थिएनन्— कलियुगका बाँदर थिए ।

Segments: 

Comments