रजतजयन्ती / गोपालप्रसाद रिमाल

आज रजतजयन्ती ।
आँखा, तँ बन्द हो–
तेरो नक्कलझक्कलको आज के काम ?
नाक, तँ टालिई–
तेरो सुँध्ने शक्तिलाई आज विर्सिदे ।
यो उत्ताउलो पूmलले लटरम्म वसन्त त होइन ?
दशै इन्द्रियहरु, आफ्ना थान्का लाग ।
तिमीहरुको घमण्डको पखेटा
आज काटिदिन्छु ।
जोसित इच्छा छ यसैसित सोध ।
सवै एकै स्वरमा जवाफ दिनेछन्–
”आज हाम्रो आनन्द दिवस हो–
यो दिन ननिभ्ने गरी उज्ज्वल छ ;
आज रजतजयन्ती ।”
(क)

रात औसीकोलाई स्वगत !
दिन सुर्यग्रहणकोलाई !
नक्षत्र हो !
तिमीहरु आपैm विलीन हुन सत्तैनौ भने
बादलको पर्दाभित्र लुक
मुख नदेखाओ–
मन त्यसै गद्गद छ ।
छाती फुलिरहेछ ।
पृथ्वी, तँ आज खुम्चिन छाड् !
तेरो यो सानू देहले
हाम्रो छाती र कानलाई
ठाउँ पुर्याउन सक्ला र ?
‘आज रजतजयन्ती’
(ख)

स्वर्ग
के खुसियालीको घर रे ?
स्वर्ग, तँ स्वर्गै भइस् ।
जा, मनले आज बिदा दियो ।
तडागमा प्रतिबिम्बित चन्द्रलाई
टिप्न किन हामफाल्ने पानीमा ?
के आनन्दको सट्टा लिने हातभरि हिलैहिलो ?
आज हाम्रो समवेशले स्वर्ग हुन्छ अझ सुखी ।
स्वर्गका अप्सराहरु,
इन्द्रधनुजस्ता पोल्टा थाप ।
आज हामी आननद–व्यापार गर्दछौं !
हाम्रो आनन्दको लायक बदलामा दिने
छैन भने अरु केही कुरा, युगयुगको निम्ति
सापटी हामी दिन सक्तछौं ।
अरु ताहिए, सित्तैमा पनि खुशीसँग ।
फेरि, हिमालयको अग्लो टुप्पाबाट,
शङ्क आज फुक्तछु !
आनन्द लुट्न कसैलाई
इरादा छ भने— ‘स्वागतम् !
त्यो आओस् नेपालमा ।
आज रजतजयन्ती ।’
(ग)

आज हामी आनन्दी छौं !
आज हामी सुखी छौं !
संसारमा आज हाम्रै कथा छ ।
सधैं याद राखौं यति कुरा—
‘यस्तै आनन्दी आज,
र आजजस्ता भोलिले
भरिएको छ
युगयुगको नसानसा ।
आज रजतजयन्ती ।’
(घ)

Segments