Loading

पुरस्कारको मापदण्ड/ तीर्थ निरौला

काठमाडौ, अषाढ ४ / नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हालै बृहत् कला प्रदर्शनी तथा प्रतियोगिता आयोजना गर्‍यो । प्रदर्शनीमा सम्पूर्ण जिल्लाका कलाकारका कृति समेटिएका थिए । प्रतिष्ठानका निम्ति यस्तो कार्यक्रम पहिलो भए पनि नेपाली कला समाजका निम्ति यो नौलो थिएन । तथापि यस प्रदर्शनीमा पहिलेभन्दा केही नयाँ थप आकर्षणचाहिं थिए । जस्तो कि, कार्यक्रममा प्रतिस्थापन कला, मिथिला कला, भवन डिजाइन र कलालेखन तथा प्रसारणलाई पुरस्कार वा सम्मान दिने प्रचलनको आरम्भ आदि तर भवन 'डिजाइन' लाई पुरस्कार दिइने थालनी अत्यन्त अमिल्दो र भ्रान्तिपूर्ण छ । भवन डिजाइनलाई गरिनुपर्ने प्रोत्साहन ललितकला प्रज्ञा प्रतिष्ठानको प्रकृति वा लक्ष्यभित्र पर्दैन । प्रतिष्ठानको लक्ष्य त आर्थिक रूपमा निरीह रहेको आधुनिक नेपाली कलाको विकास तथा विस्तार हुनुपर्छ । प्रदर्शनीमा व्यंग्यकला र व्यावसायिक कलालाई प्रतिष्ठानले पन्छाएको देखिन्छ । के प्रतिष्ठानले यिनलाई आफ्नै अंश रहेको अनुभूत गर्दैन ?

के यी विधाहरूको विकास उसको कार्यक्षेत्रभित्र पर्दैनन् ?

प्रदर्शनीमा यी प्रश्नलगायत कला क्षेत्रमा प्रदान गरिएको पुरस्कारको सन्दर्भ उठ्यो । पुरस्कार वा सम्मान वितरणमा प्रतिष्ठानको कार्यशैली शंका र लक्षणाको घेराभित्र परेका छन् । पछिल्लो समयमा राम्रो काम गर्दै आएको प्रतिष्ठानको पुरस्कार वितरण विवादित र आलोचित हुनु ठीक होइन । स्वयं कार्यक्रम आयोजकतर्फ रहेका प्राज्ञ सभासद मुकेश मल्ल र कुलपति किरण मानन्धरका कलाकार छोराले पुरस्कार पाएपछि आलोचना भएको हो । कलाकारहरू भन्छन्, 'धेरै समयदेखि परिषद्को क्रियाकलापप्रति रुष्ट भएका मुकेशलाई खुसी पार्ने नियतले नै प्राज्ञ परिषद्का सदस्यहरूले उनलाई कलालेखन पुरस्कार तथा सम्मान दिएका हुन् । यस्तै कुलपतिलाई खुसी पार्ने नियतले निणर्ायक समितिमा रहेका प्राज्ञ परिषद्का शान्ताकुमार राई र प्राज्ञ सभासद विजय थापाले सागरलाई आधुनिक चित्रको उत्कृष्ट पुरस्कार दिएका हुन् ।'

अन्य असन्तुष्ट कलाकारहरूले पनि एकताका प्रतिष्ठानउपर विद्रोह गरेर हिँडिसकेकी प्राज्ञ सभासद सीतादेवी कर्णलाई पुरस्कार दिनुको अर्थ पनि खुसी पार्ने नियत र प्राज्ञहरूको नजिक भएको नाताले कलाकार नरेश सैजु, विधाता केसीलगायतले पुरस्कारको भागबन्डा पाएका हुन् भनेका छन् । आफैं आयोजक भएर आफैंले पुरस्कार लिन र आफ्नालाई पुरस्कार दिनु आफंैमा हास्यास्पद देखिन्थ्यो ।

नेपाली कला क्षेत्रमा नाफाकालदेखि नै पुरस्कार दिँदा कलाकृति हेरेरभन्दा अनुहार हेरेर पुरस्कार बाँडिने चलन छ । यस्तो प्रवृत्ति प्रायः प्राज्ञ उत्तम नेपालीको कार्यकालमा पराकाष्ठामा पुगेको थियो । यदि यस्तो प्रवृत्तिले संस्कारकै रूपमा आज पनि जरो गाडिरहेकै हो भने वा प्रतिष्ठानका प्राज्ञ पदाधिकारीले गलत गरेकै हुन् भने यसलाई यथास्थितिवादी संस्कारजन्य निरन्तरताको पछिल्लो रूप भनेर बुझ्न सकिन्छ । यस्तो दुष्कर्म हाम्रो कला क्षेत्रको प्रतिभा पुरस्कार, अरनिको पुरस्कारलगायत अन्य क्षेत्रका ठूल्ठूला पुरस्कारमा पनि व्याप्त छ । पुरस्कार वितरणको आदर्श नियम भनेको कलाकारको अनुहार हेरेरभन्दा पनि उसको कृतिको उत्कृष्टता, विद्वत्ता र उसको योगदानलाई हेरेर वा मूल्यांकन गरेर दिइने हो । तर नेपाली कला क्षेत्रमा पदीय वा अधिकारवाला कलाकारहरूले सदैव कृतिभन्दा पनि नातागोता, साथीसंगीलाई नै पोस्ने गरेको पाइन्छ । यसले गर्दा यी पुरस्कारप्रतिको आस्था घट्दै छ ।

प्रदर्शनी हेर्दा उत्कृष्ट पुरस्कार पाएका सागर मानन्धरको कृतिले पुरस्कार प्राप्त गर्नै नसक्नेखालको थिएन । उक्त पुरस्कृत कृति समीक्षात्मक दृष्टिकोणमा उत्कृष्ट देखिन्छ । काममा उनको दक्षता र लगन सशक्त छ । क्यानभासमा आकासे रंगको सम्मिश्रण र दृश्य आभास लोभलाग्दो भईकन उनले पाएको पुरस्कार किन विवादित भयो त ? के कुलपतिको छोरो भएकैले त्यसो भएको हो ? यदि हो भने आगामी दिनमा प्राज्ञ आफैं होइन प्रतिष्ठानबाहिरका वरिष्ठ कलाकार, सकिन्छ भने छिमेकी मुलुकका एकाध कलाकार वा समीक्षकहरूको निणर्ायक समिति बनाइनु उपयुक्त हुन्छ । अर्कोतर्फ प्राज्ञ सभासद मुकेश मल्ल पनि पुरस्कार वा सम्मान पाउनै नसक्ने प्रतिभा होइनन् । तर पनि उनको स्थानमा स्व. नारायण ब. सिंह र स्व. सुरेन्द्रराज भट्टराईलाई मरणोप्रान्त (मृत्युपश्चात्) लेखनको पुरस्कार दिएको भए प्रतिष्ठानको यो पहिलो लेखन पुरस्कार वा सम्मानले नेपालमा कलालेखनको सुरुवात गर्ने तिनीहरूप्रति कलाकारको तर्फबाट एकेडेमीको श्रद्धासुमन हुन सक्थ्यो । आगामी दिनमा वर्तमानमा भएका कमी र गल्तीलाई दोहोरिन नदिन प्रतिष्ठान सचेत हुनुपर्छ ।

[Source: Kantipur Dainik]

Segments: 

Comments