Loading

प्रधानमन्त्रीद्वारा भाषा, संस्कृति र साहित्य विकासका लागि सहयोग गर्ने प्रतिवद्धता

काठमाडौ, असार १४ / प्रधानमन्त्री झलनाथ खनालले कला संस्कृति, साहित्य भाषा र दर्शनको प्रवद्धन तथा सम्वद्धनका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

प्रतिष्ठानको २५ औँ प्राज्ञसभाको मंगलबार  उद्घाटन गर्दै प्रधानमन्त्रीले आकारमा नेपाल सानो भए पनि विविध कला, सभ्यता, संस्कृतिमा भने धनी रहेको चर्चा गरे । उनले जनआन्दोलन–२ को भावना अनुरुप मुलुकलाई रुपान्तरण गर्नुपर्ने कुरामा जोड दिँदै सङ्क्रमणकाललाई ठीक ढंगले व्यवस्थित गर्न नसके प्रतिक्रान्ति हुन सक्दछ, त्यसतर्फ प्राज्ञिक वर्गले राष्ट्रलाई गलत दिशातर्फ जान नदिन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पुरयाउन सरकार कटिबद्ध रहेको कुरा प्रधानमन्त्री खनालले दोहोर्याए । उनले प्रज्ञा प्रतिष्ठानलाई देशको कला, संस्कृति र भाषाको विकासका लागि गतिशिल बनाउन सहयोग गरिने बचन दिए ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवम् संस्कृति मन्त्री खगेन्द्रप्रसाद प्रसाईंले प्राज्ञिक समुदायले आफ्नो ज्ञानको सदुपयोगबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उज्ज्वल बनाउनुपर्ने सुझाव दिएका छन् ।

प्रतिष्ठानका कुलपति बैरागी काइँलाले पाँचै विकास क्षेत्रमा अन्तक्र्रिया गरी भाषा र संस्कृतिको अध्ययन र अनुसन्धानका साथै एक भाषालाई अर्को भाषामा अनुवाद गर्ने कार्य अघि बढेको बताए ।

सो प्राज्ञ सभामा आर्थिक वर्ष २०६८/६९ का लागि नेपाल सरकारसँग माग गरिएको नीति, कार्यक्रम तथा अनुमानित बजेट बारेमा छलफल गरिने बताइएको छ ।

विसं २०१४ मा नेपाल एकेडेमीको नामबाट सो प्रतिष्ठान स्थापना भएको थियो ।

॰[साभार: कान्तिपुर]

Segments: 

Comments