.... प्रति / गोपालप्रसाद रिमाल

ओ युवती, ओ रुपवती,

तिमीसित मेरो घामपानीजस्तो मिलन भयो ,

तिमीलाई सम्झना होला –

हामी बादलजस्तै गुटुमुटु पनि भएका छौँ;

त्यो बादलमा इन्द्रधनु पर्यो ,

झरी लाग्यो, हुरी आयो,

अनि हामी अकासस्तै सङ्ला पनि भयौंँ,

तिम्रो गहिराइमा, तिम्रो गम्भीरतामा, ओ सुन्दरी,

मेरो उत्ताउलो उचाइ हराएको छ,

हामी रोएका छाँैं, हामी हाँसेका छौंँ,

तर आजको होशले ती सब कुरालाई

खल्लो तुल्याइरहेछ,

त्यो जोशमा यो होश हुनुपर्ने,

मैले ‘म तिमीलाई गर्भाधान गरिरहेछु’ भन्न सक्नुपर्ने ।

 

ओ युवती, ओ रुपवती,

प्रेम त जङ्गलमा पनि हुन्छ,

यो

गाउँ

–घरमा, यो शहरमा

प्रेम मात्र पर्याप्त छैन,

यहाँ स्वस्थ स्पष्ट गर्भाधान हुनुपर्छ,

यहाँ बुद्ध जन्माउनुपर्छ, यहाँ लेनिन जन्माउनुपर्छ;

छोराछोरीको अनुहारजस्तो अर्को कुनै

आफू देखिने ऐना छ ?

यहाँ आत्मदर्शन हुनुपर्छ ।

 

ओ युवती, ओ रुपवती,

अर्कोचोटि तिमीलाई भेट्दा

म तिमीलाई सोझै भन्नेछु

‘म तिमीलाई गर्भाधान गर्छु’

तिमीसित भेट नभए तिमीजस्तै गरी

उत्ताउली

तिमीजस्तै गरी

निन्याउरी

भएर मेरो मन तान्न सक्ने अर्की

कुनै युवती, कुनै रुपवतीलाई

म बलियो भएर त्यसै भन्न सक्ने

होशमा छु ः

‘म तिमीलाई गर्भाधान गर्छु ।’

Segments