घरीघरी यसै गरी टोलाउँछन् आँखाहरू / प्रभाती किरण

घरीघरी यसै गरी टोलाउँछन् आँखाहरू
भक्कानो छ छातीभरि टोलाउँछन् आँखाहरू ।
गस्तीमा छन् चिलगिद्ध बादल छ आकाशमा
सुरक्षित छैन चरी टोलाउँछन् आँखाहरू ।
ईश्वर छन् कठघरामा, भक्त न्यायाशनमा
चलेको छ मनपरी टोलाउँछन् आँखाहरू ।
आकाङ्क्षाको उडानमा निषेधाज्ञा चलेपछि
झुन्डिएछ हिजो हरि टोलाउँछन् आँखाहरू
मान्छेभित्र मानिसकै बास छैन आजभोलि
यो अनर्थ भो कसरी टोलाउँछन् आँखाहरू ।
Author:
Segments:
Language:
Post date:
09/12/2013 - 07:07