Awakashko Bholipalta / Rakesh Karki

अवकाशको भोलिपल्ट / राकेश कार्की

रातभरि यादहरू सँगाल्यो
मनभरि थुप्रै थुप्रै कुराहरू खेल्यो
ओल्टे र कोल्टे फेर्दा फेर्दा
झपक्क एकैछिन निदाएर
व्यूँझेछ ऊ
अवकाशको भोलिपल्ट

सधैँ झैँ पर्दा उघार्यो
घाम निकै माथि पुगिसकेछ
उसको अफिस जाने सप्पै लुगा
ह्याङ्गरमा झुण्डिरहेका
अफिस जानको लागि
लगाउन ठिक्क परे झैँ
तर ती लुगाहरू झुण्डी नै रहे
अवकाशको भोलिपल्ट

झ्यालबाट पर हेर्यो
ऊ अफिस जाँदा बस चढ्ने ठाउँ
विभिन्न अफिसका मानिसहरू
बस चढ्दै थिए
अफिस भ्याउनलाई
तर आज ऊ बिना नै बस कुद्यो
उसलाई बिर्से झैँ
अवकाशको भोलिपल्ट

पट्यार लाग्दा आँखाहरू
सेलफोनमा फैलायो
अहँ एउटै फोनकल थिएन
मेसेज सुन्यो
थिएन
साथीभाइ नातागोता कसैको पनि
अवकाशको भोलिपल्ट

यताउता हिँड्यो
शून्य शून्य झैँ लाग्यो
फेसबुक सररर हेर्यो
सधैँ कमेन्ट गर्नेहरू
तारिफ गर्नेहरू
लाइक गर्नेहरु
सबैले बिर्सिएँछन्
अवकाशको भोलिपल्ट

यस्तो लाग्यो उसलाई
आगो अन्तै बलिरहेछ
सबैजना त्यतै तापिरहेछन्
अवकाशको भोलिपल्ट ।।
Segments