पर्वत बोक्दा नझुक्ने शिर के झुक्थ्यो पीरले / बूँद राना

Author

पर्वत बोक्दा नझुक्ने शिर के झुक्थ्यो पीरले
बोकाइ हेर जुरुक्कै विश्व बोक्दछन् वीरले ।।

गहिरो घाउ डाँडाको पुर्न थालेछ यामले
मलाई पनि पुरे नि हुन्थ्यो भन्दै छ भीरले ।।

पोखेर अति के भनौं कति भिजायो बालुवा
मनको आगो खै कहाँ निभ्यो नयननीरले ?

खाएर हैन हेरेर चित्त बुझाऊ भन्दछ
चिनीको साटो नूनको ढिको हालेको खीरले ?

भत्किने कुलो टालेर टाली नसक्नु भैसक्यो
रसिलो माटो हुन्थ्यो कि बरु ‘बूँद’ नै छिरले !

अपूर्व ऐले गजलमा छ प्रसव वेदना
नजन्मी सुख पाउँछन् कहाँ गालिव, मीरले !

Segments