Loading

पारिजातका पत्रहरू / जगदीश घिमिरे

Paarijaat२०२० को दशकमा चर्चाको शिखर टेकेकी 'शून्यवादी पारिजात 'राल्फा' र 'कम्युनिस्ट' भएपछि पनि आफ्ना दर्जनौं कृति र जीवनशैलीमार्फत समेत चर्चित छन् ।

पारिजातसँग मेरो दोहोरी थिएन । मेरो २०२७ सालमा छापिएको 'लिलाम' उपन्यास पढेपछि उनले मलाई पहिलो पत्र लेखिन् । प्रतिष्ठित लेखिकाको प्रशंसात्मक पत्र पाएर मलाई सुखद आश्चर्य भयो । डेढ वर्षको त्यस दोहोरीमा मसँग एउटाको उतारसमेत उनका सात थान पत्र छन् । अरू केही थिए, हराए ।

पारिजातले यी पत्रहरू आफ्नो जीवनयात्रा (३० फागुन १९९० - ५ वैशाख २०५०) को अति महत्त्वपूर्ण मोडमा लेखेकी हुन् । त्यो पनि संयोगवश- म परदेशमा भएकाले । मलाई काठमाडौंमा लेखक र पत्रकारका रूपमा पेट पाल्न हम्मेहम्मे परेका बेला छात्रवृत्ति पाएर म पटना विश्वविद्यालयको विद्यार्थी हुन पुगेको थिएँ । म काठमाडौंमा नै भएको भए उनीसँग वार्तालाप हुन्थ्यो होला र उनका पत्रका मार्मिक बोली, प्रसंग र भावनाहरू त्यसै बिलाउँथे होलान् ।

स्वभावतः यी पत्रहरूमा उनका र मेरा कुरा छन् । तर यिनमा जीवन र जगत् पनि छ । पत्रहरूका मसिना उद्धरणहरूको आधारमा बुनिएको यस लेखको मनसाय पारिजातप्रति श्रद्धाञ्जलि हो । उनका अध्येता र मर्मज्ञहरूका लागि यी पत्रहरूका पूर्ण स्कान र उतार 'अभिव्यक्ति' द्वैमासिकले वैशाख २०६६ देखि हरेक अंकमा प्रकाशित गर्नेछ । फिरंगी शब्दहरूको लिपि बदल्नु बाहेक यहाँका उद्धरणहरूको सम्पादन गरिएको छैन ।

भाजागाल, कीर्तिपुरबाट ९ भदौ २०२८ मा पठाएकोे पहिलो पत्रमा उनी लेख्छिन्- जनताको दुःखसुख बोध एउटा धेरै मीठो शैलीमा अभिव्यक्त भएको पढ्न मन लागिरहेकै थियो । अचानक लिलाम हात पर्‍यो, अब त्यो तिर्सना केही कम भएको छ । लिलाम ठाउँठाउँमा पाठकलाई पगालिदिने क्षमता राख्छ भावुकता छ र रोमान्सले होइन गरिबी बोधले । ...राजनीति र साहित्यिक एकताबारे तपाईंको भन्नु के छ ?

भर्खर श्री ५ को स्वास्नीको बर्थ डे सिद्धियो । ...काठमाडौंको अर्को नाउँ हो 'पैसा कताबाट कमाउन सकिन्छ ?' ... सुकन्याको बिहे भयो निर्मल लामासँग । तर काम चलाउ ।

यो पत्रको विशेष आशय तपाईंलाई शुभकामना हो । हामीले यो युगको आधुनिकतालाई नचिनाएर सायद देश र मानव विकासप्रति गद्दारी गरिरहेका छौं ।

त्यसपछि मैले उनलाई पहिलोपटक भेटें- उनको भाजागालको डेरामा । संयोगवश मैले भाजागालको त्यसै इलाकामा बसोबास गरेको पन्ध्र वर्ष भयो । बिहान डुल्दा कहिलेकहीँ पारिजात बसेको घडेरीनिर पुगेर म उनलाई सम्झन्छु । पारिजात त्यहाँ बसेको कुनै सूचना वा सम्झना नहुनु स्वाभाविक हो । भएको भए अचम्म हुन्थ्यो ।

बेलायतका सहरहरूमा ठाउँठाउँमा प्रतिष्ठित लेखकहरू बसेका घर-घडेरीका भित्ता-पर्खालहरूमा तिनको नाम र बसेको अवधि, कतैकतै सिर्जना गरेको कृतिको समेत उल्लेख भएको ससाना तर आकर्षक सूचनापाटी देख्दा रमाइलो लागेको थियो । लेक डिस्टि्रक्टमा वर्डस् वर्थबारेका स्मारक र सूचनाहरू तथा स्ट्रयाटफोर्ड-अपन-एभनमा सेक्सपियरका नाट्यशालाहरूमा उनका अविरल चल्ने नाटकहरू र उनको नामका होटेल र अन्य स्मारकहरूले गर्दा साहित्यकार भन्ने जन्तु पनि केही हो जस्तो लाग्छ । लन्डनका मुटुमा भर्जिनिया उल्फ, आर्थर कानन डायल लगायत अनेक फिरंगी महारथीहरू स्रष्टा बसेका सूचनापाटीहरूले सज्जित छन् । यो चलन अन्यत्र पनि होला । तर नेपालीले त्यसको सिको गर्ने बेला आएको छैन ।

म कसैको पनि सालिकको पक्षधर होइन- एउटाले थापेको सालिक अर्काले उखेल्छ । नउखेले पनि त्यो चराको बिस्टाले पूरित र फोहोर हुन्छ । तर देशको उल्लेख्य स्रष्टा बसेको र गरेका कामको ससानु सूचनापाटीले सम्झना गर्नु गराउनु रामै्र कुरा हो कि ?

भाजागालबाटै १० मार्ग २०२८ मा पठाएको दोस्रो पत्रमा उनी लेख्छिन्- 'बैंशको मान्छे' लेखी सिध्याएँ । ...'रूपा' नामक पत्रिकाका भूपि शेरचनले लेखकहरूको एउटा लिस्ट बनाएर सम्पादकमण्डलीलाई मकहाँ पठाइदिएको रहेछ । मलाई लेखकहरूको नाउँ देखेर असाध्य होस उठ्यो- मोहन कोइराला, भूपि, शंकर लामिछाने, द्वारिका श्रेष्ठ, पारिजात, कृष्णचन्द्रसिंह प्रधान आदि । मैले भनिदिएँ यी साहित्यकारहरूले अब आधुनिक बजारलाई धान्दैनन् साहित्य धेरै अघि बढिसक्यो तपाईंहरू नाउँको पछाडि नजानुस् । त्यसपछि मैले फेरि आफ्नै लिस्ट बनाइदिएँ । अब शंकर लामिछानेको होइन जगदीश घिमिरेको कथा चाहिन्छ भनिदिएकी छु ... उनीहरूले तपाईंसँग एउटा कथा मागिदिने मलाई आग्रह गरेका छन् । ... यहाँ त पारिजातले प्रतिष्ठानको भत्ता खान थाल्यो भन्ने जोडदार हल्ला छ । वाहियात, म पनि एउटा प्रतिक्रियावादी सरकारको पैसा खान्छु ? (दिने कुरा प्रतिष्ठानमा चलेको रहेछ) कतिले बधाई कतिले गाली पठाइसके हरे ।Jagadish Ghimire

भाजंगालबाट ३ पुस २०२८ मा पठाएको तेस्रो पत्रमा दिल्ली गएर उपचार गराउनेबारे उनी लेख्छिन्- 'मलाई भने हतार लागेर मर्नु भइरहेछ । अब यहाँका व्यापारी डाक्टरहरूसँग सल्लाह गरेर एउटा रेकोमेन्डेसन लेखिमाग्न पर्‍यो भन्ने विचार छ ।'

डेरा सरेर पुकुसी पुगेपछि ६ वैशाख २०२९ मा पठाएको चौथो पत्रमा उनी लेख्छिन्- 'नयाँ रोग थपिनु, एउटी स्कटिस डाक्टरसँग भेट हुनु, डेरा खोज्नु डाक्टरहरूले तिमी सोझो र सक्रिय भएर हिँड््न सक्छौं भनी ग्यारेन्टी दिएका छन् । मान्छेको जीवनमा आशाको कति हात हुन्छ ? ... त्यसो त आत्महत्या गर्न लागेको मान्छेलाई पनि तर्सायो भने झस्कन्छ । के आशा त्यो झस्कनु मात्र त होइन ?'

पुकुसीबाट १३ साउन २०२९ मा पठाएको पाँचौं पत्रमा लेख्छिन्- 'मूर्ख स्वास्नी मान्छेमा दरिइन अस्वीकार गर्दागर्दै पनि प्रशस्त मुख्र्याइहरू दोहोरिइरहन्छन् । २३ जुलाइमा तपाईंको एयर डकुमेन्ट हात पारेर चिठी पढिसकेपछि मलाई अत्यास लागेर आयो ।'

मैले उनलाई मेरो दोस्रो उपन्यास 'साबिती' को पाण्डुलिपि एयर डकुमेन्ट गरेर पठाएको थिएँ । उनले दिएको ठेगाना नमिलेको हुनाले त्यो चौरासी घुमेर निकैपछि बल्लतल्ल पुगेछ । उनले भनेको 'मूर्खता' त्यही हो ।

पुकुसीबाटै १२ भदौ २०२९ मा पठाएको छैठौं पत्रमा लेख्छिन्- ' ... उपन्यास एकै सिटिङमा सिध्याएँ । आम प्रगतिशील पाठकहरूले यसलाई प्रतिक्रियावादी नै भन्छन् बुझ्नेहरूले के भन्दोरहेछ हेर्नु छ । यहाँ यसै पनि अन्धो पठन हुन्छ ।'

दिल्लीबाट २९ माघ २०२९ मा पठाएको सातौं पत्रमा लेखिन्- '... भोग्नुको म चरम स्थितिमा पुगिसकेकी छु । ... यस वर्ष मेरा आन्दोलनहरूको वर्ष गाली, भत्र्सना, आलोचना, गलतबोध, मिथ्या आरोप, बदनामी, मृत्यु र आर्थिक संकटहरूका बीच ...जीवनले मदेखि अझ पनि हार खाएन जगदीशजी । काठमाडौं बसिसक्नु थिएन मानसिक तनावले गर्दा । थोरै रकम लिएर दिल्ली आएकी छु । ओपीडीबाट उपचार गराउँदै छु । डाक्टरहरू हुन्छ भन्छन् हेरौं ।

...मैले काठमाडौंबाट सरकार, साथीभाइ कसैको पनि सहयोग पाइनँ । सहयोग शब्द नेपालीहरूको शब्दकोशमा छैन । मैले तपाइर्ंलाई मेरो अन्तिम विकल्प 'मुक्ति क्षेत्र' भनेकी थिएँ होइन ? मेरो यहाँ पर्मानेन्ट ठेगाना छैन । यसैले तपाईंको दोहोरो चिठी पाउने आशा नै भएन । भोलि नेपाली दूतावास जाँदैछु । प्रगतिशील पाठक र समालोचकहरूले मलाई यस्तो कर्नरमा पारिदिए उही पनि मौका हेरेर । यसपालि मैले देखेँ दुर्दशाको पनि मोलतोल हुँदोरहेछ । सोच्छु जुन स्वास्नीमान्छेले कहिले केही पनि बेच्न सकेन उसले दुर्दशा कसरी बेच्न सक्छ ? हास्यास्पद । समयमा मैले रूप, शरीर, बौद्धिकता, गुण, महत्ता सबै बेच्न सक्नुपथ्र्यो त्यसपछि सायद म जीवनको यस ट्राजिक मोडमा आइपुग्ने थिइनँ ... कदापि ।'

'साबिती' के हुँदैछ ? त्यसलाई लिएर एउटा गाली लेख्नु छ ।'

यी उद्धरणका भाव र भावनाहरू आफैं बोलेका छन् । मैले प्रसंग खुलाउन केही वाक्य संयोजन गरेको हुँ ।

पारिजातका बारे धेरै लेखिएको छ । उनले तत्कालीन सरकारको सिदा-चमाल अस्वीकार गरिन् भनिन्छ । यो कुरा उनले दोस्रो पत्रमा पनि लेखेकी छन् । गरिन् पनि होला । तर विदेशमा उपचार गराउन जानेबेला उनले 'सरकार र साथी भाइ' लाई सम्झेकी रहिछन् । दिल्लीको नेपाली दूतावास जाने कुरा पनि लेखेकी छन् । विश्वेश्वरप्रसाद कोइरालाले पनि आजीवन जुन व्यवस्थाका विरुद्ध विद्रोह र युद्ध गरे उपचारका लागि त्यही व्यवस्थाको सहयोग लिएका हुन् । त्यो समर्पण थिएन ।

उनले 'साबिती' बारे केही लेखिनन् । त्यो उपन्यासको आत्मामा कम्युनिस्ट विरोधी 'एनार्किज्म' अथवा मैले दिएको शब्द 'अराज्यवाद' थियो जसलाई उनको 'कम्युनिस्ट' मनले कहिल्यै पनि स्वीकार गर्न सकेन ।

उनी कम्युनिज्मभित्र पस्तै थिइन् । म बाहिर निस्कँदै थिएँ । हाम्रो भेट संघारमा भएको थियो । यी पत्रहरू त्यसैका अभिलेख हुन् । यिनले मलाई रन्थन्याएका छन् । आखिर त्यस्ता पीडाबाट नगुजि्रकन को 'पारिजात' हुनसक्छ ?

Comments