Loading

पालो जनताको / प्रेम नेपाली


रंगेलीपाटनमा मानिसहरूको विचित्रको जमघट थियो । गाउँ गाउवाट राता झण्डा बोकेको गाउँलेहरू जिन्दावाद र मुर्दावादको नारा घन्काउदै भेलामा आई पुगेका थिए । भतभति पोल्ने घाममा पसिनाले चिप्लिकै भिजेका गाउँलेहरू ठेलम ठेल गर्दै सभामा वसेका थिए । घरदेखि एक घण्टा पैदल हिडेर दीनवन्धु शर्मा श्रीमति लिएर नेताहरूको भाषण सुन्न मानिसहरूको घुच्ची सहदै सभामा आइपुगे ।

पसिनाले चिप्लिकै भिजेका उनी नेताले के भन्छन भनेर कान ठाडो वनाए ।  ‘जनविरोधी यो शाषनले गरि खान दिएन । निरकुंश शाषकलाई घुँडा नटेकाएसम्म मुक्ति मिल्दैन’ मञ्चका नेताले कुर्लदै भने ‘तपाईहरू हामीलाई साथ दिनुहोस, हामी तपाईलाई मुक्ति दिनेछौं ।’
पाटनलाई एकैछिनमा लाठी र वन्दुक बोकेका प्रहरीले चारैतिरवाट घेरा हाले । ‘अव जेल पर्ने भईयो, कुटाई खाने भईयो’ सभामा खैलावैला मच्चियो । सवै जना भाग दौड गर्न थाले । प्रहरीले केहि नेता र कार्यकर्तालाई समात्यो । सभामा नेताको भाषण सुनेर तालि वजाउन पुगेका गाउँलेहरूले प्रहरीको गालि लाठि खाए ।

प्रहरीको पिटाईवाट वन्दुक पार्टीका शिर्ष नेता छविलाल पनि घाईते भए । टाउको र खुट्टामा चोट लागेका उनलाई पुलिसले गिद्वले चल्ला समाएजस्तै गएर लादै थियो । जनताले कुखुरले झम्टेजसरी प्रहरीलाई भगाएर छविलाललाई छुटाउन सफल भए । सभास्थलतिर खतरा भएपछि आकासे पार्टीका कार्यकर्ताले छविलाललाई दिनवन्धुको घरमा लगेर लुकाए । ज्यानभरी लाठी र वुटको चोटले छविलाल मरणासन्न भए । दीनवन्धुले नेतालाई आमाले वच्चालाई हेरचाह गरेजस्तै सेकताप गरे । छिमेकीको घरवाट दूध घिउ ल्याएर खुवाए । दशैंमा छोरा आउ“ला र काटेर खुवाउँला भनेर राखेको रातो भाले पनि ठुला नेता भनेर छविलाललाई नै खुवाए ।
दिनरात स्याहार सुसार पाएपछि छविलालको रुपरंग फेरियो । हस्टपुष्ट र तन्दुरुस्त भए ।
‘आमावुवा हजुरको सेवाले मैले नया“ जीवन पाए’ विदा हुने वेलामा छविलालले मलिन अनुहार वनाउ“दै भने ‘कुनै वेला  सम्झेर मलाई सेवा  गर्ने मौका दिनु भएमा धन्य हुने थिए ।’


तानाशाही सरकार विरुद्व देशभर आन्दोलन आगो दन्कियो ।  ग“ाउ, शहर, हिमाल, पहाड, तराई सवैतिरका जनता ज्यानको वाजि थापेर सडकमा उत्रिए । पुलिसले असिनाले चुटेजस्तै लाठीले चुट्यो । अंश्रुग्या“स हान्यो, डम्म कुहिरो लागेजस्तै आ“खा भतभति पोल्ने धु“वाले ढाक्यो । सास फेर्न गाहे भयो । तर खरवारी सल्किएको चैतको डडेलो जस्तै फैलिएको आन्दोलनको आगो रोकिएन । जति गर्दा पनि केहि सिप नचलेपछि प्रहरीले गोलि वर्षायो । आकासमा चट्याङ्ग परेजस्तै भयानक आवाज गुन्जियो । राता झण्डा बोकेका जनता रुख ढलेजसरी सडकमा पल्टिए । रगतको खोलो वग्यो । साम, दाम, दण्ड, भेद जुनसुकै उपाय गर्दा पनि आन्दोलन थामिएन । वरु झन झन उर्लदै  आन्दोलनको आ“धीले दरवार नै लपेटेर लैजाने लक्षण देखियो । राजाले जनता सामु घुँडा टेके । रेडियो, टिभीमार्फत राजाले जनताको नासो जनतालाई सुम्पिएको घोषणा गरे ।


रंगेली पाटनमा फेरि जनताको जमघट भयो । राता झण्डा बोकेका, अविर घसेर रातै अनुहार भएका । सवैको ओठ र चेहरा हा“सोखुसीले धपक्क वलेको थियो । जनताले जीतको गित गाईरहेका थिए ।
जनताको जित भो । अव जनताका सन्तानले नै शाषन चलाउने भए । त्यति मात्र कहा“ हो र राजाको शाषन अन्त्य हुने रे, देशको शाषक पनि जनताले चुनेकै हुने रे । जनताको खुसीले भूईमा खुट्टा थिएन । दीनवन्धु पनि वुढेसकालमा भएपनि खुसी देख्न पाईने भो भनेर दङ्ग परे ।

रंगेलीपाटनको उतरतिर भव्य मञ्च वनाईएको थियो । ध्वजा पताकाले मञ्च झकिझकाउ पारिएको थियो । ठुला ठुला सोफा  राखिएको थियो ।

‘नमस्कार’
आदरणीय जनसमुदायहरूमा हार्दिक अभिवादन’
एउटा पातलो जीउडाल भएको युवाले हसिलो जोसिले स्वरमा सम्वोधन गरे । सभाका सहभागिहरू ध्यान दिएर सुन्न थाले ।
युवकले फेरि उस्तै स्वरमा नेताहरूलाई पालै पालो मञ्चमा वोलाए । जनसभातिर नमस्कार गर्दै नेताहरू मञ्चमा विराजमान भए ।
देशमा आमूल परिवर्तनको लागि ज्यानको वलिदान दिने शहीदहरूको सम्झनामा सवैले एक मिनेट शिर झुकाएर मौन धारण गरे । ।
‘धन्यवाद’ सन्नाटा भंग गर्दै एक लिखुरे युवाले भने । नेताहरूलाई भाषण गर्न पालै पालो वोलाए । देशमा अव जनताको शाषन आएकोले सुख, शान्ति, समृद्वी छाउने वताए । जनसभामा परर तालि वजाए । अन्तिममा शिर्ष नेता छविलालको पालो आयो । पातलो जीउडाल । झुस्स दाह्जिुंगा । शिरमा ढाकाटोपी, आ“खामा पावरवाला चश्मा लगाएका छविलाल माईक अगाडि उभिएर नमस्कार गर्दै भने 
‘अन्ध्यारो कालो रात हटेर विहानी भएको छ । तपाईको घरमा पालेका वाख्रा, कुखुरा राति राति मारेर खाने वाघ र व्वाँसा जस्ता शाषकहरूले तपाईहरूको श्रम, पसिना चुसेर कंकाल वनाउन पाउने छैनन । तपै हामीले मिलेर गाँउ पसेको स्याल जस्तै तिनिहरूलाइई लखेटेर यो देशवाट भगाएका छौं । अव तपाई हामी मिलेर हजारौं शहीदले देखेको सपना साकार पार्न देशको मुल कानुन संविधान वनाउनुपर्छ । यस्तो अवसर मिल्नुमा सवैभन्दा ठुलो योगदान हाम्रै पार्टीको रहेको छ । त्यसैले तपाईहरूले हाम्रो पार्टीको चुनाव चिन्ह् वन्दुकमा भोट दिएर हामीलाई जिताउनुहोस । हामी तपाईहरूलाई जनमुखि संविधानसंगै विकास र शान्ति दिनेछौं । तपाईको घरदैलोमा पानीको धारा खस्नेछ । मोटर कुदनेछ । पढनलाई स्कुल र उपचार गर्न अस्पताल गाउमै खोलिदिनेछौं । छोराछोरीलाई जागिर लगाईदिनेछौं । घर घरमा विजुली वालेर यो ग“ाउलाई पनि शहर जस्तै झिलिमिलि पारिदिन्छौं ।’

छविलालको भाषण सुनेर जनता चिनीमा लठिएको मौरी झै मन्त्रमुग्ध भए । छविलालको पार्टीलाई जिताउन तन, मन, धनले भ्याएसम्मको उपाय गरे । कतिले अरुले टाउको फुटाए, आफ्नो पनि फुटने गरी कुटाई खाए । ‘वन्दुक’ चिन्हमा आफुले पनि छाप लगाए । अरुलाई पनि फकाएर, तर्साएर, लोभ्याएर लगाउन लगाए । चुनाव सकियो । रेडियो, टेलिभिजन, अववार, अनलाईन सवैले देशका धेरै ठाउँमा छविलालको पार्टीले छलाङ्ग मारेको खवर दिए । 
आफुले मत दिएको पार्टीले जित्दा जनता निकै खुसी भए । अव पेटभरी खानलाई, राम्रो लगाउनलाई दशैं कुर्न नपर्ने भो । विरामी पर्दा ऋणधन खोजेर रातारात शहरमा जान नपर्ने भो । वनपात गरेर समय फाल्ने केटाकेटीहरू स्कुलमा पढन पाउने भए । गाउँमा पनि शहरमा जस्तै सुविधा पाइने भो । ग“ाउलेहरू कल्पनामा डुवे । आपसमा अविर दलेर खुसी साटा साट गरे ।


रंगेली पाटनमा विजय महोत्सवको आयोजना गरियो । गाउँलेहरू आपसमा अविर दलेर वधाई र शुभकामना साटे । रातै झण्डा, रातै अनुहार एकले अर्कोलाई चिन्न धौ धौ प¥यो । संसारभरीको सवैभन्दा ठुलो सुख छोप्न पाईने भो भनेर जनताको जमात पाटनमा उर्लियो । बर्षाभरी रुझ्दै र भिज्दै लगाएको धान पाकेर पहेलपुर भईसकेको थियो । गोठका चौपाया घाँस, पानी खान नपाएर भोक भोकै कराउन थाले । तर गाउँलेहरूले सवै काम ठप्प छाडेर ढोकामा चुकुल ठोकेर सभामा सहभागि भए ।

ध्वजापताकाले सजाईएको मञ्चको पछाडितिर पार्टीका ठुला नेता र शहीदको तस्वीर  टांगिएको थियो । विचमा आरामदायी सोफाहरू राखिएको थियो । अविर र मालाले रंगिएर चिन्नै नसकिने भएका एक कार्यकर्ता माईक अगाडि उभिए । फेरि आसन ग्रहण । शहीदको सम्झनामा मौनधारणा गरियो ।
मतदाता नामावलीको नामभन्दा अत्याधिक मत ल्याएका छविलालको वोल्ने पालो आयो । अनुहारभरी रातो अविर लगाएर खादा, फुलमालाले ढपक्कै ढाकिएका उनले कुम हल्लाउ“दै माईक समाते । आफुलाई मत दिने पार्टीका कार्यकर्ता, मतदाता सवैलाई मुरीमुरी धन्यवाद दिए । प्रसन्न मुद्रामा उनले भने ‘मैले जित्नु भनेको तपाईहरूकै जित हो । अव गाउँमा विकासको ढोका खुल्यो । वाटो, अस्पताल, विद्यालय, विजुली, पानीको धारा सवै वने भनेर सम्झनुहोस । तपैका होनहार छोराहरू दश वीस हजार कमाउन अव विदेश जानुपर्दैन । यहि लाखौं कमाउन पाउनेछन ।’ उनको वोलिपिच्छे जनताले परररर तालि वजाए ।  
दश गाउँका जनता खुसी भएको सभामा दीनवन्धु खुसी नहुने कुरै भएन । उनले पनि जोडजोडसंग तालि वजाए । छविलालले आफुलाई चिनेर वोलाउ“छन कि भनेर घरी घरी उठेर मञ्चतिर हेर्थे । तर पछिकाले छेकियो वस्नुहोस भनेकाले खिस्स हाँस्दै वस्थे ।
दिनभर घाममा टट्टिएर सा“झपख विकासको सपना देख्दै गाउँलेहरू घरतिर फर्किए । छविलाल कार्यकर्तासहित राजधानीतिर हानिए । वहुमत ल्याएको आकासे पार्टीले सरकार वनायो । छविलाल मन्त्री पनि भए । आफुले जिताएको पार्टीको सरकार र नेता मन्त्री भएको खवर सुनेपछि गाउँलेहरू अव विकास पक्का हुने भो भनेर खुसीले दङ्ग परे ।


प्रधानमन्त्रीवाट सपथग्रहण गरेपछि छविलाल मन्त्रालयको आरामदायी कुर्सीमा गएर थचक्क वसे । अगाडी ठुलो टेवुलमा देशको झण्डा, पृथ्वीको ग्लोव राखिएको थियो । जाडोमा तातो र गर्मिमा चिसो आउने एयर कण्डिसन आउने कोठा थियो । मन्त्रालयमा मात्र होईन, निवासमा समेत विहानदेखि वेलुकीसम्म भेटघाट गर्न आउनेहरूको धुईरो ।
वरपर सुरक्षाकर्मी राखेर करोडौंको झण्डावाल गाडिमा सवार । दामी पोशाक । पाच तारे होटलमा पार्टी । विकासको ठेक्कापट्टा र कर्मचारीको सरुवा वडुवा । शहरका हुनेखानेसंगको उठवस । काम गरिदिए वापत सुटकेश भरी भरी आउने रकमको विटो । पत्रिका, टेलिभिजन जतासुकै उनकै भाषण र तस्वीर । संविधान वनाउन पुगेका उनको पार्टीका नेताहरू सत्ताको स्वादमा झुल्लिए । गाउँका जनतासंग गरेका वाचा वन्धन सवै विर्सिए ।
छविलालको पार्टीले मात्र मस्ती गरेको अरु पार्टीका नेताहरूलाई मन परेन । पहिला सत्ताको स्वाद चाखिसकेका उनीहरूलाई औडाहा भयो । हामीले सरकारमा वस्न पाउनुपर्छ भनेर हानथाप गर्न थाले । कहिले कुन पार्टीको नेताको नेतृत्वमा, कहिले कुन पार्टीको नेताको नेतृत्वमा मिलिजुली सरकार वनाउने र भत्काउने खेलमा उनीहरू व्यस्त भए । शहीद र जनताको सपना साकार पार्ने संविधान वनाउनतिर ध्यानै दिएनन । नेता र कार्यकर्ताको चाकडी गर्नमा छविलाल खप्पिस थिए । जुन पार्टीको अगुवाईमा सरकार वन्दा पनि महत्वपूर्ण मन्त्रालयमा उनी आसिन हुन्थे । 
सत्तामा वसेपछि पहिला हावा नभएको वेलुन जस्तै चाउरिएका  छविलाल फकेर फुटन लागेको वेलुन जस्तै भए । त्यतिमात्र होईन, उनका आसेपासे कार्यकर्ता र आफन्त पनि पुष्टिए ।
वर्षदिनमा उनले राजधानीको मुटुमा करोडौंको महल वनाए । ठाउ ठाउमा जग्गा किने । आफन्त, साली, जेठान, साला र कार्यकर्तालाई जागिर खुवाए ।


दीनवन्धुकी श्रीमति दमकी विरामी थिईन । अलिकति हिडेर वोल्यो कि स्या स्या भईहाल्थ्यो । गाउँमा अस्पताल छैन, शहर जाउँ खर्च छैन । विचरी घरमै व्यथा पालेर वसेकी थिईन । छविलालले भाषण गर्दा गाउँमा अस्पताल खोलिदिन्छु भन्दा सवैभन्दा वढि उनै खुसी भएकी थिईन । तर बर्षौ वित्यो गाउँमै अस्पताल खुल्ला र उपचार गराउँला भन्ने उनको चाहना सपना
नै रहयो । न अस्पताल, न विद्यालय, न मोटरवाटो केहि पनि खुलेनन ।  व्यथाले उनलाई झनै च्याप्दै लग्यो । अस्पताल नगए ज्यान पनि नरहने भो । दुःख पर्दा भगवानलाई सम्झने दीनवन्धुले नेता छविलाल र उनले जाने वेलामा भनेका कुरा सम्झिए । 
‘शहरमा नेता भएपछि खान र वस्न समस्या भएन । सके अस्पताल पनि उनैले लगेर उपचार गरिदिन्छन होला’ दीनवन्धुले श्रीमतिलाई भने ‘लौ हिड वुढी शहरतिर जाउँ र नेतालाई भेटौं ।’ परदेशको ठाउँ के कसो हुन्छ भनेर गोठका वाख्राहरू वेचे र  थैलीमा तीस हजार रुपया“ हालेर शहर झरे । 
धुवाँधुलो, गाडि, मान्छेहरूको भीड छिचोल्दै उनीहरू शहरको नाम चलेको अस्पतालमा पुगे । डाक्टरले जे भन्छन त्यही गरे ।  यसोउसो गर्दा थैलीको २५ हजार रुपयाँ सकियो । ‘अव यस्तै हो भने घर फर्कने भाडा पनि नरहने भो’ दीनवन्धुले पुम्पुरोमा हात राख्दै भने । छविलाललाई भेटेर सहयोग माग्न जाने सल्लाह गरे । झोला बोकेर दुवै सोध्दै खोज्दै मन्त्री निवासमा पुगे । गेटमा वन्दुक बोकेर सिपाही थिए । मन्त्रीलाई भेटन आउनेहरूको जमघट थियो ।
‘कस्लाई भेट आएका हौ तिमिहरू?’ गेटको प्रहरीले सोधे ।
दीनवन्धुले दुई हात जोडेर आफ्नो परिचय दिदै कारण खुलाए । प्रहरीले दुवैको नाम, थर, ठेगाना टिपेपछि सोधेर आउँछु भन्दै भित्र पसे । पहिला तिनै प्रहरीले छविलाललाई मर्नेगरी पिटेका थिए । समातेर जेल हाल्छन कि भनेर छविलाल प्रहरीलाई छल्न जंगल जंगल हिड्थे । अहिले तिनैले सुरक्षा दिएका देखेर दीनवन्धु र श्रीमति दङ्ग परे ।
‘मन्त्री ज्यूले भनिवक्स्या आज समय छैन रे भोलि विहानै आउनुहोस रे’ अघिको प्रहरी वाहिर निस्किएर भने । आफुहरू आएको खवर दिएपछि छविलाल आफै लिन गेटसम्म आईपुग्छन भन्ने सोचेका दीनबन्धुको अनुहार डम्म वादल लागेजस्तो देखियो । दुवैजना चुपचाप होटलतिर फर्किए ।
 भोलिपल्ट फेरि विहानै उनीहरू मन्त्री निवास पुगे । तीन घण्टा कुर्दा पनि पालो पाएनन । दीनवन्धुको धैर्यको सिमा टुटयो । भित्रपस्न जोडतोड गर्न थाले । प्रहरीले सम्झाउँदा नमानेपछि हान्नलाई लाठी उचाल्यो । वुढो मान्छे देखेर हानेन । वाहिर हल्ला खल्ला मच्चियो । हुत्तिदै पसेका दीनबन्धुले भित्र देखे–दुवो, फूल, पोखरीले सजिसजाउ वगैचा । अग्लो महल । नोकरचाकर । चिप्ला मोटरकार । वगैचाको कुर्सीमा झकिझकाउ पोशाकले सजिएका रातोपिरो अनुहार भएका मानिस । माहुरीले रानोलाई  घेरेजस्तै सवैले उनलाई घेरिरहेका थिए । दीनवन्धुले भीडको अनुहारमा नजर दौडाए । तर गाउँमा देखे, भेटेको छविलाललाई देखेनन ।
हल्लाखल्ला सुनेर के भो ? भन्दै एकजना मोटो मानिस आएर प्रहरीलाई हकारे । ‘हैन हजुर मैले त रोक्दै थिए, हजुरलाई भेटन आको भन्छन’ प्रहरीले सफाई दियो ।
‘हैन कस्लाई खोज्नु भा को, कहावाट आउनु भा को ? के काम छ ? तपाईहरूसंग भेटन मलाई टाईम छैन’ मन्त्रीले झर्किदै भने । गाउँमा भेटेका छविलाल नेता ख्याउटे, झुत्रो, झाम्रे थिए । यी त अर्कै छन । पुक्क गाला । गर्भवतीको जस्तो भुक्क वाहिर निस्किएको भूँडी । किमति कपडा । ‘यी त छविलाल हैनन, गल्ती ठाउँमा आईपुगिएछ’ उनले मनमनै सोचे ।
वाहिर निस्केर भित्र भएका सवै कुरा वुढीलाई सुनाए । ‘यत्रो शहरमा छविलाललाई कता खोज्ने ? जुनि वित्छ भएको खर्च पनि सकिएर सडकको वास हुन्छ’ दीनवन्धुले भने । उनको कुरा श्रीमतिलाई पनि ठिक लाग्यो । डाक्टरले लेखिदिएको औषधि बोकेर दुवैजना गाउँतिर हिडे । मोटर गाडि हुईरहेका पिच वाटोको वरपर ठुला ठुला महल, स्कुल, अस्पताल देखेर दुवै जना दङ्ग पर्दै हिडे । ‘हाम्रो गाम पनि यस्तै वन्ने कहिले होला ? भन्दै उनीहरू वस पार्कतिर पुगे । 
  


शहरवाट रातभर वसमा चढेर हिडेको भोलिपल्ट गाउँ नजिकै पुगे । त्यहाँवाट दुई घण्टा डाँडा खोला काटेपछि दिउँसो रंगेली पाटनमा आईपुगे । दुवैजना नजिकैको चौतारामा थकाई मार्न वसे । 
चुनावको वेला मानिसको जमघट हुने रंगेलीपाटनमा सधैजस्तै  गाईभैसी चरिरहेका थिए । झुत्रोमैलो कपडा लगाएका, धुलोमैलो ज्यान भएका गोठालाहरू रुखको छहारीमा शितल वसिरहेका थिए । सत्तरी बर्षमा टेकेका दीनवन्धुले जान्दा वुझ्दादेखि नै  यो रंगेलीपाटन र यहाँका मानिसहरू उस्तै छन । जिजुवाजेहरू पनि यसैगरी गाईवस्तु चराएर, उकालि ओराली गरेर धर्तीवाट विदा भएका थिए । अहिले तिनका सन्तानपनि त्यसैगरी जीवन विताईरहेका थिए । ति तिनै गाउँलेहरू हुन जो चुनावका वेला
चउरमा वसेर मञ्चमा वस्ने नेताहरूको भाषण सुन्दछन । नेताको विश्वास गरेर जे भन्यो त्यही मान्दछन । 

चुनाव जिताएर राजधानी पठाएका नेता कहिले गाउँमा विकास लिएर फर्कने हुन भनेर गाउँलेहरू वाटो हेर्र्दै वसे । वाटो हेर्दा हेर्दै बर्षदिन वित्यो तर नेताको नाकमुख देखिएन । नेता, मन्त्री छविलाललाई भेटन वेला वेलामा गाउँलेहरू राजधानी धाउथे । जाँदा हाँस्दै पुगेकाहरू फर्कदा निन्याउरो भएर फर्किएका हुन्थे । कारण थियो मन्त्रीसंग भेट नपाउनु । कोहि कोहि त भेटने आशामा एक हप्तासम्म होटलमा वस्दा खर्च सकिएर भोकभोकै फर्किएको भन्दै दुःख पोख्थे ।

संविधानको समय सिमा सकियो । फेरि म्याद थपियो तर वनेन । सभासद र मन्त्रीहरू पदमुक्त भए । यसवीचमा धेरै कुरा भए । संविधान वनाउन राजधानी पसेकाहरू कोहि जुवाको खालमा समातिए । कोहि रक्सीको भट्टीमा रमाएका भेटिए । कोहि रातोेपासपोर्ट वेचेर धन कमाउन पल्केका पाईए । सत्तामा वसेर भत्ता खाएर रमाएकाहरू धुरुधुरु रोए । जनतालाई दिएको वचन पुरा गर्न नसक्दा पछुताएर रुने सभासद कमै भेटिए । ‘ठुला नेताले जे भन्छन त्यही हुनेभएपछि हाम्रो केहि चल्दोरैनछ,’ उनीहरू आपसमा गुनासो पोख्दै भने ‘हामी त देखाउने दाँत जस्तै भयौं ।’
 
दलको अगुवाईमा संविधान सभाको चुनाव हुने छाँटकाँट देखिएन । ठुला दलका नेताले कर्मचारीको अगुवाईमा चुनाव गर्ने निर्णय गरे । शाषन सत्ताको जिम्मेवारी दिए । फेरि संविधान सभाको चुनाव गर्ने घोषणा भयो । गाउँ, शहर जताततै पार्टीका झण्डा र उम्मेदवारका तस्वीर टाँसिए । रेडियो, टिभी र अखवारहरू चुनावको विज्ञापन र समाचारले भरिए । नेताहरूलाई चुनावी चटारोले छोयो ।
उता बर्षाभरी झरीमा रुझ्दै र भिज्दै रोपेको धानवाली पाकेर लहलह झुलेको थियो । गाउँलेहरूलाई यसपालि चुनावको भन्दा पनि धान थन्काउने चटारोले सताएको थियो ।

रंगेलीपाटनमा फेरि नेता छविलाल आउने भए । उनका पार्टीका कार्यकर्ताले घरघरै निम्ता वाँड्दै हिडे । काममा व्यस्त गाउँलेले हुन्छ हुन्छ आउँछौै भने । फेरि ध्वजापताकाले मञ्च झकिझकाउ पारियो । दश गाउँपर वोलेको सुनिने गरी माईक फिट गरियो । यसपालि नेता हिडेर हैन, हेलिकप्टरमा आउने भएछन । ‘जुन जोगि आएपनि कानै चिरेका’ भन्दै अधिकांश जनता भाषण सुन्न गएनन । ‘भाषण पनि सुन्दैनौं, भोट पनि दिदैनौं’ उनीहरू अधिकांशको एउटै स्वर सुनिन्थ्यो ।

डाँडापारि आकासमा भुटुटुटु गर्दै हेलिकप्टर उडेको आवाज सुनियो । हेर्दा हेर्दै हेलिकप्टरले आँधिले जस्तै धुलो उडाउदै पाटनको वीचमा वस्यो । हेलिकप्टरको पंखा वन्दभएपछि ढोका खुल्यो । दुलाहाजस्तै ठाँट्टिएका एउटा मानिस ओर्लिए । उनको पछि दुई चार जना ओर्लिए ।
दुलाहाजस्तो ठाँटिएको मानिसले चारैतिर नजर डुलाए । पाटन लगभग खालीजस्तै देखियो । उनको अनुहार कालोनिलो वन्यो । पहिला यहि मैदानमा मानिसहरूको अटाई नसक्नुको भीड लाग्थ्यो । अहिले एक सय पनि छैनन ।
‘यो गाउँका मान्छेहरू सवै वसाई सरेछन कि क्या हो ?’ कुम हल्लाउँदै उनले स्थानीय नेतालाई सोधे । धान पाकेर थन्काउन व्यस्त भएकाले नआएका ती नेताले जवाफ दिए ।
छविलालको कार्यक्रम परिवर्तन गरियो । भाषण छोट्टाएर घरदैलो कार्यक्रम राखियो । जनता नआएपछि भेटन घरमै जानुपर्ने भो । 

कार्यकर्ताहरूको सल्लाह अनुसार जता जनता धेरै छन, उतै जाने कार्यक्रम वनाईयो । शहरको चिप्लो सडकमा चिल्ला मोटर कारमा हुँईकिने वानी परेका छविलाल वारीको कान्लामा हिड्दा भकुण्डो जस्तै दश वल्डाङ्ग खान थाले । कोटमा लागेको धुलो टक टकाउँदै उनी  खेत खेतमा पुगे । उमेर अनुसार आमा, वा, दाई, भाई, दिदी वहिनी भन्दै दुई हात जोडेर साईनो लगाउँदै भोट मागे । केही ठाउँमा त हसिया मागेर आफैले धान काटेजस्तो पनि गरे । उनका अघिपछि हिडेका कार्यकर्ता र पत्रकारले रमाईलो मान्दै तस्वीर खिचे । 
फाँटमा दीनवन्धुपनि सकि नसकि काम गर्दै थिए । ‘वा, मलाई चिन्नु भो ?’ दुई हात जोड्दै छविलालले भने ‘म हजुरको नेता, पहिला हजुरकै घरमा वसेको थिए । पहिला पनि भोट दिएर जिताउनु भो । अहिले पनि नभुल्नुहोला, हजुरको आर्शिवाद लिन आएको ।’
शहरमा छविलाल होईन भनेर भ्रममा परेका दीनवन्धुलाई घाम लागेजस्तै छर्लङ्ग भयो । त्यहि छविलाल थियो जसले शहरमा जाँदा उनलाई चिनेनन । त्यतिमात्र होईन, भेटन समय छैन भनेर अपमान गरेर फर्काएको थियो । अतित सम्झेर दीनवन्धुको अनुहार रिसले रातोपिरो वन्यो । ‘जनतालाई ढाँटने फटाहालाई यही हसियाले गर्दनमा छप्केर दुई टुक्रा वनाईदिउ जस्तो’ मनमनै कल्पेर हसिया जोडसंग समाते । फेरि त्यसो गर्न हुन्न भनेर आफैलाई सम्झाए ।  ‘हजुरजस्तो ठुलो मान्छेलाई पनि नचिन्ने कुरा हुन्छ र ?’ उनले भने ।  अनि निहुरेर सपसप धान काट्न थाले । गाउँ गाँउ, खेतखेतै डुलेर सवैलाई नमस्कार गर्दै भोट माग्दै छविलाल फेरि हेलिकप्टरमा चढे । केहिवेरमै हेलिकप्टर पाटनको धुलो उडाउँदै शहरतिर हानियो ।  


खाजा खान लस्करै वसेका गाउँलेहरूले छविलालको कुरा काट्न थाले । ‘त्यस्तो ख्याउटे थियो, अहिले त ढाडिएको जुकोजस्तै भएछ । झुत्रेझाम्रो कपडा लगाउँथ्यो, अहिले त सुटवुटमा सजिएर हिड्दो रहेछ । चप्पल लगाएर उकालि ओराली गथ्र्यो, अहिले त हेलिकप्टरमा उड्ने भएछ । हामी जनता भने सधै जहाँको त्यही ।’ गाउँलेहरूले शहरमा छविलाले जोडेको महल, मोटरकार, सम्पतिको समेत चर्चा गरे । अनि भने ‘विकास ल्याएर गाम र गाम्लेको अनुहार नै फेरिदिन्छु भन्थ्यो, सात पुस्तालाई सुति सुति खान पुग्ने सम्पति जोडेर आफ्नो दुनो सोझाएछ ।’
चार घण्टाअघिसम्म भोट नहाल्ने मनस्थिति वनाएका दीनवन्धु र गाउँलेहरूको सोचमा परिवर्तन गरे । अहिलेसम्म जति झुक्काएपनि अव हराउने र जिताउने पालो जनताको आएको ठहर गरे । ‘सवै काम छाडेर भएपनि सवैजना भोट हाल्न जानुपर्छ है’ छविलाल जस्ता छलकपटिलाई हराउने संकल्प गर्दै सवैले एकै स्वरमा भने ‘असल उम्मेदवारलाई भोट र खरावलाई चोट दिने पालो जनताको ।’

Author: 
Segments: 

Comments