Loading

ओ समय ! / राबत

वर्षौंपछि हजुरको सहरमा
हजुरकै आदेशबिना
म नाङ्गो छाती उभिएको छु,
सक्नुहुन्छ भने,
सिंहदरबारबाट भाला झिकेर
रोपिदिनुस् भेरो छातीमा
सक्नुहुन्छ भने,
मेरो शिर लगेर झुन्ड्याइदिनुस्
धरहराको टुप्पोमा
तर यसपाला म
हजुरको सहरबाट
रित्तो हात फर्किने छैन ।

मेरै छाला च्यातेर
ओछ्याइएका यी काला सडकहरूमा
भन्नुस्- कति वर्ष सयर गर्नु भो ?
फूल सम्झी चुँडेर मेरो शिरलाई
भन्नुस्- कतिऔँ जन्मोत्सव मनाउनु भो ?
मेरै छातीको नाप लिएर
भन्नुस्- कतिपल्ट पड्काउनु भो तोप
र, कतिपल्ट मनाउनु भो प्रजान्त्र दिवस् ?
यी जम्मैजम्मै हिसाब गर्न
वर्षौंपछि हजुरको सहरमा
हजुरकै आदेशबिना
म नाङ्गो छाती उभिएको छु,
सक्नुहुन्छ भने
भनिदिनुस् मलाई देशद्रोही
जलाइदिनुस् मेरो नागरिकता
सिमानासँगै च्याप्टिएको मेरो च्याप्टो छातीमा
बजार्नुस् बुटैबुट
तर यसपाला म
हजुरको सहरबाट
रित्तो हात फर्किने छैन ।

वर्षौंपछि हजुरको सहरमा
हजुरको पाउ छुन हैन
पाउ चिमोट्न आएको छु,
सक्नुहुन्छ भने,
ठुन्क्याइदिनुस् मेरा यी-
ल्याप्चे लाउँदा-लाउँदा
लाटा भएका औँलाहरू
फुटाइदिनुस् मेरा यी- 
सपना मात्रै देख्ने आँखाहरू
सक्नुहुन्छ भने,
जफत गरिदिनुस् मेरा यी-
फित्ता छिनेको चप्पल र नाम्लो
तर यसपाला म
हजुरको सहरबाट
रित्तो हात फर्किने छैन ।

Segments: 
Author: 

Comments