आजका नेपाली कथा बजारमा

जेष्ठ ७, काठमाडौं - ‘त्यो बेला नेपालमा कथाहरू त लेखिन्थे, तर राम्रा कथाहरूको अभाव थियो । अहिले उत्कृष्ट कथा लेख्ने युवा कथाकारहरूको आगमनले स्थिति बदलिएको छ’, रमण घिमिरे आफ्नो पत्रकारिता कर्ममा आधा दशकअगाडि झेलेको कठिनाइ सम्झँदै थिए । घिमिरेले भने झैं त्यो कठिनाइ बिर्साउने गरी शनिबार एउटा कथाकृति सार्वजनिक भएको छ । भृकुटीमण्डपमा चलेको पुस्तक मेलाको आडैमा भएको कार्यक्रममा उनै घिमिरे र कवि एवम् कथाकार राजेन्द्र पराजुलीले २५ युवा कथाकारको कथा समेटिएको कृति ‘आजका नेपाली कथा’ विमोचन गरे । युवा कवि तथा कथाकार अनमोलमणिले सम्पादन गरेको पुस्तकमा समकालीन नेपाली कथालेखनमा कलम चलाइरहेका २५ कथाकारको २५ कथा संग्रहित छ । संग्रहलाई युवा स्रष्टाका उत्कृष्ट कथा भनिएको छ । 

विमोचित पुस्तकबारे बोल्दै युवा समालोचक प्रभाती किरणले संग्रहमा सामाजिक अवस्था, दशवर्षे द्वन्द्वको छाया र राजनीतिका साथै विविध विषयबारेको कथा रहेको र कथाहरूको चयनमा कथाकार अब्बल साबित देखिएको टिप्पणी गरे । ‘यो संग्रह पूर्ण छैन’ अहिले कथा लेखिरहेकाहरू २५ जनाको सूचीमा मात्रै नअटाउने स्विकार्दै सम्पादक अनमोलमणिले भने, ‘तर युवा कथाकारहरूको यस्तो संग्रहको अभाव रहेको अवस्थामा छलफल सुरु गर्नको लागि पनि यसले आधारको काम गर्नेछ ।’ तर कथाको चयनमा कुनै निकटता र विकटताको हिसाब नराखिएको उनले प्रष्ट्याए ।

संग्रहमा आन्विका गिरि, नवीन विभास, कुमार नगरकोटी, भानु बोखिम, फूलमान बल लगायतका कथा समेटिएको छ । बीएन पुस्तक प्रकाशनले पुस्तकलाई बजारमा ल्याएको हो । 

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom