के छ र बाँकी भन्न कस्तो छ जिन्दगी ?

Author

के छ र बाँकी भन्न कस्तो छ जिन्दगी ?
अनुहार हेरे ऐनाजस्तो छ जिन्दगी

अनुरागमा छरिन्छ फूलको परागझैँ
बैरागमा खरानी घस्तो छ जिन्दगी

देखिन्छ सप्रिएको काहीँ त ख्याउटे
जस्तो स्याहार पुग्छ त्यस्तो छ जिन्दगी

जसले मुसार्यो यस्सो उसकै भइगयो
यसको यो अर्थ होइन 'सस्तो छ जिन्दगी'

नियति बनेर मृत्यु तर्साउलास् कति ?
हेर त, तेरो रगतमा पस्दो छ जिन्दगी

Segments