कान्छी

- बदरी नाथ भट्टराई
(प्रस्तुत कथा २०१० सालताका इलाम निवासी साहित्यकार श्यामकृष्ण श्रेष्ठको सम्पादनमा निक्लने गरेको 'आँसु' हस्तलिखित पत्रिकामा प्रकाशनको निमित्त प्राप्त भएको थियो। कारणबश त्यस बखत प्रकाशनमा आउन नसकेको यो कथा जस्ताको तस्तै रूपमा प्रकाशनको निमित्त श्रेष्ठबाट प्राप्त भएको हो। कथाकार स्वर्गीय बदरीनाथ भट्टराईज्यूको आत्माको चिर शान्तिको कामनाका साथै हार्दिक श्रद्धाञ्जलि स्वरूप प्रकाशनको लागि 'रचना' का प्रधान सम्पादकज्यूमा सादर अनुरोध गर्दछु। –शिव रेग्मी)

टुँडीखेलको ढोकामा पालो बसिरहेको नरबहादुरको मनमा औडाहा उठिरहेको थियो। माघ २ गतेको रातको एघार बजेको बेला पनि उसको ओठमुख सुकेको थियो। आफ्नी प्राण जस्ती कान्छीलाई अस्पतालमा त्यसै छोडेर पालो बस्न आउनु परेकोमा उसको मन क्षुब्ध थियो। उसको एउटा मनले भन्यो, भत्केको घरले थिचिएकी कान्छीलाई त्यत्रो मिहिनेतले झिकेर अस्पतालसम्म पुर्‍याएपछि डाक्टर्नीसंग भनसुन गरी ब्यँूताएर समेत आउनु पर्थ्यो कि! अहिले त उसको मुर्छा पनि जरूरै खुल्यो होला, अनि तेरो लोग्नेले यहाँ छोडेर गयो भनि नर्सहरूले भनिदिए भने उसले के भन्ली? हुन त ती चढेका नर्सहरूले उसंग बोले होलान् र! भैंचालाका मारमा परेका त्यो बिधी घाइतेहरूको घाउमा मलमपट्टी लगाउन समेत उनीहरूलाई फुर्सद थिएन। कान्छी त्यही मैले सुताएर आएको खाटमा लडिरहेकी होली। यही पुसमा बिरामी हुँदा उल्ले मेरो त्यसरी स्याहारसुसार गरेकी थिई। ऐलेचाहिँ मैले त्यसै चटक्क छाडेर आएँ। न मुर्छाको मुर्छै खुस्की र चौरमा ल्याएर त्यसै फ्याँकिदिएका छन् कि हरे शिव! यो नब्बे सालमा सात ग्रह जोडिएको छ, के पो हुन्छ भनी हाम्रा पुरेत बाजेले त भनेकै हुन्। अब यहाँभन्दा हुनु के?
गहभरि भएको आँसु पुछेर नरबहादुरले फेरि मनमनै भन्यो, ……के गर्नु, कान्छी संगसंगै छोरीलाई पनि ल्याउन सकेको भए म अस्पतालबाट फर्कने नै थिइन। फर्केर गएपछि छोरी बाँचिदिएकी भए पनि सरासर अस्पताल जान आँटेको थिएँ, तर दिउसो त्यत्रो कडा उर्दीका साथ यहाँलाई पालो खटिएको हुनाले र बाटैमा परेको हुँदा साथीलाई भनेर जान्छु भनी यहाँ आएँ तर साथीले मानेन। एकपल्ट डेरामा पुगेर जहानलाई सञ्चै रहेछ भने तुरुन्तै आउँछु भनी उसले भन्यो तर खै ऐलेसम्म पत्तो छैन।''

नरबहादुरलाई सहिनसक्नु भयो। उसले कटकट दाह्रा किट्यो अनि सोच्यो, जहानबच्चालाई पालौंला, पोसौंला भनेर नै जागीर खाएको यदि मर्न लागेकी स्वास्नीको बिरामी कुरुवा पाइन्न भने पेट पनि भर्न नपुग्ने यस्तो जागिर खाएर के फाइदा? जेसुकै होस्, एकपल्ट कान्छीलाई हेरेर नआई त छोड्दिनँ। यहाँवाट जनाना अस्पताल तीन चार मिनेटको बाटो न हो! तोप पड्केको पन्ध्र मिनेट पनि भएको छैन। उसैले दगुर्दै गएर कान्छीलाई हेरेर आउँछु।''
महाङ्कालथाननेर पुगेपछि फेरि अलिअलि भैंचालो गयो। टुँडीखेलतिरबाट नारायण नारायण भन्ने शब्दका साथसाथै रोएको आबाज पनि सुनियो। अनि नरबहादुर टक्क अडियो र विचार गर्‍यो, ……के मलाई मात्र दुःख परेको हो र? महलमा बस्नेहरू पनि आज यै चौरमा त्यसै बसिरहेछन्। शहरमा घाइते र मर्नेको गिन्ती छैन। यो टुडीखेलमा पनि जिमीन फाटेर यसरी पानी बगिरहेछ। यदि दिउसो २ बजेकै जस्तो ठूलो भैंचालो अर्को पल्ट गयो भने देशै भासिन के बेर! फेरि आफ्नो कर्तव्यको पालन नगर्ने मानिसैै होइन। पहरादार भै बन्दुक समातेर बसेको मैले स्वास्नीको मायामा फँसी तोकिएको ठाउँवाट एक पाइला चलाउनु पनि महापाप हो। साँच्चि भन्ने हो भने अस्पतालमा गएर म के गर्नसक्छु र! डाक्टर र बैद्य भएको भए हो, त्यहाँ जानु जरूरी थियो। अस्पतालमा पुर्‍याउनुपर्ने कर्तव्य हो, त्यो मैले पूरा गरिसकें।''

कान्छीलाई निको गराइदिनुहोस्, हाँसको फूल र समयबजी समेत हालेर पूजा गर्नेछु भन्ने भाकलका साथ महाकाललाई दुई हात जोडी नरबहादुर फर्क्यो, अलि वर आइपुगेपछि उसको मनले भन्यो, ……यहाँसम्म आइपुगिसकेकै छु। हक अनुशासनको भङ्ग गरिहालें, अब एकपल्ट कान्छीलाई पुलुक्क हेरेर आएमा के होला त! बाँचेकी रहिछ भने सबै कुरा बताएर आउँछु, मरेकी रहिछ भने पनि मसानमा लगि दागबत्ती त आफैं दिउँला कि। यदि कुजातले लगेर फ्याँकिदियो भने सधैँ उसले प्रेत भएर बस्नुपर्नेछ, अनि उसको दुःखी आत्माले के भन्ला! फेरि मलाई पनि जन्मभर पछुतो हुनेछ। साहिली साल नभएर मरेकी हुनाले अस्पाल ल्याउन सकेको भए बाँच्दथी कि भन्ने अझै लाग्दैछ। तिनौटी टोकिसकें अब यो पनि के हुने हो।

उत्तरतिर फर्केर १०/१२ पाइला चलाएपछि उसको मन झसङ्ग भयो। रक्षक भएर बसेको मानिसको यो चाल त ठीक हैन भनेर कसैले कानेखुशी गरेजस्तो उसलाई लाग्यो, अनि पल्याक पुलुक यताउति हेर्‍यो, तर कोही व्यक्ति पनि देखिएन।

तर्क वितर्कका आधारमा चारपाँच बाजि उसले ओहोर दोहोर गर्‍यो। पछिबाट टुँडिखेलको ढोकानेर पुग्दा भत्केको ढिस्कोमाथि उभिइरहँदा रमन घुम्न आएका पाँच छ जनालाई उसले देख्यो,अनि छानाबाट खसेजस्तै भयो। रिसाएको बाबुको अगाडि अपराधी छोरा झैं बिस्तारै गएर उसले अफिसरलाई सलाम गर्‍यो।
  
अस्पतालमा लडिरहेकी कान्छीले पर्सिपल्ट लोग्ने नरबहादुर ‰यालखाना परेको कुरा सुनी। उसलाई असह्य भयो। उसको भतभति पोलेको मनले भन्यो, …कस्तो निष्ठुरी रहेछ त्यो रमन घुम्ने कप्तान! के त्यसकी स्वास्नी कहिले पनि बेरामी नहुने रहिछ? तर त्यसलाई पनि के भन्ने! जङ्गी उर्दी!! जाहेर नगरि नहुने उ के गरोस्? लाठ साहेब, चीफ साहेब भनाउँदाले पो यसमा विवेक गर्नुपर्ने! स्वास्नीलाई अलिकति कपाल मात्र दुख्यो भने पनि उनीहरू चाहिँ चारपाँच महिनाको बिदा लिएर कलकत्ता–बम्बै पुग्छन्। लोग्ने स्वास्नीको माया सबैको एकै त हो नि।'

चारदिनपछि अस्पतालका नर्सहरूको आँखा छलेर कान्छी घिसि्रँदै पस्रँदै चीफ साहेबको ढोकामा पुगी, तर ढोकेले नजीकै बस्नै दिएन, ढोके पनि के गरोस्! चीफ साहेब निस्कन लाग्दा यौटाले ठाडै करायो भनेर अघिल्लोे दिनमात्र हजुरिया लप्टनले ढोकेलाई साफसंग झाँटेको थियो। त्यही नै ठेडी बनेकोले कान्छीको तीखो आर्तनाद पनि ढोकेको कानमा पस्न सकेन, अनि अलि वरै बसेर चीफ साहेब मोटर चढेर आएको बेलामा कान्छी कराई, तर त्यो क्रन्दनलाई हावाले कता पुर्‍यायो कता। उसले जङ्गलमा रोएजस्तै भयो।

कान्छी पाखोको माछोजस्तो भएर ढोकानेर गई। त्यसै बखत बुढाथोकी जम्दार भित्रबाट निस्कियो। उसलाई कान्छीले हात जोरी र सुँक्क सुँक्क गर्दै भएभरको हाल भनी। कान्छीको बिलौना सुन्दा ढुङ्गा त रसाउँदो हो भने बुढो जम्दारको मन किन पग्लँदैनथ्यो? एकछिन घोरिएर उसले भन्यो, यहाँ ठाडो कराएर ठीक हुँदैन, बरु यौटा बिन्तिपत्र लेखेर ल्याउनोस्, त्यो पनि नानीसाहेबको नाममा, तर अलि लेख्न जान्ने मानिसलाई लेखाउनुहोला। म पनि द्वारेलाई भन्न लगाउनेछु। हेर नानी, पहिले म यिनै चीफ साहेबको जेठा छोराको ददा हँु। तर पछि उमेर पुगेको हुनाले पल्टनबाट झिकिएँ। धेरैसम्म ढाक्रे नै भएर यिनको चाकरी गरें। अन्त्यमा तपाईंलाई बताएकै उपायद्वारा म भित्री ढोके भएँ।

कान्छीले कसलाई विन्तिपत्र लेखाओस्। उ अलमल्ल परी। अन्त्यमा त्यहीँ चाकरी गर्न आउने बिचारीलाई ढोके जम्दारले भन्दियो। लोग्ने छुटेपछि एकरुपियाँ दिने कबुल गराएर बिचारीले नानीसाहेबको मन पग्लने गरी विन्तिपत्र लेखिदियो पनि।

कान्छी अस्पतालमा बल्लतल्ल गई। देख्नासाथ नर्सले झपारी, हामीलाई भन्दै नभनी कहाँ निस्केकी तिमी? घर गयौ होली भन्ठान्यौं, अनि तिम्रो ठाउँमा अर्कै भर्ना गरिदियौं। जाउ अब आफ्नै घरमा गएर बस। यहाँ दिउसो दिनहुँ आउनु। कान्छी बिलखबन्द परी अनि महाभूत गणेशनेरको पाटी नै उसको शरण भयो।
  

पन्ध्रदिन पछि छुटेर ‰यालखानाको ढोकाबाहिर नरबहादुर आयो। कान्छी आएकी छ कि भनेर उसले यताउति हेर्‍यो, जगन्नाथ देवलतिर आँखा लगायो। बागदरबारको ढोका अगाडि निहाल्यो। तर कहीं देखेन। एकछिन वाल्ल परेपछि उसले पाइला चाल्यो। कान्छी आउँदै होली बाटोमा भेट भैहाल्ला नि भन्ने उसले ठान्यो। जङ्गबहादुरको शालिकनिर पुगेपछि साथीहरूले कबायत खेलेको देखेर अब कुन वृत्ति लिने भनी अर्को चिन्ता थपियो। के मारबाडीहरूको नोकर हुने? त्यो पनि कसरी? अलिकति पैसा नलिई घर जान पनि भएन। सबै खेतबारी ब्ान्धकमा परेको छ। अब गर्ने के त? जागिर बक्सियोस् भनेर चीफ साहेब, लाठसाहेबसंग कराउने? अहँ, त्यो त मबाट हुँदैन। यस्ता अविवेकीसंग किन हात जोर्ने? इत्यादि तर्क वितर्क गर्दागर्दै नरबहादुर महाङ्कालथान पुग्यो।

उल्लाई कता जाउँ कता जाउँ भयो। कान्छी किन आइन त भन्ने प्रश्नलाई टक्क उभिएर उसले फेरि दोहोर्‍यायो। उसले म छुट्ने खवर थाहा पाएकी नै छैन कि अथवा छुटेपछि आफैं खोजेर आएपनि हुन्छ नि भनेर नआएकी हो कि? अथवा धररा पट्टिबाट उ उता गई कि! इत्यादि तर्क वितर्क गर्दै महाभूत गणेश अगाडि उ पुग्यो। त्यहाँ साइकल समाती पाटीतिर हेरिरहेको यौटा खुकुरी भिरेको खाकी कोट र कालो लबेदा सरुवाल लगाएको अग्लो मानिसलाई उसले देख्यो। को रहेछ भनी बु‰दा तेरो लोग्ने छुट्यो भन्ने खवर कान्छीलाई सुनाउन चीफ साहेबकी नानीसाहेबले पठाएको आठपहरिया रहेछ। पछि पाटीमाथि उक्लेर हेर्दा झिँगा भन्किरहेको आइमाईको लाश उसले देख्यो। निहारेर हेर्दा उसकी कान्छी नै पो रहिछ!

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom