काली घर्तीनीको देहावसानमा

कतै कोही पनि शोकाप्त छैन
काली घर्तिनीको देहावसानमा ।

अखबारहरूमा कहिल्यै नपढिएको अनुहार
राजभक्तिगानलाई महिमामण्डित बनाउन
जनताको उर्लँदो भेल देखाउने
टेलिभिजनको पर्दामा
कहिल्यै नहेरिएको अनुहार
राजधानीमा तीन आना जग्गा खोज्न
भौंतारिएको जुलुसमा
प्रख्यात जग्गा–दलालहरूले पनि
सनाखत गर्नै नसक्ने अनुहार
तिमीले वा यस देशका महान् शासकहरूले
चिनेको दाबी गर्ने
तर चिन्दै नचिनेको अनुहार
काली घर्तिनीको अनुहार ।

कसैलाई केही फरक परेको छैन
त्यो अनुहार अस्ताएमा ।
काली घर्तिनीको अनुहार
कुनै पनि सांसदसँग मिल्ने अनुहार
मीना, लीला, शैलजा
माधव, रामचन्द«, गिरिजा
सबैसँग दुरुस्त मिल्ने अनुहार
तर तन्किएपछि सांसदका गाला
मिल्नै छाड्यो अनुहार उसको
सांसदवर्गको अनुहारसित
संसद्मा अनुपस्थित
संविधानका कुनै पनि धाराले नछोइएको
विशिष्ट अनुहार
नेपालका नदीनालाझैँ
कहिले फाट्दै र कहिले जोडिँदै
ईश्वर, भगवान्, मस्टो आदि देवगण
कोही थिएनन् उसको महाप्रयाणमा ।

काली घर्तिनीको तीखो आवाजका तरङ्गहरू
अझै सुन्दछु म
र उसको चाउरी परेको अनुहार
सम्झन्छु म घरीघरी
जे–जे गरी उसले जिन्दगीमा
ठीक गरेर मरी
हाम्रो जस्तो चपाउँदै जिब्रो
बाँचिन ऊ
मन लागेका कुरा मजाले गरी
एउटा भयावह सत्य प्रकट भयो फेरि
काली घर्तिनी हिजो मरी
कसैको केही नबिगारेर मरी
कवि हो, आँसु अझै बाँकी छ तिम्रा आँखामा ?
गाउँलाई रित्तो– रित्तो छाडेर
अचानक हिजो लोप भयो
काली घर्तिनीको अनुहार ।

Author
Segments