Loading

दिलमाया / श्यामल

मेरो सपना खोसेर राखिएको छ
थिम्पूको अँध्यारो जेलमा
सर, म त्यसै फर्कनेछैनँ भुटान ।

म सम्झन्छु आफू रोएको बाल्यकाल
तर जति म रोएँ
मेरो सात क्लासको किताब
च्यातिएको दिन रोएँ
त्यही दिन म जति रोएँ रोइसकें
जुन दिन पसे सिपाहीहरु हाम्रो घरमा
र उफ्रन थाले
मेरी आमाको शरीरमाथि
मसँग अब छैन रुनलाई आँसुको महान
सर, अब रुन आउँदैन
म बेस्सरी राइसकें ।

म हाँस्थें पनि कहिलेकाहीं
जब चुट्किला सुनाउँथे हाम्रा बाबा
एक दिन/कुनै एक दिन
मुसा फुत्केर भाग्यो बिरालोको पन्जाबाट
र दुलाको मुखैनेर रुँगेर बस्यो बिरालो !
म बेस्सरी हाँसेकी थिएँ ।
हँसाउन सिपालु थिए देवीलाल सर
त ती बाबा छन् न चुट्किला
न बिरालो छ न देवीलाला सर
हाँस्नुजति हाँसिसके म
अब हास्न आउदैन मलाई
सर मैले त हाँसो त साम्चीमै छाडिसकेँ ।

सर, यौटा केटो थियो उहीँ
लुकी—लुकी हेथ्र्यो मतिर
नहेरुँ भन्दाभन्दै आनायास
आँखा गइहाल्थे उसतिर
यसैलाई भनिन्छ भने प्रेम
प्रेम पनि छैन मसित
त्यसलाई पनि मारिसके शासकहरुले ।
कन्काईको बगरमा छु म
र सब थोक छाडेर आएकी छु यो ज्यानबाहेक
फेरि किन सोध्नुहुन्छ भुटान जनो—नजाने कुरा ?
मैले मेरो सपना फर्काउनु छ
मैले मेरो आँसु फर्काउनु छ
मैले मेरो हाँसो फर्काउनु छ
मैले मेरो प्रेम फर्काउनु छ
मैले मेरो किताब फर्काउनु छ
थुनेर राखिएको मेरो सर्वस्व फर्काउनु छ
सर, म त्यसै फर्कनेछैन भुटान ।

Author: 
Segments: 

Comments