Loading

दु:स्वप्न

खोलाहरुमा बग्नै छोडयो कञ्चन पानी
रगतको बेगवान् नदीमाथि हल्लिदै छ
झोलुङ्गे पुल
भन्छन् योद्धाअरुले डामेका ढाडहरु
अब के—के हुने हो ।

कोचिएको छ खचाखच दिमागमा
बदलाको भूत
बाटाहरु यति धेरै छन् यस ठाउँमा
कुन बाटामा कोही किन जाने हो
भन्छन् स्कूलका मास्टरहरु
स्कूल नगएको पनि धेरै भयो
अब के—के हुने हो ।
जहाँ गए पनि हुन्थ्यो
जति बेला पुगे पनि हुन्थ्यो
कसले जाँच्थ्यो रपिठयूको झोला
र सोलीमा राखिएको कोसेली
अहो, अचेल आउदँन
कोही आफन्त
उराठलाग्दो फलैचामा बसेर
सोचिरहन्छन्
बूढाहरु धुवाँको सर्को
तान्दै
अब के—के हुने हो ।

हामी त खेल्थ्यौ जे भेटयो त्यही
हामी त जान्थ्यौं जहाँ मन पथ्र्यो उहीं
अचेल पड्किन्छन् भाँडाहरु
हाम्रा प्यारा खेलौनाहरु
अहो, छुनै हुँदैन केही पनि
नजाऊ नानी कतै पनि
भन्छन् हाम्रा आमाहरु
खेल्ने जमाना गयो
अब के—के हुने हो ।

धेरै भयो हुलाकी छैन
तीन–तीन महिनामा आउने चिठी
धेरै भयो आएको छैन
रेडियोले गन्ती गर्छ
जङ्गलको लासहरू
हरे ! मेरो लाहुरेलाई के भयो
भन्छन् लाहुरेनी युवतीहरू
अब के–के हुने हो !

कहिल्यै केही नखाए पनि
गर्मी भए पनि, जाडाले सताए पनि
हाँसिरहेको हुन्थ्यो बुद्धको मूर्ति
धेरै भयो चुपचाप रुन थाल्यो
भन्छन् क्युरियो पसलका मालिकहरू
अहो ! यस देशमा के हुन थाल्यो ?
यो मूर्ति अझै कति रूने हो
अब के–के हुने हो !

टेलिभिजनको पर्दामा
साह्रै गम्भीर देखिए गृहमन्त्री
र उदास देखियो
उत्तरी श्वेतमाला
पहाडबाट मुस्काउन छाडेर
बमसगैँ तुलमा टाँगियो घाम
कहिल्यै नरिसाउने माइलो
रिसायो बेसरी
अब के–के हुने हो !

Author: 
Segments: 

Comments