Loading

स्वयम् कन्तुर विद्वान् काशीनाथ

पढ्छ अहोरात्र पलेँटी कसेर पुरानो लिउमाथि
र खोतल्छ टिपोटहरू
घोरिएर पढ्छ भोजपत्र, ताम्रपत्र र शिलापत्रका उतार
वा स्वस्थानी व्रतकथाको माइक्रो फिल्म
केही टिप्छ, केही न केही टिप्नैपर्ने भएकाले
कृषि शाखाले दिएको दस वर्ष बुढो डायरीमा
जान्छ तिलौराकोट, लुम्बिनी
या त क्राचल्लको भाषा पढ्न दुल्लू कि त सिजातिर
फर्कन्छ काठमाडौँ थोत्रो बसमा
मानिसहरू कोचाकोच गरिएको भिडियो कोचमा
सोच्छ पुरातत्व विभागको वाचनालय–
‘यी मानिसहरूझैँ कोचिएका छन् बिचरा
पुराना दामी पाण्डुलिपिहरू दराजको धुलाम्मे कुनामा’
सोच्दै थियो, झन्डै मरेको दुर्घटनामा
बाँच्छ र सोच्छ गरुडपुराणको छालाको गाता
सोच्छ आफ्नी पत्नीझैँ लाग्छ मैथुनरत
मन्दिर–टुँडालका मल्लकालीन अप्सराहरू
काष्ठकला/प्रस्तरकला र अर्को कुनै कला
हराएका अक्षर/खिइएका अङ्कहरू जोडजाड गर्छ
यो पावरलाल चस्मा पाटन पुग्छ मानिस भेटिँदैन
भक्तपुर पुग्छ र देख्छ काष्ठकला ज्यापू दाइको खर्पन देख्दैन
हेर्दैन जिउँदा मानिसहरूप्रति किमार्थ हेर्दैन
मध्यरात सपनामा भ्रमण गर्छ अजन्ता र एलोराका गुफा
बिहान हेर्छ ताजा अखबार र पढ्छ– सूर्यबहादुर प्रधानमन्त्री
संस्कृति स्तम्भमा हेरेको चस्मा गाडेर– देखियो फेरी पहिलेकै कुरा
‘चौबीस – पच्चीस सालको परेछ’ भनेर थन्क्याउँछ अखबार
पुराना अखबारको कन्तुरमा
स्वयम् यौटा विदीर्ण कन्तुर विद्वान काशीनाथ ।

Author: 
Segments: 

Comments