Loading

अन्तिम युद्ध

चमेराहरू झुन्डिइराखुन् रूखका हाँगाहरूमा
आकाशलाई पाताल र पाताललाई आकाश बनाइरहुन्
ढोईलाई लगाएर अघि–अघि
अभयारण्यमा लम्किरहोस् मत्त हात्ती
बघिनीहरू घुमफिर गरून् आफ्नो प्रिय जङ्गलमा
र स्नेह गरून् आ–आफ्ना डमरुलाई
हिउँदको चिसोमा
माटाको न्यानो गर्भमा
गुप्त बास बसुन्
या घाम ताप्न निस्कुन् सर्पहरू
स्यालहरू कुदून् बेतोडले
म्याराथुन धावकझैँ
पण्डितहरू मन्दिर जाऊन् या पादरीहरू चर्चतिर
प्रार्थना गरून् वा वर मागुन् आ–आफ्नो ईश्वरसँग
मलाई आपत्ति छैन शासकहरू हो !
यो संसार सबैको हो ।
तर राति झ्यालबाट पसेर चोरझैँ
मेरा जुँगा चाट्न हुन्न चमेराहरूले
मन्त्रीको आदेशमा डाँकाले झैँ
सुकुम्बासी गाउँ नउजाडुन् हात्तीहरूले
खोरका घारहरू फुकालेर
सुत्केरी बाख्राको कल्चौँडो खान हुन्न बघिनीहरूले
सानो दुधे शिशुलाई आँगनमा सुताएर
काममा गएकी छ उसकी आमा
फर्केपछि देख्नु नपरोस्
आफ्नो प्रिय शिशुको छातीमा
सर्पदंशका डोबहरू
कुनै किसानले पालेको कुखुरा
सुटुक्क चोरेर
खोल्सामा लगेर आफ्नो भोक तृप्त गर्न पाइँदैन स्यालहरूले
पण्डितहरू पनि बुझून्—मानिसको बलि दिनु हुन्न
पादरी वा मौलवीहरू पनि बुझून्—
अर्काको आयु ताछेर
आफ्नो आयुमा थप्न पाइन्न
यो संसार सबैको हो ।

संसार सबैको हो भने
मेरो पनि हो संसार
तर मेरो भाग खोसेर कसैले खायो भने
म तयार छु अन्तिम युद्घ गर्न
अन्तिम युद्घ अर्थात निर्णायक युद्घ
जसले फैसला गर्नेछ हारजितको
ए जङ्गल शासक र शिकारी शासकहरू हो !
मेरो सबैभन्दा तीखो हतियार
नैतिकता हो ।

Author: 
Segments: 

Comments