मेरो देश

जहाँ
हिउँ परेको रातमा
जून, धरतीलाई भेट्न
हिमकणहरूको साथमा
मुस्कुराउँदै ओह्रालो झर्छ,
र धरतीलाई सर्वाङ्ग हाँसेको पाएर
झन् बढी मुस्कुराएर
आकाशमा फर्कने गर्छ,
जहाँ
आरुबखाडाका हाँगा–हाँगामा
फुल्दछन् कुखुराका चल्लाहरू,
जहाँ
मृगमरीचिका पछि लाग्नेहरूको यादमा
रुन्छन् धूपी र सल्लाहरू
जहाँ
बाह्रै महीना मानिसका गालामा
फुल्दछन् आरुका फूल
जहाँ
मुटुको स्पन्दनझैं उफ्री–उफ्री
खेल्छन् मृगशावकका हूल,
जहाँ
पहराबाट छहराले
खोलामा हाम्फाल्दछन्,
जहाँ–रातमा पनि हिमचुलीले
आँगनमा घाम पाल्दछ,
जहाँ
प्रत्येक पहाडको काखमा नदी
छातीमा छहरा
र निधारमा लेक हुन्छ,
जहाँ
स–साना नदीहरूमा पनि
तूफानी समुद्रको वेग हुन्छ,
जहाँ
बटुवालाई प्रत्येक झ्याङबाट
झ्याउँकीरीले गिज्याउने गर्छ
प्रत्येक अँधेरी पँधेरोमा
जूनकिरीले ज्योति फिँजाउने गर्छ,
जहाँ
एकबाजि आएर
घर फर्कन वसन्त भुल्दछ,
जहाँ
बटुवालाई भन्ज्याङमा रोकेर
हिमाल पङ्खा हम्कन्छ;
जहाँ
एक–अर्काको मुख हेरेर
नीलगिरि र धवलागिरि चम्कन्छ;
जहाँ
प्रत्येक रातमा आकाशले
मङ्गल–दीप सजाउँछ;
जहाँ
प्रत्येक भोरमा धरतीले
एक गोरो छोरो जन्माउँछ;
जहाँ
हरिया–हरिया पहाडका फरिया
जहाँ
अलिक तल सरेर
निर्मल, स्वच्छ र न्यानो घाममा
हिमालले सधै ढाड सेकेको हुन्छ
म जति टाढा भए त्यो मेरो देश
सधै मेरो मनले
सपनामा पाइला टेकेको हुन्छ ।
(२०१७-संगम)

Segments