Tankiko Phool ra Ek Jodi Aankha / Ilya Bhatatrai

No votes yet
टाँकीको फूल र एक जोडी /  आँखा इल्या भट्टराई

वरिपरिको परिवेशमा छरिन आइपुगिसकेको छ । अगिदेखि तप्त भएको वातावरण विस्तारै शीतलमा अनूदित हुँदै छ । कताबाट हो कुन्नि अचानकै एक झोक्का हावा चलेर जडवत् भइरहेको निःशब्द वातावरणलाई आफू पनि यतै कतै छु है भन्ने सङ्केत दिएर गयो । त्यहीँ छेउको टाँकीको रूख सेता फूल आफूभरि फुलाएर गमक्क परेको छ । सेतो शुभ्र टाँकीले वातावरण उजेलिएको छ, तर मेरो मन……! अगिदेखिनै घुर्मैलो तुवाँलोले टम्म ढाकिएको मेरो मन भने अब, सके म बाँचुन्जेल सम्म पनि उघ्रिन सक्ने छैन ।

तल कतै नदी सुसाएको यहीँसम्म सुनिँदै छ । त्यसको छातीबाट पनि मेरैजस्तो पीडाको चीत्कार निस्किएको पो हो कि ? माथि आकाशमा हेर्छु एकजोडी चील अगिदेखि कावा खाँदै आनन्दित भई उड्दै छन् । यसरी निस्सीम आकाशमा निर्बन्ध उडेर तिनीहरूले सके आफूलाई यो ब्रह्माण्डमा भाग्यमानी साबित गराउँदै छन् ।

“साँच्चै, हामी पनि चीलनै हुन सकेको भए हुनेथियो ।” मन कल्पियो । “चील भइदिएको भए सोच्ने मस्तिष्क त हुँदैनथ्यो । कहिले कठोर अनि कहिले भावुक हुन पुग्ने मन त हुँदैनथ्यो । सधैं राजसी पारा । उडेर सारा संसारलाई आफ्नो खुट्टामुनि राख्दै आकाशमै राज गर्ने । न त कोही मित्र, न त कुनै शत्रु । “कति निष्फिक्री जीवन, यिनीहरूको ! मनमस्तिष्कले कुनै बोझै बोक्नु नपर्ने !”

मलाई तिनीहरूसँग त्यस्सै त्यस्सै डाढो लागेर आउँछ । “कति मजाको जीवन ! सिकार ग-यो । खायो, उड्यो । खत्तम ! अँह ! कुनै पिरै छैन । कुनै तनावै छैन । मूल कुरो त कुनै डरै छैन । न त छ कुनै अपराधबोध नै ।”

मन त्यसै त्यसै थक्थकाउँछ, आफू चीलको साटो मानिस भइदिएकोमा ।

मानिसले मात्रै त हो नि सबै प्रकारको भावना अनि संवेगलाई दिनरातै बेहोरिरहनु पर्ने !

सबै कुरो सम्झेर मनमा आवेश, अपराधबोध अनि निराशाका हुन्डरी चल्न थालेका छन् । मनमा छटपटी बोकेर सहायताको लागि म चारैतिर नियाल्छु । अँह कसैलाई केही फरक परेकै छैन । सबै उस्तै छ । सधैँ हुने झैँ गरी ! आजको दिनले मेरो मनमा, मेरो जीवनमा कत्ति फरक ल्याइदियो, तर यिनीहरूलाई केही वास्तै छैन । केही मतलबै छैन……. । तेपाईं पर्दै गएको गोरेटोमाथिको कान्लामा फुलेका जङ्गली फूल उसै गरी फुलेका छन् । हिजो अस्ति सिर्सिर् बग्दा आनन्द लाग्ने हावा अहिले उसै गरी लागेको छ । अब केही छिनपछि आकाशमा ताराहरू पनि सधैंको झैँ उदाउलान् ! तर….मेरो मनमा आएको यो आँधीबेहरी कसैले पनि देखेनन् ? मेरो जीवनमा अनायासै एउटा यत्रो ठूलो पहिरो गयो । यी कसैलाई केही वास्तै भएन । कति संवेदनाहीन हुन सकेका होलान् यिनीहरू ?

दिउँसोको घटना संझिँदा पनि मन अत्यासले भरङ्ग हुन हुनजान्छ । अब कसरी सामना गर्ने होला मैले परिस्थितिसँग । कसरी मैले आमालाई आफ्नो अनुहार देखाउने ? अनि कसरी मैले आफ्नो अनुहार पनि हेर्ने ? अबका दिनहरूमा म कसरी बाँच्ने ?

खै कसलाई दोष दिनु ? म आफूलाई ? यो समाजलाई ? मलाई बालखकालमै लगेर मन परिवर्तन गरिदिने ती जङ्गलीहरूलाई ? कि मेरा परिवारलाई ? …… खोई कसलाई ?

वा कि अनायासै मैले थाहै नपाई तरुनी हुन पुगेकी मेरी बैनीलाई ?

ग्लानिले मन खर्लप्पै निलेको छ । एक तमासले एकोहोरो ढुकढुक गरिरहेको मन शून्य भएको अनुभूत भइरहेको छ । खुट्टाले जीउको भार थाम्नै सकेन । म थचक्कै बस्न पुगेँ । मनमा पुराना कुराहरू फन्फनी नाच्न थाले ।

पन्ध्र वर्षको तन्नेरी हुन हुन आँटेको केटो थिएँ म । ओठमाथि रेखी बस्न बस्न लागेको थियो । बा स्कुलाँ मास्टर थिए । मास्टरको छोरा भा नाताले स्कुलाँ मेरो मान इज्जतै बेग्लै थियो । कक्षामा सधैँ पहिलो हुने म स्कुलभरि सबैको प्यारो थिएँ ।

“हुने विरुवाको चिल्लो पात भन्या यै हो । मास्टरको छोरा पढन के कम हुन्थ्यो ! एस एल सीमा फस्ट भएर यसले यो स्कुलको नाक राख्ने भो नाई ।”कक्षामा सधैँ प्रथम हुने मप्रति स्कुलका गुरुहरूको मात्र किन, गाउँका सबैको यही बिचार थियो ।

मेरा बाआमा पनि खुसीले गमक्क पर्थे । को पो थियो र गाउँमा उनीहरूको जस्तो योग्य र असल सन्तान । न त विगतमै थियो । न त लगत्तै आउने आगतमा त्यस्तो कुनै सम्भावना देखिएको थियो ।

अरूका छोराका दिन गुच्चा, खोपी खेल्दैमा बित्दथ्यो । उनीहरूलाई काम नगरी बाउआमालाई सताउँदैमा फुर्सद हुँदैनथ्यो । पढाई उनीहरूका लागि त हाउगुजी नै थियो ।

मेरा बाउआमाले भने मेरो मनमा सप्तरङ्गी इन्द्रधनुषको सपना देखाइदिएका थिए । आकाशलाई छुने चाहना उमारिदिएका थिए । “मेरो छोरो काठमाडौँ गएर धेरै धेरै पढछ । ऊ पढेर ठूलो मान्छे बन्छ । अड्डामा हाकिम हुन्छ । अनि काठमाडौँमा घर बनाउँछ । त्यसपछि त काठमाडौँ हाम्राँ लाई पनि पानी पधेँरो भइजाला नि ।”

“दाइ, दाइ काठमाडौँबाट मलाई राम्रो घाँघर ल्याइदेऊ है । अनि दाइ, मलाई राम्रो पुतली पनि है ।”

मेरी नौ वर्षकी बैनी भुन्टी नाकबाट सिँगान चुहाउँदै मेरो दौराको फेर समाएर झुँन्डिदै आफ्ना सपना सुनाउँथी । राम्रो घाँघर लाउने अनि राम्रो पुतली खेल्ने उसको रहर काठमाडौँ गएर, पढेर ठूलो मान्छे भएर मैले पूरा गर्ने छु भनेर दङ्ग हुन्थी ।

एक्कासि हुरी आएसरह मेरो जीवनमा आएर ती जङ्गलीहरूले सबैले देख्ने गरेको मेरो सुनौलो भविष्यको सपनालाई हावामा त्यस्सै त्यस्सै उडाइदिए । कहाँ काठमाडौँजस्तो ठूलो सहरमा पढेर ठूलो मान्छे भई जीवनमा केही गर्छु भन्ने मेरो सोचाई । कहाँ जङ्गलीहरूको सङ्गतमा सोच्ने क्षमता गुमाउँदै पशुसरह हुँदै गएको मेरो जीवन ! तिनीहरूको एउटै कुरा सुन्दा सुन्दा, पछि पछि त म मस्तिष्क नभएको जन्तुमा परिणित हुँदै गएको थिएँ । मेरो दिमागले सोच्ने क्षमता गुमाउँदै गएको थियो । मेरो लक्ष्य एउटै मात्र हुन्थ्यो । सफाया…..मात्र सफाया । मान्छे मार्नु मेरा लागि केही न केही जस्तो थियो । जीवन भनेकै शत्रु मार्नका लागि हो ! यो सोच मेरो मस्तिष्कमा कुँदेसरह भइसकेको थियो ।

कस्तरी सोचेको भन्दा अर्कै भइदिएको थियो मेरो जीवन !

अभ्यास..परेड…आक्रमण…अनि व्यक्ति हत्याको अभियानमा हामी अग्रसर हुँदै गयौँ । देश परिवर्तनको नारा भन्या त्यस्तै हो । हातमा बन्दुक थियो । त्यसैले गर्दा विजयपथतिर हाम्रो पाइला रफ्तारले अगि बढदै पनि गयो । बारम्बार पाउँदै आएका विजयउन्मादमा उन्मादित हुनु त्यतिकै स्वभाविक थियो । त्यसकारण हुन्थ्यौँ पनि । विजयको प्राप्तिको परिणामको रूपमा विभिन्न नारीहरूलाई पनि हामीले चिन्ने मौका पाउँदै गयौँ । ती कति त हामीसँग आफै मिसिन आइपुगेका थिए । कतिलाई हामीले जबर्जस्ती आफूमा मिसाएका थियौँ । यसरी ती अनेकौ नारीहरूका बास्ना अनि पसिनालाई पनि फोसाका रूपमा आफूसित परिचित तुल्याउन हामी अभ्यस्त हुँदै थियौँ ।

त्यो दिनको आक्रमणको लागि हामीले खासै परिश्रम गर्नु परेको थिएन । सानो चौकी थियो । जम्मा बीस,पचीसजना सैनिकहरू रहेछन् । त्यसमाथि रातको प्रथम प्रहर ! भाते निद्रामा सबै सैनिक गोरु बेचेर सुतेका थिए !

उता चनाखा हामी त्यही कामलाई त्यहाँ पुगेका हामी ! केही बेरसम्मको लडाईं, केही राउन्ड गोलीको प्रहार अनि जीत ! कठै बिचरा, निद्राबाट जुरुक्क उठेका सैनिकहरू ! तिनका ती थोत्रा थ्री नट थ्री बन्दुक अनि ओसिएका कारतुस ! हाम्रा एल एम जि र एस एल आरका अगाडि के टिक्थे ! सबै सोत्तर परेका रहेछन् ।

विजयको उन्मादमा फर्किन लागेका थियौँ । साथीहरू नारा लाउँदै अगि अगि लागे । म केही पछि परें । चौकीमा नष्ट हुनबाट बचेका केही पुस्तकहरू -याकमा रहेछन् । पुस्तक देखेपछि मस्तिष्कमा अवचेतनमा लुकेको एउटा भोक सल्बलाएर आयो । मेरो ध्यान तानियो ।

अँगालोमा केही पुस्तक च्यापेर निस्कँदै थिएँ । बाहिरको अजंगको रूखपछाडिको स-याकसुरुकले मलाई त्यता डो-यायो । चकमन्न अँध्यारो भएता पनि कता कता चन्द्रमाको ज्योत्स्ना पथप्रदर्शक बन्यो । फेरि मसँग सानो टर्च पनि त थियो । टर्चको उज्यालोमा एक जोडी आँखा झिलिक्क चम्के । ओहो ! के थियो त्यो आँखामा ? किन मलाई ती आँखाले चुम्बकले फलाम ताने झैँ ताने ? कुरै बुझिनँ किन ती जोडी आँखा मलाई अत्यन्तै परिचित लागे । आफ्नाजस्ता लागे ?

विमोहित भएर ती जोडी आँखाको आकर्षणमा म तानिदै गएँ । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै भएँ । काम सकिएपछि साथीहरूसँगै लागेर म आफ्नो शिविरमा फर्किनु पथ्र्यो । तर के भयो के म ती आँखाको सान्निध्य पाउन आतुर भैदिएँ ।

ऊसको साथीलाई गोली लागेको रहेछ । घाइते भएको रहेछ । त्यही साथीनिरै ऊ आत्तिएर किंकर्तव्यविमूढ भएर टुक्रुक्क बसेकी थिई । रात चकमन्न थियो । सके भर्खरै रचिएको अमानवीय र विभत्स नाटकको साक्षी हुन पुगेकोमा रात पनि स्तव्ध हुन पुगेको थियो ! रातको निस्तव्धतालाई चिरेर एक्कासि रूखमा बसेको लाटोकोसेरो नमिठो आवाज निकालेर करायो । त्यसले सके मेरो उपस्थितिले त्यस केटीमा आइपर्न लागेको आसन्न (दुर्घटना…?)को सङ्केत पो दिएको हो कि ! वा हुन सक्छ त्यसले मेरो दुर्भाग्यपूर्ण भविष्यको जानकारी गराएर मलाई सचेत गराउन खोजेको थियो !

मेरो झम्टाइमा परेपछि उसले आफूलाई छोडिदिन निकै अनुनय विनय गरी । तर भोको बाघ म, आलो रगत खान पाउने मौका किन गुमाउँदो हुँ ? त्यो पनि भर्खरको तरुनो शरीरको !

लाटोकोसेरो फेरि पनि करायो । अघिसम्म डरले कता कता लुकेका झ्याउँकीरीहरू एकनासले चिच्याएर थाहा छैन मलाई कुन अनिष्टको सूचना दिइरहेका थिए । मैले बुझ्नै सकेको थिइनँ । गोली लागेको उसको साथी उठन खोज्यो । आफ्नी साथीलाई बचाउन खोज्यो । मसँग भा को हतियारको के काम ! मैले ताकेर हिर्काई दिएँ ।

तृप्त भएपछि मेरो पहिलो कर्तव्य आफ्ना जोर हत्केलाले त्यस केटीको गर्दनको नाप लिनु पथ्र्यो । तर त्यतिखेर कुन संवेगले मलाई डो-यायो कुन्नि, मैले उसको सासको डोरो तान्न सकिनँ । मलाई उसको ज्यान लिने कुनै इच्छै भएन । कुन भावनाले होला मेरो मनमा उसप्रति एउटा कोमल भाव जागृत भैदियो । म उसलाई यत्तिकै छाडेर आफ्नो गन्तव्यतिर लागेँ । उससँगैको साथी मरेकै हो वा जिउँदो छ त्यो हेक्का राख्ने पनि मलाई होस रहेन ।

बाहिर अन्धकारले आकाशलाई खर्लप्पै निलेको थियो । बेला त निष्पट्ट आकाशमा सो-ह शृङ्गार पारेर झलमल्ल परी ताराहरूले आफ्नो यौवन प्रदर्शन गर्नु पर्ने थियो । तर त्यतिखेर आकाशमा एउटै पनि तारा थिएन । निष्ठुरी बादलले तिनीहरूको अस्तित्वलाई सर्लक्कै ढाकेको थियो ।

वर्षहरू बित्दै गए । मनको अन्तरकुनामा त्यो आँखाको आकर्षणले जरो गाडिनै रह्यो । कहिले रातको शून्यमा, कहिले आफू एक्लो भएको बेलामा अनि कहिले मन बेरङ्ग बेरङ्ग भएको बेलामा त्यही जोर आँखा किन हो कुन्नि मलम भएर मेरो हृदयको कुनाकाप्चा छामछाम छुमछुम गर्न आइपुगेका हुन्थे । मेरा आँखा आफूले भेटेका प्रत्येक जोडी आँखालाई हेर्ने गथ्र्यो । तर अँह, फेरि ती आँखासँग मेरो सामना भएन । तिनलाई त वा आकाशले लग्यो वा पातालले निल्यो !

लोकतन्त्रको आगमन मेरो लागि पनि खुसीको कारक बनेको थियो । देशमा शान्ति छायो रे भन्ने सन्देश एक्कासि मेरो मनमा आफ्नो गाउँ ठाउँ अनि आफ्ना परिवारको मोह जगाइदियो । मलाई तत्कालै आफ्ना बाबुआमा र आफ्नी सानी बहिनीलाई भेट्ने, आफ्नो गाउँको चिरपरिचित वातावरणमा पुग्ने हुट्हुटीले तान्न थाल्यो ।

“कति वर्ष भयो मैले आफ्ना परिवारलाई नभेटेको ! लोकतन्त्र आएपछि घर जान्छु भन्दाभन्दै दुई वर्ष यस्सै बितेर गएछ । अब फेरि केही महिनापछि चुनाव आउँदै छ । त्यो भन्दा पहिले नै एकपल्ट घर पुग्नै पर्छ । पछि फेरि के हो के ! बा अझै स्कुलाँ पढाउँदै हुनुहुन्छ कि ! आमा पनि उही घर,गोठ, घाँस त होला नि । बैनीले राम्रो घाँघर लाउने अनि काठमाडौँको राम्रो पुतली खेल्ने रहर गर्थी । यतिका वर्षपछि घर जान लाग्दा खाली हात कसरी जानु ! सबैलाई केही न केही लगिदिनै पर्ला । बा आमालाई लुगा किन्न त केही छैन । तर बैनी कत्री भइहोली । त्यसलाई कत्रो घाँघर किन्नु पर्ला ? पुतली पनि कस्तो किन्ने होला ! ऊ अझै पनि पुतली खेल्ने सपना साँच्दै होली के ?”

प्रश्नहरू अनेक थिए । बीचका यत्रा वर्ष मेरो जीवनबाट चिप्लेर गइसकेको तथ्य खोई किन हो कुन्नि मेरो मस्तिष्कले बोध गर्नै सकेको रहेनछ ।

इन्चार्जसँग सातदिनको बिदा मागेर म फुरुंग पर्दै गाउँको बाटोमा उडन थालेँ । मेरा खुट्टामा मानौ पखेंटा जडिएका थिए । बाटोभरि वरिपरि कतै फूल फुलेका थिए होलान् । आँखाले नदेखेता पनि त्यसको सुवास वातावरणमा चारैतिर फैलिएको थियो । त्यसको परागको मदमा मन त्यसै त्यसै लठ्ठिन थाल्यो । आफ्नो ठाउँमा पुनरागमनको खुशीमा, आफ्नाहरूसँगको पुनर्मिलनको आनन्दमा मन उद्वेलित भइरहेको थियो ।

तर पनि किन छिन् छिन्मा मनमा कता कता कस्तो कस्तो झस्को पस्न छाडेन ? मलाई किन होला त्यो सिँगै परिवेशमै एउटा नराम्रो उराठ कतै व्याप्त छ भन्ने भावले पनि सँगसँगै पछ्याइरहेको थियो ।

जीउ थाकेर हो कि अव्यक्त डर, आशङ्काले मन चिसो चिसो हुँदै आएको थियो ।

“हैन बा बिरामी त हुनु भा’ छैन ?” खोला तर्नेबित्तिकै आफ्नो तीन बाली हुने, पानी लाग्ने गैरी खेत बाँझो भएर पट्पटी फुटेको माटो देखेर मेरो मनमा नमिठो झस्को पस्यो । आशङ्का रूपी प्रश्न स्वतस्फूर्त रूपमै मनमा उब्जिन पुग्यो । “स्कुलाँ मास्टर भए तापनि बा का बाँकी समय आफ्ना खेत स्याहार्न मै बित्ने गर्थे । उहाँका दक्ष हातहरूले आफ्ना खेतमा मानौँ ! सुनै उब्जाउँथे । । आफू पढेको हुनाले उन्नत कृषिलाई गाउँमा बाले नै भित्र्याउनु भा’को त थियो नि ! त्यस्ता हातका माया पाएका खेत कोरीबाटी गरेकी सुक्सुकाउँदी बैंसालु कन्या जस्ती हुन पुग्थ्यो । तर अहिले किन होला खेत बाँझै रै’छ ?”

आफ्नो खेत मात्रै किन र अरू खेतहरू पनि प्राय बाँझै रै’छन् । हैन गाउँलाई खेती नगर्ने कुन हावाले छोयो होला ? मनले कल्पनै गर्न सकेन । गाउँकै सीमाभित्र पसिसक्दा पनि अहिलेसम्म कोही पनि नभेट्दा मेरो मन चकित न’भा पनि त थिएन नि ।

बालाई फूलको सारै सोख थियो । सयपत्री, मखमली, गर्दौलो, लाहुरे फूलहरू पालै पालो फुलेर हाम्रो आँगन चहकीलो भएको टाढैबाट देख्न सकिन्थ्यो । अझ बाले कताबाट हो कुन्नि रातो रङ्गको बेगमकली ल्याएर रोप्नु भा’थ्यो । घरको छानोसम्म पुगेको रातो रङ्गको त्यो फूल वर्षको छ मैनासम्म ढकमक्क फुलेर हाम्रो घरलाई झनै रहरलाग्दो तुल्याउँथ्यो । तर के भो होला अहिले रातो रङ्ग कतै देखिन्न ! जता हेरे पनि उराठलाग्दो घुर्मैलो रंगले हाम्रो गाउँलाई, हाम्रो खेतलाई छपक्कै छोपेछ । ”

गोठ लडनै लागेको रै’छ । खोई कहाँ गए हाम्रा ती दुई हल गोरु ? आम्मै आँगन किन यस्तो विरूप ? कस्तो जथाभावि झार उम्रेको ? यो आँगन नबढारेको वर्षौँ वर्ष भा’ जस्तो पो छ । बिहान बेलुकी गरेर दिनको दुईपल्ट बढारकुढार गर्ने आमालाई के भयो ? अनि बैनी नि ?

शून्यता छाएको निस्तब्ध घरमा पुग्दा म डरले त्यसै त्यसै अधमरोजस्तो हुन पुगेको थिएँ । म त्यहाँ पुग्दा मध्यान्नै थियो, तापनि त्यहाको निर्जन र चकमन्न वातावरणले म डराएँ । अन्यौलग्रस्त भएँ । के भयो ? सबै जना घर छाडेर अन्तै बसाईं सरेर जानु भएको हो कि के होला ?

किंकर्तव्यविमूढ भएर उभिरहेको अवस्थामै मूल ढोका अनायासै घरक्क उघ्रियो । तीलचामल भएको कपाल र चाउरीले भरिएको फुङ्ग उडेको अनुहार भएकी वृद्धा निस्किन त्यहाँबाट ।

अकस्मातै घटेको घटनाबाट हामी दुवै झस्किन पुग्यौँ । न मैले त्यो सुनसान घरको ढोका खोलेर कोही फुत्त निस्केला भन्ने सोचेको थिएँ । न त तिनले नै त्यो एकान्त ठाउँमा कोही बाहिर उभिरहेको होला भन्ने कल्पनै गर्न सकिन । म भूतको उपस्थितिको सोचले तर्सिएँ । उनी पनि कुनै अवाञ्छितको उपस्थितिको डरले डराइन क्यार ।

न मैले, न त उनैले पहिलो दृष्टिमा एकअर्कालाई चिन्न सक्यौँ । चिनेपछि बलिन्द्र धारा आँसुले हामी दुवैले आ–आफ्ना दुःख पखाल्ने प्रयत्न गरिरह्यौँ । गोलो रातो टीका बीच निधारमा लाउने, राम्री न राम्री, गोरी उज्याली देदिप्यमान मेरी आमा त्यस्ती वृद्धामा परिणित भइहोलिन् भन्ने कुरो यत्रो वर्ष मेरो कल्पनामै कहिले पो आएको थियो र !

“बाबु, मेरो मुटुको टुक्रा ! तँ काँ गा’थिस् हामीलाई छाडेर ? खुट खबर केही नछाडेर तँ काँ अलप भा’को ? तँ लाउरे हुन गा भए हामलाई भनेर गा भा’ हुने । यस्तो अत्तोपत्तो केई नदिई यत्रो वर्षसम्म त्यसरी हराउने पनि हो त ? हाम्रो माया किन नलाऽ तँलाई ? तँ नभा’बेलाँऽ याँ’ गाउँमा के के भो तँलाई था छ ? हिक्का छोडेर रुँदै गरेकी आमाले अड्किंदै मसँग प्रश्न गरिन् ।

म के भनुँ ? के नै जवाफ थियो र मसित ! आमाका आँखाबाट उर्लेको भेल अनि भक्कानिएको मनबाट कुराहरू प्रष्ट निस्कन पनि सकेका थिएनन् । बा अब हुनुहुन्न भन्ने संवेदनाको तीखो सुइरोले मेरो मुटुको भित्री तहसम्म छेडियो । रक्ताम्य भएको मुटुबाट निस्केको भल आँखासम्म आएर गह पुरिएपछि मेरो लागि मध्यान्नको चर्को घाम पनि बर्सिन लागेको मेघसरी भइदिएछ ।

“तेरा बालाई यिँ निरी आँगनमा छप्काए, ती जङ्गलीले ! के चाइयाथ्यो कुन्नि तिनरुलाई त्यस्तो असल तेरा बालाई नचाइने फत्तुर लाए । सुराकी रे तेरा बा ! कल्ले के लाइद्यो कुन्नि ! कसको रिस इबिमा परे कुन्नि ! ती जङ्गलीले बित्थामा उनको परान लिए । ” गोरा खाइलाग्दा मेरा बाका निर्दोष अनुहार मेरो आँखाअगाडि झल्झली आयो । “त्यही भएर पो हाम्रो घर यस्तो उजाड भा’ रै’छ । आफ्नो कामबाहेक अरू केही नजान्ने मेरा बालाई कसले नचाइँदो आरोप लायो ? उनीजस्ता गौ प्राणीको ज्यान लिन कसको हात अघि स-यो ?” एक्कासि पाएको अप्रत्यासित सूचनाले मेरो मुटु कामीको आरनजस्तै चल्न थाल्यो । “त्यस्तो चित्त चुँडाउने घटना मेरी आमाले कसरी सही होलिन् ? मेरी सानी बहिनीलाई कस्तो भो होला ? अहिलेसम्म यिनीहरू कसरी बाँचे होलान् ? कसले इनिहरूलाई सान्त्वना दिए होलान् ? बिचरी ! यतिखेर बल्ल आएर आफ्नो मनको बह भन्न पाइन् । यतिकासम्म आफ्ना यी डरलाग्दा उकुसमुकुसहरूलाई मनमै कसरी राखेकी होलिन् ? उनलाई कति गाह्रो भयो होला ?”मेरो मन अत्यासले त्यसै त्यसै भरंग हुन पुगेको थियो । त्यसमाथि त्यत्रो घटना घट्दा आफू आफ्नो परिवारबाट टाढा रहेको तथ्यले मेरो मनमा ग्लानि भेलसरी बग्दै आयो । मेरा हात खुट्टामात्र होइन मस्तिष्कदेखि मुटुसम्म शिथिल हुन पुग्यो । वातावरणलाई अझै नरमाइलो तुल्याउँदै घरको धुरीमा बसेर एउटा काग कर्कश स्वरमा एकनासले कराइरहेको थियो ।

“त्यस्ता पशुसँग हामीले तेरा बालाई केही नगर्न बैनी र मैले कर जोरी विन्ति ग-यौँ । हातपाउ जोरेर उनरका अगाडि लम्पसार प-यौं । तर त्यस्ता ती विवेक नभा’काहरूले हाम्रो विन्तिभाउ सुन्दै सुनेनन् । हाम्रै अगाडि उनलाई यै आँगनमा सिध्याए । इः यहीँनिर त हो नि उनको रगतको आहालै बनेको थ्यो ।”

अनि तिनरले त्यो बालक, तेरी बैनीलाई पनि छाडेनन् । बाउकै लासको अगिल्तिर तिनरले उसलाई गर्नु नगर्नु गरे । म अभागीको कस्तो फुटेको कर्म रै’छ । आफ्नै अगिल्तिर आफ्नो खसम रेटिएको हेर्नु प-यो । त्यतिले नपुगेर यै आँखाले आफ्नी बालख छोरीलाई ती नराधमहरूले कुकर्म गरेको देख्नु प-यो । म अभागीको …त्यस्तो त्यस्तो देख्नु पर्दा पनि भुतुक्क भएर मर्न सकिनँ । बाबु ती जङ्गलीहरू त मानिसको भेषमा राक्षस पो रै’छन् । नभए त्यस्तो दुष्कर्म कसले गर्छ र !” कहिलेदेखि थुनिएको बाँध थियो कुन्नि । आड भरोस पाएपछि असमेल बाढी भएर बग्न थाल्यो । अनुभूतिले विगतको घटनाको भयानकता अनि बीभत्सतालाई मलाई अँगालोमा चपक्क बेरेकी मेरी आमाको मनमा हरियो पारिदियो । आफ्नोपनको सबल छहारीमा बल्ल उनका दुःखहरू बौरिन थाले ।

आमा बोल्दा बोल्दै उहाँ अचेत भइन् । मैले बिस्तारै उनलाई पिँढीमा लगेर बसाएँ । गोजीबाट रुमाल झिकेर उनलाई हम्केँ । आफ्नो कुममा झुन्डिएको तुमलेटको पानी छ्यापेँ । बिस्तारै उनलाई होस आयो । बिचरी मेरी आमा ! यतिका वर्षसम्म यत्रो दुःख मुटुमै थुनेर कसरी बस्न सकेकी थिइन होला !

“त्यसपछि त बाबु बैनी कति कतिसम्म छिन छिनमा मुर्छा पर्ने हुन थाली ।” मेरो छातीमा अढेसिएरै आँखा चिम्लेरै उहाँका अस्पुष्ट स्वरहरू निस्कन थाले ।

“बौरिएको बेलामा पनि सधैँ ऊ के सम्झेर हो कुन्नि मुठ्ठी कस्थी । दाँत किट्किटाउँदै बर्बराइरहन्थी । पछि त ऊ हिँडी । बालाई मार्ने ती जङ्गलीहरूसँग बदला लिन्छु भनेर सेनामा भर्ना हुन गई । तल्ला घरे सन्तेले सेनामा आइमाई पनि माग्या छ भन्ने कुरा सुनाथ्यो । त्यै सुनेपछि खान सुत्न छाडेर गई । चार वर्ष भो बाबु ऊ गा पनि । कस्ती भइहोली !” पुरानो कुराले आमाको मन कोत-योे । मुटुमा गाँठो परेर आयो । उहाँ फेरि बोल्नै सक्नु भएन ।

धेरै बेरसम्म आमाको आँखाबाट बर्बर्ती आँसु झरिरहे । म के भनेर उहाँलाई सान्त्वना दिऊँ मैले बुझ्नै सकिनँ । के भन्नु मैले ! मेरै मनको आकाश घनघोर कालो मेघले टम्म ढाकिएर आएको थियो ।

“कसले मेरो परिवारलाई यो अवस्थामा पु-याएको होला ?”एक एक गरी विभिन्न अनुहारहरू मेरो मानसपटलमा उदाउन थाले । “को होला मेरो बालाई मार्ने ? को होला मेरी त्यस्ती सानी बैनीलाई मरेतुल्य पार्ने । घरबाट उठीबास लाउने ? मेरी आमालाई जिउँदै मार्ने ? मेरो सिङ्गै गाउँलाई मुर्दा गाउँ तुल्याउने ? नाम त थाहा पाउँ तिनीहरूको कस्तो हुर्मत लिने छु । तिनीहरूले बुझ्ने छन् । ”

मलाई एक्कासि चरम रिसको अनुभूति हुँदै आयो । मुटुको ढुकढुकी त्यस्सै त्यस्सै बढेर आयो । थाहै नपाईकन मुठी कसियो । रिसले दा-हा किटिन थाल्यो ।

तर…तर के मैले त्यसरी रिस देखाउन मिल्ला ? यहाँ मेरो गाउँलाई कोही अरूले भत्कायो । मेरो बालाई कोही अरूले मा-यो । मेरी बैनीलाई कोही अरूले बलात्कार ग-यो । तर..तर अन्त मैले आफै के गर्ने गरेको थिएँ त ? मनभित्र कसैले मलाई चोर औँलो ठड्यायो ।

ती मेरा गाउँ थिएनन् रे । ती मेरा बाउआमा थिएनन् रे । ती मेरा दिदी बैनी थिएनन् रे । तर अन्त ती सबैलाई मैले पनि त्यही गर्ने गरेको थिएँ होइन र ? । तिनीहरूका परिवारका छोराहरूले पनि मेरो कृत्यका लागि मलाई सिध्याउन दा-हा किटेनन् होला ? मुठी कसेनन्
होला ?

“आमा, बैनी काँ’ छे त अचेल ? कि…..त्यो भन्दा बढी मेरो मुखबाट निस्किनै सकेनँ । कठै मेरी त्यस्ती सानी बैनीलाई तिनीहरूले ………

“अस्ति भर्खर ऊ पल्लो जिल्लामा छे भन्या सुने पछि मैले उसलाई भेट्न बोलाथेँ बाबु । आजभोलिनै आउँछु भनेर खबर पठाकी छे । लोकतन्त्र आ पछि त अ‍ैले उनरूलाई पनि हलौँ भा छ रे । लौ रामै्रे भो ! उल्ले पनि आउँछु भन्नु, अनि तँ पनि आइपुग्नु ! भोलिसम्म त आइपुग्छे होला । अब बल्ल मेरो छाती हलौँ हुन्छ ।

तँ फेरि हामीलाई छाडेर न जा है । अहिलेसम्म यो परान तेरै मुख हेर्नाको लागि धानेर बसेकी थेँ । फेरि तैँले छोडेर गइस् भने यो एक मुठी सास बाँकी रहन्न बाबु ! म अनाथलाई अब एक्लो नपार । बिन्ती छ अब तँ यैँ बस् । अब त तेरो बिहे गर्नु पर्छ । अनि बा नभा पछि त्यस्सै बाँझै छाडेका खेतहरू तैँले स्याहार्नुपर्छ । अब त देसाँ शान्ति भो रे । फेरि जङ्गलीहरूले दुःख त नदेलान् नि हगि ?” हिजो आएर बल्ल मैले आमासँग राम्ररी कुरा गर्न सकेको थिएँ ।

“साँच्चि बैनी ले त सँगै काम गर्ने जवानसँगै बिहे गरी रे भनेर सन्ते भन्दैथ्यो । पल्ला गाउँको बिष्टको छोरो रे । एकपल्ट जङ्गलीहरूले गरेको आक्रमणमा परेर गोली लागेर त्यसले झन्डै ज्यान गुमाएको थ्यो रे । हाम्री नानीले उसलाई बचाएकी रै’छ । म तिमीसँगै बिहे गर्छु भनेर उसले ढिपी कसेछ । त्यही भएर बिहे गरेका रे ।”

आमा एकोहोरो बोल्दैहुनुहुन्थ्यो । मेरो मनमा झट्ट त्यही रातको घटना दोहोरियो । त्यो जोडी आँखाको साथीलाई पनि त गोली लागेको थियो । मैले झम्टेर छोडेपछि उसले आफ्नो साथीलाई के गरी होला ! उसको साथी म-यो कि, वा बाँच्न सफल भयो ? अनि ऊ नि ? उसको के भयो होला ? अहिले ऊ कहाँ होली ?

बा का रगतमाथि आमाले कुचो कसरी लाउनु ! त्यही भएर त्यो दिनपछि हाम्रो आँगनमा बर्षौं भएछ कुचो नलागेको । छोरा भएको नाताले मैले त्यही आँगनमा विधि पु-याएर बाको काजकिरिया गर्नुपथ्र्यो । अनिमात्र उहाँको आत्माले शान्ति पाउँथ्यो । अनि बल्ल हाम्रो आँगनमा कुचो लाउन सकिन्थ्यो ।

गाउँभरिको कोही सुराकीको आरोपमा मारिएछन् । कोही उनीहरूकै बन्धकी भएर उनीहरूले थोपरेको अभियानमा बलपूर्वक लाग्न भनी लगिएछन् । उनीहरूकै डरले कति त मुग्लान पसेछन् । गाउँ कर्मको भोग भोग्न बाध्य भयो । बाँझो हुन र बेसाहारा छोडिन बाध्य भयो । लहलह बाली झुलेको खेतबारी पनि उनीहरूकै पेवा हुन थालेपछि कसले गर्नु खेती ! त्यसमाथि खेतिबारी गर्ने दरा हातहरू अनि जोसिला मनहरू कि त मारिए, कि त अपहरित भए । गाउँका बस्तुभाउहरू पनि उनीहरूले बाँकी राखेनछन् ।

यसरी अलपत्र परेको गाउँमा त्यसै गरी अलपत्र परेका बूढाबूढीबाहेक अरू कोही रैनछन् । बाँकी कि त जङ्गल पसे वा पस्न बाध्य पारिए । कोही सरकारी सिन्दूर लाउन हिँडे । कोही ती दुवै पक्षबाट गरिएका हिंसाका सिकार भए । अनि बचेका ठूलै समूह ज्यान बचाउँदै अर्काको देशमा पसे । आफ्नो अस्तित्वलाई बन्धकी राख्दै अर्काको हेलाँ होचो सहन तल्तिर झरे । पापी पेट भर्न र दुई मुठी सास धान्न मुग्लान पसे ।

गाउँको अवस्थाले मन सारै कुँडियो । तापनि यतिकै हात बाँधेर बस्न सकिने कुरो थिएन । जे भो भो ! अब यी दरा हातहरूले आफ्नो माटो स्याहार्नु पर्ला । आफ्नो गाउँलाई पहिलेकै जस्तो बनाउनु पर्ला । बाले गरिआएका कामहरू अब आफूले गर्नुपर्छ ।

हुन त तिनीहरूले मलाई जम्मा १५ दिनको बिदा दिएका हुन् । म त्यहाँ फर्किन भने तिनीहरूले मलाई अटेरी गरेको भनेर कारवाही गर्न बेर नलाउलान् । जे त होला म अब फर्केर फेरि त्यहाँ जान्न । आखिर तिनीहरूले पनि यत्रो विद्रोह यही देशको मुहार फेर्नका लागि त गरेका हुन् नि । अब आफ्ना यिनै दरिला हातले म पनि आफ्नो गाउँको मुहार फेर्ने छु । अब फेरि त्यही लुटपाट, त्यही हत्या आतङ्क, चन्दा माग्ने कामहरू म गर्दिनँ । भो पुग्यो ! मेरो गाउँलाई अहिले म चाहिएको छ ।”

यिनै कुराहरू सोचेर मैले आफ्नो जीवनको दिशा परिवर्तन गर्ने दृढ विश्वास लिएको थिएँ । मेरो विश्वासमाथि लालमोहर लगाउन मेरी बैनी पनि त फर्केर आउँदै थिई । साँच्चि ! बैनी कत्री भई होली ? मैले ल्याई देको घाँघर त त्यल्लाई ठीक होला र ! उसै पनि बिहे गरेकी केटी अब घाँघर त के लाउली ! तैपनि सेनामा गएकी मान्छे, पाइन्ट लाउनेले घाँघर नलाउली पनि भन्न सकिन्न नि । बरु त्यल्लाई ठीक पो हुने हो कि होइन ! किन्न त मैले अलि ठूलै किनेको छु ।

मेरो पाखुरीको बलले बल्ल आएर सही निकास पाउन थालेको थियो । आज बिहानै बाले सुन फलाउने गैरी खेतलाई थोरै भए पनि मेरो पसिनाले अभिसिंचन गरेको थियो । बन्दुक समाएर दरा भएका मेरा हातले बल्ल कोदाली समाएको थियो ।

आफ्नो खेतको डल्ला फोरिरहँदा जीवनमा त्यस्तो अगाध आनन्द मलाई पहिले कहिले पनि अनुभूत भएको थिएन । खेत पनि मेरो हातको स्पर्सले अभिभूत भयो नै होला । यतिका वर्षदेखि बाँझै रहेको खेत ढुङ्गोभन्दा पनि साह्रो भएको रै’छ ।

दिउँसो भात खाँदै गर्दा आँगनमा कल्याङमल्याङ सुनेर आमा बाहिर निस्कनु भो । हर्षातिरेकमा निस्केका उहाँका खुशीका उद्गार सुनेर म पनि खाँदाखाँदैको भात छाडी जुठै हात लिएर बाहिर निस्केछु । खैरो रंगको कुर्तासुरवाल लाएकी एउटी केटीलाई आफ्नो छातीभित्रै लुकाउँछु भने झैँ गरी अँगालोमा च्यापेर आमा विव्हल भएर रुंदै हुनुहुन्थ्यो । अँगालोमा च्यापिएकी केटी उसैगरी रोइरहेकी छ भनेर उसको चर्को रोदनले बताइ नै रहेको थियो । सँगै उभिएको एउटा लोग्नेमान्छे किंकर्तव्यविमूढ भएर त्यो दृश्य हेरिरहेको थियो ।

मेरी बैनी आइछे । आफू गाउँ मै भइरहेको भए पारि गाउँको यो विष्टलाई मैले चिन्थें नै होला । तर राम्ररी हुर्किनसक्दै मैले गाउँ छोडन प-यो । त्यही भएर मैले यो केटोलाई चिनिनँ ।

बैनी कति ठूली भइछे । मनले उदेक मान्यो । बाजस्तै अग्लो ज्यानकी भइछे । मैले मेरी बैनी बढदै गरेकी देख्नै पाइनँ । अन्त कतै भेटे पछाडिबाट त मैले चिन्नै नसक्ने रै’छे । अगाडिबाट कस्ति देखिन्छे कुन्नि ! मेरो मनभरि सम्झनाकी उही पुरानी मेरो दौराको फेर समाउंदै हिँडने सिँगानी बैनी आइरही । उसमा आएको यत्रो परिवर्तन, मैले सोच्नै कहाँ सकेको थिएँ र ! नत्र यत्री भइसकेकी बैनीलाई म घाँघर लिएर के आउँदो हुँ !

रुँदारुँदै बल्ल आमाले मलाई सम्झिनु भो । “नानी दाइ पनि घर आयो नि बा !”

आमाको सूचनाले बैनीमा तत्कालै प्रतिक्रिया पैदा गरायो । ऊ झ्वाट्टै मतिर फर्की । आँसु टम्म भरिएका आँखाहरूमा के कस्ता भावहरू थिए मैले राम्ररी खुट्ट्याउन सकिनँ । तर उसका ती जोर आँखासँगको साक्षात्कारले मेरो जीवनमा तत्क्षणै ठूलो पहिरो ल्याइदियो । नाङ्गो र विभत्स सत्यको सैकडौं सुइरोले मेरो शरीरलाई छिया छिया पार्न थाल्यो । कसैले घाँटी थिचेको हो कि भनेझैँ मेरो सास अवरुद्ध हुँदै आयो । उकुसमुकुस हुन थाल्यो ।

आफूले आफ्नो अभिष्ठ ठान्दै आएको तिनै एक जोडी आँखा यतिखेर मलाई विस्फारित भएर हेरिरहेका थिए । “भगवान् अहिले नै यो भुईं फाटोस् । अनि त्यसले यही क्षण मलाई आफूभित्र समाहित गरोस् ।”मेरो मनमा आएको पहिलो भाव त्यही थियो । मबाट अन्जानमै कत्रो ठूलो पाप हुन गएको रहेछ ! यो तथ्यबोधले म तत्कालै अधमरो हुन पुगेँ । त्यही भएर होला मैले बैनीको आँखामा सोझै हेर्न सकिनँ । मुटुमा ठूलो पहिरो गयो । त्यही भएर मेरो अनुहारमा अत्यास जरुवाझैँ फुटेर आयो होला ।

मेरी बैनीको अनुहारमा पनि स्वागतको भाव मैले शीला खोज्दा पनि पाउन सकिनँ । उसको मुखाकृतिले देखाइरहेको संशय, अपरिचय अनि कता कता देखिएको रिसले उसको र मेरो मुटुको बीचमा एउटा बलियो तगारो लाइदियो ।

“दाइ, हामीमाथि यत्रो विपत्ति आई लागुन्जेल तिमी कहाँ थियौ ?”उसको ठाडो प्रश्नले मेरो मुटुमा हजारौँ प्वाल पारे । म के भनुँ म कहाँ थिएँ भनेर । हाम्रो परिवारमा मात्रै किन र , हाम्रो सिङ्गै गाउँमा, अझै भनौ यो सिङ्गै देशैमा आइ लागेको यत्रो विपत्तिको कारक परोक्ष रूपमा म पनि त थिएँ नि । तर त्यो मेरो इच्छित थियो र ? जुन चक्रव्युहमा म परेको थिएँ, त्यसबाट के म सजिलैसँग निस्केर आउन सक्ने परिस्थिति थियो र ? जाने बेलामा पनि म आफ्नो इच्छाले गएको थिएँ र ?

बाको मृत्युको जिम्मेवार मैले आफूलाई नठानेता पनि अर्को कुकर्मको जिम्मेवार त म पक्कै पनि थिएँ । आफूमा पशुत्व चढेको बेला अनजानमै मैले मानवतामाथि कलंक लाउने काम गरेको रहेछु , त्यसको लागि मैले प्रायश्चित गर्नै पर्छ । अब मैले बाँच्नुको अर्थ नै के रह्यो र ?

औपचारिक कुरोबाहेक बैनीले मसँग नजिकिने चासो देखाइन । उसको प्रवल शत्रुहरू कै पक्षको व्यक्ति हुँ म भन्ने कुरो उसले भेउ पाई क्यार !

मैले पनि ऊसको नजिक जाने आँट गर्न सकिनँ । विडम्वना पनि कस्तो ! जुन पक्षले मेरो परिवार ध्वस्त पा-यो । मेरो बैनीको जीवन तहसनहस पा-यो, म तिनैका भरपर्दो कार्यकर्ता थिएँ । पश्चाताप र ग्लानीले मलाई खर्लप्प निल्दै आएको थियो । विभत्स यथार्थको हजारौँ बिच्छीले मलाई डस्न थाले । दाहको औडाहले मेरो छटपटि प्रतिपल बढन थाल्यो । म त्यहाँ बसिरहनै नसकेर रन्थनिँदै यस निर्जन वनमा आइपुगेको थिएँ । अब यही भीरबाट फाल हालेर मर्नुबाहेक मेरो अरू कुनै उपाय बाँकी रहेन ।

“मबाट ठूलो पाप हुन गएको छ । त्यस पापको प्रायश्तिको लागि अब मेरो लागि मर्नुभन्दा बाहेक अरू कुनै उपाय छैन ।” मेरो मनले बारम्बार यही भनिरहेको थियो । तर म यस्तो परिस्थितिमा फसेको छु , जहाँ मेरो लागि मर्न पनि सजिलो छैन । बरु म यहाँ नआएको भए हुन्थ्यो । तर अहिले मलाई देखेपछि कैयौँ वर्षदेखि मुर्दासरी हुनु भएकी आमामा बल्ल बाँच्ने उत्साह पलाएको छ । मेरो उपस्थितिले आमामा मात्र होइन यो सिंगै गाउँमा केहीमात्रामै भए पनि जीवन फर्केर आएको छ । यहाँका माटोहरूले सास फेर्न पाएका छन् । म यहीँ भइरहेँ भने मेरो यो जन्म थलोले पुनर्जन्म पाउने छ भन्ने निर्विवाद हो । यस्तोमा म फेरि हराएँ भने मेरी आमामात्र होइन मेरो माटो पनि निष्प्राण हुन पुग्दछ ।

एउटा अपराध त अनजानमा मबाट भयो भयो । अब अर्को अपराध मैले जानी जानी गर्नुहुन्छ कि हुँदैन । मेरो मन बारम्बार यही प्रश्न गुन्जिन थाल्यो । मेरो मृत्युको खबर मेरी आमाको लागि पक्कै पनि मृत्युदायी हुनपुग्छ । यत्रो वर्ष अधमरो भएर बाँचेकी मेरी आमालाई यसरी मृत्युदण्डको सजाय मैले दिनुहुन्छ ?

फेरि मबाट जुन अपराध भयो त्यो मैले जानेर गरेको अपराध हो र ? मैले थाहा पाएर रगतको साइनोलाई कलंकित पारेको हो र ? त्यतिखेर मेरो अगाडी उभिएकी नारी मेरी बहिनी हो भन्ने मलाई अलिकति पनि सुईंको भएको भए मेरा पाइला उसकातिर बढथे होलान् र ?

त्यतिखेर मैले जे जे गरेँ तिनै कार्यहरू गर्नका लागि म प्रशिक्षित गरिएको थिएँ । ती कार्यहरू गर्नु मेरो कर्तव्य थियो । बाल्यावस्थामै आफूहरूसँग लगेर उनीहरूले मेरो मस्तिष्कलाई एकोहो-याएका थिए । त्यस कारण जे भयो त्यसको लागि मैले आफूलाई मात्र दोष दिनुको साटो त्यसलाई परिस्थितिले खेलेको एउटा कू्रर खेल ठानेर बिर्सिदिनुपर्छ । मैले असहाय भएकी मेरी आमालाई बलियो भरोसा दिनु पर्छ । टुहुरी भएकी मेरी बैनीलाई बलियो संरक्षण दिनु पर्छ । यत्रो वर्षसम्म बाँझो भएको छ मेरो खेत । आफ्नो पसिनाले सिञ्चन गरी यसलाई नवजीवन दिनुपर्छ ।
अहँ मैले मर्नु कदापि हुन्न । अनजानमा गरेको पापको प्रायश्चितको लागि मैले आफू मरेर जानाजान मेरा आफ्नाहरूलाई पीडाको आहालमा डुबाउनु हुँदैन । त्यसको साटो आफू बाँचेर उनीहरू लाई सुख दिनु अहिलेको अवस्थामा मेरो कर्तव्य हो । अघिदेखि मर्नु न बाँच्नु भएको मेरो मन यही निक्र्योलमा पुग्यो ।

आफ्नो निर्णयप्रति सन्तुष्ट भएको मेरो मनका सबै आवेग र उद्विग्नहरू अहिले शान्त र स्थिर भएका छन् । अन्तरहृदयमा भएका सबै कलुशहरू पखालिएर मन अहिले स्वच्छ भएको छ । यही टाँकीको फूलजस्तै शुभ्र, पवित्र र कोमल । मेरी बैनीका दुई आँखाजस्तै निष्पाप….

स्थिर र हलुको मन लिएर म उठेँ । एउट दृढ अठोटका साथ मेरा पाइलाहरू मेरो घरको बाटोमा लम्किंदै छन् …लमक लमक… । अनि मलाई बाटो देखाउन कै लागि पो हो कि, आकाशमा शुक्र तारा झलमल्ल उदाइसकेको रहेछ ।

illya_bhattarai@hotmail.com
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.