Mero Tharu Gaun / Mahesh Bikram Shah

No votes yet
पोहोरको दसैं गाउँमा मनाएका थियौं । फर्किने बेला साथी सोनालाल चौधरीले भनेको थियो, ‘और साल पे आइहो । तु आइठ त एकदम मजा लागठ ।’ म धेरै वर्षपछि कैलाली जिल्लामा अवस्थित मेरो गाउँ भंग्रैया गएको थिएँ । गाउँका मुखिया बडघर राजेन्द्रले यसपालि गाउँका युवायुवतीहरूलाई भेला पारेर सखिया नाचको चाँजोपाजो मिलाएका थिए । ‘गाउँका केटाकेटीहरूसमेत बम्बइया सिनेमा भन्यो कि भुतुक्कै हुन थाले । अब कसले नाच्छ सखिया नाच ?’ लोक संस्कृति हराउँदै गएकोमा उनी चिन्तित थिए । तैपनि उनले हरेस नखाई युवायुवतीहरूलाई सम्झाइबुझाई सखिया नाचको समूह तयार गरेका थिए । धेरै वर्षपछि गाउँलेका आँगनमा रातो ब्लाउज र सेतो लुंगीमा सजिएका तन्नेरी फूलहरूको हरर वासना फैलिएको थियो । मादलको घिन्ताङ र मजैराका स्वर लहरीहरूले हामीहरूको भग्रैया गाउँको परिवेशलाई दुई दशकअघि फर्काइदिएको थियो ।

पचासको दशकमा सशस्त्र द्वन्द्वले मुलुक आक्रान्त भएपछि पढे–लेखेका युवा सहर लागे । माओवादी विचारबाट प्रभावित केही युवा जङ्गल पसे । किसानी गरेर बसेका गाउँका युवा पनि राज्यपक्ष र विद्रोहीको चेपुवामा परिने त्रासले रोजगारी खोज्दै विदेश पलायन भए । गाउँ बाली चुटेर निख्रिएको खलिहानझैं खाली भयो । बन्दुकको डरले सखिया नाच्ने खुट्टाहरू चलमलाएनन् । गीतका पंक्तिहरू गुनगुनाउने कोकिल कण्ठहरू शुष्क बने । घरका आँगनमा जङ्गली झार उम्रियो । मेरो पनि गाउँसँग करिबकरिब नाता तोडियो । छ सात वर्षसम्म गाउँ जान सकिनँ म । धेरै वर्षपछि गाउँ फर्किंदा गाउँको रूप बदलिएको थियो । गाउँलेहरू आत्मकेन्द्रित बनेका थिए । कोही नयाँ मान्छे गाउँमा देख्यो कि तर्सिने द्वन्द्वकालको धङ्धङी बाँकी नै थियो । मलाई सबैभन्दा मन पर्ने रामलीला नाच एकादेशको कथा भइसकेको थियो । रामलीला नाचमा अभिनय गर्ने कलाकारहरू जसमध्ये धेरैजसो मेरा संगरिया थिए, तितरबितर भएका थिए, कोही जङ्गल, कोही अरब त कोही मुग्लान । बचेखुचेका युवाहरूमा पनि आफ्नो संस्कृतिलाई पुनर्जीवित गर्ने साहस थिएन । मेरो थारू गाउँ पहिलेको गाउँ रहेन । थारूका चाड, पर्व र लोकनाचहरू द्वन्द्वको मारमा पर्न थालेपछि गाउँ सातो हराएको मान्छेझैं देखिन थाल्यो । थारू लोक संस्कृति र परम्परालाई आत्मसात् गर्दै हुर्केको मेरो मन माघी चाडको रमझम र रामलीला नाचको छमछम बन्द भएपछि गाउँमा रम्न सकेन ।

गाउँमा विभिन्न जातजाति थिए । सबै एकआपसमा राजीखुसी मिलेर बसेका थिए । आपत्विपत् पर्दा सबै एकजुट हुन्थे । सबैले स्वच्छन्द भएर आफ्ना परम्परा र संस्कृतिलाई धानेका थिए । खेतीपातीको यामपश्चात् असोजदेखि घरघरमा मादल बज्न थाल्दथे । मादलको तालले चाड पर्वहरू आउन लागेको जनाउँथ्यो । वर्ष दिनको परिश्रमले लखतरान भएका थारू दाजुभाइ दिदीबहिनीहरूका अनुहारमा खुसीका मुना पल्लवित हुन्थे । रात्रिपख टाढाटाढाका गाउँबाट लाउडस्पिकरबाट आइरहेको बाजाको आवाजले हामीलाई उद्वेलित गथ्र्यो । हामीहरू लाउडस्पिकरको आवाजलाई पच्छ्याउँदै लौरो टेकेर अपरिचित गाउँहरूमा पुग्थ्यौं ।

पहाडीको घरमा झ्याउरे गीतको तालमा नाचिरहेका मानिसलाई मुग्ध भएर हेर्दै आनन्दित हुन्थे थारू दिदीबहिनी । दसैं–तिहारमा मेरा थारू साथीहरू मेरो घर आँगनमा जम्मा हुन्थे । हामी खसी, बोका ढाल्थ्यौं । जमरा र टीका लगाउँथ्यौं । थारूहरूको माघी त्योहारमा म मेरा थारू संगरियाहरूका घरघर चहार्थे । चुलो वरिपरि बसेर हामी बटुकाभरि माड र ढिक्री खान्थ्यौं । हामीलाई लाग्थ्यो कि माघी थारूको मात्र नभई हामी सबैको आफ्नै चाड हो । माघीमा थारू बठनियाहरू सखिया नाच नाच्थे । मादल बजाउने मृदङ्गिया हाम्रै साथी हुन्थ्यो । रातभर रामलीला नाच लाग्थ्यो ।

ओठमाथि जुँघाको रेखी कोरिन थाल्दासम्म पनि म गाउँमै थिएँ । म आफ्ना थारू साथीहरूसँग स्कुल जान्थें । दस कक्षा पुगुन्जेल कैलालीका धर्मापुर, मनुवा र टीकापुर स्कूलहरू चहारें मैले । ती सबै थारू बस्तीमै थिए । साथीहरू मात्र होइनन् मेरा कतिपय गुरुहरू पनि थारू थिए, जसलाई म सधैं हृदयदेखि सम्मान गर्दछु । स्कुलको छुट्टीमा हामीहरू गोठालाहरूको साथ लागेर गाई–गोरु र बाख्राका बथानसँंगै वन, जङ्गल, खेत, गरा, खोलानाला, नदी चहाथ्र्यौं । मेरा थारू संगरिया नै हुन् जसले मलाई पौडी खेल्न, रूख चढ्न, राँगाको पिठ्यूँमा बुई चढ्न, दाब्लोले डुङ्गा खियाउन, नदीमा माछा मार्न, झटारो हानेर रूखबाट फल झार्न सिकाए । बर्खाको उर्लंदो भेलमा भैंसीको पुच्छर समातेर नदी तर्न पनि मलाई मेरा थारू संगरियाले नै सिकाएका हुन् । म पहाडमा जन्में । तर पहाडको परिवेश मेरो भोगाइ हुन सकेन । बाल्यकालमा नै म तराई झरें । मेरो अविस्मरणीय भोगाइ बने कैलालीका थारू बस्तीहरू । अहिले लाग्छ थारू बस्तीका अनुभव र अनुभूतिको चास्नीमा चोपेर लेखिएका कथाहरूले नै मलाई कथाकार बनाएका हुन् ।

मेरो शैशव र युवाकालका ती थारू संगरियाहरू अहिले पनि गाउँमै छन् । म कहिलेकाहीं गाउँ जाँदा मलाई तिनीहरू प्राय: भन्ने गर्छन्, ‘तु तो वस्तह पलिबाटो हम्र त बूढा गैली ।’ गाउँको माटोको सुवास बोकेर मझैं उच्च शीक्षाको सिंढी चढ्दै आफ्नो जीवनको परिभाषा खोज्न काठमाडौंका चिल्ला सडकहरूको लम्बाइ, चौडाइ र गगनचुम्बी भवनहरूको अग्लाइ नाप्न सकेनन् तिनीहरूले । तिनीहरूको पुस्ता परिवर्तन भयो तर कर्म परिवर्तन भएन । हलो जोत्ने बाजेको नाति अहिलेसम्म पनि हलो चलाउने नियति भोगिरहेको छ । स्कुलमा पढ्दा मेरो साथी थियो हरेराम चौधरी, पढाइमा अब्बल । एकपटक कक्षामा पढेपछि फेरि किताब पल्टाएर हेर्नु पर्दैनथियो उसलाई । जाँचमा सधैं पहिलो आउँथ्यो ऊ । तर उसले एक दिन स्कूल छोड्यो । केही महिनापछि स्कुलबाट घर फर्किने बेला गाउँको डगरमा ऊसँग मेरो भेट भयो । उसले स्कुल छोड्नुको कारण सुनायो । उसको बा र काकाको परिवार एकैघरमा बस्दथे । काकाको एउटा छोरा थियो जुन भैंसी चराउँथ्यो । एक दिन काकाले उसका बालाई भनेछन्, ‘तेरो छोरो स्कुल जाने अनि मेरो छोरोले भैंसी चराउने ? पढाउने हो भने दुवैलाई हाल, नत्र एउटाले बाख्रा चराउँछ, अर्कोले भैंसी ।’ दुवैजनालाई स्कुलमा हाल्नुभन्दा गोठालो बनाउँदा घरको कामको बोझ हल्का हुने ठहर्‍याएछन् । अर्को दिनदेखि हरेरामले स्कुलको झोला कुनामा मिल्कायो र बाख्रा चराउन जान थाल्यो । धेरै वर्षपछि तिनीहरूको घर फुट्यो । अलिकति जमिन उसको हिस्सामा पर्‍यो, जुन उसका चार छोरासम्म आइपुग्दा आधा–आधा कट्ठा जमिन भागमा आयो । केही वर्षपछि हरेरामसहित उसका छोराहरू पनि कमैया भए । कमैया मुक्ति घोषणापश्चात् पाएको दुई कठ्ठा जग्गा पनि तिनीहरूले गर्जो टार्न बेचे । आजकल मेरो उमेरको हरेराम मक्किएको बूढो रूखझैं रोगले ग्रस्त भएर गाउँको झुप्रोमा बसिरहेको छ र उसका छोराहरू भारतको नैनीतालमा मजदुरी गर्दै छन् । म गम्भीर भएर सोच्छु, यदि हरेरामले त्यो नियति भोग्नु नपरी निरन्तर पढ्न पाएको भए आज ऊ कहाँ हुन्थ्यो होला ? उसले यो नियति भोग्नुको पछाडिको मूल कारण के हो ? पक्कै पनि एउटै समाजको सदस्य भएपछि कुनै वर्गको उत्थान हुने र अर्को वर्गले सधैं हेपिएर, पिल्सिएर रहनुपर्ने धेरै कारणहरू हुन सक्छन् । तर समाज स्वयंमा एक कारण हो । जबसम्म हामी स्वयं हाम्रो समाजमा आउने परिवर्तनका संवाहक हुन सक्दैनौं तब जस्तोसुकै बाह्य सहयोग र समर्थनले पनि समाज रूपान्तरण गर्न सक्दैन ।

मेरा मातापिता कैलाली, भग्रैया गाउँका बासिन्दा हुन आउँदा त्यसबेला गाउँमा हुनेखाने थारू परिवार धेरै थिए । पहाडी परिवार पनि थिए । हामीले गाउँका किसानको जग्गा किनेका थियौं । मेरी गृहिणी माता र जागिरे पिताको मूल उद्देश्य हामीलाई पढाउनु थियो । आफूहरूले दु:ख गरेर पनि छोराछोरीलाई शिक्षाको उज्यालोबाट वञ्चित गर्नु हुँदैन भन्ने उहाँहरूको भावना थियो । हामी सन्तानहरू मातापिताको भावनाबाट अभिप्रेरित थियौं । स्कूलको ठिटो छँदै मैले कविता, गीत, कथा लेख्न सुरु गरिसकेको थिएँ । भविष्यमा साहित्यकार बन्ने सपना थियो मेरो । मेरा थारू संगरियाहरू जो मसँगै स्कुल जान्थे, तिनीहरूमा पनि केही न केही प्रतिभा थियो । तर के तिनीहरूका आँखामा आफ्नो भविष्यका सम्बन्धमा कुनै सपनाहरू थिएनन् त ! के सपना देखेका थिए होलान् तिनीहरूले ? के तिनीहरूलाई सपना देख्न बन्देज लगाइएको थियो ? आज म जब गम्भीर भएर सोच्छु । मलाई छटपटी हुन्छ । औडाहा हुन्छ । तिनीहरूले कहिल्यै मसँग आफ्ना सपनाको चर्चा गरेनन् ।

मैले प्रवेशिका उत्तीर्ण गर्दासम्म मेरा थारू साथीहरू मबाट छुटिसकेका थिए । ऊनीहरूले स्कुल छोडिसकेका थिए । मलाई अझै सम्झना छ, मैले संगत गरेका केही थारू साथीहरूका आमाबाबु कैयौं बिघा जमिनका मालिक थिए । संयुक्त परिवारमा बस्थे । पचासौं हल गोरु थिए । दिनमा ठूलठूला कसौंडीमा कैयौं मुरी चामल पाक्थ्यो । रातदिन खानपान र नाचगान चलिरहन्थ्यो । तिनीहरूसँग कुनै कुराको कमी थिएन । तर किन हो किन तिनीहरूले आफ्ना सन्तानलाई उच्च शिक्षा दिन आवश्यक ठानेनन् । तिनका सन्तान दस कक्षा नपुग्दै स्कुल छोड्थे । छिटो बिहे गर्थे र केही वर्षपछि बच्चाहरूको कलरव घरभरि गुन्जिन थाल्थ्यो । तिनका श्रीमतीहरू छिट्टै बूढी हुन्थे । श्रीमान्हरू दोस्रो विवाहको सुरसार गर्न थाल्थे । पहिलो पुस्तासम्म कैयौं बिघा जमिनका मालिक रहेका थारू किसान तेस्रो पुस्तासम्म आइपुग्दा गरिब भइसकेका हुन्थे । छोरा र नातिहरूको सम्हालिन नसक्ने लर्कोले गर्दा परिवारमा छिट्टै अंशबन्डा हुन्थ्यो । पारिवारिक विखण्डनले एक वैभवशाली थारू परिवारका सन्तानहरू कालान्तरमा अरूको जमिन जोती खाने कमैयामा रूपान्तरित हुन धेरै पुस्ता कुर्नुपर्दैनथियो । यो कसको दोष हो ? राज्यको हो वा स्वयं थारू समुदायको ? म गम खाने गर्छु । मलाई लाग्दछ, यसको मूल जरो नै चेतनाको कमी हो । समुदायले आफूलाई समयसापेक्ष चेतनाको प्रवाहमा हेलिन सामथ्र्य जुटाउन सकेन भने अर्कातिर राज्यले उनीहरूको चेतना स्तर उकासेर देश विकासको मूल प्रवाहमा समेट्ने प्रयास गरेन ।

मलाई यसमा सन्तोष छ कि मेरा धेरै थारू संगरियाहरू हलो फालोको दुनियाँबाट मुक्त हुन नसके पनि तिनीहरूले सन्तानलाई शिक्षा दिएका छन् । एक दिन मेरो गाउँका बडघर राजेन्दरले मलाई सुनाए, ‘मेरो छोरोले डाक्टरीमा नाम निकाल्यो ।’ मलाई आफैंले नै नाम निकालेझैं खुसी लाग्यो । भनें, ‘तिम्रो छोरोले हाम्रो गाउँको नाम राख्यो बडघर ।’ हाम्रो खेती लगाउने किसानको छोरोले मेहनत गरी पढेर चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जमा एमबीबीएसमा नाम निकाल्नु कुनै चानचुने कुरा थिएन । हाम्रो छाती गर्वले चौडा भयो ।

००००००००

गाउँका बडघरले एक दिन मलाई फोन गरेर सुनाए, ‘टीकापुरको हिंसात्मक घटनापछि यहाँको अवस्था ठीक छैन । चौबीसै घन्टा कफ्र्यु लागेको छ । चारैतिर आर्मी र पुलिसको गस्ती छ । के हुन लागेको हो यस्तो ? हामीहरूले कहाँ, के बिरायौं ?’ बडघर रुन्चे स्वरले बोलिरहेका थिए । हाम्रो गाउँ टीकापुरबाट चार किलोमिटर उत्तर पर्छ ।

‘हाम्रो गाउँको अवस्था कस्तो छ बडघर ?’

‘हाम्रो गाउँ त शान्त छ । केही समस्या छैन । कसैले हामीलाई बहकाए पनि हामी बहकिंदैनांै । हामी थारू–पहाडी एक ढिक्का छौं ।’ बडघरको गर्विलो स्वर गुन्ज्यो ।

‘हामीबीचको एकता र सद्भावलाई खलबल्याएर, हामीहरूलाई लडाएर कोही आफ्नो स्वार्थपूर्ति गर्न खोजिरहेको छ बडघर । त्यो शत्रुलाई चिनौं र बेलैमा सचेत बनौं । थारू र पहाडी सम्प्रदाय पछिको कुरा हो, सबैभन्दा पहिले हामी नेपाली हौं । नेपालै नरहे हामी कहाँ नेपाली रहौंला र !’ मैले बडघरलाई अनुरोध गरें ।

‘यसपालिको दसैंमा आउनुहुन्छ त गाउँ ? हामी यसपालि तपाईंलाई मन पर्ने रामलीला नाच देखाउने तयारी गर्दैछौं ।’ बडघरको स्वरमा गाउँको अर्गानिक महक समाहित थियो ।

‘त्यहाँको स्थिति सुध्रिन्छ त बडघर ?’ मैले संकोच मान्दै सोधें ।

‘कतिन्जेलसम्म एकआपसमा अविश्वास गरेर बस्ने हो ? हाम्रा गाउँमा बाहिरबाट मान्छेहरू आएर बसिदिने होइनन् । न त हामी आफ्नो गाउँ छोडेर जान सक्छौं । हाम्रो गाउँमा हामी नै बस्ने हो । हामीहरू आफैं मिलेर यहाँको स्थिति सुधार्छौं । तपाईं आउनुभयो भने हाम्रो मन रमाउँछ नि ।’ बडघर दिल खोलेर बोलिरहेका थिए । यता भने मेरो कानमा रामलीला नाचका सुमधुर गीतहरू गुन्जिन थालिसकेका थिए :

‘अबहरू साजन हे चौधवर्षे राम वन बास रे हो ….!
…..सीता सीता कहिके पुकरनु, नही मिले सीता हमार….!!’

First appeared in Kantipur 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.