Pen-Friend / Maya Thakuri

No votes yet
penfriend story by Maya Thakuri
भित्र पस्नासाथ युवतीले आफ्ना ठूला ठूला नजर घुमाएर चारैतिर हेरी। अनि कुर्सीमा गइ बसी। उसका उत्सुक नजरले कसैलाई खोजिरहेको झैँ लाग्दथ्यो। ऊ बारम्बार आफ्नो नाडीमा बाँधिएको सानो घडीतिर हेर्दथी अनि फेरि ढोकातिर। समय पनि उही थियो जो मैले दिएको थिएँ। युवतीका हावभावले र उसका उत्सुकतापूर्ण नजरले कसैको खोज गरेकाले ऊ नै सुषमा हो भनी अन्दाज लगाउनमा मलाई केही दिक्क लागेन तर म भने मौन भएर बसेको थिएँ। म चाहेर पनि सुषमाका छेउमा जान सक्दिनथेँ ।

उसलाई सुषमा भनी बोलाउन सक्दिनथेँ। सुषमा। मेरी पेन फ्रेण्ड। आजभन्दा दुई वर्ष अघि एउटा मासिक पत्रिकाको मित्र स्तम्भद्वारा हामी एक अर्काको मनोभाव बुझिसकेका थियौँ। आह ! कति पीडामय भावनाले भरेका हुन्छन् उसका पत्र। कति मधुरता हुन्छ उसका पत्रमा। हामीले एक अर्कालाई नदेखेतापनि पत्रद्वारा एक अर्काका हृदयलाई देखिसकेका थियौँ छर्लङ्ग ।

आजभन्दा दुई वर्ष अघि मेरो जीवन कति शुष्क र नीरस थियो तर जब मैले सुषमालाई मित्र बनाएँ तबदेखि मेरो एकाकीपन मेटियो। मेरा ती उदास र लामा दिनहरू हराए। मैले एउटा असम्भव काल्पनिक महल बनाएँ र सदा सर्वदा त्यस महलको चारदिवारीभित्र आफूलाई एउटा साधकको रुपमा सजाएँ ।

मेरो नजर फेरि युवतीमा पुग्यो, युवती अँझ पनि घरिघरि ढोकातिर हेर्दै थिई। ऊ विचलित देखिन्थी। बीचरी सुषमा। कति आतुर नयनले ऊ मलाई पर्खिरहेकी छे तर म…। म भने उसका छेवैमा भएर पनि कति टाढा छु कति बिरानो छु। म उसको नजिक गएर सुषमा भनी बोलाउन चाहन्थेँ तर …तर म सुषमाका सुन्दर सपना टुटाउन चाहन्नथेँ। उसको कल्पना मेटाउन चाहन्थेँ। केवल एकपल्ट म उसलाई हेरेर, चिन्हेर मात्र फर्कन्छु भन्ने निश्चय गरेर नै त्यहाँ गएको थिएँ। मेरो शुष्क जीवनमा हरियाली ल्याउने, मेरो अँध्यारो पथमा प्रकाश ल्याउने, आफ्नो प्राणभन्दा पनि प्रिय सुषमालाई म गुमाउन चाहन्नथेँ। हराउन चाहन्नथेँ। मानिस बुढो भए ता पनि त्यसको मन कहिल्यै बुढो हुँदैन भने झैँ म पनि बुढो भएको थिएँ, मेरो अनुहार चाउरी परेर खुम्चिसकेको थियो। तर भावना अँझ चाउरिएको थिएन, खुम्चिएको थिएन। अँ म ६२ वर्षको एक बृद्ध पुरुष थिएँ। म एक्लो मानिसका निम्ति घर भाडा पर्याप्त थियो ।

युवा अवस्थादेखि नै म अलिक भावुक प्रवृत्तिको थिएँ। मेरो एकान्त समय पुस्तक, पत्रिका आिद पढेर बिताउथेँ। एकदिन एउटा मासिक पत्रिका पढ्दै गर्दा मेरा आँखा अनायासै एउटा कोलममा गएर रोकिए। त्यो थियो पत्र मित्र स्तम्भ। त्यहाँ अनेकौँ व्यत्तिले मित्रताका निम्ति आ– आफ्ना नाउँ, रुची, ठेगाना इत्यादि दिएका थिए। त्यसमध्ये एउटा नामले मलाई निकै आर्कषित बनायो। त्यो थियो, कुमारी सुषमा क्षेत्री। शिक्षा बी.एँ। आयु २१ वर्ष। अनि रुचि जो उसले रुचाउँदथी दिएकी थिई ।

किन हो म जान्दिन, मेरो नजर बारम्बार त्यस ठाउँमा गएर रोकिन्थ्यो। अन्तमा मैले चाहेर पनि आफूलाई रोक्न सकिन र सुषमालाई पत्र लेखेँ। तर पत्र लेख्दा म ६२ वर्षको होइन मात्र २५ वर्षको युवक भएर लेखेँ। साँच्ची त्यो पत्र लेख्दा मेले आफूले आफैँलाई बिर्सिएँ ।

पत्र डाकमा छोडेको केही दिनमा एक बिहान मेरो नोकरले नीलो खाम ल्याएर मेरो हातमा दियो। खाम बाहिर साना–साना सुन्दर अक्षरमा मेरो नाउँ र ठेगाना लेखिएको थियो। एक छेउ च्यातेर मैले पत्र झिकेँ। पत्र सुषमाको रहेछ। पत्रमा उसले मलाई मित्रको रुपमा पाएकोमा हर्ष प्रकट गरेकी थिई, साथै मेरो भावनाको खुबै प्रशंसा पनि गरेकी थिई। कति सुन्दर, कति सरल लेखाइ थियो उसको अनि उसका विचारमा कति सामञ्जस्य थियो मसँग। त्यो देखेर म स्वयँ चकित भएँ ।

दिन बिते दिनपछि सप्ताह अनि सप्ताहपछि महिना। यसैगरी। दुई वर्ष बिते। अब हाम्रो पत्रले मित्रताको सीमा नाघेर प्रेमको रुप लिइसकेको थियो। सुषमाको पत्रमा मैले एउटा कुरो सधैं नै अनुभव गरेँ। त्यो थियो, उसको जीवनप्रति उदासिनता। सधैं नै उसको पत्रमा कतै न कतै विवशता झल्कन्थ्यो ।

दुई वर्षको यो लामो अवधिभित्रमा मेरो हृदयले कतिपल्ट मलाई यस काल्पनिक स्वप्नदेखि ब्यूँझाउनको निम्ति घचघच्यायो। कतिपल्ट मैले मेरो यो अप्राप्य कल्पनालाई मेटाएर वास्तविकतामा ल्याउन चाहेँ। कति पल्ट मैले सत्य कुरा सुषमालाई अवगत गराउन चाहेँ। तर सुषमाका ती प्रेमले भरिएका सुन्दर भावमा डुबेका ती पत्रहरुले गर्दा मलाई वास्तविकतामा आउनलाई रोक्थे। म डराउँथे। जीवनको यस अवस्थामा पाएको खुशीलाई मेटाउनका निम्ति ।

सुषमाका पत्रले मेरो जीवनमा एउटा खास स्थान लिइसकेको थियो। यसको विना म मेरा ती लामा–लामा उदास बिरान दिनहरू बिताउन असमर्थ थिएँ। तसर्थ मैले उसको प्रत्येक पत्रको उत्तर दिँदै गएँ। दिदै गएँ, तर अस्ति भरखरै मात्र आएको पत्रमा सुषमाले मसँग भेट गर्ने इच्छा जनाएकी थिई। म छाँगाबाट खसेजस्तै भएँ। तर पनि मैले मेरो मनलाई बाँधेर केवल उसलाई एकपल्ट हेर्नको निम्ति निश्चय गरेँ अनि हामी दुवैको मतानुसार ऊ डिब्रुगढ देखि शिलाङ आएर बुधवारको साँझ ठिक ७ बज्नुभन्दा १५ मिनेट अघि म रेष्टुराँमा पसेँ। ठिक ७ बजे युवती भित्र पसी। मैले सुषमालाई हेरेँ। अब उसका अनुहारमा उदास देखिन्थ्यो। मलाई उसको त्यो अँध्यारो अनुहार देखेर नरमाइलो र नमीठो लाग्यो ।

बीचरी सुषमा। उसालाई के थाहा कि उसको कल्पना यहँी छ भन्ने, तर तर पूर्णं होइन, भग्नावशेष। मैले चारैतिर हेरेँ। त्यहाँ अनेकौँ मानिसहरू थिए। एक ठाउँमा चार जना युवकहरू कुनै जोशिलो तर्क गर्नमा मग्न थिए, उनीहरू कहिलेकाहीं मुड्कीले टेवलमा पनि हान्दथे। पर अर्को एउटा कुनामा एउटी बूढी आइमाई छेवैमा एउटा चार पाँच वर्षको नानीलाई राखेर चिया पिउँदै थिई। मेरो देब्रे पट्टि नाक झरेकी (पिनासले होला) एउटी काली अधवैँसे स्त्री खाजा खानमा मस्त देखिन्थी। मेरो अगाडि एउटी कुरुप युवती बसुेकी थिई। नचाहिँदो शृंगारले उसका अनुहारमा अँझ भयानकता थपिदिएको थियो ।

मैले फेरि सुषमातिर हेरेँ तर कस्तो आश्चर्य अब त्यहाँ सुषमा एक्ली थिइन, न ता ऊ उदास नै देखिन्थी। उसका साथमा अब एउटा युवक थियो। जो ऊसँग हाँसि हाँसी कुरा गरिरहेको थियो। सायद त्यो युवक मैले अरुतिर हेर्दा आएको थियो होला ।

म झसँग भएँ। मलाई कता कता चिसो लाग्यो। मेरो हृदयले प्रश्न गर्यो “यदि यो युवती तेरी सुषमा होइन भने खै तेरी सुषमा खोई …?”

यतिकैमा ती युवक युवती हातेमालो गरी बाहिर निस्कन लागे। म कति बेला तिनीहरुको नगीच पुगेँ, पत्तो पाइन। मैले युवतीलाई प्रश्न गरेँ “के तपाईं सुषमा होइन ?”

युवतीले आश्चर्य माने झैँ गरेर युवकतिर हेरी युवक शान्त स्वरमा मलाई उत्तर दियो “होइन महाशय, तपाईंलाई भ्रम भो, यिनी सुषमा होइनन् मीना हुन् मीना। मीना मेरी मंगेतर ।”

म लाजले भुतुक्क भएँ। कुनै प्रकारले उनीहरुसँग क्षमा मागेर पहिलेकै ठाउँमा आई बसेँ। म सुषमा नआएकामा चकित थिएँ। कारण उसले म हिँडे भनी टेलिग्रामसम्म पनि पठाएकी थिई। फेरि यस्तो के भो। कतै बाटामा केनै प्रकारको एक्सिडेण्ट …। हे ईश्वर ! यस्तो नहोस् ।

त्यो राति घर फर्केपछि मलाई पटक्कै निद्रा लागेन ।

भोलिपल्ट दिनभरि म ओच्छ्यानमा पल्टिरहेँ, अनि सुषमा नआएको विषयमा सोचिरहेँ। साँझ चार बजेतिर नोकरले एउटा पत्र ल्याएर मलाई दियो। अक्षर देख्नासाथ मैले चिनेँ। पत्र सुषमाको नै थियो। त्यसमा लेखिएको थियो ।

विजय,
यो पत्र मेरो अन्तिम पत्र हो। यसर्थ म तपाईंलाई यी सब कुरा लेख्दै छु, जो आजसम्म मैले तपाईंलाई बताएकी थिइँन। जीवनको यस दुर्गम पथमा हिँड्दा हिँड्दा म थाकिसकेकी थिएँ। आत्तिइसकेकी थिएँ। यस विशाल संसारमा न ता मेरो कोही आफ्नो सम्बन्धी थिए न त कुनै हितैषी, जसलाई म आफ्नो हृदयको दुःख पोख्न सकुँ। पीडा बताउन सकुँ। म मेरो डरलाग्दो एक्लोपनबाट भाग्न चाहन्थेँ, यसै बीचमा मैले एउटा पत्र भेटेँ र त्यहाँ पाएँ तपाईंलाई ।

म केवल तपाईंलाई मित्रका रुपमा लिन चाहन्थेँ तर तपाईंका पत्रले मलाई केवल मित्र भइरहन दिएनन। मैले दिनदिनै आफूले आफैँलाई बिर्सन थालेँ। तर यसरी कसैको भावनासँग खेल्नु मेरो हृदयले अधिक चाहेन। अनि मैले निश्चय गरेँ तपाईंलाई सत्य कुरो बताउनलाई। तर पाइँन। बताउनुभन्दा पहिले म मेरो कल्पनाको पुरुषलाई साकार रुपमा केवल एकपल्ट हेर्न चाहन्थेँ। यसर्थ मैले तपाईंसँग भेट गर्ने निश्चय गरेँ ।

म केवल एकपल्ट टाढाबाट हेरेर नै फर्कन चाहन्थेँ र सत्य कुरा पत्र मार्फत बताउन चाहन्थेँ। यसैले म तोकेको समयभन्दा आधा घण्टा पहिले नै त्यहाँ पुगेर रेष्टुरा भित्र पस्ने सबैलाई खोजको दृष्टिले हेर्न थालेँ। ठिक सात बज्न पन्ध्र मिनेट जाँदा तपाईं भि त्र पस्नुभो। मैले पहिले त तपाईंलाई ध्यान नै दिइनँ तर जति जति समय बित्दै गयो, तपाईंको हावभावले मलाई तपाईंतिर आकर्षित गर्र्दै गयो। अन्तमा ठिक सात बजे एक युवती भित्र पसी, अब तपाईंले एक टक लगाएर उसलाई हेरिरहनु भएको थियो। मेरो हृदयले केही अनुमान लगायो र जब तपाईं एक्कासि युवतीको छेउमा पुगेर तपाईं सुषमा होइन..? भनेर प्रश्न गर्दा मेरो अनुमान विश्वासमा परिणत भयो। मलाई दुःख यापश्चाताप केही छैन। तपाईंका ती पत्रहरू म आजीवन साथमा राख्नेछु, जीवनमा यी बितेका दुई वर्ष म चाहेर पनि बिर्सन सक्तीन। तपाईंले मलाई चिन्नुभयो कि भएन…. ठहराउनुस्…तपाईंकै छेउमा तपाईंकै देब्रेपटि बसेकी …..अँझै चिन्नु भएन.? उही के त काली…नाक झरेकी……..।।
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.