Tukrieka Sapanaharu / Ravi Pranjal

No votes yet
टङ्…टङ्…टङ्… कहीँ टाढा मन्दिरबाट घण्ट बजेको आवाज आइरहेको थियो । रातको मध्य प्रहर थियो। मौन थियो कोठा अनि मौन थियो ऊ पनि । सानो कोठा, दुइवटा खाट, एउटा मेच, भुइँमा ‌ओछ्याइएको खजमजिएको दरी, भित्तामा झुण्डिएको एउटा पुरानो क्यालेन्डर र मेचमाथि थुप्रिएका उसका कपडाहरुलाइ छोडेर अरु सामान भन्नुमा चुरोटका उदास ठुटाहरू -जो यत्रतत्र छरिएका थिए । एउटा खाटमा ऊ स्वयम् बसेको थियो भित्तामा अडेस लागेर ।

अगाडि उत्तरतर्फ फर्केको सानो झ्याल खुला थियो l उसले आँसुले भिजेका आँखा झ्यालतर्फ दौडायो l बाहिर चकमन्न अँध्यारो थियो उसको आफ्नै जीबन जस्तो l जीबन त ऊ स्वयम् थियो, हो जीबन नाम थियो उसको । तर त्यो जीबन आज त्यही बाहिरको अन्धकार जस्तै थियो l त्यो पर शमीको झ्याम्मिएको रुख पारि देखिने पहाडका टाकुराहरू अहिले देखिदैनथे न त आकाशमा ताराहरु नै थिए । शायद ती पनि झरिसकेका थिए,जसरी उसका आँखाबाट आँसुहरू झरिरहेछन् । र ऊ भागिरहेथ्यो जीबन देखि धेरै टाढा मृत्युको काखमा l पर शमीको रूख पारिका पहाडहरु कतै हराउंदै थिए उसको आँखामा l तर मृत्युको कालो पहाडले उसलाई थिच्दै निरन्तर अगाडि बढिरहेको थियो ।

उसले आँखा फर्कायो बाहिर झ्यालबाट । आँखाहरु आफ्नै हातमा गएर ठोक्किए । लाल्टिनको मध्दिम प्रकाशमा उस्को हातमा सानो काँचको शीशी चम्किरहेको थियो । शिशीमा कडा विष थियो, जसबाट उसले लगभग आधा जति पिइसकेको थियो । र त्यति मात्रा नै उस्को मृत्युको लागि पर्याप्त थियो । विषको प्रभाव परिसकेको थियो उस्को शरीरमा । नाडी क्रमश शुन्य हुँदै थियो । वातावरण नै शुन्य थियो त्यहाँ,आवाज थियो त केवल उस्को आँखामा । दर्दिलो आवाज जो आँसुको रुपमा निरन्तर झरिरहेको थियो उस्को आँखाबाट – तप…तप तप… अनि टाढा मन्दिरबाट घण्ट बजेको आवाज अझै आइरहेको थियो -टङ्… टङ्… टङ्…… ।

***

जिन्दगीका व्यस्त, उराठ क्षणहरुदेखि वाक्क लागेर ऊ लामो भ्रमणमा ती यन्त्रवत दिनहरुबाट छुटकारा पाउन त्यो दुर्गम गाउँमा आएको थियो । चारैतर्फ विशाल पहाडका टाकुराहरु सधैँ हरिया देखिन्थे त्यो गाउँबाट । त्यो एउटा सदर मुकाम थियो, दुर्गम पहाडी जिल्लाको । अत्यन्त रमणीय स्थान थियो जहाँ कैयौँ कोश टाढादेखि हिँडेर,भीर र पहाडहरु छिचोलेर त्यहाँ पर्यटकहरु आउँथे । ऊ पनि त्यसै गरी आएको थियो त्यहाँ। कैयौँ दिनको हिँडाइ र थकाइले चूर भएको उसको शरीरले त्यहाँको सुन्दर वातावरणमा भिजेर त्यहाँ पुगेको केही क्षणमा नै हलुड्गो तथा स्फुर्ति महसूस गरेको थियो । टाढाबाट आउने पर्यटकहरुको लागि त्यहाँ केही होटल र लजहरु पनि खोलिएका थिए । त्यस्तै एउटा लजमा बसेको थियो उ पनि ।

उसको घर काठमाडौँमा थियो । सुप्रशिध्द कलाकार थियो ऊ, प्रतिष्ठित कवि तथा चित्रकार । उस्को एउटा ठूलो ग्यालरी पनि थियो । सानै उमेरमा नै उसले ठूलो ख्याति कमाइसकेको थियो । अविवाहित नै थियो ऊ अझै पनि । बाबु आमा र दाजु भाइ बिनाको एक्लो जीवन देखेर कहिले कहीँ ऊ विचलित पनि हुन्थ्यो । नितान्त एक्लो थियो ऊ । बिहान देखि बेलुका सम्म ऊ आफ्नै ग्यालरी भित्रै हुन्थ्यो । फुर्सदका समयमा उसका हातहरू क्यानभासमा अलमलिरहन्थे ।अनि रातको समयमा आफूले सिर्जना गरेका तिनै चित्रहरूमा कबिता भरेर छन्द चित्र बनाउनु । बस, यत्तिकैमा सीमित थियो उसको जीवन । यही बिहान देखि बेलुकी सम्मको अझै भनू चौबिसै घण्टा सम्मको जीवनको दौडमा अल्झिएर न त उसले कसैलाई मन सुम्पिने नै समय पायो, न त उसलाई नै कसैले चाहे । माया र प्रेम देखि सर्वथा बिरानो थियो ऊ । यो बिरानो जीवनको क्रममा आफ्नो रुचिगत पेशालाई छोडेर केही दिनको लागि ऊ यस दुर्गम जिल्लाको भ्रमणमा आएको थियो । तर उसलाई के थाहा यो यो भ्रमणको बिश्राम थलो पाहुर लजले उसको जीवनमा यति विशाल भूमिका खेली देला भन्ने । ऊ यहाँ आएको थियो चित्रको दौडमा खेर गएको त्यो भोक र निन्द्रा लाई पाउन र पुनार्ताजगी प्राप्त गर्न । तर उसका भोक र निद्रा त रूपाका आँखाभित्रै हराए । हो, उनको नाम रुपा थियो । पाहुर लजकी साहुनीकी छोरी -रूपा । रुपा अर्थात रूप । आफूले सिर्जना गरेका जीवन रहित रुपमा त ऊ भाबुक भएर टोल्हाई रहन्थ्यो भने उनी त झन् एउटा जीवित रूप । एकै नजरमा नै उसको मुटुको धड्कन भइन् उनी । उसको जीवनको साकार रूप भइन् रूपा । गोरो बाटुलो अनुहार । पातलो ओंठ । ओंठका केस्राभित्र उनका दाँतहरू झुल्किंदा चन्द्रमा हाँस्थ्यो । ठूला ठूला आँखा हरू -तर ती आँखाभित्र सधैं गम्भीर सागर छचल्किरहेका हुन्थे।

उसको माया एकोहोरो थियो , बिल्कुल एकोहोरो । उसको आँखामा प्रतिपल रूपाप्रतिको निस्वार्थ प्रेम तैरिरहेको हुन्थ्यो । तर उनका आँखाहरू भने सधैं भावशून्य हुन्थे । के थिए ती आँखा हरूमा ? ऊ बुझ्न सक्दैनथ्यो कहिले कहीं जब जब उसका आँखाहरू रूपाका आँखाहरूसँग जुध्दथे, उनी बिस्तारै शिर निहुराउथिन् । लामो समयसम्मको उसको विश्रामका क्षणहरूमा पनि ऊ रूपा संग त्यति नजिक हुन सकेको थिएन । उनीहरूमा यदाकदा व्यवहारिक किसिमले बोलचाल सम्म हुन्थ्यो । एकान्तमा भेट हुँदा ऊ रूपा संग आफ्नो प्रेम ब्यक्त गर्ने आशयले कुराको प्रसङ्ग उठाउन चाहन्थ्यो, तर उनका सामु, उनका आँखामा छचल्किएका ती गम्भीर सागरका छालहरूका सामु उसको अभिव्यक्ति त्यसै हराइदिन्थ्यो l तर एकदिन उसले साहस गरेर आफ्नो प्रेम भावना उनी प्रति अभिव्यक्त गरेरै छाड्यो । तर अफशोच ! उसको प्रेमको पुकारको बदला उसले जे पायो ,त्यसको त कल्पना सम्म पनि गरेको थिएन उसले । सारा सपना हरू टुक्रिएर चकनाचूर भयो उसको ।

”जीवन, तपाई भविष्यमा बिर्सेर पनि नसम्झनुस् मलाई”, उसको प्रेमको पुकारको उत्तरमा रूपाले थरथर काँपेर भनिन् -”तपाई आफ्नो राम्रो चाहनु हुन्छ भने भोलि नै यो लज छोडेर जानुस, यो गाउँ नै छाडेर जानुस्, अन्यथा राम्रो हुने छैन।” -अन्तिम बाक्य पूरा गरी नसक्दै उनका आँखाबाट आँसुहरू झार्न थालिसकेका थिए l उसका प्रेमका कामनाहरू तीनै आँसु भित्रै हराए l उसले बुझ्न सकेन त्यो आँसुको अर्थ, र बुझ्ने प्रयास पनि गरेन उसले ।

”ठिकै छ रूपा,” उसको मुख बाट भत्किएको सपना कराउंदै थियो -”म तिमीप्रति कुनै आघात पुर्याउन चाहन्न, यदि यसैमा तिम्रो खुशी छ भने l तर कुनै दिन, कुनै पनि क्षण मेरो मृत्यु तिम्रै काखमा हुनेछ l म तिमीलाई प्रेम गर्छु रूपा, के प्रेम गर्नु कुनै पाप हो ?हैन रूपा,म सच्चा प्रेम गर्छु तिमीलाई l अब म यो घर छोडेर यो लज छोडेर जान्न र तिमीलाई मजबूर पनि तुल्याउन्न l एकदिन तिमी स्वयम् मेरो निस्वार्थ मायालाई बुझ्ने छौ l” उसले आफ्नो वाक्य पूरा गरी नसक्दै उनी त्यहाँ बाट गैसकेकी थिइन्, उसलाई फेरि त्यही उजाड संसारमा छोडेर ।

सपना त उसको चकनाचूर भै सकेकै थियो, अब त बिपना पनि प्रतिपल टुक्रिँदै थियो उसको l कैयौं दिन बिते, अनि कयौं उदास रातहरू पनि l ऊ रातका बिषालु मौन साम्राज्यभरि आँखा बाट आँसु बहायेर बिताउथ्यो भने दिनका उराठिला क्षणहरूमा आँसु पिएर बिताउँथ्यो l कसैकसँग बोल्दैन थ्यो ऊ l चुपचाप रहन्थ्यो l निस्वार्थी मायाका भावनाहरू ऊ आफू भित्रै सीमित राख्ने प्रयास गर्दैथ्यो l तर उसको मनस्थिति भने विक्षिप्त हुँदै गैरहेको थियो ।

र एकदिन अचानक उसको त्यो विक्षिप्त मनस्थितिले उसको भावनामा भिषण भूमिका खेलिदियो । त्यसदिन ऊ एका बिहानै बेड बाट उठेर औषधि पसल तर्फ लाग्यो l करिब आधा घण्टा पछि ऊ औषधि पसलबाट बाहिर निस्कियो । उसको हातमा एउटा शिशी चम्किरहेको थियो, जुन शिशी कडा बिषले भरिएको थियो ।

***

टङ्… टङ्… टङ्… …टाढा मन्दिरमा घण्टा बजिनै रहेको थियो । शायद आज राती त्यहाँ कुनै बिशेष पूजा हुँदै थियो l तर त्यो घण्टा को स्वर पहिलेको झैं स्पष्ट थिएन अहिले l बरु क्रमश धूमिल भएर ठोक्किँदै थियो उसको कानमा l त्यो आवाज भन्दा बढी त उसको आफ्नै कान कराई रहेको थियो l भित्र दर्द थियो उसको ,तर मौन थियो ऊ र कतै शून्यमा बिलाउँदै थियो, हराउँदै थियो l केवल चेतना जागृत थियो तर हलचल थिएन उसमा l ऊ क्रमश: बेहोस हुँदै थियो l उसका आँखाहरू भने अगाडि ढोका तर्फ फैलिरहेका थिए ।

एक्कासी उसको कोठाको ढोका खुल्यो l ढोका खुलेको घर्याक्क आवाज सँगै उसले आफ्नो लोलाइरहेको आँखा उघार्यो l उनी आइरहेकी थिइन् – रूपा l आँखा भरि आँसु थियो उनको l ऊ बिचलित भयो ती आँसुहरू देखेर । आँखाका बाँधहरू छेडेर उनका आँसुहरू झर्न खोजिरहेका थिए ।

”रूऽऽऽपा, तिऽऽऽमी”, ऊ प्रतिपल निश्चल भएर जाँदै थियो l अचानक रूपा उसको छातीमा घोप्टो परेर रुन थालिन् l आँसु सँगसँगै उनको रोएको आवाज फुटिरहेको थियो – ”जीवन, मलाई माफ गरि देऊ ”मैले तिमीलाई चिन्न सकिन र अपनाउन सकिन l तर म विवस थिएँ जीवन, तिमीलाई भेट्नु भन्दा अघि कसैलाई म चाहन्थें, तर उसले मलाइ धोखा दियो l l तिमीलाई थाहा छैन जीवन, हाम्रो घर काठमाडौँ मा थियो l म यहाँ किन आएँ थाहा छ ? म त्यही पापी बाट धोखा खाए पछि…… म…… म बिग्रिसकेकी छु l मेरो शरीर सँगै मेरो भावना पनि बिग्रिसकेको छ l मेरो भावनामा सबै पुरुषहरू स्वार्थी हुन्थे,बिश्वासघाती हुन्थे l तर आज मैले तिमीलाई चिने जीवन , म अब तिम्रो दुर्दशा हेर्न सक्दिन l तर जीवन म के गरूँ ! म बिग्री सकेकी छु । ” उनका आँखाहरूबाट झर्झरी आँसु झरिरहेको थियो ।

उसले हेर्यो आफ्नो रूपलाई । जीवनको रूप अर्थात रूपा l तर अफशोच ! रूपा अब उसको जीवन साथी हैन, बरु खण्ड खण्डमा विभाजित हुँदै थिइन् उसका बोझिला आँखाहरूमा l र शायद जिन्दगीको बास्तबिकतामा पनि l उसका हातहरू बिस्तारै उनको केशमा पुग्यो l उनको केश सुम्सुम्याउदै गरेको उसको हातमा दबाब बढ्दै थियो र रूपा उसको छातीमा घोप्टेर रोइ नै रहेकी थिइन् , तर ऊ भने चेतनाहीन हुँदै थियो l अचानक उसका हातहरू शिथिल हुँदै गएर रूपाको शरीरबाट लत्रक्क तल खाट तर्फ खस्यो ।

”जीवन…जीवन ! के भयो तिमीलाई ? ” -जीवनको अनुहार देखेर उनी भयभित भईन l उसले आफ्नो बन्द आँखा खोल्यो l भिजेका परेलीहरू स्थिर भए l आँसु भित्रै मुस्कुरायो ऊ एकपटक । फेरि अचानक गम्भीर भयो ऊ ।

”रूपा”, उसको स्वर थर्थर काँपिरहेको थियो l -”तिमीले अबेर गर्यौ रूपा, तर मेरो माया सार्थक भयो आज l म मर्छु तिम्रै……तिम्रै…अंगालोमा…रू…पा…l”- उसको अहिले सम्मको बन्द मुठी अचानक खुल्यो । त्यहाँ शिशी थियो कडा बिषको । जसमा आधा भन्दा बढी बिष अझै बाँकी नै थियो ।

”जीवनऽऽऽऽऽ”,-उनी चिच्याइन् l ”तिमि…तिमीले बिष खाएको ? उफ जीवन ! यो के गर्यौ तिमीले ? मेरो जीवन, मेरो प्राण ! म…म…पनि अब तिमी सँगै मर्छु l”- एक्कासी उनले शिशी खोलेर बाँकी रहेका बिषहरू घटाघट पिइन् l अब उनका हातहरू जीवनको गलामा माला बनेर अंगालोमा बाँधिए l उनको अंगालोको दबाब जीवनको गलामा कसिदै गयो, झन् झन् कसिदै गयो ।

***

उसले बिस्तारै आफ्नो बन्द आँखा खोल्यो l उस्का सामु डाक्टर र नर्सहरू उभिएका थिए l उसले चारै तर्फ हेर्यो l शरीर भारी थियो उसको l पूरा शरीरमा पीडा भैरहेको थियो ।

त्यो एउटा सानो हस्पिटलको कोठा थियो l ऊ भन्दा लगभग दुई हात अगाडिको बेडमा रूपा सुतिरहेकी थिइन् – बेहोस,चेतनाहीन l ऊ झस्कियो l उसका हातहरू क्रियाशील भए l ‘चुस्स’ l उसलाई स्लाइन दिइएको थियो l दाहिने पाखुरामा सुई घोचिएको थियो l उसले सम्झियो सबै घटना हरू l एक एक घटना उसको दिमागमा करेन्ट सरह दौडन थाले l उसले हेर्यो त्यहाँ उपस्थित सबै लाई l रूपाको बाबु आमा र परिवारका अरु सदस्य हरू सबै रोइरहेका थिए l वातावरण नै रोइ रहेको थियो त्यहाँ l रूपाको नाडी र मुटुका धड्कन हरूको डाक्टर निरिक्षण गर्दै थिए l उसले बिस्तारै टाउको उठाएर हेर्यो रूपाको आँखामा l उनका आँखाका पुतलीहरू स्थीर थिए l आँखामा आँसु थियो र मुखबाट फिँज निस्किरहेको थियो l

डाक्टर फर्किए र अफसोच भावसँगै टाउको हल्लाए नकारात्मक ढंगमा l ”अफसोच ! रूपा अब रहिनन् ,”-अनपेक्षित स्वर उसको कानमा ठोकियो l मानौ जाली फुटे सरि भयो उसको कानको l पीडाको ज्वालामुखी पग्लियो उसको छातीमा l

”रू……पा……”,ऊ एक्कासी चिच्यायो l उस्का आँखा सामु अँध्यारो हुन थाल्यो l ऊ एक्कासी अर्को दिशा तर्फ चेतनाहीन भई लड्यो l डाक्टरका पाइलाहरू ऊ तर्फ बढ्दै थिए तर ऊ बेहोस भै सकेको थियो l

जब उसलाई होश आयो ,ऊ त्यही हस्पिटलको बेडमा थियो l उसले आँखा खोल्यो l साँझ ढलिसकेको थियो र रात पनि छिप्पिंदै थियो l एकछिन ऊ त्यसै टोलाई रह्यो l बिस्तारै बेड बाट उठ्यो l रिंगटा लागिरहेको थियो उसलाई l बेड बाट उत्रन खोज्यो l डाक्टर उसलाई सम्हाल्ने प्रयास गर्दै थिए l

”प्लिज डाक्टर”,-ऊ बिन्ती गर्दै थियो -”मलाई नरोक्नुस , बरु मलाई……मलाई बताउनुस डाक्टर ! के रूपा साँच्चै ……”,-उसले बाक्य पूरा गर्न सकेन l ”हो,रूपा अब यो दुनियामा छैनन्”,-डाक्टरले जवाफ दिए l यस पटक गोली लागेन उसको मुटुमा l उसका उदास आँखा हरू डाक्टरको अनुहारमा थियो तर उसको मुटु अन्तै थियो l मानौ त्यो मुटुमा कुनै बेदना नै थिएन, कुनै दर्द नै थिएन l

”हाहाहाहा…हाहाहाहा”,-ऊ अचानक अस्वाभाविक रूपमा ठूलो स्वरले हाँस्न थाल्यो l डाक्टर उसलाई शान्त गर्ने प्रयासमा थिए तर ऊ एकोहोरो हाँसिरहेको थियो l

”डाक्टर”,-उसको हाँसो अचानक रोकियो l ”मलाई छोड डाक्टर, तिमीले किन बचायौ मलाई ? तिमीले त रूपालाई बचाउनु पर्थ्यो l तिमीले मार्यौ रूपालाई l तर हैन, उनी मरेकी छैनन् l मैले फेरि जन्माएँ उनलाई l यी हेर… मेरो मुटुको धुकधुकीमा हेर l ऊ…ऊ…ल हेर उनी बोलाउदैछिन मलाई l उनी बोलाउदै छिन मलाई l मलाई जान देऊ l मेरी प्रिया ! मेरी रूपा ! हाहाहाहा…हाहाहाहा”,-ऊ फेरि लगातार हाँस्न थाल्यो l l

”हाहाहाहा…हाहाहाहा”, – ऊ अहिले पनि हाँसी नै रहेछ l जब सम्म थाक्दैन यसै गरी हाँसी नै रहन्छ ऊ l मुलबाटोमा ,गल्लीमा,चोकमा,पाटीमा कुनै पनि ठाउँमा देखिन्छ उसलाई l सबैले बहुला भन्छन उसलाई l काठमान्डू जस्तो ठूलो शहरमा उसलाई जताततै देख्न सकिन्छ l हत्पती हास्दैन ऊ l तर जब हाँस्छ ,हासे पछि हाँसी नै रहन्छ l हाँस्दा हाँस्दा जीर्ण भैसकेको उसको शरीर जब थाक्छ अनि ऊ फेरि आफ्नै रूपमा आउँछ l गम्भीर,उदास, मरुभूमिको बगर झैं उजाड l जब उसको लुकेको माया छाती भित्र चल्मलाउछ, अनि रुन थाल्छ ऊ l ऊ जहाँ जहाँ बस्छ त्यहाँ चित्र हुन्छ एउटा युवतीको- उसको रूपाको l जहाँ ढुङ्गा छ ऊ त्यहाँ ढुङ्गाले नै कोरेर चित्र बनाउँछ l ढुंगा नभएको ठाउँमा ऊ माटोमै औंलाले कोरेर चित्र बनाउँछ l हरेक चित्रमा एउटै रूप हुन्छ उसकै रूपाको l एउटा मूर्त चित्र, तर अजीवित… जीवन बिनाको !!!

[First appeared in Ruprekha]
Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.